शनिबार साँझ अछामको ढकारी गाउँपालिका–१ को जंगलमा फुपू-भदै नाता पर्ने दुई जना किशोरीको शव फेला पर्यो।
उनीहरू सोही गाउँपालिका-८ का १५ वर्षकी ईश्वरा खड्का र १४ वर्षकी सरस्वती खड्का थिए।
जंगलमा बाख्रा चराउन शुक्रबार बिहान ९ बजे निस्केका उनीहरू शनिबार साँझ ७ बजे मृत फेला परे। उनीहरूको शव फेला परेपछि घटनाबारे सत्यतथ्य पत्ता लगाउन र दोषीको खोजी गर्नुपर्ने चौतर्फी माग छ।
परिवारका दुई भविष्य ढल्दा सरस्वती र ईश्वराका आमाबुवा पीडामा छन्। घटनाबारे सरस्वतीकी आमा तारादेवीले शनिबार साँझ थाहा पाएकी थिइन्। घटनाले उनको एक सहारा टुट्यो। ताकत र भरोसा उड्यो।
‘के गरूँ, म रूँदै छु। बोल्न पनि सक्दिनँ, मेरो मनको पीडा कसरी पो कम हुन्छ,’ तारादेवीले रूँदै भनिन्।
उनको चाहना हत्यारालाई छिट्टै सजाय भएको देख्न पाऊँ भन्ने छ।
‘मेरो छोरीलाई तड्पाई –तड्पाई मारेको छ, टाउकोमा चोट थियो, घाँटीमा निलडाम थिए। चक्कु र ढुंगाले हानेर मारे नि!,’ उनले भनिन्।
घरको भविष्य, एक सहारा छोरीलाई गुमाउँदा ५० वर्षीया तारादेवी खड्का अहिले होसमा छैनन्। छिमेकीले उनलाई सान्त्वना दिइरहेका छन्। उनको घरमा खाना नपाकेको चार दिन भयो।
‘दुई परिवारका सहारा, ताकत, भरोसा र भविष्य गुमायौं, धेरै पीडा छ न्याय दिलाउन सरकारले सहयोग गरोस्,’ तारादेवीले भनिन्।
छोरीलाई धेरै पढाउने तारादेवीको सपना थियो। आफ्नो जस्तो जिन्दगी छोरीहरूको नहोस् भन्ने उनको चाहना थियो।
दुई छोरीको विवाह भइहाल्यो। कान्छी छोरी सरस्वतीले भने धेरै पढोस्, जागिर गरोस् भन्ने कामनामा थिइन् तारादेवी। दुई दिदीसँगै सरस्वतीका एक दाइ र एक भाइ छन्।
उनका आमा र बाबाले गाईगोरू, बाख्रा, खेतीपाती गरेर छोराछोरीको लालनपालन गर्दै आएका थिए। बुवा भने भारतमा पनि मजदुरी गर्न जान्थे। यो वर्ष मंसिरमा उनी भारतमा कमाउन गएका थिए।
पसिना बगाएर रातदिन नभनी हुर्काएकी सन्तानलाई कसैले मारेर फालिदिँदा सरस्वतीका आमाबामाथि ठूलो बज्रपात परेको छ।
‘यसरी ज्यान जाँदा डर छ, कसरी यो ठाउँमा बस्ने कसरी नानीहरूलाई बचाउने? हाम्रा छोरीलाई कसरी बचाउने? कहाँ जाने?,’ सरस्वतीकी भाउजू धनसरा खड्काले भनिन्।
धनसराका अनुसार उनीहरू गाउँका मान्छेसँग जग्गा जमिन केही छैन। उत्पादन भएको अन्नले ६ महिना समेत खान पुग्दैन।
रातो माटो भएकाले उत्पादन पनि त्यति धेरै हुँदैन। त्यसैमाथि बाँदर, बँदेलले झन् खेतीपातीमा नोक्सानी गर्छन्। दुईचार बाख्रा पालेर सरस्वतीका आमाबालाई परिवारको खर्च चलाउन सजिलो भएको थियो।
सरस्वतीले ‘म कक्षा १२ कटाउँछु, आफ्नै खुट्टामा उभिएपछि तपाईंको सहारा बन्छु, दिदीहरूले धेरै पढ्न पाएनन् म पढेर धेरै ठूलो मान्छे बन्छु’ भन्थिन्। आमालाई साहस र आँट दिने गर्थिन्।
तारादेवी कमजोर छिन्। सरस्वती आमालाई धेरै काममा सघाउने गर्थिन्। बिहान–बेलुकाको खाना पकाउने, घाँसपात, मेलापातसँगै विद्यालय बिदाका समयमा जंगलमा गाईबाख्रा चराउने र खेतबारीको काम पनि उनी गर्थिन्।
