मोरङकी ३२ वर्षीया गीता गुरूङलाई 'नागरिकता दिनू' भन्दै २०७९ फागुन १७ सर्वोच्च अदालतले आदेश दिएको थियो।
आदेशअनुसार जिल्ला प्रशासन कार्यालय मोरङले उनलाई तुरून्तै नागरिकता दिनुपर्थ्यो।
झण्डै एक वर्षको कानुनी लडाइँपछि नागरिकता पाउँछु भनेर उनी ढुक्क पनि थिइन्। अदालतको आदेश सहितको पत्र बोकेर जेठको पहिलो साता मोरङ प्रशासन कार्यालय पुगेकी गीताले प्रमुख जिल्ला अधिकारीलाई भेट्न पाइनन्। फैसलाको फोटोकपी छाडेर त्यसै फर्किनुपर्यो।
साउन ३१ गते सर्वोच्चको आदेश बोकेर उनी फेरि सिडिओ कार्यालय गइन्। उनले त्यसदिन प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवलाई भेटिन्। तर, कागजातको विवरण हेर्न समय लाग्ने भन्दै प्रजिअ यादवले उनलाई फर्काइदिए।
एक दुई दिनमा नागरिकता बन्ने आशमा गीता तीन दिनसम्म मोरङमै बसिन्। तर उनको नागरिकता बनेन।
नागरिकता बनाउन आवश्यक कागजातहरू सर्वोच्च अदालतको आदेश, अदालतले दिएको पत्र, कक्षा ८ सम्म अध्ययन गरेको शैक्षिक प्रमाणपत्र, श्रीमानको नागरिकता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस, नाता प्रमाणित कागजातसँगै आफू नेपालमा हुर्किएको प्रमाण लिएर सिडिओ कार्यालय पुगेकी थिइन्।
तर, प्रजिअ यादवले उनलाई नागरिकता दिएनन्। बरू एउटा कागज थमाइदिएर फर्काइदिए।
'आवश्यक कागजात हुँदा पनि नागरिकता पाइनँ,' उनले भनिन्, 'प्रमुख जिल्ला अधिकारीले सर्वोच्चको आदेश कार्यान्वयनमा कानुनी अप्ठ्यारो भएको भन्दै फिर्ता पठाइदिए।'
प्रजिअ यादवले दिएको कागजमा भनिएको छ- गीताको आमाबावु वा निजका तीन पुस्ताभित्रको नातेदार नभएकै कारण उनका दाजुले २०६४ सालमा जन्मसिद्धको आधारमा नागरिकता पाएको देखिन्छ। बहिनीले पनि सोही आधारमा नागरिकता पाउने देखिन्छ हाल जन्मको आधारमा नागरिकता दिने कानुनी व्यवस्था छैन।
प्रजिअ यादवले गृह मन्त्रालयलाई बोधार्थ दिँदै पत्र उक्त पत्र सर्वोच्च अदालतलाई पनि पठाएका थिए। पत्रमा गीताले पाउने नागरिकताको किसिम खुलाउन पनि सर्वोच्चसँग आग्रह गरिएको छ।
संविधानको धारा ११ (ख) मा कुनै पनि व्यक्तिको जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपालको स्थायी बासिन्दा भए नागरिकता पाउने उल्लेख छ।
त्यस्तै, नेपाल नागरिकता ऐन २०६३ को दफा ३ बमोजिम कुनै पनि व्यक्तिको जन्म हुँदा निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्ता व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुने छ प्रस्ट कानुनी व्यवस्था छ।
तर पनि उनले नागरिकता पाइनन्। उनीसँग भएका कागजातका आधारमा नागरिकता दिनु भन्दै सर्वोच्च अदालतले गरेको परमादेश आदेशसमेत प्रमुख जिल्ला अधिकारीले लत्याइदिए।
हामीले यसबारे उनको नागरिकताका लागि कानुनी सहयोग गरिरहेका अधिवक्ता दीपककुमार लम्साललाई सोध्यौं। उनका अनुसार सर्वोच्च अदालले आदेशजारी गरेकै दिन गीताले नागरिकता पाउनुपर्ने हो।
जिल्ला प्रशासन उनलाई दु:ख दिने मनसायले अदालतको परमादेशलाई अपहेलना गरेको अधिवक्ता दीपककुमार लम्सालको भनाइ छ।
उनकाअनुसार गीतासँग दाजुको नागरिकता, यही जन्मेको-पढेको प्रमाण, विवाह दर्ता उनका श्रीमानले मोरङ जिल्लाबाट वंशजको नागरिकता लिएका कागजात छन्। त्योसँगै उनलाई नागरिकता किन दिनुपर्ने भनेर प्रस्ट खुलाएको छ। त्यसकै प्रतिलिपि राखेर नागरिकता दिनुपर्ने हो।
गीताको श्रीमानले वंशजको आधारमा नेपाली नागरिकता पाएको, जन्मदर्ताको प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, विवाहदर्ता र स्थानीय तहको सिफारिससमेत भएकाले उनी नेपाली नागरिक रहेको सर्वोच्च अदालतले आदेशसहितको पत्रमा लेखिएको छ।
सर्वोच्चको फैसलामा भनिएको छ- निजको बा-आमाको नागरिकताको प्रमाणपत्र नभएकै आधारमा उनलाई नागरिकताबाट बञ्चित गराउँदा मौलिक हकमा असर पुग्ने भएकाले निजको कागजात हेरी नागरिकताको प्रमाणपत्र दिनु।
अदालतले नागरिकता दिनु भनेको कागजातको प्रतिलिपि राखेर नागरिकता दिनुपर्नेमा जिल्ला अधिकारीले आदेशलाई अपहेलना गरिरहेको अधिवक्ता लम्साल बताउँछन्।
'सर्वोच्च अदालतको आदेशको प्रतिलिपि राखेर नागरिकता दिँदा हुन्थ्यो। केही कानुनी अप्ठारो छैन,' अधिवक्ता लम्सालले भने।
सर्वोच्च अदालतले नागरिकता दिनु भने पनि जिल्लाले बा-आमाको नागरिकता नभएको भन्दै आफूलाई नागरिकता नदिएको गीताको भनाइ छ।
उनले दुई वर्षअघिदेखि नागरिकता बनाउन कोसिस गरेकी थिइन्। बा-आमाको नागरिकता नभएकै कारण सर्वोच्च अदालतले दिन आदेश दिए पाउने भन्दै फर्काइदिएका थिए।
त्यसैले २०७९ जेठ २ गते कानुनी लडाइँमा उत्रिएकी थिइन्। सर्वोच्चले नागरिकता दिन आदेश दिए पनि बा-आमाको नागरिकता नभएको भन्दै अझै नागरिकता पाउन नसकेको दुखेसो पोख्छिन्।
गीता २०४८ वैशाख २० गते झापा जिल्लामा जन्मिएकी थिइन्। उनले सेतोपाटीलाई देखाएको कागजात अनुसार उनका बुबा कमल गुरूङ र आमा दीपाको दोस्रो सन्तान हुन्। उनका एक दाजु छन्।
उनको बाल्यकाल निकै कष्टपूर्ण रह्यो। उनी सानै हुँदा बुबालाई गुमाइन्। बुबाको अनुहार कस्तो थियो उनलाई हेक्का छैन।
उनकी आमाले अरूकै घरमा काम गरेर गीतालाई हुर्काएकी हुन्।
उनका बा-आमा झापा विर्तामोड नगरपालिकाका एक स्थानीयको घरमा काम गर्थे। उनका बुबा बितेपछि पनि उनकी आमाले त्यो घर छोडिनन्।
उनकी आमा चौबीसे घन्टा त्यही घरमा काम गर्थिन्। त्यसवापत उनीहरूले त्यो घरमा बस्न, खान र गीता र उनका दाजुले सरकारी स्कुलमा पढ्न पाएका थिए। आफूहरू साहुकै घरमा हुर्किएको उनी बताउँछिन्।
उनलाई आफू सानी हुँदा घरधनी आफन्त हुन् भन्ने लाग्थ्यो। ठूली हुँदै जाँदा त्यो भ्रम तोडियो। उमेर बढ्दै जाँदा उनले त्यही घरमा बिहान बेलुका काम सघाउन थालिन्।
