मध्य असार थियो। झरी दर्किरहेको थियो। त्यही बेला रणबहादुर दियालीले ‘गाउँमा हात्ती आयो’ भन्ने हल्ला सुने। फुस र बाँसको भाटाले बनेको कमजोर घर अरू बेला सुरक्षित नै लागे पनि हात्ती आएको समयमा उनलाई पिरलो हुन्थ्यो। गाउँमा हात्ती छिरेपछि बाहुनडाँगीको आलडाँगी बस्तीका दियाली परिवारसहित छिमेकीहरू बलियो घरतिर दौडिन्थे।
घर बलियो भए ज्यान अलिक सुरक्षित हुन्थ्यो। बीस वर्ष अघि, २०६० साल असार दोस्रो साताको त्यो एउटा रात ७२ वर्षीय रणबहादुर पत्नीलाई लिएर छिमेकीको घरमा गए।
परम्परागत आरनमा फलामको काम गर्ने रणबहादुरले घडेरी किन्न ४० हजार रुपैयाँ जम्मा पारेका थिए। त्यो पैसा बाँसको एउटा ढुंग्रोमा हालेर आरनकै छानामा सिउरेका थिए।
छिमेकीको घर पुगेपछि उनले झ्वाट्ट त्यो ढुंग्रो सम्झे। दुःख गरेर जोगाएको पैसाको मायाले उनलाई तान्यो। उनकी पत्नी नजानू भन्दै थिइन् तर रणबहादुर ढुंग्रो लिएर आइहाल्छु भन्दै दौडिए।
बाटैमा एउटा हात्तीले फेला पार्यो र बीभत्सरूपले उनलाई मार्यो।
‘त्यस दिन ठूलो झरी परेको थियो। गाउँलेहरू हात्ती खेद्दै जाँदा बाटोभरि मासुका टुक्रा छरपस्ट थिए,’ रणबहादुरका छिमेकी तथा वडाध्यक्ष अर्जुन कार्कीले दुई दशकअघिको घटना सम्झिए, ‘गाउँलेहरूले हात्तीले सुँगुर मारेछ भन्ने ठाने। अलि पर मान्छेको खुट्टा र टाउको फेला परेपछि भने सबै झस्के। हात्तीले त रणबहादुरलाई पो मारेको रहेछ!’
मान्छे मारेको पक्का भएपछि पनि हात्ती खेद्ने तन्नेरीहरूको हुल अघि बढ्नै लागेको थियो, राणबहादुरकै छिमेकी नवविवाहित जोडीलाई हात्तीले मारेको भन्ने हल्ला फैलियो।
जगमाया थापाका २२ वर्षीय छोरा शम्भु र नजिकैकी युवती दुर्गाले भागेर बिहे गरेका थिए। बिहे गरेको २२ दिन भएको थियो। भोलिपल्ट दुर्गाको माइतीले टीका लगाइदिने कार्यक्रम थियो। त्यो दिन नआउँदै शम्भु र दुर्गा घरैमा हात्तीको आक्रमणबाट मारिए।
‘हात्तीको हुलले घर घेरेको थियो। एउटा हात्ती घर भत्काएर छोराबुहारी सुतेकै ठाउँमा छिर्यो,’ जगमायाले त्यो दिन सम्झिन्, ‘म आत्तिएर कराउँदै थिएँ, छोराबुहारीलाई एकै चिहान पार्यो।’
गाउँमा हात्ती छिरेपछि जगमाया घरमा धुप बालेर ‘गणेश भगवान’ को आराधना गर्थिन्। त्यस दिन पनि गरेकी थिइन् तर गणेश भगवानले उनको पुकार सुनेनन्। हात्तीले छोराबुहारी मारेर परिवार उजाड बनाइदियो।
हात्तीलाई ‘भगवान गणेश’ को सजीव प्रतीक मान्ने चलन छ।
