पढाउन भनेर डेरामा राखेकी छोरीको हत्या भएपछि ललिता थारूका आँखा ओभाउन सकेका छैनन्।
४० वर्षीया ललिताका आँखाबाट हमेसा छोरीको पीडाका आँसु बगिरहन्छन्। तिनै आँसुले न्यायका पुकारा गरिरहन्छन्।
अन्तिमपल्ट देखेको छोरीको दृश्यले उनी शोकाकुल छिन्। छोरीको वीभत्स हत्या भएको दृश्यले उनलाई निदाउन दिएको छैन।
आफ्नो पीडा सुनाउन ललिता विभिन्न सरकारी निकाय धाइरहेकी छन्।
बाँकेको जिल्ला प्रहरी कार्यालय धाउँदा धाउँदै एक वर्ष बित्यो। कसैले उनको पीडा सुनेन। यसपछि उनी आफ्नी छोरी मारिएको खबर सुनाउन काठमाडौं आएकी छन्।
उनी काठमाडौं आएको आइतबार सात दिन पुग्यो। यहाँ पनि यतिञ्जेलसम्म उनको पीडा सुन्न कोही आएको छैन।
पीडा सुन्न को आउने हो, न्याय कसले दिने हो, ललितालाई थाहा पनि छैन।
माइतीघर मण्डलमा बलिन्द्रधारा आँसु बगाएपछि नजिकैको सिंहदरबारले सुन्ला कि भन्ने आशामा छिन् उनी।
छोरीको तस्बिर घाँटीमा झुन्ड्याएर शुक्रबार उनी सडकमा धर्ना बसिरहेकी थिइन्। केही तस्बिर सडकमा फिँजाइएका थिए।
उनी एक तमासले सुँक्सुकाइरहेकी थिइन्।
उनको जीवनमा आइपरेको यो दुर्घटना एक वर्षअगाडिऽ अर्थात् २०८० वैशाख २८ गतेको हो।
उनकी २२ वर्षीया छोरी सुमदरानी थारू नेपालगन्जमा डेरा बसेर पढिरहेकी थिइन्। पाँच दिनको बिदामा घर आएकी छोरीलाई ललिताले वैशाख २७ गते डेरामै पुर्याइन्। आफू घर फर्किइन्।
उनको घर बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ मा पर्छ। छोराछोरीलाई पढाउन नेपालगन्ज–९ श्रद्धानगरस्थित सन्तोष सारू मगरको घरमा डेरा खोजेकी थिइन्।
उनका १९ वर्षीय छोरा निरेन थारू मोर्डन पब्लिक उच्च माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्थे। छोरी सुमदरानी भेरी प्राविधिक विद्यालय नेपालगन्जमा कम्प्युटर सम्बन्धी डिप्लोमा कोर्ष पढिरहेकी थिइन्।
त्यो सँगसँगै सुमदरानी स्नातक चौथो वर्षमा पनि पढिरहेकी थिइन्। प्राविधिक शिक्षाले मात्र नपुग्ने भनेर उनले स्नातकतर्फ पनि पाइला चालिरहेकी थिइन्।
'छोराको कक्षा ११ को परीक्षा सकेर आएकाले वैशाख २७ गते छोरी मात्रै फर्किएकी थिई,' उनले भनिन्, 'डेरामा पुर्याउन म आफै गएकी थिएँ।'
त्यस दिन उनी दिउँसो छोरीलाई छोडेर साँझ फर्किएकी थिइन्। साँझ सुमदरानीसँग कुराकानी भएको भएको थियो।
सुमदरानी बिहान कलेजबाट फर्किएपछि दिनहुँ ललितालाई फोन गर्थिन्। एक्ली छोरी सुमदरानी ललिताकी साथीजस्तो थिइन्। हरेक कुरामा आमालाई सघाउँथिन्। सरसल्लाह पनि दिन्थिन्।
वैशाख २८ गते भने सुमदरानीले फोन गरिनन्। दिउँसो ११/१२ बजेसम्म पनि छोरीले फोन नगरेपछि ललिताले धेरैपटक सम्पर्क गर्ने कोसिस गरिन्। छोरीको फोन उठेन।
