आजभन्दा ठीक एक वर्षअघि, अर्थात् सन् २०२३ सेप्टेम्बर १६ मा एउटा अनौठो घटना भयो।
त्यस दिन विश्वभरिका भूकम्प सूचक यन्त्रहरूले भूकम्पको संकेत टिप्न थाले। यस्तो संकेत पहिले कहिल्यै देखिएको थिएन।
सामान्यतया भुइँचालोको संकेत विभिन्न फ्रिक्वेन्सीको हुन्छ र केही मिनेट वा केही घण्टापछि हराएर जान्छ। तर यो संकेत एउटै फ्रिक्वेन्सीको थियो र लगातार नौ दिनसम्म देखिइरह्यो।
यो घटनाले वैज्ञानिकहरू अचम्म परे। उनीहरूले यो कसरी भयो भन्ने भेउ नै पाउन सकेनन्। तीन दिनसम्म पनि कम्पनको संकेत आइरहेपछि संसारभरिका वैज्ञानिकहरू अनलाइन च्याटमा भेला भएर यसबारे छलफल गर्न थाले।
कसैलाई आफ्ना उपकरण नै बिग्रेजस्तो लाग्यो भने, कसैले नयाँ ज्वालामुखी विस्फोट भएको अड्कल काटे। आफ्ना सारा अनुमान गलत साबित भएपछि उनीहरूले यस संकेतको नाम अज्ञात भूकम्पीय वस्तु (अनआइडेन्टिफाइड साइजमिक अब्जेक्ट, छोटकरीमा 'युसओ') राखे।
उता, ग्रीनल्यान्डको एक दुर्गम क्षेत्रमा पहिरोका कारण सुनामी आएको खबर पाएपछि डेनिस सेनाको एक टोली सो ठाउँमा गयो र ड्रोनको मद्दतले त्यस ठाउँका तस्बिरहरू लियो।
त्यसपछि १५ देशका ६८ वैज्ञानिक र डेनमार्कको नौसेना यस घटनाको अनुसन्धानमा जुटे। उनीहरूले भूकम्पीय तथ्यांक, स्थलगत मापन, भू-उपग्रहबाट र घटनास्थलमा पहिरो जानुअघि र पछि लिइएका तस्बिर, ड्रोन भिडिओ, सुनामीका छालहरूका कम्प्युटर 'सिम्युलेसन' आदिको मद्दतले त्यस रहस्यमय कम्पनको कारण पत्ता लगाउन प्रयास गरे।
उक्त भूकम्पीय घटनाको कारण पत्ता लगाउन सुनामीको सही मोडल तयार पार्न पनि आवश्यक थियो। सुरूमा त वैज्ञानिकहरू यसमा असफल भए।
तर पछि उनीहरूले डेनिस सेनाबाट समुद्र तलको नयाँ नक्सा पाए। सो नक्सा प्रयोग गरेर अत्यन्तै उच्च 'रिजोलुसन' मा सुनामीको मोडल बनाएपछि उनीहरू उक्त घटनालाई हुबहु कम्प्युटरमा पुनर्निर्माण गर्न सफल भए।
झन्डै एक वर्षको अनुसन्धानपछि वैज्ञानिकहरूले त्यसको कारण पत्ता लगाएका छन्।
गत हप्ता 'साइन्स जर्नल' मा प्रकाशित उक्त अध्ययनको निष्कर्षका अनुसार नौ दिनसम्म संसार हल्लाउने उक्त घटनाका पछाडि जलवायु संकटका कारण ग्रीनल्यान्डमा आएको एक विशाल पहिरो र त्यसले ल्याएको महासुनामी थियो।
यही अगस्टमा ६ जना जर्मन अनुसन्धाताहरूको एउटा टोलीले मुख्यतः भू-उपग्रहबाट खिचिएका तस्बिरहरूको मद्दतले यस घटनाको अध्ययन गरेको थियो। उक्त अध्ययनले पनि एउटा विशाल पहिरोका कारण सुनामी आएको र त्यसबाट उत्पन्न छालका कारण विश्वभर कम्पन फैलिएको निष्कर्ष निकालेको थियो।
