गृह मन्त्रालयले ७७ वटै जिल्लालाई ८ बुँदे परिपत्र जारी गरेको छ।
मनसुनजन्य विपदको न्यूनीकरण तथा उद्धार कार्यको सहजीकरण तथा प्रभावकारी बनाउन गृहले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हो।
गृहले असोज १८, १९ र २० गतेका लागि काठमाडौं उपत्यका प्रवेश गर्ने सवारी साधनमा रोक लगाएको छ। त्यसलाई अनुगमन र निगरानी गर्न पनि परिपत्र गरेको छ।
त्यस्तै राजमार्गमा रोकिएका सवारी साधनलाई सडक र मौसमको अवस्था हेरेर गन्तव्यमा पुर्याउन सहजीकरण गर्न विभिन्न स्थानीय तह तथा संघसंस्थाहरूसँग समन्वय गर्न भनिएको छ। खानपानको व्यवस्थापनका लागि समन्वय गर्न पनि भनिएको छ।
राजमार्गमा रोकिएका एम्बुलेन्सलाई अवस्था हेरी गन्तव्यमा पुर्याउन पनि सहयोग गर्ने भनिएको छ।
बाटोमा अलपत्र परेका गर्भवती महिलाहरूको हकमा नजिकको बर्थिङ सेन्टरम्म पुर्याउने अवस्था मिलाउन भनिएको छ।
त्यस्तै बाढी, पहिरोको जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका व्यक्ति तथा परिवारलाई स्थानीय पालिकासँगको समन्वयमा नजिकको विद्यालय एवं खुला स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउन प्रशासन कार्यालयलाई परिपत्र गरिएको छ।
मौसमका कारण उडान स्थागित भएर विमानस्थलबाट फर्केका यात्रुहरूलाई पनि यातायात व्यवसायीसँग समन्वय गर्न अनुरोध गरिएको छ।
त्यसैगरी बाढीपहिरोका कारण तत्काल हेलिकप्टरबाट उद्धार गर्नुपर्ने भएमा मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखामा सम्पर्क गर्न पनि प्रशासन कार्यालयलाई भनिएको छ।
सुरक्षा निकायका प्रमुखहरू २४ सै घण्टा कार्यालयमा उपलब्ध हुने व्यवस्था गर्न पनि भनिएको छ।
यी सबै कामको प्रगति विवरण विपद तथा द्वन्द्व व्यवस्थापन महाशाखामा पठाउन भनिएको छ।