'बाघ बूढो हुँदैमा घाँस खाँदैन!'
नेपालीहरूका लागि यो नयाँ उखान होइन। कसैले आफूलाई अब्बल देखाउनुपर्यो भने यही उखान प्रयोग गर्छन्।
मांसाहारी प्राणी बाघ जस्तोसुकै भोकाएको अवस्थामा पनि घाँस खाँदैन भन्ने यसको आसय हो। तर सत्य के हो भने, बाघले भलै घाँस नखाओस्, घाँसबिना ऊ बाँच्न सक्दैन। बूढो बाघलाई भन्दा वयस्क बाघलाई बाँच्न धेरै घाँस चाहिन्छ।
किन त? के कारणले बाघ घाँसबिना बाँच्न सक्दैन? यो स्टोरीमा हामी यसैबारे चर्चा गर्नेछौं।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तका अनुसार वयस्क बाघलाई साताको कम्तिमा एउटा ठूलो सिकार चाहिन्छ। बाघले प्रायः मृग प्रजातिको सिकार गर्छ।
चितवन निकुञ्जमा बाघको आहारा चित्तल, हरिण, मृग, बँदेल, गौरीगाई लगायतका जनावर हुन्। पर्सातिर निलगाई र बर्दिया, शुक्लाफाँटामा कृष्णसारलाई पनि बाघले आहारा बनाउँछ। बाघले आहारा बनाउने यी सबै जनावर घाँसमा निर्भर हुन्छन्।
अर्को कुरा, बाघ आफ्नो सिकार गर्न धेरै शक्ति खर्च गर्दैन। ठूलो जरायो वा चित्तल सिकार गर्यो भने साताभर खान पुग्छ। साताको औसत एउटाको दरले बाघलाई वर्षमा ५० वटा सिकार आवश्यक पर्ने अध्ययनहरूले देखाएका छन्। तर तीव्र गतिमा दौडिने जरायो वा चित्तल सिकार गर्नु भनेको 'जंगलको राजा' बाघका लागि पनि सजिलो कुरा होइन। त्यसैले वर्षमा ५० वटा सिकारको दीर्घकालीन व्यवस्था गर्न एउटा बाघको दायराभित्र सामान्यतया पाँच सयवटा आहाराजन्य जनावर हुनुपर्छ।
'घाँसे मैदानको राम्रो व्यवस्थापन भएको ठाउँमा मृग प्रजाति प्रशस्त हुन्छन्,' पन्तले भने, 'बाघ जति ठाउँ डुले पनि सिकारका लागि घाँस धेरै पाइने ठाउँ खोज्दै आउनुपर्छ।'
चितवन-पर्सामा पर्ने तराई र चुरेको करिब ६ सय किलोमिटर क्षेत्रमा गरिएको एक अध्ययनले एक वर्गकिलोमिटर क्षेत्रफलमा ५४ वटा शाकाहारी जनावरको उपस्थिति देखिएको थियो। चितवनतर्फ प्रति वर्गकिलोमिटर ७२ र पर्सातर्फ ३१ वटा शाकाहारी जनावर भेटिएका थिए। यसलाई आधार मानेर अनुसन्धानकर्ताहरूले यहाँ ११९ देखि २६३ वटा बाघ रहनसक्ने आकलन गरेका थिए।
बर्दिया राष्ट्रिय निकुञ्जमा गरिएको त्यस्तै अर्को अध्ययनमा त्यहाँको कोर क्षेत्रमा भेटिएका प्रति वर्गकिलोमिटर ६५ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ६० वटा शाकाहारी जनावरलाई आधार बनाएर बाघ रहनसक्ने अधिकतम क्षमता आकलन गरिएको थियो।
वन्यजन्तु विज्ञ बाबुराम लामिछाने आहाराजन्य प्रजातिको घनत्वका आधारमा उक्त क्षेत्रले कति बाघ थेग्न सक्छ भनी निर्धारण हुने बताउँछन्।
