संयुक्त राज्य अमेरिकाको मध्य–एट्लान्टिक र दक्षिणपूर्वी क्षेत्रमा अवस्थित न्यूजर्सी सहरमा उनको बाल्यकाल बित्यो। १८ वर्षसम्म सहरमै हुर्किइन्। सहरमै विद्यालय शिक्षा पाइन्। एसियाली राष्ट्रहरूभन्दा दशकौंअघि आधुनिक विकासमा पुगिसकेको समृद्ध सहरमा बाल्यकाल बिताए पनि उनको वयस्क समय कयौं दूरी टाढाको भर्खर सहरी संरचनामा ढल्किन खोजेको एक उपत्यकामा बितिरहेको छ।
यहाँको माटोसँग उनको अनवरत प्रेम छ। वर्षौंदेखि यहाँका बालबालिकालाई उनको साथ छ। परिवारको संरक्षणभन्दा बाहिर भएका यहाँका बालबालिकालाई शिक्षा दिन उनको योगदान छ। उनी किशोरावस्था पार गरेपछि यतै बसिन्। बेलाबेला पाहुनाजस्तै बनेर आफू जन्मे–हुर्केको सहरमा पुग्छिन्।
उनी हुन् म्यागी डोयन। जो कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बस्छिन्। यहाँ कोपिला भ्याली सेवा समाज र कोपिला भ्याली स्कुल खोलेर समाज सेवामा निरन्तर लागिरहेकी छन्। उनी कर्णाली प्रदेशलाई आफ्नो घर ठान्छिन्।
आफू जन्मिएको समृद्ध सहर छोडेर उनी किन कर्णालीमा आइन्? न्यूजर्सीदेखि कर्णालीसम्म उनलाई के कुरालो तान्यो र यहाँ प्रेम बस्यो? यी प्रश्नको उत्तर उनले आफैं दिएकी छन्। कर्णाली उत्सवको पाँचौं संस्करणमा उनले आफ्नो न्यूजर्सीदेखि कर्णालीसम्मको यात्राबारे सबिस्तार बताइन्।
विद्यालय शिक्षा पूरा गरेपछिको कलेज जानुअघिको खाली समय थियो। कहाँ जाने, के पढ्ने भन्ने कुराको उनले निर्णय गरिसकेकी थिइनन्। त्यसअघिसम्म उनले आफू जन्मिएको सहर पनि छोडेकी थिइनन्। उनले कलेज जानुअघिको खाली समयलाई आफू के पढ्ने भनेर निर्णय गर्न भ्रमण कार्यक्रमलाई रोजिन्।
त्यतिबेलासम्म म्यागीले नेपाल कहाँ छ भनेर नक्सामा समेत पढेकी थिइनन्। उनी अञ्जानमै उत्तरपूर्वी भारत भ्रमणका क्रममा निस्किइन्। जतिबेला उनी १८ वर्षकी थिइन्। भारत र नेपालको सिमानामा उनको नेपाली श्रमिकहरूसँग भेटघाट हुन थाल्यो। ठूलो संख्यामा भेटिने नेपाली अधिकांश कर्णाली क्षेत्रका हुन्थे। उनीहरूको माध्यमबाट म्यागीले नेपाली संस्कृति र नेपालको बारेमा भारतपट्टिबाट नियाल्ने अवसर पाइन्।
‘जहिले पनि नेपाल र नेपालीलाई चिन्नु जो कोहीका लागि विशेष रहन्छ, मेरा लागि पनि यो अनुभव अछुतो रहेन,’ उनले आफ्नो यात्राको बारेमा भनिन्, ‘म १९ वर्ष हुँदा नेपालीहरू किन कर्णाली छोड्न चाहन्छन् जस्ता धेरै प्रश्नहरू बोकेर पहिलोपटक कर्णालीमा आएँ, मैले कठोर श्रम गरिरहेका धेरै नेपालीहरू भारतको उत्तरपूर्वी क्षेत्रमा भेटेकी थिएँ।’
