२०८० चैत ४ गते कालीकोटको खाँडाचक्र नगरपालिका–५ ढाँडगाउँका नन्दराम चौलागाईं र उनकी १२ वर्षकी छोरी हेमन्ती बाख्रा चराउन नजिकैको नवदुर्गा सामुदायिक वनमा गएका थिए। बिहान बाख्रा चराउन गएका उनीहरू दिउँसो वनमा लागेको आगलागीमा परे।
वनको तल्लो छेउबाट सल्किँदै आएको आगोबाट हतपत उम्किन नसकेका नन्दरामका बाबुछोरीकै शरीर जल्यो। स्थानीयले उद्धार गरेपछि दुवै जनालाई सुरूमा सडक बाटो हुँदै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगियो। प्रतिष्ठानमा उपचार सम्भव नहुने भएपछि उनीहरूलाई भोलिपल्ट हेलिकप्टरमार्फत् कर्णाली प्रदेश अस्पताल लगियो।
सुर्खेतमा उपचार गर्दागर्दै दुई दिनमा हेमन्ती र पाँच दिनमा उनका बुवा नन्दलालको प्रदेश अस्पतालमै मृत्यु भयो।
कालीकोटमा घटना हुनुको दुई दिनअघि सुर्खेतको बराहताल गाउँपालिकामा पनि आगलागीको घटना भएको थियो। स्थानीय साँघुरे सामुदायिक वनमा लागेको आगलागीबाट घाँस काट्न गएका बराहताल–२ का ५९ वर्षीय ऐनबहादुर राना घाइते भए।
उनलाई पनि उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगियो। उपचारकै क्रममा रानाको मृत्यु भयो।
गएको चैत ३० गते डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तीन जना बालबालिका डढेलामा परेका थिए। त्रिपुरासुन्दरी–४ मा रहेको सुँ सामुदायिक वनमा गुच्ची च्याउ टिप्न गएका १२ वर्षीय विवस बुढा, १३ वर्षका समन्त बुढा र १० वर्षका सुलस बुढा आगलागीमा परी गम्भीर घाइते भए।
आगलागीमा घाइते भएका तीनै जनालाई सुरूमा जिल्ला अस्पताल लगिएको थियो। १० वर्षका सुलसको जिल्ला अस्पतालमा ३० गते नै मृत्यु भयो। विवस र समन्तलाई थप उपचारका लागि काठमाडौं लगिएको थियो। शरीरको धेरैजसो भाग जलिसकेका उनीहरूको काठमाडौंमा पनि उपचार सम्भव भएन, मृत्यु भयो।
त्यसकै दुई दिनअघि पनि डोल्पाकै अर्को सामुदायिक वनमा आगलागी भयो। ठूलीभेरी नगरपालिका–३ मा रहेको मस्टाभवानी सामुदायिक वनमा लागेको उक्त आगो निभाउन खटिएका चार जना सैनिक घाइते भएका थिए।
घटना भएकै दिन जिल्ला अस्पतालमा घाइते भएकामध्ये सैनिक हेमन्त रावतको मृत्यु भयो। अरू तीन जनालाई थप उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको थियो। तीमध्ये पनि दुई जनाको मृत्यु भइसकेको छ। एक जनाको भने उपचार जारी छ।
चालु आर्थिक वर्षभित्र भएका कर्णाली प्रदेशभर आगलागीका १६६ वटा घटना भएका छन्। ती घटनामा परी २७ जना मानिस घाइते भएका थिए। घाइते भएकामध्ये १७ जनाको मृत्यु भयो। यसमध्ये पनि ९ जनाको मृत्यु फागुन र चैत महिनामा भएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयमा रहेको तथ्यांकअनुसार यो आर्थिक वर्षभित्र भएका आगलागीका घटनामा परी सुर्खेतमा १, जाजरकोटमा १, सल्यानमा २, कालीकोटमा ३, मुगुमा २, डोल्पामा ७ र हुम्लामा १ जनाको मृत्यु भएको छ। तीमध्ये नौ जना बालबालिका मात्र छन्।
यी आगलागीका घटनाबाट १२८ पशुचौपाया मरेका छन्। १२८ वटा भौतिक संरचना क्षति भएका छन्। ११ करोड २६ लाख २८ हजार रूपैयाँ बराबरको क्षति भएको छ। जंगल र घाँसे मैदान हुने पहाडी क्षेत्र भएको कर्णालीमा बर्सेनि आगलागीका घटना भइरहन्छन्। हरेक वर्ष मानिस र चौपायाको मृत्यु पनि भइरहेको हुन्छ।
आगलागीको घटनामा मानिस पीडित भइरहे पनि जलनको उपचार हुने गतिलो प्रविधि कर्णालीमा नहुनु भने विडम्बनाको विषय भएको सर्वसाधारणको भनाइ छ। आगलागीबाट १० प्रतिशत भन्दामाथि जलन भएकालाई काठमाडौं नै पुर्याउनुपर्ने बाध्यता छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलका अनुसार कर्णालीमा जनरल सर्जनले उपचार गर्न सक्ने सामान्य प्रविधि मात्र कर्णालीमा उपलब्ध छ। त्यो पनि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली प्रदेश अस्पतालमा मात्र उपलब्ध छ। त्योभन्दा माथिको जलनको उपचार गर्न सकिने आधुनिक प्रविधि र जनशक्ति आसपासमै छैन।