छोरीले फोन नगरेकोबारे दिउँसै श्रीमान (सेक्सन थारू) लाई पनि सुनाएकी थिइन्। श्रीमानले कलेजको काममा व्यस्त भएकाले नगरेको होला भनेर धेरै पीर नलिन भने।
त्यसपछि दुई/तीन घन्टा फोन पर्खिरहिन् उनले।
छोरीको फोन आएन।
त्यसपछि ललिता बेचैन भइन्, एकोहोरो फोन गरिरहिन्। नजिकका साथीहरूलाई पनि फोन गरेर सोधिन्।
छोरीको कोठासँगै बस्ने साथीहरूले कोठामा ताला लगाएको बताए। यसपछि छोरी बाहिर घुम्न गएको हुनसक्ने सोचिन्। राति अबेरसम्म पनि छोरीले फोन नफर्काएपछि ललिता झन् चिन्तामा परिन्।
'त्यो रात छोरीले फोन उठाउँछे कि भन्दै बित्यो। सुत्न पनि सकिनँ,' उनले भनिन्, 'भोलिपल्ट बिहान (वैशाख २९) गते छोरालाई साथमा लिएर ७ बजे नै डेरा गयौं।'
उनका अनुसार ढोकामा ताला लगाइएको थियो। त्यसको एउटा साँचो छोरा र अर्को छोरीले बोक्थे। छोरासँग भएको साँचोले ताला खोलेर उनी भित्र छिरे।
'कोठा पर्दा लगाएर अन्धकार थियो। सिधै खाटको छेउमा बसेँ। छोराले पर्दा खोलेर झोला राख्न खोज्दा खुट्टा देखियो,' उनले भनिन्, 'ओढ्ने पल्टाउँदा रगताम्य भएको, घाँटी रेटिएको अवस्थामा छोरीलाई देखेँ।'
उनले थपिन्, 'त्यसपछि आमाछोरा नै चिच्याउन थाल्यौं। वरपरका मानिसहरू भेला भए।'
त्यहाँ उपस्थित मानिसहरूले छोरीको नाडी छामेर धड्कन चलेको छैन भनेकोसम्म उनलाई याद छ। त्यसपछि उनलाई केही थाहा भएन।
प्रहरी आएर पोस्टमर्टमको प्रक्रिया पूरा गरी छोरीको शव जलाइसकेपछि मात्र उनी होसमा आइन्।
जाहेरी दिइसकेपछि प्रहरीले पोस्टमर्टम गरेर त्यही दिन शव जलाइएको थियो। तर त्यो कुरा साँझ मात्र आफूलाई थाहा भएको उनले बताइन्।
वैशाख २९ गते नै जिल्ला प्रहरी कार्यालय, बाँकेमा उनीहरूका तर्फबाट दिएको किटानी जाहेरीमा बर्दियाको राजापुर नगरपालिका–८ बस्ने २६ वर्षीय शैलेन्द्र चौधरीले समुदरानीको बलात्कारपछि हत्या गरेको आरोप छ।
सुमदरानीका भाइ निरेन र शैलेन्द्र साथी थिए।
जाहेरीमा उल्लेख भएअनुसार उनीहरूको मित्रता बढेको ७/८ महिना मात्र भएको थियो। शैलेन्द्र पनि पढ्न भनेर निरेन र सुमदरानीको डेरा नजिकै बसेका थिए।
उनीहरूको एकअर्काको कोठामा आउजाउ हुन्थ्यो।
शैलेन्द्रले आफूलाई मन पराउने र बिहेको प्रस्ताव राखिरहेको कुरा सुमदरानीले बताएकी थिइन्। उनले आमा ललितालाई पनि धेरै पटक सुनाएकी थिइन्।
'शारीरिक सम्बन्ध राख्न दबाब दिएर मानसिक यातनासमेत दिँदै आएको कुरा सुनाएकी थिई। पढ्ने बेला यस्तो कुरामा ध्यान दिन हुँदैन भनेर सम्झाउँथेँ,' ललिताले भनिन्, 'यस्तो हुन्छ होला भन्ने सोचेकै थिइनँ।'
