दिव्यनगरस्थित फाँटबाट नारायणी नदीतर्फ उडान भरिरहेको चराको एउटा बथानले हामीलाई उत्साहित बनायो। करिब तीन दर्जनको संख्यामा रहेको त्यो बथान नेपालमा कर्याङकुरुङ नामले चिनिने कमन क्रेनको थियो। करिब ३ घण्टा लगाएर दिव्यनगर फाँट घुम्दा सयौं संख्यामा चराहरू देखिए। तर कमन क्रेन फाट्ट–फुट्टमात्रै भेटिएका थिए।
कमन क्रेनको बथानै देखेपछि नारायणीको किनारमा बसेर आकाशतिर हेरिरहेका उत्तम चौधरी खुसी भए।
उनले हामीलाई एउटा कहावत सुनाए–पहिले मान्छेहरु कर्याङकुरुङ हिमाल से झर्ले जौं वर्षात खौब हतही (हिमालबाट कर्याङकुरुङ आए भने वर्षात राम्रो हुन्छ) भन्थे।
‘आकाशै ढाक्नेगरी मालचरा चराहरू आउँथे, जमिन चराका छायाले भरिन्थ्यो। कर्याङकुरुङ गर्दै खेतमा पसेर झरेको धान, कीरा, फट्यांग्रा खान्थे। कोही मान्छे ल कर्याङकुरुङ आउन थाले काँक्रा रोप्ने बेला भयो पनि भन्थे,’ उनले थपे, ‘अचेल त चरा आउने समयको भरै छैन। आउने, नआउने पनि भर छैन। वर्षातको पनि भर छैन।’
सिक्रीको आकारमा उडेर आउने भएकाले स्थानीयबासी कमन क्रेनलाई मालचरा, मालचरी पनि भन्छन्। नेपालमा यसलाई लक्ष्मण सारस पनि भन्ने गरिन्छ।
चितवनको भरतपुर–२६ मा पर्ने दिव्यनगरको धान खेत कमन क्रेनको रोजाइको ठाउँ हो। यो कर्याङकुरुङ प्रजातिभित्रको एक जात हो। यो प्रजातिभित्र डेमोजियल क्रेन, सारस क्रेन, ब्ल्याक नेक्ड क्रेन छन्। डेमोजियल क्रेन नेपालमा एकदमै कम बस्छन्। साइबेरियाबाट आउँदा उनीहरू मुस्ताङमा बास बस्छन् अनि भारततिर लाग्छन्। सारस क्रेन लुम्बिनीमा बस्छन्। उनीहरु यहीँका रैथाने हुन्। ब्ल्याक नेक्ड क्रेन निकै थोरै रेकर्ड भएका चरा हुन्। यी चरा नेपालको डोल्पामा देखिन्छन्। त्यहाँ प्रजनन् पनि गर्छन्।
मुख्य बासस्थान साइबेरिया भएका कमन क्रेनहरू हरेक वर्ष नोभेम्बरमा बसाइँ सरेर यहाँ आइपुग्छन्। मार्चसम्म बसेर फर्कन्छन्। नेपाल पन्छीविद संघका अध्यक्ष हठन चौधरीका अनुसार यो अवधिमा साइबेरियामा हिउँ पर्ने भएकाले जाडो छल्न र खानाको खोजीमा उनीहरू दक्षिणतर्फ झर्ने गर्छन्। समुद्रको सतहबाट ११ हजार मिटर उचाइमा उडेर कमन क्रेनहरू नेपाल आउने गरेको चौधरीले बताए।
कमन क्रेन सबभन्दा उचाइमा उड्ने चराहरूको सूचीमा दोस्रो नम्बरमा पर्छ।
दक्षिण अमेरिकामा पाइने चरा रुपाल्स भल्चर १३ हजार मिटर उचाइमा उड्छ। तेस्रो नम्बरमा नेपालमा खोया हाँस भनिने बार हेडेड गुज पर्छ। खोया हाँसहरू पनि ९ हजार मिटर उचाइमा उडेर यहाँ आइपुग्छन्।
‘कमन क्रेनहरू नेपालमा धेरै आउने भनेको दिव्यनगर फाँटमा मात्रै हो। यहाँ आउनेहरू पूरै समय यहीँ बसेर फर्कन्छन्। बेला बेलामा कैलालीको भजनी क्षेत्र र कञ्चनपुरका केही ठाउँमा पनि देखिने गरेका छन्। तर त्यहाँ हिउँदको पूरै समयमा बस्न गएका होइनन्। भारत जाने क्रममा बास बसेका हुन्,’ चौधरीले भने, ‘धेरैजसो उडेर सिधै भारतको बिहार, राजस्थानको भरतपुर पुग्ने गरेको पाइन्छ।’
