बढ्दो सहरीकरणसँगै फोहोर व्यवस्थापन टाउको दुखाइको विषय बनिरहेको छ। स्थानीय तहहरू कसैले नदीको बगर, कसैले वन क्षेत्रमा फोहोर फालेर जसोतसो सहरलाई सफा देखाउने प्रयास गरेका छन्।
नेपालको संविधानले फोहोर व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारलाई तोकेको छ।
संविधानको अनुसूची ८ (९) मा सरसफाइ शीर्षकमा फोहोर व्यवस्थापन स्थानीय सरकारको जिम्मेवारीमा रहेको उल्लेख छ। यसलाई टेकेर बनेको स्थानीय सरकार सञ्चालन ऐनको नियम ११ मा स्थानीय सरकारले फोहोर व्यवस्थापन तथा सरसफाइका लागि नीति, योजना कार्यक्रम बनाउन, कार्यान्वयन गर्न तथा नियमन गर्न सक्ने व्यवस्था गरेको छ। त्यसअन्तर्गत फोहोरमैलाको संकलन, सेवा शुल्क निर्धारण, नियमन, व्यवस्थापन, प्रशोधन, पुनःप्रयोग, बिसर्जन, जनचेतना लगायतका कामहरू पर्छन्।
स्थानीय तहहरू कोहीले बजेट अभाव, कोहीले स्थान अभावलाई कारण देखाएर यो जिम्मेवारी पूरा गर्न सकेका छैनन्। यो अवस्थामा चितवनको एउटा निजी संस्थाले भने फोहोरलाई कसरी सफा ऊर्जामा परिणत गर्न सकिन्छ भनेर नगरपालिकाहरूलाई सिकाइरहेको छ। पूर्वी चितवनको खैरहनीमा रहेको सफा ऊर्जा उत्पादन प्रालिले घर–घरको फोहोर संकलन गरेर व्यवस्थापन पनि गर्ने गरेको छ।
कम्पनीका व्यवस्थापक रोशन केसीकाअनुसार सफा ऊर्जाले अहिले खैरहनी र रत्ननगर नगरपालिकाको फोहोर संकलन र व्यवस्थापनको काम गरिरहेको छ। यो कम्पनीले यी दुई नगरपालिकासँग सम्झौता गरेर नगरभित्रका घर–घरबाट फोहोर संकलन गर्ने, त्यसको वर्गीकरण गरी उपयोग तथा पुनःप्रयोग गर्ने गरेको छ।
सफा ऊर्जाले दुई नगरपालिकाको फोहोर ट्याक्टरमार्फत खैरहनी–४ मा रहेको विजनेस/मेटेरियल रिकभरी सेन्टरमा पुर्याउँछ। कुहिने फोहोर जैविक मल बनाउनका लागि प्रयोग गरिन्छ। नकुहिने फोहोरलाई त्यहाँ रहेका कामदारले विभाजन गर्छन्। पुन: प्रयोग हुनसक्ने कागज, कपडा, जुत्ता चप्पल, सिसा, बोतल, प्लास्टिक, धातुहरूलाई अलग ठाउँमा राखिन्छ।
‘यति गरेपछि हामी ती सामग्रीलाई सफा गर्ने, पुन: प्रयोगका लागि योग्य बनाउने काम गर्छौं। यसलाई भ्यालु एड गर्ने भन्ने गरिन्छ,’ केसीले भने, ‘रिसाइकल गर्ने प्लाष्टिकका ब्यागलाई पगालेर ढेलागो फर्ममा ल्याउने गरिन्छ। यसले स्पेस कम, भ्यालु एडिसन हुन्छ। मूल्य प्लाष्टिककोभन्दा ४०–५० प्रतिशतले बढ्छ। यो पाइपहरू बनाउन काम लाग्छ।’
बोतलहरूलाई प्रशोधन गरेर चिप्स बनाइन्छ। त्यसले फेरि उच्च गुणस्तरको सामग्री निर्माण गर्न सकिन्छ। कतिपय प्लाष्टिकजन्य वस्तुलाई मेसिनमार्फत् सानो आकारको बनाएर प्लाष्टिकका सामग्री उत्पादन गर्ने उद्योगहरूलाई बिक्री गर्ने गरिएको केसीले बताए।
थोत्रा कपडाबाट कपास निकाल्ने, फुटेका सिसा मिसाएर ब्लक बनाउने गरिएको छ।
हाल नेपालमा रिसाइकल नहुने गरेको ‘मल्टिलेयर प्लास्टिक र सिल्भर लेयर प्याकिङ’ लाई पनि कसरी रिसाइकल गर्न सकिन्छ भनेर अध्ययन गरिरहेको उनले बताए।
‘भारतमा ती पनि पुन: प्रयोग गरिन्छ। यसबाट ठूला उद्योगका लागि आवश्यक पर्ने इन्धनको साधन उत्पादन गर्न सकिन्छ,’ केसीले भने, ‘अहिले बजारमा त्यस्तो इन्धनको ठूलो माग छ। तर अध्ययन र उत्पादनका लागि ठूलो लगानी चाहिन्छ। त्यो गर्न हामीले मात्रै सक्दैनौं।’
सरकारले सहयोग गर्यो भने अहिले डम्पिङ साइटमा फाल्ने गरिएको वस्तुबाट पनि देशले फाइदा लिन सक्ने उनले बताए।
सफा ऊर्जा उत्पादन प्रालिले स्रोतमै फोहोरको वर्गीकरण गर्ने विषयमा नगरपालिकाहरूसँग मिलेर विद्यालय, टोल, वडाहरूमा सचेतना कार्यक्रमहरू पनि गर्ने गरेको छ।
‘अझै पनि कुहिने र नकुहिने फोहोर, दिसाजन्य, जोखिमयुक्त फोहोरको स्रोतबाटै वर्गीकरण हुन सकेको छैन। जनताले यो मेरो पनि दायित्व हो भन्ने बुझे भने स्रोतबाटै वर्गीकरण गर्न सम्भव हुन्छ,’ उनी भन्छन्, ‘हामी त केवल एउटा खुट्टामात्रै हो। जनता, सरकार, सामाजिक संघ, संस्था, स्कुल, कलेजहरू सबैले मनन गरे मात्रै फोहोरको दिगो व्यवस्थापन सम्भव हुन्छ।’
तै पनि यति काम गर्न सक्दा पनि सन्तुष्टि मिलेको केसीले बताए।
सफा ऊर्जा उत्पादन प्रालिका अर्का व्यवस्थापक फणिन्द्र न्यौपानेले संकलन भएको कुहिने फोहोरलाई जैविक तथा प्रांगारिक मल बनाएर बिक्री गर्ने गरेको बताए।
उनीहरूले रत्ननगर र खैरहनी नगरपालिकाका अलावा भरतपुर महानगरपालिकाको क्षेत्रपुरमा रहेको तरकारी बजारबाट निस्कने फोहोरलाई पनि खैरहनी पुर्याएर जैविक मल निर्माण गर्ने गरेका छन्।
‘भरतपुरबाट दैनिक २–३ टन फोहोर लैजान्छौं। खैरहनी र रत्ननगरबाट निस्कने कुहिने फोहोर पनि मिलाएर मल उत्पादन गरिन्छ। कुहिने फोहोरबाट बायो ग्याँस पनि निकालेका छौं,’ न्यौपानेले भने, ‘उत्पादन भएको मललाई प्याकेजिङ गरेर बजार पठाउने गरेका छौं।’
सफा ऊर्जाको भगिनी संस्था सफा कृषिले खैरहनीमै करिब ४ बिघा जमिनमा प्रांगारिक खेती गरिरहेको छ। विगतमा सयपत्री फूल र गाँजरको उत्पादन राम्रो भएपछि यस वर्ष प्याज, लसुन, सूर्यमुखी खेती गर्न लागिएको न्यौपानेले बताए। मलकै लागि बाख्रा, कुखुरा, बुँगुर पनि पालिएको छ।