उनका अनुसार बाघलाई इको-सिस्टमको सबभन्दा माथिल्लो तहको जनावर मानिन्छ। सबभन्दा तल्लो तहमा घाँस र बोटबिरूवा पर्छन्। घाँस र बोटबिरूवा खाएर जीवन चलाउने प्राणीहरू दोस्रो तह अर्थात् प्राथमिक तहका हुन्। यसमा कीरा, फट्यांग्रादेखि मृग, हरिण लगायतका शाकाहारी प्राणी पर्छन्। ती प्राणीलाई खाएर बाँच्ने द्वितीय तहका प्राणीमा बिरालो, सर्प, भालु, स्याल पर्छ। यी सर्वहारी पनि हुन्छन्।
बाघ, चितुवा, सिंह लगायतका ठूला मांसाहारी जनावर त्यसभन्दा माथिल्लो तहका हुन्। यी प्राणीको मृत्युपछि ब्याक्टेरिया, फन्जाइले शरीरलाई सडाउन, गलाउन, कुहाउन र माटोमै मिलाउन सघाउँछन्।
शाकाहारी जनावरमा पनि सबैलाई एउटै खाले घाँसले हुँदैन। हात्तीले अग्लो घाँस मनपराउँछ। मृग प्रजातिले खुला क्षेत्रमा रहेका होचा घाँस मनपराउँछ। अझै साना जनावरलाई त पालुवा मनपर्छ।
'साँझपख खुला घाँसे मैदानतिर गयौं भने एकै ठाउँमा सयौं चित्तल देख्न सकिन्छ। कतै त हजारौं देखिन्छन्। यसको कारण, उनीहरूले त्यहाँको घाँस मनपराएर हो। नजिकै पानीको स्रोत छ भने अझै राम्रो हुन्छ,' लामिछानेले भने, 'बाघजस्ता ठूला मांसाहारी जनावर पनि त्यही आसपास बस्छन्।'
बाघलाई सिकारका लागि लुक्न सामान्य झाडी आवश्यक पर्छ। घना जंगलमा भने बाघ कमै रहने अध्ययनबाट देखिएको लामिछानेले बताए।
'आहारा प्रजातिका लागि चरण क्षेत्र, खुला घाँसे मैदान र पानीको स्रोत चाहिन्छ। यी बढे भने बाघ त्यो क्षेत्र नजिकै रहन्छ। हराउँदै गए सिकार खोज्दै अन्यत्र लाग्छ। यो अवस्थामा आहाराको खोजी गर्दै मानव बस्तीतिर पसेर द्वन्द्व पनि हुनसक्छ,' उनले भने, 'त्यसैले बाघले सिधै घाँस नखाए पनि घाँस बाघको जीवनमा असाध्यै महत्त्वपूर्ण हुन्छ।'
घाँसे मैदान व्यवस्थापन हुन नसकेर झाडी वा जंगलमा परिणत हुँदा यसको असर बाघलाई समेत पर्ने लामिछानेले बताए।
चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत पन्त समग्र इको-सिस्टम संरक्षणका लागि बाघ, गैंडा, हात्ती, घडियाल लगायतका ठूला प्राणीको संरक्षणलाई प्राथमिकतामा राख्ने गरिएको बताउँछन्।
'जैविक विविधता संरक्षणमा काम गर्दा बाघलाई छाता प्रजाति मानेर व्यवस्थापन गर्छौं। यसलाई व्यवस्थापन गर्दा समग्र इको-सिस्टममै सन्तुलन कायम हुन्छ। बाघ संरक्षणका लागि सुरक्षा व्यवस्था र बासस्थानमा सबभन्दा बढी ध्यान केन्द्रित गर्नुपर्छ। यो भनेको घाँसे मैदान र सिमसार व्यवस्थापन गर्ने भन्ने हो। बाघ, गैंडाजस्ता ठूला प्रजाति व्यवस्थापन गर्दा समग्र वातावरण नै व्यवस्थापन हुन्छ। चित्तल, जरायोलाई नै फोकस गरिराख्नु पर्दैन। उनीहरूको स्वतः व्यवस्थापन हुन जान्छ,' उनले भने, 'हामीले अहिलेसम्म गर्दै आएको यही हो।'