गत हप्ता प्रकाशित अध्ययनले भने यो सम्पूर्ण प्रक्रियालाई विस्तारमा वर्णन गरेको छ।
वैज्ञानिकहरूका अनुसार यो घटनाले विश्वको तापक्रम वृद्धिको असर विश्वव्यापी स्तरमै हुन थालिसकेको देखाएको छ। जलवायु परिवर्तनका कारण यसअघि स्थिर ठानिएका ठाउँहरूमा पनि ठूला भूस्खलन हुन सक्छन् भन्ने पनि यसले देखाएको उनीहरू बताउँछन्।
जैविक इन्धनको प्रयोग र अन्य गतिविधिबाट उत्सर्जन हुने हरितगृह ग्यासहरूले सूर्यको तापलाई हाम्रो वायुमण्डलबाट बाहिर जान नदिने हुनाले पृथ्वीको तापक्रम बढ्दै जान्छ। यी ग्यासहरूले विशेष गरी उत्तरी र दक्षिणी ध्रुव आसपास बरफ पग्लिने प्रक्रियालाई तीव्र बनाइरहेका छन्। उत्तरी ध्रुव आसपासको क्षेत्र त विगत केही दशकदेखि विश्वका अन्य भागभन्दा चार गुणा छिटो तातिरहेको छ।
तापक्रम वृद्धिकै कारण ग्रीनल्यान्डको पूर्वी भागमा रहेको डिकसन फ्योर्डमा एउटा हिमनदी वर्षौंदेखि पग्लिरहेको थियो। पातलिँदै गएको यो हिमनदी अन्तत: पोहोर सेप्टेम्बर १६ मा आफूमाथिको १२०० मिटर अग्लो पहाडको भार थाम्न नसक्ने भयो।
त्यसपछि २ करोड ५० लाख क्युबिक मिटर चट्टान र बरफ सहितको पहिरो ४७ मिटर प्रति सेकेन्डसम्मको गतिमा पानीमा खस्यो र झन्डै २२०० मिटर परसम्म पुग्यो। यो पहिरोको आयतन ओलम्पिक प्रतियोगितामा प्रयोग हुने १० हजारवटा स्विमिङ पुल बराबर थियो।
पानीमा खसेको पहिरोले उक्त स्थानमा २०० मिटर अग्लो महासुनामी ल्यायो। यसलाई केही समययताका अग्ला सुनामीमध्येको एक मानिन्छ। अनुसन्धाताहरूले यो सुनामीको उचाइ केही मिनेटभित्रै सात मिटर र अलि दिनपछि केही सेन्टिमिटरमा झरेको हुनुपर्ने हिसाब गरे।
भुइँचालोका कारण खुला समुद्रमा आउने सुनामी सामान्यतया केही घण्टाभित्र हराएर जान्छन्। तर डिकसन फ्योर्ड दुई समानान्तर भिराला पहाडका बीचमा रहेको साँघुरो जलराशि हो। पहिरोको दिशा र फ्योर्डको लम्बाइबीचको कोण ९० डिग्री रहेको, फ्योर्डका दुईतिर ठाडा भिर रहेका र दस किलोमिटर पर ९० डिग्रीको मोड रहेकाले पहिरोको ऊर्जा त्यहाँबाट बाहिर निस्किन पाएन। त्यसैले उक्त सुनामीबाट उत्पन्न छाल दुई पहाडका बीचमा हरेक ९० सेकेन्डमा एक छेउबाट अर्को छेउ छचल्किइरह्यो।
पूर्ण वा आंशिक रूपमा घेरिएको जलराशिमा उत्पन्न हुने यसप्रकारको छाललाई 'साइश' भनिन्छ। यसलाई बाथटब वा कुनै भाँडामा छचल्किने पानीसँग तुलना गर्न सकिन्छ।
