राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ल्याउने भएपछि रूपन्देहीमा पार्टी समर्थक र सहकारीपीडित दुवै पक्षले प्रदर्शनको तयारी गरेका छन्।
सभापति लामिछानेलाई पोखराबाट बुद्ध एयरको जहाजमार्फत रूपन्देही ल्याउने तयारी गरिएको छ। रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराका अनुसार भिजिबिलिटी कम हुँदा जहाज उड्न सकेको छैन।
बिहान पौने ८ बजेको जहाजबाट भैरहवा ल्याउने भनिए पनि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण उडान तथा अवतरण प्रभावित बनेपछि अहिलेसम्म जहाज आउन नसकेको त्यहाँको प्रहरीले जनाएको छ।
लामिछाने सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा कास्की छन्।
लामिछानेलाई विगत २६ दिनदेखि कास्की प्रहरीले सहकारी ठगी तथा संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ।
पोखरामा रहेको सुर्यदर्शन सहकारीसँगै बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकमसमेत हिनामिनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि रूपन्देही प्रहरीले बयानका लागि लामिछानेलाई रुपन्देही ल्याउन लागेको हो।
लामिछानेलाई ल्याउने भएपछि गौतमबुद्ध विमानस्थल भैरहवामा सुरक्षा व्यवस्था कडा बनाइएको छ। उनलाई ल्याउने भनेपछि रास्वपा लुम्बिनी प्रदेशले भैरहवाको लुम्बिनी गेटमा बिहानैदेखि प्रदर्शन गरिरहेको छ। रास्वपाले ११ बजे लुम्बिनी गेटमा भेला हुन कार्यकर्ता र शुभेच्छुकहरुलाई आग्रह गरेको छ।
लामिछानेलाई विमानस्थलबाट सिधै जिल्ला सरकारी वकिलको कार्यालयमा लगिनेछ।
बुटवलमा रहेको सुप्रिम सहकारीको १ करोड ९६ लाख रुपैयाँ आफ्नै नाममा तथा थप १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिका नाममा गैरकानुनी ढंगले लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्क प्रालिमा लगि अपचलन गरेको आरोप छ।
सहकारी पीडितहरूले पनि सहकारीको रकम ठगी गर्नेहरूलाई कारबाही गर्नुपर्ने र आफूहरूको बचत रकम फिर्ता पाउनुपर्ने भन्दै पोखरा र रुपन्देहीमा प्रदर्शन गर्दै आएका छन्। लामिछानेलाई भैरहवा ल्याउने भनेपछि सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले पनि भैरहवामै प्रदर्शनको तयारी गरिरहेका छन्।
सुप्रिम सहकारी पीडित संघर्ष समितिका संयोजक विजय नेपालले कसैको विरोध र समर्थन भन्दा पनि आफूहरूको रकम फिर्ताको मागको लागि आन्दोलन गरिने र यो विषयमा कसैसँग सम्झौता नहुने बताए।
उनले सबै पीडितहरूलाई सांकेतिक विरोधका लागि सहभागिताका लागि भैरहवामा बोलाइएको बताए। संघर्ष समितिले यसअघि छविलाल बञ्जाडे जोशीलाई ल्याउँदा पनि भैरहवामा प्रदर्शन गरेको थियो।
दुवैले भैरहवाकेन्द्रित भएर प्रदर्शन गर्ने तयारी गरेपछि स्थानीय प्रशासनले जिल्ला अदालत र सरकारी वकिल कार्यालय वरपरको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ। प्रदर्शनलाई मध्यनजर गरी निषेधित क्षेत्र घोषणा गर्ने नगर्ने भन्ने भने अझै निधो नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सोमबार बसेको सुरक्षा संयन्त्रको बैठकले सम्भावित प्रदर्शनको आंकलन र विश्लेषण गरी आवश्यकताअनुसार निषेधित क्षेत्र घोषणा गर्ने गरी निर्णय गरे पनि अहिलेसम्म कुनैपनि क्षेत्र निषेधित क्षेत्र तोकिएको छैन।
सुरक्षा स्रोतका अनुसार सोमबार नै आवश्यकताअनुसार दुबै पक्षले प्रदर्शन गर्न सक्ने सम्भावित क्षेत्रमा खुकुलो वा कडाइ गर्ने भन्ने निर्णय तत्काल लिइने गरी सहमति भएकोले पहिले नै निषेधित क्षेत्र घोषणा गरिएको छैन।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले दुवै पक्षबाट प्रदर्शन गरिने सूचना पाएकाले प्रहरीले त्यहीअनुसार तयारी गरेको बताइन्।
रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठौरले विमानस्थलबाट सिधै सरकारी वकिल कार्यालयमा लगेर बयान सुरु गर्ने बताएका छन्। उनकाअनुसार प्रहरी सकेसम्म मंगलबार नै बयान सक्ने तयारी छ। ‘सकेसम्म छिटो यहाँको बयान सकेर कास्की नै फिर्ता पठाउनु पर्ने छ,’ उनले भने।
त्यहीअनुसार बयानको तयारी भइरहेको राठौरले बताए। स्रोतका अनुसार लामिछानेलाई बयानका लागि सहकारीको रकम अपचलन र गोर्खा मिडिया नेटवर्कसँग सम्बन्धित ७० भन्दा बढी प्रश्न तयार गरिसकेको छ। थप प्रश्न बयानकै क्रममा पनि हुने स्रोतले बतायो।
यसअघि गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष रहेका पूर्वडिआइजी छविलाल बञ्जाडे जोशीलाई पनि भैरहवा ल्याएर बयान गरी कास्कीमै लगिएको थियो।
लामिछाने र जोशीसहित गोर्खा मिडिया नेटवर्क प्रालि तथा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका संरक्षक गितेन्द्रबाबु राईसहित झन्डै ४० जनालाई सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ गरी अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालतते प्रहरीलाई अनुमति दिएको छ। चालिस जनामध्ये लामिछानेसहित १२ जनालाई कात्तिक ८ गते अनुमति दिएको थियो।
त्यस्तै सुप्रिम सहकारीका वर्तमान अध्यक्ष ओमप्रकाश गुरूङ पुर्पक्षका लागि जिल्ला कारागार रुपन्देहीमा रहेका छन् भने लामिछानेको नाममा सहकारीको रकम जम्मा गर्ने रोशनी गुरुङ धरौटीमा रिहा भएकी छन्। लामिछानेको नाममा प्रवाह गरिएको ऋणको भौचर सदर गर्ने सहकारीका व्यवस्थापक सागर केसी भने हालसम्म फरार रहेका छन्।
गत कार्तिक २ गते पार्टी कार्यालय चःमतिबाट पक्राउ गरिएका लामिछानेलाई भने अदालतबाट चारपटक म्याद थप गरी जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ।
पछिल्लो पटक आइतबार कास्की जिल्ला अदालतले लामिछाने माथी अनुसन्धान गर्न थप १३ दिन हिरासत राख्न अनुमति दिएको थियो।