आहारा प्रजातिको संख्या बढाउन सक्यो भने बाघलाई धेरै क्षेत्र आवश्यक नपर्ने पन्त बताउँछन्।
विगतमा एउटा भाले बाघले करिब ४५ वर्गकिलोमिटर क्षेत्र ओगट्ने अनुमान गरिन्थ्यो। बाघ संरक्षण कार्यक्रम प्रभावकारी बन्दै जाँदा उसले ओगट्ने क्षेत्र पनि घट्दै गएको उनको भनाइ छ। अहिले बाघ १० वर्गकिलोमिटर क्षेत्रमै सीमित बन्ने गरेको आकलन गरिन्छ। यो हिसाबले चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र गरी १७० वटाजति बाघ रहन सक्ने आकलन छ।
एउटा बाघ बराबर १० वर्गकिलोमिटर क्षेत्रको हिसाबले मध्यवर्ती क्षेत्र छाड्ने हो भने पर्सा-चितवनको कोर क्षेत्रमा डेढ सयभन्दा बढी बाघ रहनसक्ने पन्त बताउँछन्। भाले बाघ एउटा क्षेत्रमा एकभन्दा बढी रहँदैन। त्यो ठाउँमा पोथी बाघ र डमरूहरू भने रहन सक्छन्।
प्रमुख संरक्षण अधिकृत पन्त पर्सा-चितवनसँग भारतको वाल्मीकि टाइगर रिजर्भ जोडिएकाले यहाँ २ सयभन्दा बढी बाघ भए पनि समस्या नहुने बताउँछन्।
वन्यजन्तुका लागि कुनै सीमा हुँदैन। उनीहरू सुरक्षित बासस्थान, खाना, पानी पर्याप्त भएको ठाउँ रोज्छन्। वाल्मीकि टाइगर रिजर्भको पछिल्लो तथ्यांकले बाघहरूले उपयुक्त बासस्थान खोज्दै सीमा वारपार गर्ने गरेको देखाउँछ। वाल्मीकिमा सन् २००६ मा १० वटा बाघ थिए। सन् २०१० मा ८ वटा, २०१४ मा २८ र २०१८ मा २२ वटा बाघ भेटिएका थिए। सन् २०२२ को गणनामा ५४ वटा बाघ भेटिए। भारत सरकारले वाल्मीकि टाइगर रिजर्भमा बाघ संरक्षणका लागि प्राथमिकतासाथ काम गरिरहेकाले त्यहाँ राम्रो बासस्थान तयार भइरहेको उनी बताउँछन्।
सन् २०२२ को गणनामा नेपालमा ३५५ वटा बाघ भेटिँदा चितवन राष्ट्रिय निकुञ्जमा मात्र १२८ वटा भेटिएका थिए। पर्सा-चितवनमा १६९ वटा बाघ भेटिएका थिए।
विगतमा चितवन पूरै वन थियो। वन्यजन्तुका गतिविधिले बासस्थान आफै व्यवस्थापन हुन्थ्यो। स्थापनाकालतिर चितवन राष्ट्रिय निकुञ्जको कुल क्षेत्रफलको करिब २० हजार हेक्टरमा घाँसे मैदान रहेको अनुमान गरिन्छ। निकुञ्ज बन्नुअघि त्यस क्षेत्रमा घरपालुवा पशु चौपायाहरू चराइन्थे। मान्छेका घरहरू खरले छाएका हुन्थे। घाँस, खरका लागि निकुञ्जभित्र जाने चलन हुन्थ्यो।
