जब मौसम चिसिँदै जान थाल्छ, पारिलो घाम मान्छेका लागि प्रिय हुन्छ।
मान्छेका लागि मात्रै नभइ पारिलो घामको खोजी चराचुरुङ्गीदेखि खोलानालाका माछासम्मले गर्छन् भन्ने विश्वास मुन्धुमी परम्परामा छ।
मुन्धुमका अनुसार जब ती जीवजन्तु जाडो छल्न उँधोतिर झर्न थाल्छन्, त्यसले ऋतु परिवर्तनको संकेत गर्छ अनि सुरु हुन्छ उँधौली उत्सव।
चैत–वैशाख सुरु भएपछि तराई र औल क्षेत्रमा गर्मी सुरू हुन थाल्छ। मंसिरतिर जाडो छल्न उँधोतिर झरेका ती जीवजन्तु चैत वैशाखमा उँभो–उँभो चढ्न थाल्छन्। त्यसबेला मनाइन्छ उभौली उत्सव।
मुन्धुमको यही वर्णन अनुसारको चाड उधौली यतिबेला सुरू भइसकेको छ। मंगलबारदेखि पूर्वका पहाडी तथा तराईका जिल्लाहरूमा आ–आफ्नो परम्पराअनुसार किरात समुदायका विभिन्न जातिहरूले उँधौली मनाउन सुरू
गरेका छन्।
कुनैबेला घरघरमा मनाइने यो पर्व अचेल सामूहिक रूपमा मनाउने चलन स्थापित भइसकेको छ।
मानव सभ्यता विकास हुँदै जाने क्रममा एउटा पुस्ताले आर्जन गरेको ज्ञान अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको छ। मुन्धुम हजारौं वर्षदेखि श्रुति परम्परामा आधारित रहेको ज्ञान परम्परा हो।
मुन्धुम पछिल्लो समय लिखित रूपमा पनि विकास हुने क्रममा छ। लिम्बू समुदायको एउटाबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको ज्ञान परम्परा नै मुन्धुम हो। खासगरी याक्थुङ (लिम्बू) सभ्यता, संस्कृति, जीवन पद्धतिलाई डो¥याउने प्रमुख ज्ञान पद्धति हो मुन्धुम।
त्यही मुन्धुमका अनुसार जब ऋतु परिवर्तन हुन्छ, हिमाल–पहाडदेखिका माछा, चराचुरुङ्गी उँधो–उँधो आउन थाल्छन्। उनीहरू उँधो–उँधो आउँदै जानु ऋतु परिवर्तजनको संकेत हो। ठीक यहीबेला नेपालका आदिवासी समुदायले उँधौली उत्सव मनाउँछन्।
मुन्धुम परम्पराबारे निरन्तर लेख्दै आएका लेखक तथा पत्रकार प्रदिप मेयाङ्बोका अनुसार मंगलबारदेखि उँधौली उत्सव सुरु भएको छ।
‘उँधौली भनेको चाहिँ न्वागी पूजा गर्ने सबै जाति–समुदायको एकमुष्ठ चाडको नाम हो’, उनले भने ‘यही चाडलाई लिम्बू समुदायले चासोक तङ्नाम भनेर मनाउँछन्।’
नयाँ अन्नबाली उपभोग गर्न पुर्खा अथवा प्रकृतिसँग अनुमति माग्ने पूजालाई चासोक भनिन्छ। तङ्नाम भनेको चाड वा उत्सव हो।’
मुन्धुम परम्पराबारे जानकार अर्जुनबाबु मावुहाङका अनुसार उँधौली उत्सवको सम्बन्ध चैत–वैशाखको वैशाखे पूर्णिमामा सुरू हुने उभौलीसँग जोडिन्छ।
