सुदूरपश्चिममा छाउगोठमा बसेका महिला तथा किशोरीमाथि बलात्कार भएका, सर्पको टोकाइबाट मृत्यु भएका घटना सार्वजनिक भएको त हामीले सुन्दै आएका छौं। अहिले फेरि छाउगोठमै बसेकी महिलामाथि बाघले आक्रमण भएको घटना उजागर भएको छ।
प्रायः सुदूरपश्चिमका पहाडी जिल्लामा छाउगोठमा बस्ने चलन बढी देखिएको भनिए पनि अवस्था भने प्रदेशको सुगम जिल्ला मानिएको कैलालीमा पनि त्यस्तै छ।
कैलालीको पहाडी स्थानीय तह मोहन्याल गाउँपालिका–७ कैलाली कुइनेमा बाघको आक्रमणबाट एक महिला घाइते भइन्। उनी हुन् ४७ वर्षीया सरस्वती विक।
दुई दिनअघि आइतबार राति १० बजेको समय थियो। कुइने गाउँमा भोज चलेको थियो। मान्छेहरू रमाइलोमा व्यस्त थिए।
स्थानीय मिना विष्टका अनुसार तीन छोरी भएका घरमा बल्ल–बल्ल छोरा भएपछि त्यही खुसीयालीमा भोज चलिरहेको थियो। खानपानसँगै नाचगान चलिरहेको थियो। गाउँका मान्छेहरू भोजको रमाइलोमा व्यस्त हुँदा सरस्वती भने महिनावारी भएका कारण घर नजिकै रहेको छाउगोठमा सुतेकी थिइन्। गोठमा अँध्यारो थियो। उनी निद्रामा रहेको अवस्थामा एक्कासि बाघ गोठभित्र पस्यो, बाघले दुइटा खुट्टा भुइँमा टेक्यो, दुई पन्जाले सरस्वतीलाई छामछुम गर्यो। सरसस्वतीले आफूमाथि छामछुम गरेको चला पाइन्।
‘ओहो! यति ठूलो बिरालो कहाँबाट आयो,’ उनले सोचिन्।
बिरालो सोचेर धपाउन खोजेकी सरस्वतीले अगाडि बाघको ठूलो छाया देखिन्। उनको डरले सातो गयो। बाघ अलमलमा थियो। त्यसपछि सरस्वती बेस्सरी कराइन्, बाघलाई धपाउन कोसिस गरिन्, यही बेला बाघले आफ्नो पन्जाले सरस्वतीको अनुहार, शरीरमा प्रहार गर्यो। उनको अनुहार, शरीरमा बाघले चिर्थाेन खोज्यो। अलि–अलि घाउ बनायो। उनी कराएको सरस्वतीकी देउरानीले थाहा पाइन्। उनी पनि चिच्याइन्। गाउँमा धेरै ठूलो होहल्ला भयो। बाघले सरस्वतीमाथि थप आक्रमण गर्न सकेनन्। गोठमा पसेको बाघ बाहिर निस्कियो। सडकमा बाघ निस्कियो। रातभरि गाउँको मान्छेले दमाहा बजाए, राको बाले, होहल्ला गरे। बाघले त्यहाँ सुइँकुच्चा ठोक्यो। बाघको पन्जाबाट ज्यान जोगिँदा सरस्वती भने अहिले पनि राम्रोसँग बोल्न सक्ने अवस्थामा छैनन्।
‘छाउगोठबाट बाघको पन्जाबाट बाँचेर आउँदा मलाई त यो सपना हो जस्तो लागेको छ, फेरि पनि यताबाट उताबाट बाघ आउँछ भन्ने डर लागिरहेको छ, भाग्यले बाँचेकी हुँ,’ उनले भनिन्।
उनकी छिमेकी मिनाका अनुसार सरस्वतीलाई त्यो घटनाले असर गरेको छ, शरीरिक रूपमा गम्भीर घाइते नभए पनि मानसिक रूपमा उनी धेरै डराएकी छन्।
दुई दिनयता उनी रातभरी निदाउन सकेकी छैनन्।
