भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘बोन म्यारो ट्रान्सप्लान्ट’ का लागि काम अघि बढेको छ।
अस्पतालको प्रशासनिक भवन नजिकैको जमिनमा भवन बनाउने प्रक्रिया सुरू भएको अस्पतालका कार्यकारी निर्देशक डाक्टर शिवजी पौडेलले जानकारी दिए।
भवन निर्माणअघि माटोको परीक्षण र नक्सा निर्माणको काम सकिएको छ। ईआइएको काम अन्तिम चरणमा पुगेको छ।
डा.पौडेलकाअनुसार अस्पतालको करिब ५ कट्ठा क्षेत्रफलमा २ तलाको भवन चिनिया सहयोगमा बन्नेछ। सेवा सुरू गर्दासम्म करिब २० करोड रुपैयाँ लाग्ने अनुमान रहेको उनले बताए।
पौडेलले यसैवर्ष पूर्वाधार निर्माणको काम सुरू गरेर बढीमा तीन वर्षमा भरतपुरमा बोनम्यारो ट्रान्सप्लान्ट सुरू गर्ने लक्ष्य राखिएको बताए।
अहिले अस्पतालले चिनियाँ सहयोगमै बोन म्यारो ट्रान्सप्लान्टमा काम गर्ने जनशक्ति तयार गर्न लागेको छ। यसका लागि चीनको फोर्थ हस्पिटल खपे युनिभर्सिटीका डेपुटी डिरेक्टर हेमोटोलजिष्ट डाक्टर याहो क्वीमीन नेतृत्वको समूह क्यान्सर अस्पताल आइपुगेको थियो।
डाक्टर याहो क्वीमीन र अस्पतालका कार्यकारी निर्देशक डाक्टर पौडेलले जनशक्ति तयार गर्ने सम्बन्धमा तयार पारिएको सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
कार्यक्रममा नेपालका लागि चिनियाँ दूतावासका प्रथम कन्सुलर वाङ सिन पनि सहभागी थिए।
उनले चीन र नेपालबीचको ७० वर्षे कूटनीतिक सम्बन्धलाई थप मजबुद बनाउँदै क्यान्सर अस्पतालको स्तरोन्नतिका लागि थप सहयोग गर्न चीन सरकार तयार रहेको बताए। यही अवसरमा बोन म्यारो ट्रान्सप्लान्टका लागि दक्षता आदानप्रदान गर्न लागिएको उनले बताए।
क्यान्सर अस्पतालका कार्यकारी निर्देशक पौडेलले तत्कालका लागि एक डाक्टर र २ जना नर्सलाई तालिमका लागि चीन पठाउन लागेको जानकारी दिए।
‘चीनबाट बोन म्यारो ट्रान्सप्लान्ट र यसलाई सहयोग गर्ने शाखामा कार्यरत समूहले अस्पतालको विभागहरूको अवलोकन गर्यो। सम्बन्धित विभागहरूमा अन्तर्क्रिया गर्यो। यहाँ संरचना निर्माण भएपछि काम गर्ने जनशक्तिलाई उहाँहरूले नै तालिम दिएर दक्ष बनाउनुहुनेछ,’ डा.पौडेलले भने, ‘यो सबै चिनियाँ सहयोगमा तयार भएर सञ्चालन हुनेछ।’
नेपालमा काठमाडौंस्थित सिभिल अस्पतालमा मात्रै बोन म्यारो ट्रान्सप्लान्ट गरिन्छ। धेरैजसो बिरामी यसका लागि भारत पुग्ने गरेका छन्। क्यान्सर अस्पतालका अध्यक्ष डा.विजयराज न्यौपानेकाअनुसार भारतमा ट्रान्सप्लान्टमा मात्रै करिब २० लाख भारतीय रुपैयाँ खर्च हुन्छ।
‘चीनले हामीलाई उपहारको रूपमा बोन म्यारो ट्रान्सप्लान्ट सेवा प्रदान गर्दैछ। यसले बोन म्यारो ट्रान्सप्लान्ट गनुपर्ने क्यान्सरका बिरामीलाई आर्थिक रूपमा धेरै सहयोग गर्छ,’ डा.न्यौपानेले भने।
खर्च बढी लाग्ने भएकाले धेरै बिरामीहरूको बोन म्यारो ट्रान्सप्लान्ट नै नगरी मृत्यु हुने गरेको न्यौपाने बताउँछन्। उनकाअनुसार आवश्यक भएकामध्ये करिब १० प्रतिशत बिरामीले मात्रै ट्रान्सप्लान्ट गर्ने गरेका छन्।