‘समग्रमा भन्दा यो सर्कुलर इकोनोमीको एउटा नमूना हो। मान्छेले प्रयोग गर्छन्, काम सकिएपछि फाल्छन्। त्यसको फेरि अन्य सामग्री बनेर बजारमा आउँछ। यसले वातावरणलाई पनि महत्वपूर्ण योगदान गरिरहेको हुन्छ,’ त्रिभुवन विश्वविद्यालयबाट वनस्पति विज्ञानमा स्नातकोत्तर गरेका व्यवस्थापक केसी भन्छन्, ‘हामी त यहाँ आइपुग्ने वस्तुलाई फोहोर नै भन्दैनौं। यो त स्रोत हो। हामीले यसको भरपुर उपयोग गरेर सर्कुलर इकोनोमीका लागि योगदान गर्ने प्रयास गरेका छौं।’
पूर्वी चितवनका चार नगरपालिका (रत्ननगर, खैरहनी, कालिका र राप्ती) को फोहोर व्यवस्थापन एकीकृत रूपमा गर्ने सोचका साथ सफा ऊर्जा उत्पादन प्रालिले २ वर्षअघिबाट यो काम सुरू गरेको थियो। यो कामका लागि दश करोड रुपैयाँभन्दा बढी खर्च गरेको सेयर सदस्य योगेन्द्र केसीले बताए। यो निजी क्षेत्रले फोहोर व्यवस्थापनका लागि सुरू गरेको नेपालकै पहिलो र ठूलो कम्पनी हो। यसमा ७२ जनाले (विदेशमा रहेका नेपालीसमेत गरेर) लगानी गरेका छन्।
सफा ऊर्जाले गरेको काम हेर्न विभिन्न नगरपालिकाका प्रतिनिधिहरू आइरहन्छन्। केही दिनअघि काठमाडौं महानगरपालिकाको वातावरण शाखाको टोली पनि अध्ययनका लागि यहाँ आइपुगेको थियो।
‘हामीले यहाँ बनाएको संरचना, पुन: प्रयोग तथा कृषिमा भइरहेको काम देखेर उहाँहरू दंग पर्नुहुन्छ। कतिपयले त हाम्रो नगरपालिकामा पनि आउनुपर्यो भन्नुभएको छ,’ केसीले भने, ‘हामीले सफा ऊर्जा उत्पादन प्रालिलाई अध्ययन र तालिम केन्द्रको रूपमा पनि विकास गर्न खोजेका छौं।’
काठमाडौंका योगेन्द्र केसी सहितको समूहले करिब १० वर्षदेखि खैरहनीमा ‘ओवीफर्ट’ ब्राण्डको अग्र्यानिक मल उत्पादन गरिरहेको छ। त्यो मल हिमालमा स्याउ, पहाडमा सुन्तला, किवीदेखि तराईमा स्ट्रबेरी, ड्रागन फुड उत्पादनका लागि प्रयोग हुने गरेको छ।
‘अग्र्यानिक मलका लागि काम गर्ने मेसोमा कोरोना महामारीको दोस्रो लहर चलिरहेको समयमा जर्मनीमा रहेका चितवनका इन्जिनियर साथी नरेश हमालसँग नेपालमा फोहोर व्यवस्थापनको चुनौतीको विषयमा छलफल भएको थियो। उहाँहरूले विदेशमा भइरहेको प्रयोगबारे जानकारी गराउनुभयो। त्यता सफल भएको मोडल नेपालमा पनि लागु गर्न सकिन्छ भनेर छलफल अघि बढाउँदै जाँदा धेरै साथीहरू जोडिनुभयो,’ केसीले भने, ‘सफा र हराभरा चितवन बनाउने यो अभियानमा चितवनका धेरैजना हुनुहुन्छ।’
सफा ऊर्जाले सबैभन्दा पहिले भरतपुर महानगरपालिकासँग सहकार्य गर्न खोजेको थियो। कहिले नारायणी नदीको किनार त कहिले सामुदायिक वनमा फोहोर फाल्दा आलोचना व्यहोरिरहेको महानगरले सुरूमा उनीहरूसँग काम गर्ने इच्छा पनि देखायो। सफा ऊर्जाले भरतपुरको फोहोर व्यवस्थापनको विषयमा धेरै कर्मचारी खटाएर अध्ययन पनि गर्यो।
‘तर अन्तिम समयमा उहाँहरू पछाडि हट्नुभयो। विगतमा जस्तै टेण्डर प्रकृयाबाट फोहोर संकलन गरेर डम्पिङ साइटमा फाल्ने मोडलमै उहाँहरू जानुभयो,’ केसीले भने, ‘त्यसपछि हामी पूर्वी चितवनका चारवटा नगरपालिकाको फोहोर एकीकृत रूपमा व्यवस्थापन गर्नेगरी यहाँ आइपुगेका हौं।’
गौचरन क्षेत्रमा फोहोर फाल्ने गरेको खैरहनी नगरपालिकाले सफा ऊर्जाको प्रस्ताव स्वीकारेर सबैभन्दा पहिले सम्झौता गरेको थियो। पछि रत्ननगर नगरपालिका पनि थपियो। पहिले रत्ननगरको फोहोर वन क्षेत्रमा फाल्ने गरिन्थ्यो।
‘सुरूमा काम देखाउने गरी २ वर्षका लागि सम्झौता भएको हो,’ उनले भने, ‘हामीले अहिले कसरी काम गर्न सकिन्छ भनेर देखाइरहेका छौं। कुहिने सबै र नकुहिनेको ७० प्रतिशत बढी पुन: प्रयोग हुने गरेको छ।’
सफा ऊर्जाले फोहोर संकलन गरेबापत प्रति घर मासिक २५ देखि ८० रुपैयाँ संकलन गर्छ। त्यसको करिब ५० प्रतिशत नगरपालिकालाई बुझाउँछ।
चारमध्ये दुई नगरपालिकालेमात्रै सम्झौता गरेका कारण अहिले क्षमताभन्दा आधामात्रै काम भइरहेको छ। केसीकाअनुसार कम्पनी ३० प्रतिशत घाटामा चलिरहेको बताए।
‘लगानीकर्ताको लगानीको ब्याजको त कुरै छाडौं। हामीले अहिले पुन: प्रयोगका सामान बिक्री, फोहोर संकलनबाट खर्चको ७० प्रतिशतमात्रै धानेका छौं,’ उनी भन्छन्, ‘फोहोरको घान नै पुगेको छैन। कालिका र राप्तीको पनि संकलन गर्न पाएदेखि क्षमताअनुसारको काम हुन्थ्यो।’
अहिले रत्ननगर र खैरहनीबाट दैनिक २५–३० ट्याक्टर फोहोर संकलन गर्ने गरिएको छ। कम्पनीको क्षमता यसको दोब्बर हो। यहाँ अहिले ११५ जनाले काम गरिरहेका छन्।
खैरहनी नगरपालिकाका मेयर शशीकुमार खनियाले सफा ऊर्जासँग मिलेर नगरको फोहोर व्यवस्थापनको काम भइरहेको बताए।
देशका धेरै ठाउँमा पुगेर फोहोर व्यवस्थापनमा भएका कामको विषयमा अध्ययन गर्दा चित्त नबुझेपछि निजी संस्थासँग सहकार्य गरेर व्यवस्थापन गर्ने मोडलमा अघि बढेको उनले बताए।
‘देशभरको व्यवस्थापन हेरियो, जापान, कोरियाको पनि हेरियो। निजी संस्थाहरूसँग मिल्यो भने काम गर्न सजिलो हुन्छ भन्ने लाग्यो। त्यहीअनुसार स्रोतमै फोहोरको वर्गीकरण गर्नुपर्ने र पुनःप्रयोग हुनसक्ने सबै फोहोरको पुनःप्रयोग गर्ने भनेर टोलहरूमा सचेतना कार्यक्रम गरियो,’ उनले भने, ‘सफा ऊर्जासँग कुरा भएपछि सबै जिम्मेवारी उसैलाई दिनेगरी सम्झौता भयो। हामी स्थापनाको क्रममा आवश्यक पर्ने काममा सहयोग गर्यौं।’