‘जुम्ला र प्रदेश अस्पताल दुवैमा जनरल सर्जरीको व्यवस्था छ, सर्जन पनि छन्, तर यहाँ प्रविधि नभएकाले सामान्य जलन भएका बिरामीको मात्र उपचार सम्भव छ,’ डा. रावलले भने, ‘जलनले छालामा मात्र असर गर्ने नभएर बहुअसर पारेको हुन्छ, यसका लागि जलनकै उपचार गर्न त्यही स्तरको आइसियु, आधुनिक उपचार प्रविधि चाहिन्छ। यो कुरा कर्णालीका ठूला दुइटै अस्पतालमा उपलब्ध छैन।’
यी दुई अस्पतालमा जलनको विशेष उपचारका लागि व्यवस्था गर्न सकिए सुख्खा समयमा जलन सम्बन्धी विपदबाट पीडितलाई केही हदसम्म राहत हुने उनी बताउँछन्।
उनका अनुसार कर्णालीमा उपचार सम्भव हुने भनेको १० प्रतिशतसम्म ‘सुपरफेसियल (सतही)’ जलनको मात्र हो। ‘डिप (गहिरो)’ जलन भएका बिरामीलाई भने यो क्षेत्रबाट काठमाडौं रिफर गर्नुको विकल्प नभएको डा. रावलले बताए।
जलनको उपचार गर्न आधुनिक प्रविधि नभएका कर्णालीका जस्ता अस्पतालहरूले समयमै रिफर गर्न सक्नु भनेकै ज्यान बचाउनुसरह हुने उनी बताउँछन्।
‘जलनको अवस्था पत्ता लगाएर हामीले समयमै रिफर गर्नु र तत्कालका लागि आपतकालीन कक्ष मजबुत बनाउनु उचित हुन्छ,’ उनले भने, ‘हाम्रो प्रतिष्ठानमा यस्तो धेरै समस्या आउँछ, हामीले आपतकालीन कक्षको भने राम्रो व्यवस्थापन गरेका छौं।’
कर्णालीमा जलन उपचारका लागि विशेष अस्पताल बनाउन तत्कालै सम्भव नहुने कीर्तिपुर अस्पतालका प्राज्ञ डाक्टर शंकरमान राई बताउँछन्।
‘अहिले आगलागीको घटना भएका बेला विभिन्न ठाउँहरूबाट जलनको लागि अस्पताल बनाउनुपर्यो भनेर कुरा उठिरहन्छ, यो यति विशेष कुरा हो कि, यस्तो अस्पताल जहाँ पायो त्यहीँ बनाउन साध्यै छैन,’ उनले भने।
घटनामा परेर जलन भएका बिरामीलाई विशेष अस्पताल लैजान हतारिन नहुने उनको भनाइ छ। घटना भएकै ठाउँमा भएका स्वास्थ्य संस्थाले २४ घण्टाभित्र राम्रो हेरचाह गरेर विस्तारै विशेष अस्पतालमा पुर्याउन सकिने उनले बताए।
‘जलन भएका बिरामीलाई तत्कालै विशेष अस्पतालम लैजानैपर्छ भनेर हतार गर्नु पनि आवश्यक छैन, घटना भएको ठाउँमा भएका सामान्य स्वास्थ्य चौकी वा उपचार केन्द्रमा २४ घण्टाभित्र राम्रो हेरचाह गर्ने र नसामार्फत् शरीरमा पानी पर्याप्त चढाउनुपर्छ,’ डा. राई भन्छन्, ‘यसले गर्दा जलन भएका बिरामीको तुरून्तै मृत्यु हुँदैन, पहिलो २४ घण्टामा उसले शरीरमा पर्याप्त हुने पानी पाएन भने विशेष अस्पतालमा लगेर पनि बचाउन सकिँदैन।’
दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले फोनबाट पनि विशेषज्ञसँग परामर्श लिन सक्ने उनले बताए।
उनका अनुसार नेपालको हकमा ४० प्रतिशत शरीर जलन भएका बिरामीहरूमध्ये ५० प्रतिशत मात्र निको हुन सकेका छन्। त्योभन्दा माथिको जलन भएका बिरामी बचाउन असम्भव जस्तै हो।
कर्णाली क्षेत्रबाट कीर्तिपुर अस्पतालमा जलन भएर उपचार गराउन आउने बिरामीमध्ये अधिकांश ७०–९० प्रतिशत शरीर जलेका हुने गरेको डा. राईले बताए।
‘जंगलमा हुने जलनचाहिँ सबैतिरबाट आगोले घरेर जल्ने हुनाले उहाँहरूलाई बचाउन गाह्रो हुन्छ, तर त्यस्ता बिरामीलाई स्थानीय स्तरमा रहेका स्वास्थ्यकर्मीले बचाइराख्न पहिलो चरणको उपचार विधिबारे जानकार नभए हामीलाई फोन गरेर सोध्नुभयो भने हामीले सिकाइदिन्छौं,’ उनले भने।
प्रहरीसँग भएको हालसम्मका तीन वटा आर्थिक वर्षको तथ्यांकअनुसार कर्णाली प्रदेशमा ४३ जना मानिसले आगलागीमा परेर ज्यान गुमाएका छन्। यी तीन वर्षमा ४५१ वटा आगलागीका घटना भएका छन्। ५६ करोड रूपैयाँ बढीको क्षति तीन वर्षभित्र भएको छ।