निकुञ्ज बनेपछि प्रवेशमा कडाइ भयो। घाँसे मैदान बिस्तारै झाडी र जंगलमा परिणत हुँदै गयो। अचेल वन्यजन्तुका लागि घाँसे मैदानको व्यवस्थापन निकुञ्ज आफैले गर्छ। त्यसका लागि पर्याप्त बजेट प्राप्त नहुँदा समस्या भइरहेको पन्त बताउँछन्।
'हामीलाई १० हजार हेक्टर क्षेत्रफल घाँसे मैदान आवश्यक छ। वर्षको कम्तिमा दुईपटक घाँस काटेर व्यवस्थापन गर्नसके राम्रो हुन्थ्यो। तर प्राप्त बजेटले ५ सय हेक्टर व्यवस्थापन गर्न पनि गाह्रो छ,' पन्तले भने, 'अहिलेको चुनौती भनेको आश्रित जनावरलाई वर्षभरि पुग्ने गरी उपयुक्त खालको घाँस व्यवस्थापन गर्ने हो। यो काम कतिपय ठाउँमा प्राकृतिक प्रक्रियामै हुन्छ। कतिपय अवस्थामा हामीले खोजेजस्तो राम्रो घाँस उत्पादन गर्न काट्ने, जलाउने, जोत्ने, मिचाहा प्रजाति हटाएर व्यवस्थापन गर्ने गरिन्छ।'
'हामीले विगतका अनुभव र अध्ययनका आधारमा काम गर्दै आएका छौं। तर स्रोत अभावले गर्नुपर्ने जति काम गर्न सकिएको छैन। एकातिर स्रोत नहुने, अर्कातिर व्यवस्थापन गर्न नसक्दा समस्या आउने देखिन्छ,' उनले भने।
सिमसार व्यवस्थापन पनि चुनौतीपूर्ण रहेको उनले बताए। जलवायु परिवर्तन, मिचाहा झार लगायतका कारण तालहरू सुक्दै गएको उनको भनाइ छ।
'कतिपय स्थानमा सोलार बोरिङबाट पानी तानेर कृत्रिम पोखरी बनाएका छौं। यसले वन्यजन्तुलाई पानी खाने, आहाल बस्ने वातावरण तयार गरेको छ। जमिनमुनिको पानी रिचार्ज गर्दै स्तरीय घाँसे मैदान तयार गर्न सघाएको छ,' उनले भने, 'सुकेका ठूला ताललाई पुनः पहिलेको अवस्थामा फर्काउन बजेटकै अभावले सकिएको छैन।'
वन्यजन्तु विज्ञ लामिछानेले वन क्षेत्र घट्दै गएकाले बाँकी रहेको क्षेत्रको उन्नत व्यवस्थापन गर्न आवश्यक रहेको बताए। एकै ठाउँमा ठूलो क्षेत्रफलमा नभई धेरै ठाउँमा सानो-सानो क्षेत्रफलमा घाँसे मैदान तयार गरेर नियमित व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ।
'हामी बाघलाई थुनेर प्रजनन् गराउन सक्दैनौं। गर्न सक्ने भनेको भएको वन क्षेत्र व्यवस्थापन गर्ने नै हो,' उनले भने, 'सकेसम्म उनीहरूलाई निकुञ्जको कोर क्षेत्रमै सीमित गर्ने गरी काम गर्नुपर्छ।'
निकुञ्जको कोर क्षेत्रमा भन्दा मध्यवर्ती क्षेत्रमा घाँसे मैदानको राम्रो व्यवस्थापन हुँदा वन्यजन्तुहरू बाहिर निस्किएको हुनसक्ने लामिछानेको आकलन छ।
'जंगलभित्रै घाँसे मैदान र सिमसारको राम्रो व्यवस्थापन गरे मान्छेबाट वन्यजन्तुलाई खतरा हुँदैन, वन्यजन्तुबाट मान्छेलाई पनि खतरा हुँदैन,' उनले भने, 'यसो गर्न सकिएन भने वन्यजन्तु आहाराको खोजीमा बाहिर निस्कने र मान्छेसँग द्वन्द्व बढ्ने खतरा भइराख्छ।'
***