मिनाका अनुसार सरस्वतीको घरनजिकै रहेको त्यो गोठमा पहिला बाख्रा राख्ने गरिन्थ्यो। अहिले भने महिनावारी भएका बेला त्यहाँ घरका महिलाहरू बस्ने गर्छन्। त्योभन्दा पहिला त्यहाँ जंगलमा मात्र बाघ देखिन्थ्यो। गाउँमा बाख्रा, गाईमाथि पनि आक्रमण भइरहेको हुन्थ्यो। मान्छेमाथि आक्रमण गरेको घटना भने पहिलो भएको मीनाको भनाइ छ। कुइने गाउँमा तीन सय बढी घरहरू छन्। बस्ती नजिक जंगल छ। साउडे खोला, कानी खोलाका जंगलहरू नजिक छन्। उनीहरू त्यहाँ बस्न थालेको धेरै वर्ष भइसक्यो। आफूहरू अछामबाट बसाइसराइँ गरेर त्यहाँ आएको मीना बताउँछिन्।
उनका अनुसार गाउँमा कसैका ठूला घर छन्। ठूला घर भएकाहरूले घरकै एक कोठामा महिनावारी भएको बेला महिला र किशोरीहरूलाई बसाउने गर्छन्।
‘ठूलो घर भएकाहरू घरको एक कोठामा बस्न छाउ भएका बेला, सानो घर भएकाहरूले भने छाउगोठमा नबसी हुँदैन। त्यहीँनेर भान्सा हुन्छ, त्यहीँनेर महिनावारी भएका बेला बस्न मिल्दैन, छाउगोठमै बस्नुपर्छ, पहिलाको जसो धेरै नमाने पनि महिनावारी भएका छाउ बार्ने चलन छ। साना काठका घर भएकाहरू झुपडी जस्ताले छाउगोठमै नबसे, कहाँ जाने?,’ उनले भनिन्।
छाउगोठमा बाघ पसेको घटनाले महिलाहरू डराएका छन्। महिना भएका बेला छाउगोठमा बस्नैपर्ने बाध्यतामा रहेकाहरू त्रासमा रहेको मिना बताउँछिन्। कच्ची झया, ढोका, नभएका छाउगोठमा बस्दा जंगली जनावर, लगायत धेरै ठाउँबाट असुरक्षा रहेको उनको भनाइ छ।
‘घटनापछि दिदीबहिनी मिलौं, अलग्गै पक्की घर बनाऔँ, महिनावारी भएका बेला पक्की घरमा बसौंला, अरूले नदिए पनि आफै मिलेर पैसा उठाएर घर बनौं भन्ने कुरा मैले गाउँमा राखेकी छु, घटनापछि वडा अध्यक्ष, प्रहरी, पत्रकार सबै आएका थिए, हामीहरूले गाउँमा महिनावारी भएका बेला बस्ने पक्की घर बनाइदिन वडा कार्यालयले सहयोग गर्नका कुरा राखेका थियौं, भवन बनाउनका लागि वडा अध्यक्षले पैसा हालिदिन्छौं भन्नुभएको छ,’ उनले भनिन्।
छाउ नबारे हुँदैन। महिनावारी भएका बेला धारा र शौचालय पनि नजिकै छ। नदी तलतिर बग्छ। जनावरको आक्रमणका कारण असुरिक्षित हुने त्यहाँका महिला तथा किशोरीहरूलाई अहिले चिन्ता बढेको बताउँछन्।
मोहन्याल गाउँपालिका–७ का वडा अध्यक्ष नवराज कठायतका अनुसार चेतनाको कमीका कारण अहिले पनि छाउगोठलाई मुक्त गर्न नसकिएको हो।
‘हामीले सामाजिक क्षेत्रको विकासका लागि धेरै सम्झाउने, बुझाउने काम गरिरहेका छौँ, तर मान्छेमा चेतनाको विकास छैन, सोच परिवर्तन गर्न सकिँदैन त्यही भएर यो छाउगोठ भत्काउन सकिँदैन, तर पनि हामी आफ्नो तर्फबाट लागिरेहका छौं, छाउगोठले असुरक्षा बढेकोले हामीले यो विषयमा संवेदनशील भएर लाग्नेछौँ, छाउगोठमै बसेर दर्जन बढीले ज्यान गुमाइसकेँ, अझै सुध्रिन सकेका छैनन्,’ उनले भने।