काठमाडौं उपत्यकासहित देशभरि नै वर्षा हुँदा नदीखोलाहरूको पानीको सतह बढेको छ।
आइतबारसम्म पनि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
यसबीच काठमाडौं उपत्यकाका बागमतीसहित विभिन्न नदीहरूमा खतराको तह पार भएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी शेखर खनालका अनुसार उपत्यकाका सबै नदीमा पानीको सतह बढेको छ।
'जनधनको क्षति भइसकेको छैन। उपत्यकाभरिका बागमती, मनोहरा, हनुमन्ते, कर्मनशा, कोड्कू खोला सबैमा पानीको सतह बढेको छ,' उनले भने।
उनका अनुसार अहिले टेकुको वंशीघाट बस्तीमा बागमतीको पानी पसेको छ।
बल्खुको सुकुम्बासी बस्ती र तरकारी बजारमा पनि पानी पसेको छ।
थापाथली सुकुम्बासी बस्तीमा पनि पानी पसेकाले स्थानीयलाई गुह्वेश्वरी माविमा बस्ने व्यवस्था मिलाइएको छ।
'त्यहाँ प्रहरी गएर बस्तीमा रहेका मानिसलाई स्थानान्तरण गर्दैछ,' एसएसपी खनालले भने।
एपिएफका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार बल्खु-कुलेश्वर नदी छेउछाउका सुकुमबासी बस्तीभित्र पानी पसेको छ। अन्दाजी सय सुकुम्बासी घरधुरीलाई बल्खुको जनविकास माविमा स्थानान्तरण गरिएको छ।
अहिले खोला किनारामा प्रहरीहरू परिचालन भई माइकिङ, जिंगल बजाउने समन्वय गर्ने काम गरिरहेका छन्।
प्रहरीले स्थानीय तह, रेड क्रस, पर्यटन व्यवसायी, र्याफ्टिङ व्यवसायी, पर्वतारोहण, हेभी इक्विपमेन्ट, लगायत सम्बद्ध निकायसँग समन्वय गरिरहेको छ।
बागमती करिडोर, चोभार लगायत क्षेत्रमा पनि प्रहरीले अनुगमन गरिरहेको छ।