कुनै बेला पृथ्वीमा राज गर्ने भीमकाय जन्तु डायनासोर करिब ६ करोड ६० लाख वर्षअघि लोप भयो।
यसका पछाडि आकाशबाट खसेको विशाल पिण्ड जिम्मेवार थियो, वा कुनै भयंकर ठूलो ज्वालामुखी विस्फोट भएर डायनासोर युग अन्त्य भएको हो? यसबारे थाहा पाउन वैज्ञानिकहरूले थुप्रै अनुसन्धान गरेका छन्।
ज्वालामुखी विस्फोटका कारण नभएर विशाल पिण्ड पृथ्वीमा ठोक्किएर डायनासोर लोप भएको भन्नेमा पछिल्ला केही दशकहरूमा वैज्ञानिकहरू एकमत जस्तै छन्। तर क्षुद्रग्रह (एस्टरोयड), पुच्छ्रेतारा वा अरू नै प्रकारको पिण्ड, के खसेर भएको भन्नेमा उनीहरूबीच मत भिन्नता थियो।
पछिल्ला वर्षहरूमा वैज्ञानिकहरू क्षुद्रग्रह खसेर डायनासोर लोप भएको भन्नेमा सहमत छन्। उनीहरूका अनुसार मेक्सिकोको युकाटान प्रायद्वीपमा खसेको लगभग दस किलोमिटर चौडा क्षुद्रग्रहले ल्याएको प्रलयका कारण डायनासोर लोप भएको हो।
त्यति बेला खसेको क्षुद्रग्रह ब्रह्माण्डको कुन भागबाट आएको थियो र त्यो समय पृथ्वीमा कुन कुन जीवजन्तु थिए भन्नेबारे वैज्ञानिकहरूले निरन्तर अध्ययन गरिरहेका छन्।
अन्तर्राष्ट्रिय मिडिया द न्यूयोर्क टाइम्सका अनुसार यस्तै एक अध्ययन जर्मनीको कोलोन विश्वविद्यालयका वैज्ञानिक मारियो फिसर-गोडको नेतृत्वमा गरिएको थियो। साइन्स जर्नलमा गत साता मात्र प्रकाशित सो अध्ययनले उक्त क्षुद्रग्रह बृहस्पति (जुपिटर) ग्रहको कक्ष पारिबाट आएको भन्ने मत झन् बलियो बनाएको छ।
पृथ्वीमा आइपुग्ने क्षुद्रग्रह मुख्यतया दुई प्रकारका हुन्छन्; सिलिकन धेरै भएका (एस-टाइप) र कार्बन धेरै भएका (सी-टाइप)।
एस-टाइप क्षुद्रग्रह सी-टाइपको तुलनामा सूर्यको नजिक बनेका हुन्छन्। सी-टाइप क्षुद्रग्रह एस-टाइपभन्दा पहिल्यै बनेका हुन्। पृथ्वीतिर आउने क्षुद्रग्रह मुख्यतया एस-टाइपका हुन्छन्। यी क्षुद्रग्रह मंगल ग्रह र बृहस्पति ग्रहको बीचमा रहेको 'एस्टरोयड बेल्ट' बाट आउँछन्।
वैज्ञानिक फिसर-गोडको टोलीले गरेको अध्ययनले डायनासोर लोप गराउने क्षुद्रग्रहमा कार्बन धेरै भएको (सी-टाइपको) देखाएको छ। उनको टोलीले डायनासोर लोप गराउने सो क्षुद्रग्रह ठोक्किएर खाल्डो पारेको मेक्सिकोको युकाटान प्रायद्वीपमा रहेको चिकशुलुब भन्ने ठाउँमा खोज गरेको थियो।
सो ठक्करबाट चोइटिएका क्षुद्रग्रह र जमिनका टुक्राहरूबाट पृथ्वीमा ढुंगाको तह बनेको थियो। वैज्ञानिकहरूले त्यही ढुंगामा विभिन्न दुर्लभ तत्वहरू खोजेर ठोक्किएको पिण्डबारे अनुसन्धान गरिरहेका छन्।
अनुसन्धाता फिसर-गोडको टोलीले उक्त ठाउँमा रूथेनियम नामक तत्व खोजेको थियो। उनीहरूले पृथ्वीका अन्य भागमा खसेका क्षुद्रग्रहमा भेटिएको रूथेनियमको मात्रासँग तुलना गरे र सो क्षुद्रग्रह सी-टाइपको भएको पत्ता लगाए।
