पोखरामा कुनै संस्कृति छैन, जहाँ पर्यटकको पहुँच नपुगेको होस्। पर्यटन व्यवसायी आफै नेपालीका हरेक संस्कृति र परम्परा पर्यटनसँग जोड्न चाहन्छन्। जसले पर्यटकलाई नयाँ अनुभूति त दिन्छ नै, नेपाली परम्परा र संस्कृति नेपालीसँगसँगै मनाउन पाउँदा पर्यटक पनि बिर्सिन नसक्ने अनुभूति बोकेर फर्कन्छन्।
बर्खा लागेपछि नेपालका गाउँमा मात्र नभइ सहरमा पनि धोन रोपाइँ गरिन्छ। नेपालीका मुख्य खाना बाली धान रोप्न आपसी सहकार्यका रूपमा मेलापात गर्छन्। आपसमा हिलो खेल्छन्। खाजाका रूपमा दही, चिउरा, तरकारी र रोटी खान्छन्। खेत रोप्दा खेतालाहरू असारे भाका गाउँछन्। हलीहरू गोरूको पुच्छर निमोठ्दै गह्रा सम्याउँछन्। बाउसेले आली लगाउँछन्। आपसी सहकार्यमा धान रोप्ने नेपाली परम्परा नेपालीलाई सामान्य लागे पनि विदेशीले अर्कै अनुभव गरेका हुन्छन्, जुन उनीहरूले कहिल्यै देखेका हुँदैनन्।
पोखरा–२६ गुदे तालमा आइतबार रोपाइँ महोत्सबमा विदेशी पर्यटक पनि खेतमा उत्रिए। कोहीले हिलो खेले। कोही नाचे त कोहीले माछा समाउने र हिलोमा दौडिने प्रतियोगितामा भाग लिए। यसरी नै रोपाइँमा सहभागीमध्ये एक थिइन्, अष्ट्रेलियाबाट नेपाल घुम्न आएकी म्याडी।
समुदाय आफै आपसी सहकार्यमा यसरी खेतीपाती गरेको पहिलो पटक देखेको उनले बताइन्। रोपाइँ महोत्सव हेर्न जाने भनेर लेकसाइडबाट निस्कँदा उनले जे सोचेकी थिइन्, त्यो भन्दा बढी आनन्द पाएको बताइन्।
‘मलाई रोपाइँ कस्तो हुन्छ थाहा थिएन। रमाइलो होला भनेर सोचेकी थिएँ। मेरो अपेक्षाभन्दा धेरै नै रमाइलो भयो,’ उनले भनिन्, ‘तपाईंहरूले धेरै राम्रो वातावरण र समुदाय तयार गर्नुभएको रहेछ।’
रोपाइँ महोत्सवमा दही, चिउरा, सेलरोटी, तरकारी र गुन्द्रुकको अचार पनि खाजाका रूपमा राखिएको थियो। उनले खाजा खाइनन्। तर नेपाली दाल, भात र तरकारीको स्वाद भने उनले डेढ महिनादेखि लिएकी छिन्।
काडमाडौंमा केहीदिन घुमेर तुल्सीपुर पुगेकी म्याडी त्यसपछि पोखरा आएकी थिइन्। ४० दिन नेपालमा बिताउने योजना बनाएकी उनी अब पोखराकै पञ्चासे घुम्न जाने योजनामा छिन्।
नेपाल बसाइका क्रममा मानिसहरूका सहयोगी व्यवहार र हँसिलो अनुहार उनलाई मन पर्दोरहेछ। यसरी मिलेर बस्ने समुदाय अष्ट्रेलियामा नभएको उनले बताइन्।
‘यहाँ सबै जना खुसी देखिन्छन्। एकदमै सहयोगी पनि छन्, जुन कुरा अष्ट्रेलियामा पाइदैन,’ उनले भनिन्, ‘नेपालको संस्कृति उज्यालो र खुसीपूर्ण रहेछ।’
पहिलो पटक नेपाल घुम्न आएकी अष्ट्रियाकी एलिसा र मार्लेन पनि रोपाइँमा गएका खेतालासँगै धान रोप्न सिके। हिलो खेले अनि दही, चिउरा, सेलरोटी, तरकारी र अचार खाए। नेपालको संस्कृति र चाडपर्वबारे जान्न पाउँदा अद्भूत अनुभव भएको उनीहरूले बताए।
‘यसरी मिलेर काम गर्ने पर्व हाम्रो देशमा छैन, यो बिल्कुल नयाँ अनुभव हो,’ मार्लेनले भनिन्।
एभरेष्ट–३ पदयात्रा सकेर आराम गर्न पोखरा आएका क्यानडाका एक पर्यटक पनि रोपाइँ हेर्न गुदे ताल पुगे। डेढ महिनादेखि नेपाल बसिरहेका उनले नेपालीको आतिथ्यता मन पराएका छन्। खेतमा मिलेर काम गर्ने चलन उनलाई अनौठो लागेको छ।
‘स्थानीय मानिसहरू खुसी भएर हिलोमा नाँच्दै, गीत गाउँदै, हिलो खेल्दै, माछा समाउँदै गरिरहेका थिए। मैले यति धेरै मुस्कान ल्याउने अनुभव धेरै समयपछि पाए,’ उनले भने।
धान रोपाइँ गर्दा नेपालीले मनाउने खुसीयाली स्वदेश फर्किएपछि साथीहरूसँग साझा गर्ने उनले बताएका छन्। क्यानडामा धान रोप्ने खेत नै नभएको भन्दै उनले यसरी आपसमा सहकार्य गर्दै काम गर्ने परम्परा पनि नभएको बताए।