चैत–वैशाखमा लिम्बू समुदायले आफ्नो देवीदेउता–कूल पितृ सिमेभूमे, धर्तीलाई श्रद्दा र निष्ठापूर्वक भाकेका हुन्छन्।
‘हामीले लगाएको अन्नपातको बिउ, बोटविरूवा राम्रोसँग उम्रियोस्, बाली विरुवा हुर्कियून्, सप्रियून्, पाकून भनेर भाक्ने अनुष्ठान त्यसबेला हुन्छ’, तेह्रथुमको लालीगुराँस नगरका मेयरसमेत रहेका मावुहाङले भने ‘ देवारी– फेदाङ्मा (धामीझाँक्री) ले फलाकेर अन्नपात राम्रोसँग फलोस्–फूलोस् भनेर भाकेको हुन्छ।’
त्यसपछि खेतीपाती लगाउने याम सुरु हुन्छ। धान, मकै, लगायतका सबैथरी अन्नपात लगाइन्छ। ती सबै अन्नपात पाकिसकेपछि, वैशाखे पूर्णिमामा जसलाई भाकिएको हुन्छ, सबैभन्दा पहिले उनीहरूलाई नै चढाउने गरिन्छ।
‘हामीले भनेको सबैकुरा पूरा गरिदियौं, आफ्नो आग्रह सुनेर अन्नपातहरू उमारिदिने प्रकृति र पुर्खाहरू नै हाम्रा देउदेउताहरू हुन्’, मावुहाङले भने ‘अहिले तिनै देउदेउतालाई थानमा अन्नपातहरू चढाउने काम हुन्छ। उसलाई हामी उधौली चासोक थिसोक भन्छौं। यसलाई नेवाङ्गी पनि भनिन्छ।’
यही नेवाङ्गी नै क्रमशः न्वागीमा रूपान्तरण भएको विश्वास गरिन्छ।
चासोक तङ्नामको साँस्कृतिक पक्षबाहेक बलियो दार्शनिक पक्ष पनि रहेको मावुहाङ बताउँछन्।
उनका अनुसार लिम्बूहरूको पहिलो पुस्ताको उत्पत्तिभन्दा अघि धर्ती र आकाश यो ब्रह्माण्डमा थियो। ‘हाम्रो पहिलो पुस्ताभन्दा अघिको पुर्खा हाम्रा लागि आकाश धर्ती, खोलानाला नै हुन्। तिनलाई हामी पुर्खा वा देउताका रुपमा श्रद्दापूर्वक सम्झन्छौं,’ मावुहाङले थपे ‘हामीलाई प्राकृतिक विपत्तिबाट बचाइदिनूहोस् भनेर हामी प्रकृतिलाई नै पुज्छौं। जसरी हाम्रो पहिलो पुस्ता हाम्रो पुर्खा हो, त्यसैगरी प्रकृति पनि हाम्रो पुर्खा नै हो।’
उनका अनुसार याक्थुम्मा (लिम्बू) समुदायमा एउटा प्रथागत छ। जसमा ढुंगा गाड्ने अनि दुवो छुवाएर न्याय निसाफ गर्ने चलन छ। लिम्बू भाषा अनुसार ‘लुङ’ भनेको ढुंगा र ‘बुङ’ भनेको माटो हो।
जमिनको सीमा निर्धारण गर्न गाडिने ढुंगालाई ‘लुङ’ भनिन्छ। त्यसरी गाडिएको ‘लुङ’ (ढुंगा)ले संरक्षण गर्ने जमिनलाई ‘लुङबुङ’ भन्ने चलन छ।
‘यसरी ढुंगा गाड्नेहरु बढ्दै गए। ढुंगा गाडेर आफ्नो जमिन सुरक्षा गर्नेहरू थपिँदै गएपछि उनीहरू लुङबुङ भनेर चिनिन थाले’, मावुहाङले भने ‘तिनै लुङबुङलाई नेपालका शाह र सेन वंशका राजाहरूले आफूले चिन्नका लागि लिम्बू भन्न थाले। हामीलाई लिम्बू भनेर चिन्न थाल्नेहरु आर्यहरू नै हुन्।’
यसरी ढुंगा गाड्दै जमिनको सुरक्षा गर्दै बस्दै जानेक्रममा लिम्बूहरू फैलिन थाले। पहिलो पुस्ताले प्रकृतिको पूजा गर्न थालेको थियो। पछिल्लो पुस्ताले प्रकृतिसँगै आफ्ना पुर्खाको पनि पूजा गर्न थाल्यो।
‘हाम्रा पुर्खा बस्ने ओडार पनि हाम्रो लागि पूज्य थलो हो’, मुन्धुमको निर्देशन सम्झँदै मावुहाङले थपे ‘त्यो ओडारभन्दा माथि हाम्रा पुर्खाको आत्मा छ भन्ने विश्वास छ। त्यसैले हामी हाम्रा पुर्खाले सिञ्चेको धर्तीदेखि देखेको आकाशसम्मको पूजा गर्छौं।’
लिम्बू समुदायको वंश कहिलेदेखि विकास भयो भन्नेबारे धेरैको फरक मत छ। तर, जब मान्छेहरुले आफ्नो समयको अनुभव सम्झेर राख्न सके अनुसार आगोको उत्पत्तिको समयतिरै त्यो समय पुग्ने मावुहाङ बताउँछन्।
उनका अनुसार पुर्खाहरू बस्ने ओडार, त्यसको छेउछाउमा बग्ने खोलानाला, डाँडा, खोलाका दोभानहरू, वनस्पती सबैमा पुर्खाको आत्मा हुन्छ भन्ने निर्देशन मुन्धुमको छ। ‘ती सबै चिज पवित्र हुन्छन् भन्ने मान्यता छ। त्यही पवित्रताकै कारण हामीले प्रकृतिप्रति श्रद्धा गर्छौं’, उनले भने ‘ती स्थानमा थुक्नु , पिसाब गर्ने अथवा फोहोर पार्ने काम गर्नुहुँदैन भन्ने मान्यता छ। त्यसले पानीको स्रोतको पवित्रता कायम हुन्छ।’
यसरी आफ्ना पुर्खाले सिञ्चेको धर्तीदेखि देखेको आकाशसम्म, अनि पुर्खाहरु बसेको ओडारदेखि तिनले उकालीओराली गरेका डाँडापाखा, खोलानाला सबैको पूजा हुने चासोक तङ्नाम अन्नपात पुर्खालाई चढाउने अवसर पनि हो।
यो पर्व कसरी सुरु भयो भन्ने कथा पनि मुन्धुममा वर्णित छ।
मानव सभ्यता कृषियुगतिर प्रवेश गर्दै गरेका बेला अहिलेको ताप्लेजुङमा एक जना ज्ञानी महिला थिइन्। उनको नाम सिकेरा याक्थुङ्मा थियो। सिकेरा तिनै महिला थिइन्, जसले त्यसबेला लिम्बू समुदायलाई खेतीपाती गर्न सिकाइन्, माटोमा रहेको उर्वराशक्ति चिनाइन्।
लेखक प्रदीप मेयाङ्बोका अनुसार अहिले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकार्मो नेम्भोयाक्वा तेसुमादेन ठाउँ छ। इम्बिरी याङ्धाङ्वा (तमोर नदीको लिम्बू नाम) आसपासको त्यही ठाउँमा सिकेराले पहिलोपटक वनकोदो, पयामा कागुनो, धान जस्ता बालीको बीऊ छरेर खेती गर्न सिकाइन्।
‘त्यसरी लगाइएको बालीनाली पाकेपछि पहिलोपटक प्रकृतिलाई चढाएर मात्रै मान्छेले खान थालेका हुन्’, मेयाङ्बो थप्छन् ‘ त्यही चलन संस्कृतिका रूपमा विकास हुँदै गयो। अहिले आएर उधौली र उभौलीका रूपमा स्थापित भए।’