उनले फोहोर व्यवस्थापनलाई अझै व्यवस्थित बनाउन पव्लिक, प्राइभेट, पार्टनरसीप (पिपिपि) मोडलमा लैजाने विषयमा छलफल चलिरहेको बताए।
रत्ननगर नगरपालिकामा दैनिक २४ टन फोहोर संकलन हुन्छ। त्यो फोहोर विगतमा सबै ल्याण्डफिल साइटमा पुग्थ्यो। सरसफाइ मजदुरहरूले बिक्री हुने वस्तु उठाएर लैजाने र बाँकी ल्याण्डफिल साइटमै रहने चलन थियो। अचेल डेढ वर्षदेखि पूरै फोहोर सफा ऊर्जाले संकलन गरेर खैरहनीस्थित विजनेस रिकभरी सेन्टरमा पुर्याउँछ। पुनःप्रयोग हुन नसक्ने फोहोरमात्रै रत्ननगर–११ स्थित ल्याण्डफिल साइटमा फर्काउने गरेको नरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बताए।
‘सफा ऊर्जाले हामीसँग भएको सम्झौताअनुसार घर–घरबाट फोहोर संकलन गरेर तोकिएको शुल्क उठाउँछ। त्यसबाट वार्षिक ६६ लाख रुपैयाँ नगरपालिकालाई दिने सम्झौता हो,’ लम्सालले भने, ‘पहिले सबै फोहोर ल्याण्डफिल साइटमा जाने गरेकोमा अचेल पुनःप्रयोग हुन नसकेको फोहोर दैनिक ४ टनमात्रै ल्याण्डफिल साइटमा पुग्छ।’
सफा ऊर्जाले संकलित फोहोरलाई मेसिनको माध्यमबाट पुनःप्रयोगका लागि योग्य बनाउने, कुहिने फोहोरबाट मल बनाउने जस्ता राम्रा कामहरू गरिरहेको उनले बताए।
‘उहाँहरूले काम राम्रो गरिरहनुभएको छ। बेला–बेलामा शुल्क उठाउन समस्या भएको गुनासो गर्नुहुन्छ। अन्य पनि समस्याका कुरा आएका छन्। यस विषयमा हामी छलफल गरेर निचोडमा पुग्छौं,’ लम्सालले भने, ‘नगरपालिकाले फोहोर व्यवस्थापनका लागि उपयुक्त नीति बनाउँदैछ। सबैसम्म सबै फोहोरको पुनःप्रयोग हुनेगरी काम गर्नुपर्छ भन्नेमा हामी छौं।’
सफा ऊर्जाका सेयर सदस्य केसी सरकार र जनताको समेत लगानी हुँदा फोहोर व्यवस्थापन दिगो हुने भएकोले आगामी दिनमा पीपीपी मोडलमा जानुपर्ने आवश्यकता रहेको बताउँछन्।
‘निजी क्षेत्रले मात्रै शत प्रतिशत जिम्मेवारी लिएर काम गर्न गाह्रो हुँदो रहेछ। निजी क्षेत्रले लगानी गरेपछि नाफामा पनि ध्यान दिनुपर्छ। यहाँ हामीले सामाजिक, वातावरणीय काममा घाटा सहेर योगदान गरिरहेका छौं। यो काम गर्दा सरकारी निकायको भरपुर सहयोग आउँला भन्ने आशा थियो। तर सोचेजस्तो सहयोग छैन,’ केसी भन्छन्, ‘यसलाई दिगो बनाउने हो भने स्थानीय सरकारले सहयोग बढाउनुपर्छ। हामीले धेरै लगानी गरेर ठूलो संरचना निर्माण गरेका छौं। अझै पनि लगानी थप्नुपर्ने छ। वर्षौंका लागि भिजन बनाएर काम गर्नुपर्नेछ।’