वनमा मृत फेला परेका अछामकी दुई किशोरीलाई उनैका प्रेमीले हत्या गरेको खुलेको छ।
गत शनिबार साँझ अछामको ढकारी गाउँपालिका–१ शोडषा सामुदायिक वनमा १४ वर्षकी सरस्वती खड्का र १५ वर्षकी ईशरा खड्का मृत फेला परेका थिए।
अनुसन्धानबाट दुई किशोरले उनीहरूको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ।
आज पत्रकार सम्मेलन गरेर अछाम प्रहरीले यसबारे जानकारी दिएको हो।
हत्या गर्ने एक जना नाम परिवर्तित (६९ मंगलसेन ७६) ईशराको प्रेमी रहेको र अर्का परिवर्तित नाम (६९ मंगलसेन ७३) सरस्वतीको प्रेमी रहेको खुलेको छ।
दुबै केटाहरू हत्याको दुई दिनअघि मंगलसेनबाट डुफा आएका थिए। प्रहरीका अनुसार उनीहरूले पटकपटक फोन गरेर भेट्न बोलाएको देखिएको छ।
११ गते भेट्ने योजना बनाई बिहान १० बजे खोलामा गई केटीहरूलाई ढुकेर बसेका थिए। मृतक दुबै केटीहरू १२ बजे रिमरौहा खोला नजिकैको खोरबाट बाख्रा ल्याई नजिकैको वनमा आएका थिए।
त्यसपछि ती दुवै किशोरसँग उनीहरूको भेट भयो। सरस्वतीले मोबाइलबाट नाम परिवर्तित ६९ मंगलसेन ७६ को सेयर इटबाट भिडिओ सेयर गरेका थिए। त्यसपछि सोही जंगलमा रहेको छिन्ने ओडार भन्ने स्थानमा रहेको ठूलो ढुंगामा ती दुई मृतक सरस्वती र ईशरासँग बसेका थिए।
ती दुवै किशोरले सरस्वती र ईशरासँग माया चिनो भनेर दोपट्टा मागे। ईशरा खड्काको सेतो दोपट्टा खोसेर परिवर्तित नाम ६९ मंगलसेन ७३ लाई दिइयो। तर, सरस्वतीले भने दोपट्टा ६९ मंगलसेन ७६ लाई दिन मानिन्। त्यसपछि उनले सरस्वतीको इयरफोन खोसे। इयरफोन आफ्नो दाइको भन्दै ईशराले ६९ मंगलसेन ७६ सँग फिर्ता मागेकी थिइन्।
ढुंगामा बसेका उनीहरूबीच दोपट्टा खोसाखोसमा विवाद भयो। त्यसपछि ईशरा ढुंगाबाट तल झरेर बाख्रा हेर्ने भन्दै जंगलतर्फ लागिन्। सरस्वती ढुंगाको तलतिर उभिएकी थिइन्। सोही समयमा ६९ मंगलसेन ७६ ले सरस्वतीलाई यौन सम्पर्क गर्न दिन प्रस्ताव राखे। सरस्वतीले भने विवाह गर्ने भएपछि मात्रै यौन सम्पर्क गर्न दिइन् जबाफ दिइन्। किशोरले आफ्नो उमेर कम भएको र ५/६ वर्षपछि विवाह गर्ने भने। सरस्वती उनको प्रस्तावलाई अस्वीकार गर्दै खोलातर्फ लागिन्। किशोरले आफूलाई यौन सम्पर्क गर्न नदिएको रिसमा ढुंगा समातेर सरस्वतीको टाउको पछाडि प्रहार गरे। सरस्वती ढुंगाको प्रहारबाट बेहोस् भइन् र भुइँमा ढलिन्।
अर्को केटाले हतारहतारमा ढुंगा सरस्वतीमाथि धकेले। सरस्वतीलाई प्रहार गर्ने केटोले भने ढुंगा आयो भाग भनेर करायो। ईशराले थाहा नपाओस्, ढुंगाले लागेर सरस्वतीको मृत्यु भएको हो भन्ने पार्न उनीहरूले यसो गरेका थिए। ईशरा साथी ढलेका स्थानमा पुग्दा बेहोस् देखिन्। ती केटाहरूले यो घटनाबारे कसैलाई नभन्नु भनेर भने। ईशरा घटनापछि घर जान खोज्दा केटाहरूले छेके र धकेले। ६९ मंगलसेन ७३ ले ढुंगा समातेर ईशराको निधारमा प्रहार गरे।
ढलेको अवस्थामा अर्का केटाले पनि ईशराका निधारमा हानेर हत्या गरे।
अहिले दुबै किशोरलाई पक्राउ गरेर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए।
सरस्वतीले शारीरिक सम्पर्कका लागि गरेको प्रस्ताव नमानेपछि प्रेमीले हत्या गरेको प्रहरीको निष्कर्ष छ। सो घटना कसैलाई नभन्नु भनेर रोक्न ईशरालाई पनि मारेको प्रहरी अनुसन्धानले देखाएको छ।
यो पनि:
ईश्वरा र सरस्वतीलाई सम्झँदै परिवारका सदस्यहरू भन्छन्- उनीहरू नै सहारा थिए