प्रेम स्वीकार नगरेकाले शैलेन्द्रले छोरीको बलात्कार गरी हत्या गरेको उनको दाबी छ।
'शंकाकै भरमा आरोप लगाएको होइन, प्रमाणहरू छन्,' उनले भनिन्।
ललिताका अनुसार उक्त कोठाभित्र शैलेन्द्रले प्रयोग गर्ने मोबाइल, उनको निलो रङको जिन्स पाइन्ट, हेल्मेटको भाइजरको टुक्रा भेटिएको थियो। त्यसैका आधारमा ललिता शैलेन्द्रले नै हत्या गरेको निष्कर्षमा पुगेकी हुन्।
शैलेन्द्रले बलात्कारपछि सुमदरानीको हत्या गरेको दाबी गर्दै उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) तथा दफा १७१ (१) अनुसार कारबाही हुनुपर्ने माग राखेर ललिताहरूले बाँकेमा जाहेरी दिएका छन्।
उक्त जाहेरी दिएको एक वर्ष बित्यो। शैलेन्द्र अहिलेसम्म पक्राउ परेका छैनन्। प्रहरीले चासै नदेखाएकाले अपराधी पक्राउ नपरेको ललिताको बुझाइ छ।
महिनैपिच्छे ललिता जिल्ला प्रहरी र अदालत पुगेर छोरीको न्यायको कानुनी प्रक्रियाबारे सोध्छिन्। त्यहाँका प्रहरीले उनलाई १०/१५ वर्ष लाग्ने भन्दै फर्काइदिने गरेको उनी बताउँछिन्।
'एक वर्षसम्म न्याय नपाएकाले काठमाडौं आउनुपरेको हो,' उनले भनिन्, 'यहाँ सरकारले सुन्छ कि भन्ने आश छ।'
उनले आँसु बगाउँदै भनिन्, 'घाँटी काट्ने बेलामा मेरी छोरी कति चिच्याइ, कराइ होला! त्यो अपराधीलाई सरकारले त्यत्तिकै नछाडोस्!'
यस घटनाबारे हामीले जिल्ला प्रहरी कार्यालय, बाँकेलाई सोध्यौं।
त्यहाँका एसपी तुलबहादुर कार्कीले 'युवायुवती सम्बन्धमा बसेको र मनमुटाव भएपछि हत्या भएको' प्रतिवेदनमा देखिएको बताए।
उनका अनुसार शैलेन्द्र २७ गते सुमदरानीको घरमा पुगेर भेरी अस्पतालको फार्मेसीमा जागिर लगाइदिन्छु भन्दै उनको नागरिकता लगेर गएको तथ्य फेला परेको छ। नागरिकता लिएर शैलेन्द्र वैशाख २८ गते नेपालगन्ज आएको पनि देखिएको छ।
अनुसन्धानले उनीहरू सम्बन्धमा रहेको र बिहेगर्ने प्रस्तावसमेत भएको देखाएको छ। त्यही विषयमा विवाद हुँदा हत्या भएको हुनसक्ने एसपी कार्कीले बताए।
प्रहरीले घटनास्थलबाट एक थान चक्कुसहित केही सामग्री फेला पारेको छ।
'शैलेन्द्रको पासपोर्ट र नागरिकता सुमदरानीकै कोठामा फेला परेको थियो,' उनले भने, 'प्रमाणअनुसार उनले नै हत्या गरेको देखिन्छ तर अहिलेसम्म उनी भेटिएका छैनन्।'
हत्यापश्चात् शैलेन्द्र भागेर भारत पसेकाले नभेटिएको प्रहरीको दाबी छ। ६ महिनाअघि भारतको गोवा भन्ने ठाउँमा शैलेन्द्र छन् भन्ने गोप्य सूचना आएको थियो। त्यतिबेला पनि उनलाई प्रहरीले नियन्त्रणमा लिन नसकेको उनले बताए।
'त्यसपछि उनले सामाजिक सञ्जाल वा मोबाइल प्रयोग गरेको पत्ता लाग्न सकेको छैन,' एसपी कार्कीले भने, 'उनलाई बाँके र बर्दिया प्रहरीले खोजी गरिरहेको छ।'