यो सुनामी यति शक्तिशाली थियो कि यसबाट उत्पन्न साइशले नौ दिनसम्म संसारभरि भूकम्पीय तरंग फैलाइरह्यो।
युनिभर्सिटी कलेज लन्डनका डा. स्टिफन हिक्सका अनुसार यो कम्पन एक घण्टा नबित्दै ग्रीनल्यान्डबाट अन्टार्कटिका पुगिसकेको थियो। डा. हिक्स अनुसन्धान टोलीका एक सदस्य हुन्।
वैज्ञानिकहरूका लागि साइश नौलो कुरा होइन। तर यो यति लामो समयसम्म पनि रहन सक्छ भन्ने उनीहरूलाई यसअघि थाहा थिएन।
जिओलोजिकल सर्भे अफ डेनमार्क एन्ड ग्रीनल्यान्डका भूगर्भविद डा. क्रिस्टियन स्वेनेविग भन्छन्, 'यो त इन्द्रधनुषमा अचानक नयाँ रङ देखेजस्तै हो।'
डा. स्वेनेविगले यस अध्ययनको नेतृत्व गरेका थिए।
पहिरो गएको स्थानबाट ७० किलोमिटर टाढा एला टापूमा रहेको एक अनुसन्धान केन्द्रमा ४ मिटर अग्लो सुनामीको छालले क्षति पुर्यायो। अन्वेषकहरूले दुई शताब्दीअघि स्थापना गरेको उक्त अनुसन्धान केन्द्र वैज्ञानिकहरू र डेनिस सेनाले प्रयोग गर्छन्। सुनामी आएका बेला भने त्यहाँ कोही थिएनन्।
त्यस्तै, सुनामीको छालले समुद्र सतहमा रहेको इनुइट जातिको एउटा क्षेत्र ध्वस्त पार्यो। सांस्कृतिक र पुरातात्विक महत्वको उक्त निर्जन क्षेत्र कम्तीमा दुई सय वर्ष पुरानो थियो। यसबाट पनि उक्त क्षेत्रमा यस प्रकारको घटना दुई सय वर्षयता नभएको देखिन्छ।
डिकसन फ्योर्ड पर्यटक बोकेका क्रुज पानीजहाजहरूले प्रयोग गर्ने जलमार्गमै पर्छ। तर सुनामी आएका बेला भाग्यवश त्यस क्षेत्रमा कुनै पानीजहाज थिएन।
उक्त सुनामीका कारण कुनै मानवीय क्षति त भएन, तर दुई लाख अमेरिकी डलर बराबरको पूर्वाधार नष्ट भयो।
यस्तै प्रकारका तर साना भूकम्पीय घटनाहरू पश्चिमी ग्रीनल्यान्ड, अलास्का, क्यानडा, नर्वे र चिलीमा देखिने गरेका छन्। सन् २०१७ मा पश्चिमी ग्रीनल्यान्डमा गएको एक विशाल पहिरोले चार जनाको ज्यान लिनुका साथै दुइटा गाउँ बगाएको थियो।
तर पूर्वी ग्रीनल्यान्डमा यसअघि यति ठूलो पहिरो र सुनामी आएको कुनै अभिलेख नभएको डा. स्वेनेविग बताउँछन्।
वैज्ञानिकहरूका अनुसार जलवायु संकटले निम्त्याउने यस्ता घटनाहरू भविष्यमा बढ्दै जाने र यिनीहरूको असर विनाशकारी हुन सक्ने जोखिम छ।
त्यसैले यस्ता विशाल पहिरो र सुनामीबारे पूर्वसूचना दिन पहिले भौगर्भिक रूपमा स्थिर ठानिएका क्षेत्रहरूको निरन्तर निगरानी गर्न आवश्यक रहेको उनीहरू बताउँछन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)