वडाध्यक्ष कार्कीका अनुसार आलडाँगीमा एकैछिनमा तीन जना गाउँले मारेर हिँडेको हात्तीले मेची नदीपारिको भारतीय भूमिमा पनि तीन जना भारतीय सुरक्षाकर्मी मारेको थियो। केही दिनपछि भारतीय सुरक्षाकर्मीले त्यो हिंस्रक हात्ती मारे।
छोराबुहारी मारिएयता जगमायालाई हात्ती सम्झिन मन भएन। कतै देख्दा पनि मारौँ जस्तो हुन थाल्यो। आफूबाट छोराबुहारी चुँडेर लैजाने जन्तुसितको उनको आक्रोश अझै जस्ताको तस्तै छ।
‘अहिले पनि कुन बेला आएर मार्छ होला जस्तो लाग्छ,’ जगमाया भन्छिन्, ‘जति डर लाग्छ त्यति नै रिस पनि उठ्छ।’
अजङको जंगली हात्ती सम्झँदा पनि मनमा आक्रोश हुनेमा जगमाया एक्ली होइनन्। मेचीनगर नगरपालिकाका वडा नम्बर १, २, ३ र ४ (साविक बाहुनडाँगी गाविस) का धेरैजसो बासिन्दामा हात्तीप्रति ठूलो आक्रोश छ। आक्रोशको पारो जति नै उच्च छ त्रास पनि।
यस्तै आक्रोश र त्रासले गाउँमा हात्ती र मान्छे दशकौँदेखि आपसमा भिडिरहेका छन्। बाहुनडाँगीमा जंगली हात्तीले मच्चाउने वितण्डाको पीडा नभोग्ने घरपरिवार छैन भने पनि हुन्छ।
‘हाम्रो गाउँमा हात्तीले क्षति नगरेको कुनै घर छैन होला’ वडा नम्बर १, तिरिङका बासिन्दा चन्द्रकुमार चौरासे भन्छन्, ‘धेरैको त बिल्लीबाठ नै भएको छ।’
हात्तीले गाउँमा ज्यान लिएको छ, घाइते बनाएको छ। घर भत्काएको छ, घरमा र खेतबारीमा भएको बाली सखाप पारिदिएको छ। घरपालुवा जनावर मारिदिएको छ।
जनधनको क्षति रोक्न गाउँलेहरू आहाराको खोजीमा विचरण गरिरहेका हात्तीसँग भिड्छन्। यस्तो भिडन्त अहिलेको होइन, मानव बस्तीको विकास भएदेखिकै हो।
स्थानीय बुढापाकाहरूका अनुसार वि.सं. १९८५ सम्म बाहुनडाँगी क्षेत्रमा घना जंगल थियो। मानिसले जंगल फाँडेर बस्ती बसाउन सुरु गरे। जंगल मासिँदै गयो, बस्ती बढ्दै गयो।
‘उत्तरमा इलाम र पूर्वमा भारत रहेको यो ठाउँ मौसमी अनुकूलताका हिसाबले पनि बस्न उपयुक्त मानेर बाउबाजेहरू यता आएका हुन्,’ बाहुनडाँगीका बासिन्दा धनराज तामाङले भने, ‘यहाँको जंगल फाँडिदै गएपछि हात्तीले दुःख दिने क्रम बढ्दै गयो।’
उनका अनुसार वि.सं. २०२० को दशकमा बाहुनडाँगीको उत्तरी क्षेत्रमा हात्तीले क्षति गर्न थालेको हो। बिस्तारै तल्लो क्षेत्रमा पनि असर पर्न थाल्यो। नेपाल, भारत र भूटानलाई कर्मथलो बनाएर प्रकृति संरक्षण अभियानमा सक्रिय रहेका भारतीय संरक्षणकर्मी राज बसुका अनुसार नेपालको बाहुनडाँगीदेखि भारतको दार्जिलिङ र सिलिगुढीबीचको क्षेत्र हात्तीको पुरानो वासस्थान हो।
यस क्षेत्रमा हात्तीको आवतजावत घना जंगल रहेको समयदेखिकै हो।