चौधरीले दिव्यनगर फाँट बस्तीमा परिणत हुँदै जाँदा चराहरूले बासस्थान गुमाउन थालेको बताए।
‘हामी सानो छँदा यहाँ आँखाले देखिनेजति सबै फाँट थियो। पूरै क्षेत्रमा धान रोपिन्थ्यो। अरू बाली खासै रोपिन्थेन। धान काट्ने समयमा ठूलो संख्यामा चराहरू आउँथे। धेरै दिनसम्म देखिन्थे,’ चौधरीले भने, ‘हिउँदमा बसाइँ सरेका चराहरू अचेल पनि आउँछन्। तर संख्या निकै घटेको छ।’
उनका अनुसार गत वर्षको चरा गणनामा दिव्यनगर क्षेत्रमा १७ वटामात्रै कमन क्रेन भेटिएका थिए। त्यसअघिको वर्षमा १८७ वटा रेकर्ड भएका थिए। यो क्षेत्रको चरा गणनामा १० वर्षदेखि नियमित सहभागी भइरहेका चौधरीले सबभन्दा बढी कमन क्रेन (२४० वटा) ५ वर्षअघिको गणनामा देखेको बताए।
दिव्यनगर क्षेत्रमा बस्ती बिस्तार कस्तो गतिमा भइरहेको छ भन्ने कुरा उत्तम चौधरीको गाउँ सिसै (नारायणी नदीको नजिकै रहेको दिव्यनगरको एक चौधरी गाउँ) पुगेर हेरे पनि थाहा पाइन्छ। २००७ सालमा जन्मिएका चौधरी बुझ्ने हुँदा यो ठाउँमा तीन घरमात्रै थिए। यतिखेर उनका बाबु बाबुराम चौधरी (उक्त मौजाका जिमदार) को ८५ बिघा जमिन थियो। पूरै जमिनमा धान रोपिन्थ्यो। अहिले सिसैमा ७२ घर छन्। अहिले उत्तम चौधरीको जमिन एक बिघाभन्दा कम छ। करिब १० कट्ठामा मात्रै धान रोप्छन्।
दिव्यनगर क्षेत्रमा अचेल सर्लक्कै देखिने फाँट निकै कम छ। ठाउँ–ठाउँमा पोल्ट्री फार्म, उद्योगहरू खुलेका छन्। जमिन खण्डीकरण गरेर प्लटिङ गरिएका छन्। यही ठाउँमा नेपाल विद्युत प्राधिकरणले ठूलो क्षेत्र ओगटेर सब स्टेसन निर्माण गर्न थालेको छ। नेपाली सेनाले यही क्षेत्रमा प्याराजम्पिङको अभ्यास गर्छन्। पहिले खेत रहेको कैयौं बिघा क्षेत्र नारायणी नदीले कटान गरेको छ। कटान गरेको क्षेत्रमा गिटी, ढुंगा उत्खनन् गर्ने गरिन्छ।
पन्छीविद् चौधरी मान्छेको उपस्थिति बढ्दा चराहरूले बासस्थान गुमाएको बताउँछन्।
‘यो फाँटमा बकुल्ला, चखेवा, खोया हाँस लगायतका चरा त अघिल्ला वर्षमा जस्तै संख्यामा देखिए। तर कमन क्रेनको उपस्थिति चाहिँ यसपालि पनि सन्तोषजनक देखिएन,’ उनी भन्छन्, ‘अहिलेको अवस्थामा परिवर्तन ल्याउन सकिएन भने बिस्तारै हामीले यो चरा देख्न पाउँदैनौं।’
खेतमा भेटिने धान, किरा, फट्याङ्ग्रा, भ्यागुता खाने कमन क्रेनलाई जमिन, बालीको शुद्धता मापन गर्ने चराको रूपमा लिइन्छ। पछिल्लो समयमा बालीमा विषादी छर्ने चलन बढ्दा यसको असर चराहरूमा पनि परिरहेको छ।
‘पहिले मान्छेहरू प्रशस्त गाई, भैंसी पाल्थे। मल त्यसबाटै हुन्थ्यो। अहिले पाल्न छाडे। रासायनिक मल प्रयोग गर्छन्। विषादी हालेको अन्नले मान्छेलाई क्यान्सर हुन थाल्यो। चरालाई पनि समस्या पार्यो होला,’ स्थानीय उत्तम चौधरी भन्छन्, ‘जंगलमा सर्लक्क रूख, बिरुवाहरू हुन्थे। ठूला–ठूला सिमलका रूख थिए। त्यसमा गिद्धहरू बस्थे। ठूला गरूडहरू पनि टन्नै देखिन्थे। अहिले जंगलमा झाडीमात्रै छ। गिद्ध, गरूड त धेरै भयो मैले देखेकै छैन। खेत बगर भयो। बगरको ढुंगा, बालुवा पनि निकालेर लान्छन्। त्यो हल्ला खल्लाले नदीमा पनि चरा कम देखिन थालेका छन्।’