दिउँसो भने स्कूल जान्थिन्।
'दाइ कक्षा ९ मा पढ्दै गर्दा घर छोडेर काठमाडौं पस्नुभयो,' उनले भनिन्, 'मेरो पनि कक्षा ८ पास गरेर ९ मा पढ्नेबेला विवाह भयो।'
उनले स्थानीय श्री देवी माध्यामिक विद्यालयबाट कक्षा ८ पास गरेकी हुन्।
कक्षा ८ पास गर्दा उनी १७ वर्षको थिइन्। उनलाई पढ्ने, साथीभाइसँग घुलमिल हुने रहर नमेटिँदै विवाह बन्धनमा बाँधिनु पर्यो।
'बाल्यकालमा अरूले जस्तो आमालाई सताएको र घन्टौं साथीहरूसँग खेलेको कुनै याद छैन,' उनले सेतोपाटीसँग भनिन्, 'फुर्सद हुँदा आमालाई घरको काममा सघाउथेँ।'
त्यही काम गर्ने स्वभाव देखेर घरधनीले उनको आफन्तको घरमा काम गर्ने मोरङ कटहरी गाउँपालिका-६ का सत्यनारायण सरदारसँग विवाह गराइदिएको उनले बताइन्।
२०६५ साल बैशाख २० गते काठमाडौंको गुह्येश्वरी मन्दिरमा उनीहरूको विवाह भएको हो।
त्यतिबेला सत्यनारायण गौशालास्थित एक घरमा काम गर्थे। सत्यनारायण काम गर्ने घर र आफूले काम गरेको घरधनी दाजुबहिनी थिए।
उनीहरूकै सल्लाहमा विवाह भएको गीता बताउँछिन्।
उनले हाँस्दै भनिन्- 'विवाहकै लागि पहिलो पटक काठमाडौं आएको थिएँ, त्यसपश्चात त्यो घरमा फर्किएकी छैन।'
किनकि विवाहपश्चात् उनी श्रीमानले काम गरेकै घरमा बसिन्। उनलाई अरूकै घरमा काम गर्दागर्दै आमा जस्तो बन्ने होकी भन्ने डर थियो। त्यसैले त्यही घरमा लामो समय रहन सकिनन्।
विवाहको एक वर्ष नबित्दै उनी गर्भवती भइन्। आफ्ना सन्तानले आफूले जस्तो पीडा भोग्नु नपरोस भनेर छुट्टै बस्न श्रीमानलाई आग्रह गरिन्।
'श्रीमान बाल्यकालदेखि त्यही घरमा बसेकाले छोड्न मान्नु भएको थिएन्। यसरी अरूको घरमा बसे सन्तानले दु:ख पाउँछन् भनेर फकाएँ,' उनले भनिन्।
उनी २०६६ सालदेखि चक्रपथमा कोठा भाडामा लिएर बस्न थालेकी थिइन्। त्यो दिन आफू निकै प्रफुल्ल भएको उनी बताउँछिन्।
'अरूको घरमा हेपाइसँगै कहिलेकाँही तुच्छ शब्द सुन्नुपर्थ्यो त्यसैले स्वतन्त्र भएर आफ्नै घरमा बस्न मन थियो,' उनले भनिन्।
काठमाडौंमा कोठा भाडा तिरेर बस्न सहज थिएन। तर पनि उनले हिम्मत हारिनन्।
०६६ मा उनले पहिलो सन्तानलाई जन्म दिएकी थिइन्। एक वर्षको सन्तानलाई पिठ्युँमा बोकेर नजिकैको विद्यालय र घरमा सफाइको काम सुरू गरेको उनले बताइन्।
त्यतिबेला दिनभरमा दुई तीनवटा घर र एउटा विद्यालयमा सफाइको काम भ्याउँथिन्।
त्यति काम गर्दा उनको दैनिकी जसोतसो चल्थ्यो। पहिलो सन्तान हुर्किदै गएपछि उनलाई आफूले पढ्न नपाएको रहर सन्तानबाट पूरा गर्ने अठोट गरिन्।
त्यसपछि उनी श्रीमानसँगै घर बनाउने काममा जान थालिन्।
उनका अनुसार त्यतिबेला महिनाभरि घर र स्कुल सफा गरेबापत ५/७ हजार रूपैयाँ कमाउँथिन् भने घर बनाउने काममा गए मासिक १५ हजारसम्म कमाउँथिन्।
श्रीमान् र उनले कमाएको पैसाले सन्तानलाई निजी स्कुलमा पढाउन कठिन थियो। ०७० मा दोस्रो सन्तान जन्मिएपछि जिम्मेवारीको भार थपियो। त्यसपछि श्रीमानलाई वैदेशीक रोजगारमा पठाउने योजना बनाइन्। त्यसमा उनका श्रीमान् पनि सहमत भए।
उनले गाउँका साहुसँग डेढ लाख रूपैयाँ ऋण मागेर मलेसिया पठाएकी थिइन्। फुर्सदको समयमा टोपी बुन्ने, अरूको घरमा भाँडा माझ्ने लुगा धुने कामलाई नेपालमा बसेर गीताले निरन्तरता दिएकी थिइन्।
'त्यतिबेला जसरी हुन्छ दुई सन्तानलाई राम्रो स्कुल पठाउँछु भन्ने अठोट थियो,' उनले भनिन्।
तर मलेसियामा रहेका श्रीमानले भनेजस्तो काम र तलब पाएनन्। त्यहाँ कमाएको पैसाले उनलाई नै खर्च नपुग्ने भएपछि गीताले श्रीमानलाई नेपाल झिकाइन्।
'मलेसियाबाट फर्किएको एक वर्ष नबित्दै दोस्रो पटक कतार पठाएँ, त्यहाँ कमाइ ठिकै थियो तर श्रीमान उतै रमाउन थाले,' उनले भनिन्।
श्रीमानले केही पैसा कमाउँछन् भनेर ऋण गरेर विदेश पठाएको लगानी बालुवामा पानी हालेसरह भयो। यता दुई सन्तानलाई निजी स्कुलमा पढाउने गीताको चाहना चाहनामै सीमित हुने जस्तो देखिन थाल्यो।
७ वर्षसम्म कतारमा काम गर्दा श्रीमानले एक रूपैयाँ पनि बचत गर्न नसकेपछि गीताले फेरि श्रीमानलाई यतै बोलाइन्।
श्रीमतीको आग्रहमा सत्यनारायण दुई वर्षअघि मात्रै स्वदेश फर्किएका हुन्। त्यसपछि गीताले आफैं विदेश जाने निधो गरिन्। पासपोर्ट बनाउन नागरिकता चाहिन्थ्यो गीताले बनाएकी थिइनन्।
'कहिल्यै आवश्यक नपरेकाले होला बनाउन चासो पनि दिइनँ,' उनले भनिन्।
नागरिकता बनाउन उनी श्रीमानको गृह जिल्ला मोरङ गइन्।
त्यतिबेला श्रीमानको नागरिकता, शैक्षिक प्रमाणपत्र, दाजुको नागरिकता र आफ्नो फोटो बोकेर गएकी थिइन्। तर उनीसँग बा-आमाको नागरिकता नभएपछि उनलाई प्रशासनले फर्काइदियो। पटक-पटक जाँदा पनि नागरिकता नबनेपछि उनी न्याय खोज्दै सर्वोच्च अदालत पुगेकी थिइन्।
सर्वोच्चले अदालतले ९ महिनापछि २०७९ फागुनमा उनलाई नागरिकता दिन मोरङ प्रशासनलाई आदेश गर्यो। सर्वोच्चको आदेशसमेत कार्यान्वयन नभएपछि गीता अहिले अदालत र गृह मन्त्रालय धाइरहेकी छिन्।
अहिले जेठी छोरी ७ र छोरा ५ कक्षामा पढ्ने भइसके। ज्यालामजदुरी गरेर पढाउन सक्ने अवस्था पनि छैन। त्यसैले छिटो नागरिकता बनाएर विदेश जान पाइहाले हुन्थ्यो भन्ने छ।
'म यहीँ जन्मेका थुप्रै प्रमाण छन् तर पनि नागरिकता पाउँदिनँ,' उनले सेतोपाटीसँग भनिन्, 'बा-आमाले नागरिकता नबनाएकै कारण म नेपाली होइन भन्न मिल्छ र ? विदेशी नै नागरिकता बनाउन आएजस्तो व्यवहार गर्नुहुन्छ। कतिपयले नागरिकता बनाउन ढिला गरेको भन्दै थर्काउनुहुन्छ।'
उनी आफूलाई नागरिकता बनाउन पर्छ भन्ने थाहै नभएकाले ढिला भएको बताउँछिन्।
सबै तस्बिर: निशा भण्डारी/सेतोपाटी