‘बाहुनडाँगीबाट जल्दापारा नेसनल पार्क हुँदै भारतीय राज्य असमसम्म हात्तीको पुरानै रूट हो,’ बसु भन्छन्, ‘यो रूटमा अहिले घना मानवबस्ती छ। हात्ती आफ्नो परम्परागत चरन क्षेत्रमा आउँदा मान्छेको नोक्सानी हुन थाल्यो। अनि मानव–हात्ती द्वन्द्व चुलियो।’
बाहुनडाँगीका बासिन्दाहरूका अनुसार वि.सं. २०५० को दशकदेखि गाउँमा हात्तीको आतंक धेरै बढेको हो। पहिले सानो बथानमा आउने हात्ती त्यसयता ठूलो बथानमा आउन थाले।
‘हामी किशोर उमेरमा छँदा गाउँमा एउटा–दुईटा मात्रै हात्ती देखिन्थे। क्षति थोरै हुन्थ्यो,’ तिरिङका बासिन्दा चौरासेले भने ‘५५–५६ सालदेखि त सयौँ हात्तीको हुल गाउँ पस्न थाल्यो। बालीनाली र घरमा क्षति हुने र मान्छे मार्ने क्रम पनि बढ्यो।’
पहिले सानो संख्यामा भारतीय जंगलबाट नेपाल भित्रने हात्ती एक्कासी किन ठूलो संख्यामा आउन थाल्यो त ?
त्यो समयमा नेपालतिर जंगल क्षेत्र साँघुरो हुँदै गएको थियो भारतमा पनि जंगलमा अतिक्रमण बढ्यो।
'यसरी दुवैतिरका जंगल घट्न थालेपछि ठूलो संख्यामा रहेका हात्तीलाई आहारा पुग्न छाड्यो। त्यसै कारण हात्ती आफ्नो परम्परागत चरन क्षेत्र फर्केको हो,’ बसुले भने।
भारतको पश्चिम बंगाल, अलिपुरद्वार जिल्लामा रहेको जल्दापारा नेसनल पार्कलाई भारतले हात्तीका लागि अनुकूल बनाउन खोजेको बसुको भनाइ छ।
‘त्यहाँ हात्तीले मन पराउने वनस्पतिहरू लगाउने गरिएको छ तर असमदेखि आउने र रैथाने हात्तीलाई त्यहाँको आहाराले पुग्दैन,’ उनले भने, ‘आहाराको खोजीमा हात्ती असमदेखि नेपालसम्म वर्षभरि ओहोरदोहोर गरिरहन्छन्। त्यही क्रममा मानवबस्तीमा क्षति पुर्याउँछन्।’
मानव–हात्ती द्वन्द्वले निम्त्याएको विनाश
पूर्वी नाका काँकडभिट्टाबाट करिब २० किलोमिटर उत्तरमा छ पूर्वोत्तर झापाको बाहुनडाँगी। इलामको दक्षिण भूभागको फेदैमा रहेको यो गाउँमा मान्छे र हात्तीबीचको द्वन्द्व सघन छ। हात्ती गाउँमा पसेपछि दुबै एकअर्काको निशानामा पर्छन्।
२०३४ सालमा तिरिङकी यशोदा विकलाई हात्तीले मारेको थियो। जानकारहरूका अनुसार बाहुनडाँगी क्षेत्रमा हात्तीको आक्रमणबाट ज्यान गुमाउने पहिलो व्यक्ति उनै हुन्। बाहुनडाँगीमा मात्रै २०३४ सालदेखि २०७४ सालसम्ममा १९ जनाको ज्यान गएको छ।
हात्तीको आक्रमणबाट २०७४ सालमा मनोरथ ढुंगेल मारिएका थिए। त्यसयता भने ज्यानको घटना भएको छैन। डिभिजन वन कार्यालय, झापाका अनुसार २०६८ यता झापामा हात्ती आक्रमणमा परेर ६२ जनाको ज्यान गएको छ। यीमध्ये धेरै बाहुनडाँगीकै छन्। हात्तीको आक्रमण परेर घाइते हुनेको संख्या धेरै छ।
