सुरूमा प्रदर्शनकारीले मुख्य ढोका फोड्न खोजे। नसकेपछि ढोकामा आगो लगाए। ढोका बंग्याएर कार्यालयभित्र पसे। तोडफोड गरे। आगो लगाए।
आन्तरिक राजस्व कार्यालय, वीरगन्जका सुरक्षा गार्ड वीरेन्द्र सहनी भदौ २४ को दृश्य सम्झिन्छन्।
'खुकुरी, भाला लिएर प्रदर्शनकारीहरू आएका थिए। हाकिम कहाँ छ भन्दै थिए,' ५० वर्षीय सहनीले भने, 'हात जोडेर बिन्ती गर्यौं। मान्छेलाई केही गरेनन्। तर कार्यालयमा तोडफोड, लुटपाट र आगजनी गरेर गए।'
कार्यालयले बरामद गरेर कारबाहीका लागि राखेको मदिरा 'पार्टी गर्नुपर्छ' भन्दै उठाएर लगेको उनले बताए।
कार्यालयमा तीन जना सुरक्षा गार्ड कार्यरत छन्। कार्यालय प्रमुखसहित केही कर्मचारीलाई आवास सुविधा उपलब्ध गराइएको छ।
ढोका फोडिसकेपछि ठूलो संख्यामा भित्र पसेका प्रदर्शनकारीले सुरूमा सिसिटिभी क्यामरा फोडे। त्यो बेला सुरक्षा गार्डहरू, उनीहरूका परिवारका सदस्य र कार्यालयका प्रमुख कर अधिकृत टिकाराज चौलागाईँसहित केही कर्मचारी कार्यालयभित्रै थिए।
त्यो समूह तोडफोड र आगजनी गरेर फर्कियो।
दिउँसो साढे १ बजेतिरै ढोका फोडिसकेका कारण मानिसहरू आउने–जाने क्रम चलिरहेको थियो।
साँझतिर फेरि प्रदर्शनकारीको एक हुल आयो।

उनीहरू कार्यालय पसेर आगजनी, तोडफोड र लुटपाट गरेर गए। संख्यात्मक रूपमा सुरूमा आएका भन्दा पछि आएका प्रदर्शनकारी कम भए पनि क्षति बढी गरेको सुरक्षा गार्ड सहनीले बताए।
अर्का सुरक्षा गार्ड राजन पाण्डेका अनुसार प्रदर्शनकारी आउन सक्ने अनुमान गरेर पहिल्यै भित्रबाट ताल्चा र चुकुल लगाइएको थियो। तर त्यो उपाय काम लागेन।
'तँ कार्यालयको कर्मचारी होस् भन्दै वेल्चा (साबेल) ले हान्न आएपछि भागेर ज्यान जोगाएँ,' ४८ वर्षीय पाण्डेले भने, 'कार्यालयको तेस्रो तलामा क्वार्टर छ। नानीबाबुहरू माथि भएकै अवस्थामा आगो लगाइदिए। बाहिर निस्किन भने दिए।'
मधेस आन्दोलनमा नदेखिएको दृश्य जेनजी आन्दोलनमा देख्नुपरेको उनी बताउँछन्।
'केही चोर्न आए, केही फोड्न र आगजनी गर्न। कोही हेर्न र सहयोग गर्न आए,' उनले भने, 'लामो समय चलेको मधेस आन्दोलनमा पनि यसरी कार्यालयमा आगजनी र लुटपाट गरिएको थिएन। यसपालि के के भयो, के के!'
कार्यालयका कर्मचारी पछाडितिरबाट पर्खाल नाघेर भागेका थिए।
कार्यालय प्रमुखले 'विषम परिस्थिति छ, कसैले कसैको सुरक्षाको जिम्मा लिन सक्ने अवस्था छैन, आफ्नो ज्यान जोगाउनुस्' भनेपछि आफूहरू भागेको कर्मचारीहरूले बताए।
आगजनी नियन्त्रण गर्न सक्ने अवस्था थिएन। महानगरपालिकाको दमकल बोलाउन जाँदा 'दमकलको जिम्मा लिने भए मात्रै आउने' भन्ने जबाफ आएपछि नबोलाइएको एक कर्मचारीले बताए।