त्यसमा जुन मात्रामा रूथेनियम भेटिएको छ, त्यसले त्यो सी-टाइपको क्षुद्रग्रह बाहेक अरू केही नभएको पुष्टि भएको फिसर-गोडले ठोकुवा गरेका छन्। त्यस्तै अहिलेसम्म थाहा भएअनुसार, चिकशुलुबको क्षुद्रग्रह नै पृथ्वीमा आएको एक मात्र सी-टाइप क्षुद्रग्रह भएको दाबी पनि उनले गरेका छन्।
बृहस्पति ग्रहको पारिपट्टि बनेको त्यो क्षुद्रग्रह कसरी पृथ्वीमा ठोक्कियो भन्नेबारे चाहिँ खुलेको छैन। तर वैज्ञानिकहरूले बृहस्पति पारिको त्यो क्षुद्रग्रह गुरूत्वाकर्षणमा अस्थिरता हुँदा एस्टरोयड बेल्टबाट पृथ्वीतर्फ आएको अनुमान गरेका छन्।
सी-टाइप क्षुद्रग्रह पहिले पनि पृथ्वीमा ठोक्किएका थिए वा एकपटक मात्रै यस्तो भएको हो भन्ने थप अध्ययन भएमा, अब भविष्यमा त्यस्ता क्षुद्रग्रह ठोक्किने सम्भावना के कसो छ भनेर अनुमान गर्न सजिलो हुन्छ।
वैज्ञानिकहरूका अनुसार ६ करोड ६० लाख वर्षअघि मेक्सिकोको युकातान प्रायद्विपपमा लगभग दस किलोमिटर चौडा क्षुद्रग्रह ठोक्किएको थियो। त्यो क्षुद्रग्रह ठोक्किने बेलामा त्यसको गति लगभग २० किलोमिटर प्रति सेकेन्ड (७२००० किलोमिटर प्रति घन्टा) थियो। पृथ्वीको भूमिमा त्यति धेरै गतिमा ठक्कर दिएपछि सो ठाउँमा ठूलो विस्फोट भएको थियो। यो विस्फोट सन् १९४५ मा अमेरिकाले जापानको हिरोसिमामा खसाएको आणविक बमका तुलनामा अर्ब गुणाभन्दा बढी शक्तिशाली भएको मानिन्छ।
त्यस बेला उल्कापिण्डको प्रभावले पृथ्वीको सतहमा आगोका लप्का उठेका थिए। वायुमण्डल धुवाँको मुस्लोले भरिएको थियो। जंगलहरूमा आगो लाग्यो। पृथ्वीमा विनाशकारी भुइँचालाहरू आए। समुद्रमा हिमालझैं अग्ला पानीका छाल लहराए। धेरै ज्वालामुखीहरू विस्फोट भए।
आगोको लप्का, जंगलको आगलागी र समुद्री छालका कारण धेरै जीवजन्तुको मृत्यु भयो। बिस्तारै पृथ्वीको तापक्रम एकदमै बढेर गयो। आगो र बाढी खेपेर बाँचेका जीवजन्तु पनि मर्दै गए। त्यसपछि धुँवा र ठक्करका कारण पृथ्वीका चट्टानहरू धूलोपिठो भएर उडेको धूलोले सारा वायुमण्डल भरियो र सूर्यका किरण लगभग पूरै छेक्यो। ज्वालामुखी विस्फोट भएर वायुमण्डलमा निस्किएको सल्फर डायोक्साइडले नछेकिएका किरणको ताप पनि कम गरिदियो। यसले वर्षौं वर्षसम्म पृथ्वीको तापक्रम धेरै कम भइरह्यो।
सूर्यको किरण छेकिँदा डढेर नसकिएका वनस्पति फोटोसिन्थेसिस गर्न नपाएर मरे। कति जीवजन्तु चिसोले त कति खान नपाएर मरे।
सो घटनाका कारण पृथ्वीका लगभग ७५ प्रतिशत जीवजन्तुका प्रजाति लोप भएको मानिन्छ। त्यसले जीवजन्तुको विकासक्रम नै उथलपुथल गरिदियो। त्यति बेला पृथ्वीमा राज गर्ने डायनासोर लोप भयो। बाँकी रहेका थोरै जीवजन्तुको बिस्तारै क्रमागत विकास हुँदै गयो। नयाँ नयाँ जीवजन्तु बने। र, यही क्रममा मानव जातिको पनि विकास भएको हो।
त्यसैले त्यो एउटा क्षुद्रग्रहले भयानक विध्वंश गरे पनि आज पृथ्वी जस्तो छ, यस्तो हुनुमा त्यसकै भूमिका रहेको वैज्ञानिक फिसर-गोड बताउँछन्।
(द न्यूयोर्क टाइम्स लगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको)