गत मंसिर ११ गते त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका सहप्राध्यापक बालकृष्ण माबुहाङ पढाउन छिर्दा कक्षाकोठा रित्तै देखे।
विद्यार्थी कक्षामा नभेटिएको दिक्दारी उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेका थिए। माबुहाङको अनुभवमा बितेका चार, पाँच वर्षयता विद्यार्थीको संख्या ओरालो लागिरहेको छ।
‘कक्षाकोठामा विद्यार्थी कम हुनुमा बहुपक्षीय पाटाहरू छन्,’ माबुहाङले भने,‘त्रिविको शिक्षा नीति अस्पष्ट छ। विश्वविद्यालयको स्वामित्व विषयमा स्पष्ट नीति छैन। शिक्षा प्राणाली र प्रविधिबारे अझै सुधार नआएकाले विद्यार्थी संख्या घटिरहेको छ।’
त्रिवि नेपालको सबैभन्दा पूरानो र ठूलो विश्वविद्यालय हो। यहाँबाट अनुमति लिएर ६२ वटा आंगिक र एक हजार १० वटा सम्बन्धन प्राप्त क्याम्पस सञ्चालनमा छन्। त्रिवि केन्द्रीय क्याम्पसबाट प्राप्त २०७३ देखि ०७९ सम्मको तथ्यांक हेर्दा विद्यार्थीको संख्या बढिरहेको देखिन्छ।
०७३ देखि ०७९ सम्मको तथ्यांक हेर्दा २५ लाख ३० हजार चार सय ९० जना विद्यार्थी भर्ना भएको देखिन्छ। यो तथ्यांकले विद्यार्थीको संख्या बढिरहेको देखाउँछ।
हेर्नुहोस् तथ्यांक:
कक्षाकोठामा विद्यार्थीहरू नआएर पढाउनै नपाएको प्राध्यापकहरूको गुनासो छ। कक्षामा विद्यार्थीको संख्या घट्ने र भर्ना हुनेको संख्या बढ्नुको कारण के हो? त्रिविका कार्यवाहक उपकुलपति प्रा.डा. शिवलाल भुसाल अध्ययनमा नयाँ ढाँचा र विषय थपिएकाले विद्यार्थी फिजारिएको तर्क गर्छन्।
उनकाअनुसार पहिलाको जस्तो सिमित विषय र परम्परागत शैलीमा अहिले पढाइ हुँदैन। विद्यार्थीका रूची र नयाँ प्रविधिसहित विभिन्न कोर्समा अध्ययन गराइन्छ। अहिले एक सय ३० भन्दा बढी विषयमा विद्यार्थी बाँडिएका छन्। त्यसले कक्षाकोठामा विद्यार्थीको संख्या कम देखिए पनि समग्रमा घटेको छैन।
'अहिले धेरै विषयमा जिल्ला बाहिरका विश्वविद्यालयमा पनि पढाइन्छ,' भुसालले भने, 'पहिलाको जस्तो स्नातकोत्तर र एमफिल गर्न कीर्तिपुर नै आउनुपर्ने बाध्यता छैन।'
पहिले विज्ञान, अंग्रेजी र समाजशास्त्रजस्ता केही विषयका कक्षामा विद्यार्थी भरिभराउ देखिन्थे। अहिले विद्यार्थीले चाहेका विषय जुनसुकै विश्वविद्यालयमा पनि पढ्न पाइन्छ। सिकाइको दायरा यसरी फराकिलो बन्दै गएपछि एउटै कक्षामा विद्यार्थी भरिभराउ नदेखिएको भुसालको भनाइ छ।
'एक-दुई वटा विभागमा विद्यार्थी संख्या घटेका आधारमा त्रिविमा विद्यार्थी घटे भन्न मिल्दैन,' उनले भने, 'भर्ना हुनेको संख्या बढ्दै गइरहेको छ। तर बीचमा छोड्ने विद्यार्थीको संख्या पनि बढ्दै गइरहेको छ। यो चिन्ताको विषय हो।'
मानविकी तथा सामाजिक शास्त्र संकायका साहायक डिन ताराप्रसाद भुसाल पनि भुसालको भनाइमा सहमत देखिए। कुनै विषयमा विद्यार्थी बढेका छन् भने कुनैमा घटेको उनले बताए। समग्रमा हेर्दा विद्यार्थी संख्या घटेको छैन। यस वर्ष मानविकीमा स्नातकोत्तर पढ्ने विद्यार्थीको संख्या घट्ने सम्भावना छ।