आगजनीबाट स्टोर र सेवा शाखा पूर्ण रूपमा जलेको छ। संकलन शाखा आंशिक रूपमा जलेको छ। एसी, कम्प्युटर, ल्यापटप, टिभी, प्रिन्टर, सिसिटिभी क्यामरा, डिस्प्ले बोर्ड लगायत सामग्रीमा क्षति पुगेको छ। कार्यालय बाहिर भएका चार वटा मोटरसाइकल र केही थान साइकल पनि प्रदर्शनकारीले जलाइदिएका छन्।
आगजनीबाट क्षति नपुगेका कोठामा पसेर सामग्री चोरी गरिएको छ। बाँकी भएका पनि तोडफोड गरेर काम नलाग्ने बनाएर छोडिएको छ। कागजातहरू राखिएको पुरानो स्टोर शाखामा सात दिनसम्म आगो ननिभेको कर्मचारीहरूले बताए।
कार्यालयका सूचना अधिकारी रामेश्वर मिश्रका अनुसार प्रदर्शनकारीले छानी छानी फाइलहरू जलाएका थिए।
'टेबलको ड्रअर र दराजबाट कानुनी कारबाही र बक्यौता कर असुलीको फाइल छानी छानी झिकेर जलाए। समायोजन र अन्य कागजात जस्ताको तस्तै छ,' उनले भने, 'कार्यालय प्रमुखले प्रयोग गर्ने कम्प्युटरको हार्ड डिस्क झिकेर लगियो। करबारे बुझेका मानिसले बाहेक अरूले यस्तो गर्नै सक्दैन।'
कर कार्यालयको सम्पूर्ण कागजात डिजिटल गरिने हुँदा आगजनीले रेकर्डमा भने खासै असर नपर्ने उनको भनाइ छ।
'मुद्दाका फाइलहरू पनि जलाइएको छ। कुन कुन मुद्दाको फाइल जलेको हो भन्ने चाहिँ यकिन भइसकेको छैन,' सूचना अधिकारी मिश्रले भने।
कार्यालय भवन बाहेक एक करोड रूपैयाँ बराबरको क्षति भएको अनुमान छ। कार्यालयमा भएका विभिन्न सामग्रीको विवरण तयार गरेर क्षति अनुमान गरिएको हो।
'जलेका कागजात र फाइलको क्षति त पैसामा मूल्यांकन गर्न सकिँदैन। सामान मात्रै एक करोडको क्षति भएको प्रारम्भिक अनुमान छ,' प्रमुख कर अधिकृत चौलागाईंले भने, 'भवनको प्राविधिक मूल्यांकन हुँदैछ। कस्तो अवस्थामा छ भन्ने पछि थाहा हुन्छ।'
संघन सहरी तथा भवन निर्माण आयोजनाको टोलीले भवनको अवस्थाबारे प्राविधिक मूल्यांकन गरिरहेको उनले बताए।

अहिले कार्यालय सफा गरिएको छ। जलेर निस्केको खरानी बोरामा हालिएको छ। गेट मर्मत र रंगरोगन भइसकेको छ। सेवा शाखामा धमाधम रंगरोगन भइरहेको छ। स्टोर शाखा जीर्ण भएकोले प्राविधिकको सल्लाहपछि नै कसरी अघि बढ्ने निर्णय गरिने कार्यालयले जनाएको छ।
प्रमुख कर अधिकृत चौलागाईंले तत्काल सेवा र संकलन शाखामा मात्रै रंगरोगन गर्न सक्ने बजेट कार्यालयमा रहेको बताए।
'स्टोर कोठा मर्मत गर्नुपर्नेछ। आगजनीपछि धुवाँले कोठा सबै काला भएका छन्। पूरै रंगरोगन गर्न सक्ने अवस्था अहिले छैन। सेवा र संकलन शाखा मात्रै गर्छौं,' उनले भने।
भदौ २९ आइतबारदेखि कार्यालय सञ्चालनमा ल्याइएको छ। सफाइ र व्यवस्थापनमा समय लागे पनि यसबीच अनलाइन सेवा प्रदान गरिएको थियो।
हाल कार्यालयको भुइँतलामा रहेको गल्लीमा कम्प्युटरहरू जडान गरेर सेवा प्रदान गरिएको छ। सेवाग्राहीलाई बाहिर झ्यालबाटै सेवा लिन अनुरोध गरिएको छ।
विगतमा सेवाग्राहीले कार्यालयभित्र एसीमा बसेर सेवा लिन्थे। अहिले झ्याल बाहिर उभिनुपर्छ। यसरी सेवा लिन असहज र सास्ती भइरहेको सेवाग्राही बताउँछन्।
विन्दवासिनीका अरविन्द पण्डितले भने, 'पहिला भित्रै गएर एसीमा बसेर सेवा लिन पाइन्थ्यो। सजिलो थियो। अहिले झ्याल बाहिर उभिएर काम गराउनुपरेको छ। दुःख भएको छ।'