सरस्वती कमलबजार नगरपालिकामा रहेको स्याउले खान माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्थिन्।
उनको विद्यालयमा राष्ट्रपती रनिङ सिल्ड अन्तर्गत खेलकुदका कार्यक्रम चलिरहेको थियो।
उनले दौडमा भाग लिएकी थिइन्। तर खुट्टामा चोट लागेपछि शुक्रबार घरको काममा आमालाई सघाउने र शनिबार खेल नखेले पनि हेर्न जाने योजनामा उनी थिइन्।
शुक्रबारको बिहान ९ बजे घरबाट तीन घण्टा टाढा रहेको छानाको गोठमा राखेका बाख्रालाई चराउन उनी ईश्वरासँग घरबाट निस्किइन्।
दुवै जना बाख्रा चराउन घरबाट निस्किए। दिउँसोतिर उनीहरूको बाख्रा अर्काको बारीमा पसे। बारीबाट अर्को मान्छेले बाख्रा धपाएर घरसम्म पुर्याइदिए।
अर्काले बाख्रा घरसम्म ल्याएपछि घरका मान्छेले सरस्वती र ईश्वारा कहाँ गए भन्ने सोचे। साँझ खाना बनाउने समयसम्म त आइहाल्छन् भन्ने आसा दुवै परिवारको थियो।
तर अर्को दिनसम्म पनि उनीहरू फर्किएनन्। यसबारे उनीहरूले वडा कार्यालयमा खबर गरे।
शनिबारको साँझतिर जंगलमा बाख्रा गोठालाले बाख्राहरू तर्सेको देखेपछि भने शव फेला परेको थियो। घटनाबारे प्रहरीलाई खबर गरिएको थियो।
प्रहरी, गाउँलेहरूले शनिबार रातभरी जंगलमा फेला परेका शवको सुरक्षा गर्दै त्यो रात कट्यो।
आइतबार बिहान जिल्ला प्रहरी कार्यालय अछामबाट डिएसपी ईश्वरीप्रसाद भण्डारी, प्रमुख जिल्ला अधिकारी लगायतको टोली घटनास्थलमा पुग्यो। दिउँसो दुई बजेसम्म घटनास्थलमा मुचुल्का सकाएर शव घटनास्थलबाट उठाइयो।
भारतमा काम गरिरहेका दुबै जनाका बुबालाई यसबारे जानकारी दिइएको थियो।
यस घटनामा प्रहरीले शंकास्पद केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ।
गाउँलेले यस घटनामा गम्भीर अनुसन्धानको माग गरिरहेका छन्। घटनासँग सम्बन्धित व्यक्तिहरूको पत्ता लगाएर न्याय दिलाउनको लागि प्रहरीले कुनै कसुर बाँकी नराख्ने जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी भण्डारीले जानकारी दिए।
घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो कार्यालयबाट अनुसन्धान टोली परिचालन गरिएको छ।
डिएसपी भण्डारीका अनुसार प्रदेश र केन्द्रबाट अनुसन्धान टोलीले अनुसन्धानको काम गरिरहेको छ। घटनामा मृतकका आफन्तले दुई जना किशोरविरूद्ध कर्तव्य ज्यान विषयमा जाहेरी दिएको आधारमा प्रहरीले ढकारी गाउँपालिकाकै २० वर्ष उमेर मुनिका किशोरलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ।
उनीहरूमाथि थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गर्ने काम भइरहेको डिएसपी भण्डारीले बताए। दुवै शवको सोमबार पोष्टमर्टमको काम सम्पन्न भएको र अब रिपोर्ट आउन बाँकी रहेको छ।
रिपोर्ट आएपछि थप अनुसन्धान गर्न सहज हुने उनले बताए। किशोरीका आफन्तले बुधबार उनीहरूको दाहसंस्कार गरेका छन्।