‘क्यानडाको समुद्री क्षेत्रको ग्रेट प्लेन्समा गहुँ, जौ, सोयाबिन, मकै, आलु जस्ता खेती हुन्छन्। म पश्चिमी तट भ्यानकुभरबाट हो। जहाँ स्याउ, आँप, चेरी फल्छ,’ उनले भने, हामीकहाँ धान खेती हुँदैन। मैले कहिल्यै क्यानडामा धान खेत देखेको छैन।’
गुदे तालको किनारमा भइरहेको रोपाइमा उनले हिलो खेलेका थिए। स्थानीय किसानसँग खेतमा काम गर्न र रमाउन पाउँदा रमाइलो भएको उनले बताए। रोपाई हेर्न जाँदा नेपालीका आनीबानी र सहकार्य गर्ने परम्परा देखेर खुसी लागेको उनले बताए।
‘यहाँका मानिसहरू जिज्ञासु छन्। सधैं मुस्कुराइरहेका हुन्छन्। सज्जन छन्, कहिल्यै छलकपट गर्दैनन्,’ उनले भने, ‘नेपालीहरू खुलेर कुरा गर्छन्। मैले यात्रा गरेका देशहरूमा सबैभन्दा मैत्रीपूर्ण देश नेपाल हो।’
ताल किनारको खेतमा रोपाइँ महोत्सब आयोजना गरिएको स्थानीय जग्गाधनी बामदेव ढुंगानाले पोखराका तालहरूमध्ये गुदे ताल ओझेलमा परेकाले महोत्सव आयोजना गरिएको बताए। महोत्सवमा नेपाली र विदेशी पाहुनाको घुइँचो लागेकाले ताल चिनाउन सफल भएको उनले बताए।
‘अब अरू बेला पनि यो ताल हेर्न पाहुना आउँछन् भनेर हामीले विश्वास लिएका छौं,’ उनले भने, ‘पोखराका तालहरूमा गुदे ताल ओझेलमा परेको थियो। रोपाइँ महोत्सवले अलिकति भए पनि चिनायो।’
पर्यटनको राजधानी घोषणा गरिएको पोखराको लेखनाथ क्षेत्र अझै पनि ओझेलमा छन्। लेखनाथमा मात्र ७ वटा तालहरू छन्। पोखरा–२६ मा मात्र गुदे, खास्टे र न्युरेनी गरी ३ वटा ताल छन्। यी तालहरुलाई केन्द्र बनाएर पर्यटन प्रवर्द्धन गर्न रोपाई महोत्सवले सघाउने अपेक्षा गरिएको वडाध्यक्ष नरेन्द्र थापाले बताए।
तालहरूको संरक्षण र पर्यटन प्रवर्द्धन गर्न वडाले गुरुयोजना बनाएर कार्यान्वयनमा लगेको भन्दै उनले लेखनाथ क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न तीनै तहका सरकारले चासो दिनुपर्ने बताए।
‘पोखराका ८ वटा तालमध्ये ७ वटा लेखनाथमा छन्। वडा नम्बर २६ मा मात्र ३ वटा ताल छन्। यहाँका तालहरूमा पर्यटन प्रवर्द्धन गर्न जरुरी छ,’ उनले भने, ‘यहाँका तालहरूमा चरा हेर्न आउने पर्यटक बढ्न थालेका छन्। बर्ड वाचिङ सेन्टर बनाएर हामीले पर्यटन प्रवर्द्धन गर्न डिपिआर बनाएका छौं।’
पोखरामा बर्खायाम लागेपछि पर्यटक शून्य हुने भएकाले धान रोप्ने परम्परालाई नै पर्यटनसँग जोडेर कार्यक्रम आयोजना गर्न थालेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले बताए।
परिषद्ले २०६१ सालदेखि असार १५ गते धान दिवसका अवसरमा पर्यटकलाई खेतमै लगेर रोपाई महोत्सव गरिरहेको छ। २० औं संस्करणको महोत्सव लेखनाथको गुदे तालमा आयोजना गरिएको हो।
‘पोखरा सबै सिजनका लागि घुम्न उपयुक्त छ भनेर सन्देश दिन हामीले कृषि प्रणालीलाई पर्यटनसँग जोडेका हौं,’ उनले भने, ‘हाम्रो संस्कृतिलाई पर्यटनसँग जोड्न सक्यौं भने अफ सिजन भनेर बसिरहनुपर्दैन।’
झमझम पानीमा भिजेर धान रोप्दै हिलो खेल्ने, खाजाका रूपमा दही, चिउरा, सेलरोटी, तरकारी र अचार खाने र असारे गीत गाउने संस्कृति विदेशीले मन पराएको उनले बताए।
महोत्सवको स्थानीय संयोजन शान्तिप्रेमी आमा समूहले गरेको थियो। रोपाइँ महोत्सवले गुदे तालको प्रवर्द्धन हुने र पर्यटक आउन थाल्ने उनले विश्वास लिएकी छिन्।
‘हाम्रो गुदे ताल पछाडि परेको थियो, अब अगाडि आउँछ भनेर विश्वास लिएकी छु,’ उनले भनिन्, ‘यहाँ पनि पर्यटक आओस् भनेर रोपाई महोत्सव मनाएका हौं।’
-1751199074.jpeg)
-1751199074.jpeg)
-1751199073.jpeg)
-1751199073.jpeg)
-1751199072.jpeg)
-1751199072.jpeg)
-1751199071.jpeg)
-1751199071.jpeg)
-1751199071.jpeg)