यसबीचमा गाउँलेले पनि कहिले करेन्ट लगाएर त कहिले घरेलु हतियारले घाइते बनाएर हात्ती मारेका छन्। बाहुनडाँगीमा मात्रै कम्तीमा १५ वटा मारिएका छन्।
‘हात्तीले बाली नष्ट गरिदिँदा बालीमात्रै जाँदैन; चाडपर्व, छोराछोरी पढाउने खर्च र वर्षभरिको खुसी पनि खोसिन्छ,’ वडाध्यक्ष कार्की भन्छन्, ‘यसैकारण गाउँलेहरू हात्तीमाथि जाइलाग्छन्। मान्छे जाइलागेपछि हात्ती रिसाउँछ। रिसाएको हात्तीले धेरै वितण्डा मच्चाउँछ।’
वडाध्यक्ष कार्की दुई दशकयता प्रकृति संरक्षण अभियानमा समेत सक्रिय छन्।
नियन्त्रणको असफल प्रयास
बाहुनडाँगीमा बढ्दै गएको हात्ती आतंक नियन्त्रणका लागि अनेक उपाय गरिए तर कुनै पनि उपायले काम गरेको छैन।
स्थानीयवासीहरूका अनुसार सुरुमा गाउँले र प्रहरी मिलेर पटाका पड्काउने, पुल्ठो बाल्ने, ठूलो आवाजले तर्साउने जस्ता उपाय गरे। अहिले पनि यस्तै प्रयास प्रयास हुने गरेको छ तर हात्ती तर्सिन छाडेको छ।
पुल्ठो देख्दा तर्सिएर जंगलतिर फर्किने हात्ती अहिले दर्जनौँ अत्याधुनिक लाइटको उज्यालो र ट्याक्टरको आवाजबाट पनि डराउन छाडेको छ। हात्तीको बथान अटेरी भएर बस्ने गरेको छ।
२०५६ सालमा झापा क्षेत्र नम्बर ३ का तत्कालीन सांसद नरेन्द्रविक्रम नेम्वाङको पहलमा मेची किनारमा टुङ निर्माण गरिएका थिए। साँझ परेपछि गाउँलेहरू टुङमा चढेर मेची बगरतिर हेर्थे। मेची बगरमा हात्ती देखिएपछि त्यहीँ रोक्ने प्रयास हुन्थ्यो। आहारा खोजीमा निस्केको हात्तीको बथानसामु यो उपायले पनि काम गरेन।
२०६० सालपछि तत्कालीन जिल्ला विकास समितिले मेची किनारमा १४ किलोमिटर लामो तारबार गरेको थियो। त्यसले पनि काम गरेन।
२०६२–६३ को जनान्दोलनअघि हालका राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन जिल्लाविकास समितिका मनोनीत सभापति थिए। उनले मेची किनारमा सुरुङबार खन्न लगाए। हात्ती छिर्ने गौँडाहरूमा गहिरो खाल्डो खन्ने र खाल्डो देखेर हात्ती फर्किने अनुमान थियो। हात्ती खाल्डोमा पर्ने र डराएर फर्किने अनुमान पनि थियो।
सुरुङबारले पनि काम गरेन। खाल्डो नभएको ठाउँ खोजेर हात्तीको बथान नेपाल पस्यो। मेची किनारमा मौरीपालनको चर्चा पनि चलेको थियो तर त्यसै सेलायो।
२०६८ सालमा विश्व बैंकको सहयोगमा विद्युतीय तारबार सुरु भयो। हात्तीको आतंक खेपिरहेका भारतका विभिन्न ठाउँ र विश्वका अन्य धेरै ठाउँको अनुभवका आधारमा सरकारले विद्युतीय तारबारको योजना अघि सारेको थियो।
सौर्य ऊर्जामा आधारित करेन्ट तारमा प्रवाह गर्दा हात्तीले छुनासाथ असर गर्छ र नाघेर प्रवेश गर्दैन भन्ने विश्वासका साथ तारबार भयो। करिब चार वर्षमा इलामको रोङ गाउँपालिकाको सीमादेखि काँकडभिट्टा नजिकैसम्म १७ किलोमिटर लामो तारबार गरियो।
