काठमाडौं महानगरपालिकाले विभिन्न ठाउँमा १८ सय वटा सडक बत्ती जडान गरेको छ।
सबैलाई उज्यालो बाटोमा हिँडाउने योजना अन्तर्गत ती बत्तीहरू जडान गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धरले जानकारी दिए।
उनका अनुसार चालु आर्थिक वर्षमा २१ सय वटा सडक बत्ती जडान भइसक्ने छ।
'पहिले नै विद्युत प्राधिकरणसँग सडक बत्ती जडान गर्ने सम्झौता भएको थियो,' उनले सेतोपाटीसँग भने, 'सोही सम्झौता बमोजिम अहिले १८ सय वटा बत्ती जडानको काम भइसकेको छ।'
काठमाडौं महानगर, विद्युत प्राधिकरण र सडक विभागबीच २०७९ साल माघ २४ गते सडक बत्ती जडान गर्ने सम्झौता भएको थियो। प्राधिकरणले ४० र महानगरले ६० प्रतिशत लागत खर्च ब्यहोर्ने सम्झौता भएको थियो। जसमा सडक बत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागत अनुमान गरिएको छ।
मानन्धरका अनुसार फराकिलो सडकमा १२० वाट र साँघुरो सडकमा ९० वाटका बत्तीहरू जडान गरिएका छन्।
अहिलेसम्म महाराजगञ्जदेखि लैनचौर हुँदै जमल क्षेत्रमा बत्ती जडान गरिसकेको छ भने भद्रकालीबाट बानेश्वर क्षेत्रमा समेत बत्ती जडान गर्ने काम भइसकेको छ।
यस्तै, कलंकीबाट कालीमाटी र बानेश्वरबाट तीनकुने क्षेत्रमा बत्ती जडान कार्य भइरहेको उनले बताए।
ती सडकबत्ती दिगो हुने पनि मानन्धर बताउँछन्।
'पहिले वडा कार्यालय वा कुनै संस्थाले बत्ती जडान गरे, जुन बत्ती क्षणिक समयका लागि बल्यो,' उनले भने, 'तर अहिले सम्बन्धित निकायसँग सहकार्य गरेर काम गरेको हुँदा त्यसको दिगोपन सुनिश्चित हुनेछ।'
सडक बत्तीमा थप काम गर्नका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरिने उनले बताए।
सडक बत्ती जडान गरेपछि अपराधिक गतिविधि समेत घट्ने उनी बताउँछन्।
'सहर उज्यालो भएपछि नगरबासीले सुरक्षित महसुस गर्न सक्छन्,' उनले भने, 'त्यसो हुँदा चोरी डकैती लुटपाट जस्ता घटनाहरू पनि स्वतः न्यून हुँदै जानेछ।'
बत्ती जडान र मर्मत सम्हार सबैको जिम्मेवारी प्राधिकरणले नै पाएको छ। बत्ती जडानको टेन्डर सौर्यदय उर्जा, अर्घाखाँले पाएको छ।