म्यागीले भेटेका धेरैजसो श्रमिकहरू जुम्ला, हुम्ला, कालीकोट, दैलेखका थिए। उनीहरूले आफ्नै ठाउँ र परिवेशका कुरा म्यागीलाई सुनाउँथे। उनीहरूका कुरा सुनेर म्यागीलाई त्यो परिवेश आफ्नै आँखाले हेर्न पाएको भए हुन्थ्यो भन्ने लाग्थ्यो।
उनी कर्णालीको बारेमा सुनेपछि काठमाडौं, पोखरा जस्ता सहरमा पुगिनन्। जहाजबाट सिधै नेपालगञ्ज ओर्लिइन्। त्यहाँबाट बस चढेर सुर्खेतको बसपार्कमा पुगिन्। आफू कर्णालीमा पुगेर यहाँको मायामा पर्नुलाई म्यागी भाग्यमानी ठान्छिन्। कर्णालीमा अहिले उनको एउटा टिम छ। कोही कर्णालीबाटै छन् भने कोही बाहिरबाट छन्।
म्यागीलाई अधिकांशले कर्णालीका धेरै जिल्लाहरू पिछडिएका छन् भनेर सुनाइदिन्छन्। सुनाउनेले वास्तविकता सुनाए पनि म्यागीलाई ‘कर्णाली पिछडिएको छ’ भन्ने वाक्यले आक्रोशित बनाउँछ। उनलाई लाग्छ-कर्णाली पिछडिएको छैन। कर्णाली सुन्दर छ। कर्णालीका मानिसहरूको मन मायाले भरिएको छ।
‘कर्णालीका मानिसको सपनाको बारेमा सोध्नुभयो भने तपाईंले थाहा पाउनुहुन्छ, उनीहरूले आफ्ना केटाकेटीलाई राम्रो शिक्षा दिन चाहन्छन्, राम्रो अवसर चाहन्छन्, राम्रो जीविका चाहन्छन्,’ आफ्नो कर्णाली यात्राको अनुभव सुनाउँदै म्यागीले भनिन्, ‘कर्णालीका मानिस आफ्नो परिवारका सदस्यहरूको राम्रो रेखदेख गर्न चाहन्छन्, मलाई उनीहरूका यी चाहना असाध्यै सुन्दर अनि अग्रगामी लाग्छन्।’
कर्णालीका अहिलेको यो भाष्य परिवर्तन गर्नुपर्ने उनी बताउँछिन्। कर्णाली के हो र कर्णालीले के गर्न सक्छ भन्ने कुरा बुझाउने कोसिस आफ्नो रहेको उनले बताइन्।
कर्णाली पुगेपछि म्यागीले सशस्त्र द्वन्द्वको मारबाट यो क्षेत्र उम्किँदै गरेको पाइन्। सुर्खेत बस्दै गर्दा म्यागीले यहाँ विश्वविद्यालय स्थापना भएको, अस्पतालको विकास भएको, सडक सुध्रिँदै गरेको प्रत्यक्ष देख्ने अवसर पाइन्। उनी आफू कर्णालीप्रति रक्षात्मक ढंगबाट प्रस्तुत हुन खोज्छिन्। जथाभावी रूपमा सडकका ट्र्याक नखोलियोस्, रूखहरू नकाटियोस्, कर्णालीका कंक्रिटको जंगल नबनोस्, खोलानाला सधैं सफा रहून् भन्ने उनी चाहन्छिन्।
म्यागीले कर्णाली पुगेपछि नेपाली सिक्ने कोसिस गरिन्। उनले कर्णालीका मानिसले ‘छैन’ भनेको शब्दलाई उनले ‘चाइना’ भनेको ठान्थिन् र नेपालीहरूले चाइनाको बारेमा कुरा गरेका छन् भन्ने सोच्थिन्। उनी कर्णालीका मानिसले ‘एकछिन’ भनेको शब्दलाई ‘एक्सन’ भनेको ठान्छिन्।
कर्णाली पुगेपछि म्यागीले यहाँका थारू समुदायको बारेमा जानिन्। यहाँका संस्कृतिको बारेमा बुझिन्। मानिसले छोराको महत्व धेरै राख्छन् भन्ने पनि थाहा पाइन्। यहाँका फरकफरक जिल्लाका फरकफरक परम्परा, संस्कृति, मान्यताका बारेमा बुझिन्। यी मान्यता, परम्परा, संस्कृति जोगाइराख्नुपर्छ भन्ने उनलाई लाग्छ।
उनी कर्णाली आएपछि यहाँका बालबालिकाहरू विद्यालय जान छोडेर नदी किनारामा किन ढुंगा फोडिरहेका छन् बालबालिकाहरूमाथि किन हिंसा भइरहन्छ? जस्ता प्रश्नको पनि उत्तर खोजिन्। उनले उत्तर मात्र होइन, ती समस्याको समाधान पनि खोज्न थालिन्।
यिनै प्रश्नका उत्तर र समाधानको खोजी गर्न उनले कर्णालीकै एक जना सहकर्मी बनाइन्। उनीहरूले कर्णाली घुमेर प्रश्नका उत्तर र समाधान खोजे। त्यसक्रममा म्यागीले आफूभित्रका प्रश्नहरूलाई मसिना बनाएर उत्तर खोज्नुपर्छ र सबैको जवाफ नपाउन सक्छ भन्ने सिकिन्।
‘हामीले समस्याका समाधान गर्ने मार्ग भेट्टायौं, तर हामीसँग काम गर्न पैसा थिएन, जमिन पनि थिएन,’ उनले भनिन्, ‘तर प्रश्नहरूमा टेक्दै अगाडि बढ्दै जाँदा हामीले विश्वास गरेको केही कुरा निर्माण गरेका छौं, हामीहरू बालबालिकालाई पनि हामीले सिकेका कुरा सिकाउँछौं।’
सुर्खेतमा स्थापना गरिएको कोपिला भ्याली स्कुलमा पढ्ने बच्चाहरूलाई म्यागीको टिमले प्रश्न गर्न, पृथ्वीलाई सम्मान गर्न, पानी अनि प्रकृतिको सम्मान गर्न सिकाउँछ। शिक्षाबाट बञ्चित बालबालिकालाई पढाउन प्राथमिकता दिने कोपिला स्कुल आफ्नो मुटु बनेको म्यागी बताउँछिन्।
उनी कोपिलामा पढेका बालबालिकाले आफ्नो बानी सधैं सम्झिऊन् भन्ने चाहन्छिन्।
‘बिहानको कफी नपाउँदासम्म मेरो ठुस्स पर्ने बानी मेरा बच्चाबच्चीले सम्झिऊन्।’
‘मलाई प्लास्टिक मन पर्दैन, प्लास्टिक भेटिएमा गाली गर्थें, सुर्खेत भ्यालीभरि साइकलमा घुम्ने गर्थी भन्ने सम्झिऊन् भन्ने म चाहन्छु,’ उनले भनिन्,‘उनीहरूले मेरा अंगालोलाई सम्झिऊन्, उसलाई बच्चाहरू मन पर्थ्यो, सबै बच्चाहरूलाई भेटिनेबित्तिकै अंगालो हाल्थी भन्ने सम्झिऊन्।’
हरेक बच्चा सबल हुन्छन् र उनीहरूले राम्रो शिक्षा, सुरक्षा, माया पाउनुपर्छ भन्ने म्यागीलाई लाग्छ।
म्यागीलाई बच्चाहरू निश्चल हुन्छन् र हामीहरू बच्चाजस्तै हुनुपर्छ भन्ने लाग्छ। बच्चाहरू ठूला मानिसजस्तै हुनुपर्दैन जस्तो उनलाई लाग्छ। हामीले बच्चाहरूको लागि संसार बनाउनुपर्छ जस्ता लाग्छ। उनको बुझाइमा बालबालिकाहरूलाई तीन वटा कुरा माया, सुरक्षा अनि आधारभूत अधिकार भए पुग्छ।
उनले बालबालिकाका लागि काम गर्ने जीवन रोज्न पाएकोमा आफूलाई भाग्यमानी ठान्छिन् र त्यसमा पनि कर्णाली छान्न पाएकोमा उनी अझ भाग्यमानी आफूलाई ठान्छिन्।
‘मलाई कर्णाली मन पर्छ, म यसलाई धेरै माया गर्छु। यसलाई मेरो घर भन्न पाउँदा मलाई गर्व लाग्छ,’ म्यागी भन्छिन्, ‘म कर्णालीलाई सुन्दर बनाउन सघाउनुहोस् भन्ने चाहन्छु।’