त्यो विद्युतीय तारबारले केही काम गर्यो। तारबार अहिले पनि यथावत छ।
‘सुरुका केही वर्ष विद्युतीय तारबारले हात्ती नियन्त्रण भयो। बिस्तारै त्यो पनि ध्वस्त पारेर हात्ती गाउँमा आउन थाल्यो,’ वडाध्यक्ष कार्कीले भने ‘विद्युतीय तारबारको उपायले काम गर्न छाड्यो।’
हाल केही ठाउँमा त्यो तारबार पनि भत्केको छ। त्यहाँबाट हात्तीको हुल गाउँमा पस्ने गरेको छ।
हात्तीसित मिलेर बस्ने योजना
हात्ती नियन्त्रणका सबै उपायहरू विफल भएपछि बाहुनडाँगीमा हात्तीसँग जुध्ने होइन, मिल्नुपर्छ भन्ने चेत विकास हुन थालेको छ।
हालका वडाध्यक्ष कार्कीले नै कुनै समय हात्तीमैत्री गाउँ बनाउनुपर्छ भन्ने अभियान चलाएका थिए। गाउँलेहरू उनलाई ‘हात्ती पाल्ने मान्छे’ भनेर कटाक्ष गर्थे।
कार्की हात्तीलाई गाउँलेको आम्दानीको स्रोत बनाउनुपर्छ। हात्ती हेर्न पर्यटक बोलाउने गरी अघि बढ्नुपर्छ भन्थे।
उनी २०७४ सालको स्थानीय चुनावमा वडाध्यक्ष पदमा उम्मेदवार भए। मतदाताहरूले मान्छेलाई भन्दा हात्तीलाई माया गर्ने उम्मेदवार भने। आखिर उनी पराजित भए।
हात्ती नियन्त्रणका उपायहरू असफल हुँदै गएपछि कार्की र स्थानीयवासी शंकर लुइँटेल लगायतका अभियानीहरूको कार्यक्रममा गाउँलेहरू सहमत हुँदै गए।
‘हात्तीसँग जुधेर सम्भव छैन, मिलेर बस्नु नै सबैभन्दा उत्तम विकल्प हो भन्ने हाम्रो प्रस्ताव छ,’ लुइँटेलले भने, ‘अहिले गाउँमा यो चेत विकास हुँदै गएको छ।’
उनी केही वर्षदेखि हात्तीको आनीबानी अध्ययन गर्दै छन्।
हाल बाहुनडाँगीमा मानिस र हात्ती दुबैको हितका लागि कार्यक्रम सुरु भएको छ। गत स्थानीय चुनावमा वडाध्यक्षमा निर्वाचित भएपछि कार्कीले मेची किनारमा हात्तीलाई उपयोगी हुने वनस्पति लगाउने योजना अघि सारेका छन्। पहिलो चरणमा गाउँलेका घरको बीमा गर्न थालिएको छ।
वडाध्यक्ष कार्कीका अनुसार ‘उज्यालो नेपाल, बर्दिया’ को सहयोगमा मेचीनगर नागरपालिका–४ का सबै घरको बीमा गर्ने काम भइरहेको छ। अहिलेसम्म ६९० घरको बीमा भएको छ। आगामी पुसदेखि लागु हुने बीमाको प्रिमियम शुल्क बापतको ९५ रुपैयाँ उज्यालो नेपालले तिरिदिएको छ। त्यसको समन्वय वडा कार्यालयले गरेको छ।
‘९५ रुपैयाँ प्रिमियम तिरेपछि डेढ लाख रुपैयाँ बराबरको बीमा हुन्छ,’ वडाध्यक्ष कार्की भन्छन्, ‘हात्तीले घरमा क्षति गरे पनि वा अन्य विपद्ले क्षति भए पनि घरधनीले डेढ लाख रुपैयाँसम्म क्षतिपूर्ति पाउनेछन्।’