रक्त क्यान्सर र ग्रन्थीको क्यान्सरका बिरामीलाई औषधिले काम गरेन भने बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्छ।
क्यान्सर अस्पतालका मेडिकल अंकोलोजिष्ट डाक्टर गुरुचरण शाहले नेपालमा वर्षमा एक सय जना जतिको बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने अवस्था रहेको बताए।
क्यान्सर अस्पतालमा बन्न लागेको संरचनामा चार शय्या रहन्छ। यहाँ वर्षमा ५० जनाको बोन म्यारो ट्रान्सप्लान्ट गर्न सकिने शाहले बताए।
‘स्रोत जुटाएर विपन्न बिरामीलाई छुट दिएर सेवा दिन सकिन्छ। यसो गरियो भने आर्थिक अभावका कारण उपचार गर्न नपाउनेको संख्या घट्छ,’ डा.शाह भन्छन्।
उनले संरचना तयार भएर उपकरणहरू जडान भएपछि सुरूका केही वर्ष चिनियाँ जनशक्तिको सहयोग लिएर सेवा दिनुपर्ने बताए। त्यसपछि नेपाली जनशक्तिले नै चलाउन सक्नेगरी विकास गर्नुपर्ने उनी बताउँछन्।
कार्यकारी निर्देशक पौडेलले नेपालका लागि चीनका राजदूत चेन सङले क्यान्सर अस्पतालमा रोवर्टिक सर्जरी र प्रदेशको विस्तारित सेवाको लागि सवारी साधनको व्यवस्था गर्न सघाउने प्रतिबद्धता पनि जनाएको बताए।
नेपालमा अहिले बि एण्ड बि हस्पिटलमा मात्रै रोवर्टिक सर्जरी सेवा सञ्चालनमा रहेकोमा सरकारी अस्पतालमा पहिलो पटक क्यान्सर अस्पतालमा सेवा सुरू गर्न सहयोग गर्ने मौखिक प्रतिबद्धता चिनिया राजदूतले जनाएको पौडेलले बताए।
‘साथै अस्पतालका लागि लिनियर एसिलेरेटर (रेडियो थेरापीको मेसिन) उपलब्ध गराउने र प्रदेशको विस्तारित सेवाको लागि सवारी साधनको व्यवस्था गर्न सघाउने प्रतिबद्धता पनि जनाउनुभएको छ,’ पौडेलले भने।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पनि चिनियाँ सरकारकै लगानीमा स्थापना भएको हो।
२०४९ सालमा शिलान्यास गरिएको अस्पतालले २०५६ सालदेखि सय शय्याबाट सेवा दिन थालेको थियो।
अहिले ४५० शय्यामा सञ्चालन भइरहेको उप–निर्देशक डा.उमेश नेपालले जानकारी दिए।
उनले बोन म्यारो ट्रान्सप्लान्टसँगै पेट स्क्यान पनि सञ्चालनको प्रक्रिया अघि बढेको बताए।
यसका लागि यस वर्ष अर्थ मन्त्रालयलबाट २५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। यी दुबैका लागि अहिले ईआइएको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी नेपालले दिए।
ईआइए गर्ने क्रममा अस्पतालका सबै भवनहरूको नक्सापास मागिएपछि केही समय विलम्ब भएको थियो।
कार्यकारी निर्देशक डा.पौडेलले अस्पताल स्थापना भएको २५ वर्षपछि २९ वटा भवनको नक्सापास गरिएको जानकारी दिए।
नक्सापास र अभिलेखीकरणका लागि अस्पतालले भरतपुर महानगरपालिकालाई आन्तरिक स्रोतबाट १ करोड ७८ लाख रुपैयाँ बुझाएको पौडेलले बताए। नक्सा बनाउनमात्रै २२ लाख रुपैयाँ खर्च भएको थियो।
‘यति गरेर भए पनि अब अस्पतालमा बोन म्यारो ट्रान्सप्लान्टका लागि काम सुरू हुने भएको छ। केही समयमा भवन निर्माणका लागि पनि एमओयू हुन्छ,’ उनले भने, ‘क्यान्सरका बिरामीको सबै उपचार यहीँ हुने वातावरण बनाउन हामी लागेका छौं।’