'गत वर्ष भर्ना नगरेका र छुटपुटका विद्यार्थी मात्र छन्। त्यसैले यस वर्ष मानविकी पढ्नेको संख्या भने कम हुन सक्ने अनुमान छ,' उनले भने। यसो हुनुलाई विद्यार्थीले पढ्नै छोडे भन्न नमिल्ने उनले बताए।
‘मानविकी संकायमा स्नातक चार वर्षको बनाउँदा युवाको उत्पादनमूलक समय अध्ययनमै खर्च हुने देखियो। चार वर्ष स्नातक अध्ययन गरे पनि रोजगारीको ग्यारेन्टी हुँदैन’ उनले भने।
त्रिविले विश्वविद्यालयको मापदण्डअनुसार भन्दा पनि पाढ्यक्रमको ढाँचा र गुणस्तर नघटाइ तीन वर्षमै सीमित गरे विद्यार्थी यथावत रहने उनको भनाइ छ। विद्यार्थीको समय र रूची मूल्याङ्कन गरी शिक्षा प्रणाली अगाडि बढाए विद्यार्थी बढ्ने उनले बताए।
प्रा. डा. ओमप्रसाद बराल भने अघिल्लो वर्षसम्म विद्यार्थी संख्या बढे पनि त्यसपछि विद्यार्थी घटेको दाबी गर्छन्। स्नातक चार वर्षे र स्नातकोत्तर सेमिस्टर प्रणाली लागू भएकाले भर्ना भएका २५ देखि ३० प्रतिशत विद्यार्थीले पढाइ बीचमै छाडेका छन्।
पछिल्लो समय कक्षा-कोठामा विद्यार्थी संख्या हेर्दा घटेको देखिन्छ। तर त्रिविले आगामी दिनमा तथ्यांक संकलन गरेपछि यी कुरा आउने उनले बताए।
'आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ को तथ्यांक संकलन भएपछि मात्र विद्यार्थी संख्या घटेका हुन् वा होइनन् भनेर वास्तविक तथ्यांक आउँछ,' उनले भने, 'अहिले अनुमान मात्र गरिएको हो।' विद्यार्थीको भौतिक उपस्थिति निक्कै पातलो हुँदै गएको र यो स्नातक र स्नातकोत्तर तह दुवैमा देखिने उनले बताए।
शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाको विश्लेषणमा तीन कारणले विद्यार्थी कक्षामा उपस्थित भइरहेका छैनन्। जन्मदर घट्नु, वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता र पुरानो शिक्षा प्रणालीले विद्यार्थी घट्दै गएको उनले बताए।
‘इतिहास, भूगोल, नेपाली, जनसंख्या जस्ता विषयमा हरेक वर्ष विद्यार्थी घटेका छन्। तर अन्य केही विषयमा अध्ययन गर्नेको संख्या बढेका छन्। तर पनि समग्रमा विद्यार्थीको संख्या घटेकै छ,’ कोइरालाले भने, ‘कक्षा १२ सम्म पढेपछि युवाहरू आफ्नो उत्पादनमूलक समय खेर फाल्न चाहँदैनन्। किनकि आर्थिक रूपमा सक्षम हुन चाहन्छन्। तीन/ चार वर्षीय उच्च शिक्षा पढेपछि पनि रोजगारको ग्यारेन्टी छैन। त्यसले गर्दा उनीहरू श्रम गर्न रूची राख्छन्।’
विदेश गएकाहरूलाई पनि पढ्न दिने गरी विश्वविद्यालयले योजना बनाउनुपर्ने उनले बताए। 'विदेश गएका विद्यार्थीलाई पनि पढ्ने सुविधा दिन त्रिविले योजना बनाएकै छैन। भौतिक उपस्थितिबाहेक अध्ययन दिनै सकिँदैन भन्ने सोचिन्छ,' उनले भने।
वैदेशिक रोजगारीमा गएका युवालाई ती देशका विश्वविद्यालयसँग सहकार्य गरेर अनलाइन, प्याकेजमा वा पार्सलका रूपमा शिक्षा दिएर विद्यार्थी बढाउन सकिने उनले बताए।
'काठमाडौंमा जागिर खाँदै पढिरहेको विद्यार्थीले सरूवा भएर झापा पुगे त्यहाँका क्याम्पसले पढाउन गाह्रो मान्छन्। एउटा विश्वविद्यालयसँग अर्कोको सहकार्य र समन्वय नै छैन,' उनले भने। यस्तो झन्झटिलो प्रक्रियाले पनि विद्यार्थी पढ्न नचाहेको हुन सक्ने उनले बताए।