प्रिमियम ५६० रुपैयाँ बुझाउने हो भने १० लाख रुपैयाँसम्म घरबीमा हुन्छ। केही गाउँलेले १० लाखकै बीमा गरेको वडा कार्यालयले जनाएको छ।
क्षतिपूर्ति पाउने पक्का भएपछि हात्तीमाथि आक्रमण नहुने कार्कीको बुझाइ छ। उनी भन्छन्, ‘मान्छेले नचलाउने हो भने हात्तीले आक्रमण गर्दैन। अब बालीको बिमाका लागि पनि सरकारसँग कुरा बुझ्दैछौँ।’
नेपाल सरकारले २०७५ मै बालीबीमा सुरु गरेको भए पनि बाहुनडाँगीमा कसैले पनि बिमा गरेका छैनन्। घरको बीमा भएपछि बालीबीमा गर्न पनि बासिन्दाहरू तयार हुने कार्कीको विश्वास छ।
‘उज्यालो नेपाल’ सँगकै सहकार्यमा बाहुनडाँगीमा ‘र्यापिड रेस्पोन्स टिम (आरआरटी)’ पनि बनाइएको छ। गाउँका ५० जना युवा सम्मिलित आरआरटीले राती मेची नदी किनारमा गस्ती गर्छ। भारतीय भूमिमा रहेको उतैको टोलीले नेपालतिर हात्ती अघि बढेको सूचना दिन्छ।
हात्ती नेपालतिर आएपछि आरआरटीले साइरन बजाउँछ।
‘साइरन बजेपछि हात्ती आउँदैछ, चनाखो रहौँ, खेतबारीतिर पस्न नदिऔँ भन्ने बुझिन्छ,’ हात्ती संरक्षणका अभियानी लुइँटेलले भने, ‘हात्ती एप्स पनि बनेको छ। एप्सबाट हात्ती रहेको ठाउँ (लोकेसन) थाहा पाउन सकिन्छ।’
आरआरटीमा आबद्ध युवाहरू स्वयंसेवक हुन्। उनीहरू सबैको पाँच लाख रुपैयाँको दुर्घटना बीमा गरिएको छ।
‘टिमले हात्ती कहाँ छ भनेर सूचित गर्छ। प्रहरी, सतर्क बस्छ,’ वडाध्यक्ष कार्कीले भने, ‘टिम मात्रै खेतबारीमा डुल्दा धेरै क्षति हुँदैन। दुईटा हात्ती खेद्न सयौँ गाउँले भेला हुँदा हात्तीले गर्नेभन्दा बढी क्षति हुन्छ। अहिले बालीमा क्षति घटेको छ।’
वडा नम्बर ४ कार्यालयले हात्तीको आक्रमणबाट ज्यान गुमाउने व्यक्तिका परिवारलाई बालबालिकाको पढाइ खर्च बापत वार्षिक १२ हजार रुपैयाँ दिन थालेको छ।
‘उज्यालो नेपाल, बर्दिया’ का अभियानी रमेश थापाका अनुसार मानव–हात्ती द्वन्द्वको अवस्था बाहुनडाँगीमा विकराल छ।
‘निकुन्ज, आरक्ष तथा मध्यवर्ती क्षेत्रमा त्यहाँको आम्दानी स्थानीयस्तरमै खर्च हुन्छ। पीडितले बालीनालीको क्षतिपूर्ति पाउँछन्,’ उनले भने, ‘बाहुनडाँगीमा आरक्ष, निकुञ्ज केही पनि छैन। उनीहरूको हित रक्षा गर्ने निकाय छैन।’
उनका अनुसार उज्यालो नेपालले बर्दियामा ‘हात्ती मेरो साथी’ अभियान चलाएर घरबीमा गराएको थियो। त्यही अनुभवअनुसार स्थानीय सरकारसँग समन्वय गरेर बाहुनडाँगीमा पनि घरबीमा गराइएको हो
यसमा ‘युएस फिस एन्ड वाइल्ड लाइफ’ संस्थाको सहयोगमा अघि बढाइएको घरको र बालीको बीमाले बाहुनडाँगीमा मानव–हात्ती द्वन्द्व घट्दै जाने थापाको विश्वास छ।