२२ वर्षअघि गोर्खाबाट बसाइँ सरेर दिव्यनगर आएका टिकानिधि ढकाल चराहरू विदेशबाट बसाइँ सरेर आउँछन् भन्ने सुन्दा दंग पर्थे। उनको खेतमा धान काट्ने बेलामा आकाशै ढाक्नेगरी विदेशी चरा आइपुग्थे। गाउँतिर भेडा, बाख्रा चरेजसरी सर्लक्कै खेत ढाकेर चर्थे।
‘त्यो देख्दा मलाई बहुत रमाइलो लाग्थ्यो। अचेल घटेका छन्। खेत पनि कम हुँदै गएर होला चरा घटेका,’ ढकालले भने।
चराविद् चौधरी दिव्यनगर क्षेत्रलाई बसाइँ सरेर आउने चराहरूको बासस्थान बनाइराख्ने हो भने स्थानीय बासिन्दा सचेत बन्नुपर्ने बताउँछन्। स्थानीय सरकारले पनि यस विषयमा चासो राख्नुपर्ने उनले बताए।
‘धेरै पर्यटकहरू कमन क्रेन हेर्न भनेर यो क्षेत्रमा आउँछन्। तर अचेल देखाउनै गाह्रो भएको छ,’ चौधरी भन्छन्, ‘बाँकी रहेको जमिन पनि खण्डीकरण हुँदै गयो भने अब सबै चराहरू भारततिर लाग्ने सम्भावना देखिन्छ।’
उनले दिव्यनगर क्षेत्रको केही बिघा जमिन संरक्षण गरेर चराका लागि बासस्थान बनाउनु आवश्यक रहेको बताए।
राजस्थानको भरतपुरमा बसाइँ सरेर आउने चराहरूलाई नै लक्षित गरेर वर्ड सेञ्चुरी बनाइएको छ। उत्तरबाट हिमालय श्रृंखला नाघेर आउने चराहरूको दक्षिणको अन्तिम गन्तव्य राजस्थान नै हो। यहाँ ठूलो फाँटमा चरालाई चाहिने आहाराको व्यवस्था गरेर आकर्षित गर्ने गरिएको छ।
सामान्यतया चराहरू एक पटक जहाँ बसेको छ, अर्को साल पनि त्यहीँ आउने गर्छन्। कुनै कारणले उनीहरूलाई बाधा भयो भने अर्को पटकबाट आउन छाड्छन्। चौधरीले यसपालि दिव्यनगर क्षेत्रमा गोमायू महाचिल एउटामात्रै देखिएको बताए। यो चिल गत वर्ष ८ वटा देखिएका थिए। त्यसअघिका वर्षमा पनि १०–१२ वटा रेकर्ड भइरहन्थे।
चौधरीकाअनुसार गोमायू महाचिल हिउँदमा मंगोलियाबाट अन्य साना चराहरूको पछि लागेर दक्षिणतिर आउँछन्। कमजोर चरालाई सिकार बनाउने लक्ष्य उनीहरूको हुन्छ। जहाँ जमिन र सिमसार क्षेत्रमा चराको उपस्थिति राम्रो छ त्यसमाथिको आकाशमा चिल उडेको हुने चौधरीले बताए।
‘हामीले अहिले दिव्यनगरमा बकुल्ला, चखेवा, खोया हाँस राम्रै संख्यामा देख्यौं। अन्य धेरै प्रजातिका चराहरू पनि रेकर्ड गर्यौं। आगामी दिनमा पनि यी चराहरू यहाँ आऊन् भन्ने चाहने हो भने हामीले पनि केही जमिन छुट्टाएर बासस्थान तयार गर्नुबाहेक अरू उपाय छैन,’ चौधरी भन्छन्, ‘हामी तथ्यांक निकालेर सल्लाह सुझाव दिन सक्छौं। उनीहरूलाई जोगाउने जिम्मेवारी स्थानीयबासी, सरोकारवाला निकाय, राज्यको हो।’
हिउँदमा युरोप, रसिया, साइबेरिया, काजकिस्तान, मंगोलिया, चिन, तिब्बत, लद्दाख लगायतका ठाउँबाट गरेर १५३ प्रजातिका चराहरू बसाइँ सरेर नेपाल आइपुग्छन्। तीमध्ये करिब ४० प्रतिशत जलपन्छी हुन्। गर्मी छल्न ६२ प्रजातिका चराहरू नेपाल आइपुग्ने चौधरीले बताए।