नेपालटारका १८ वर्षीय उपेन्द्र भट्टराई काठमाडौंमा बस्न थालेको एक वर्ष भयो।
उनी दिनहुँ त्रिपुरेश्वरस्थित विश्व निकेतन स्कुल आऊजाऊ गर्छन्। फर्किँदा भीड भएर गाडीमा खुट्टै हाल्ने ठाउँ हुँदैन, घन्टौं कुर्नुपर्छ। उनका गोडा फतक्क गल्छन्।
तर केही समययता उनलाई सहज भएको छ।
'पहिले त किताबको गरूङ्गो झोला बोकेर गाडी कुर्दाकुर्दै थाक्थेँ। कतै अडेस लागेर बस्न ठाउँ थिएन। यो प्रतीक्षालय बनेदेखि सजिलो भएको छ,' उनले भने।
मनाङका ७५ वर्षीय तेन्जिङ लामा धरहराअगाडि चारैतिर सिसा राखेर बनाइएको प्रतीक्षालय देख्दा दंग छन्। बस कुर्ने बेला प्रतीक्षालयमा बस्न सहज भएको उनले सुनाए।
'दुई वर्षअघि आउँदा त यहाँ फोहोर नै फोहोर थियो। अहिले त सफा गरेर यस्तो चिटिक्क परेको बस्ने ठाउँ बनाएको रहेछ,’ उनले भने।
प्रतीक्षालय धरहरा पुनर्निर्माणअन्तर्गत् नै बनाइएको भवन विभागका इन्जिनियर गोपाल भट्टराईले जानकारी दिए। 'प्रतीक्षालय धरहराको पुनर्निर्माण डिजाइन फाइनल हुँदा नै थियो। सोहीअनुसार अहिले प्रतीक्षालय बनाइएको हो,' उनले भने।
धरहरा निर्माण ठेक्का पाएको कम्पनी जिआइइटिसी–रमन जेभीले प्रतीक्षालय बनाएको हो। बनाइएका प्रतीक्षालय धरहराको कम्पाउन्डबाहिर देखिए पनि त्यो धरहराकै क्षेत्र भएको उनको भनाइ छ।
'साबिकभन्दा भित्र कम्पाउन्ड सारेर धरहरा बनाइएको छ। धरहरामा आउने सर्वसाधारणलाई सहज होस् भनेर प्रतीक्षालय बनाएका हौं,' उनले भने।
प्रतीक्षालयको रंगरोगन र टुटफुट मर्मतका काम बाँकी रहेको उनले बताए।
भिडिओ: