यतिबेला चितवन भरतपुर महानगरपालिका-२६ का ६३ वर्षीय दीपक पाख्रिनलाई फूल टिप्न भ्याइनभ्याइ छ।
तिहार नजिकिँदै गर्दा ६ बिघा क्षेत्रफलमा लगाएको फूल टिप्न र माला बनाउन पाख्रिन व्यस्त छन्। उनले बिहीबारसम्म करिब तीन क्विन्टल फूल टिपेर बजारमा पठाइसकेका छन्।
यसपटक उनलाई काठमाडौं, ललितपुर, चितवन, सुर्खेत, धादिङ लगायतका व्यापारीबाट थुंगा र फूलको मालाको माग आएको छ।
तर सबै व्यापारीको माग पुर्याउन नसक्ने पाख्रिनको भनाइ छ।
‘एक कठ्ठामा मुस्किलले एक क्विन्टल फूल उत्पादन हुन्छ,’ उनले भने, ‘एउटै व्यापारीले १०/१५ क्विन्टल थुंगा माग गरेका छन्।’
उनले गत वर्ष तिहारका लागि ४ बिघा क्षेत्रफलमा फूल उत्पादन गरेका थिए। त्यतिबेला व्यापारीको माग पुर्याउन धौ-धौ भएपछि यसपटक उनले थप दुई बिघा क्षेत्रफल बढाएका हुन्।
उनले गत वर्ष तिहारमा मात्र १५ लाख रूपैयाँको फूल बिक्री गरेका थिए। यसपटक फूल उत्पादन राम्रो भएकाले दोब्बर बिक्री हुने उनको आश छ।
उनले व्यापारीलाई क्विन्टल र घरमै आउने ग्राहकलाई खुद्रा बिक्री गरिरहेका छन्। प्रतिकेजी ५ सय रूपैयाँमा बिक्री गरेको उनी बताउँछन्।
माला किन्नेलाई प्रतिमाला एक सय रुपैयाँ लिन्छन्। उनले भनेअनुसार एक केजी फूलबाट चार/पाँच वटा माला बनाउन सकिन्छ।
उनले हाँस्दै भने, ‘थोरै र धेरै लैजानेमा केही रकम थपघट हुनसक्छ।’
उनी अहिले आफ्नो बारीमा ढकमक्क फूलेको फूल देख्दा मक्ख पर्छन। पाख्रिन आफ्नो पेशा प्रति खुसी छन्। ‘पैसा भन्दा पनि ढकमक्क फूलेको फूलहरूले मनलाई आनन्द बनाउँछ,’ उनले भने, ‘यही खेतीबाट परिवार चलेको छ।’
सेतोपाटीसँग फोनमा गफ गर्दै बुधबार पनि ढकमक्क फूलेका सयपत्री, टेनिस (बाह्रमासे) र कलकत्ते फूलमा फोटो र भिडिओ खिच्ने मानिसहरूको भीड भएको उनले सुनाए।
मानिसहरूको चहलपहल र ढकमक्क फूलेका फूलहरूले पाख्रिन आफूले गरेको महिनौंको दुस्ख भुल्छन्। त्यसैले आफू शिक्षण पेसा छोडेर फूलखेतीमा लागेको उनी बताउँछन्।
धादिङ गंगाजमुना गाउँपालिका-४ मा जन्मिएका पाख्रिनको बाल्यकाल सामान्य बित्यो। शिक्षित परिवारमा जन्मिएका उनले ६ दशकअघि पनि पढ्ने अवसर पाए।
उनलाई सानै उमेरमा पढ्नका लागि भारत पठाइदिए। कक्षा १२ सम्म पढिसकेर मात्र घर फर्किएका हुन्। उनको बाल्यकाल उतै बित्यो।
बाल्यकाल भारतमै बितेकाले गाउँघरमै बसेर केही गर्ने उनको रहर थियो। परिवारले भारतमै पढ्न र रोजगारीका लागि दबाब दिए पनि फेरि भारत गएनन्।
उल्टै घर छोडी ललितपुर गोदावरीमा बसेर एक निजी विद्यालयमा पढाउन थाले। १० वर्षसम्म पढाए। तर पेशाप्रति आफूलाई रूचि बनाइराख्न नसकेको उनको भनाइ छ।
‘अध्यापन गराउँदा खुसी हुँनै सकिन। त्यसैले छोडेँ,’ उनले भने।
उनले शिक्षण पेशा छोडेर ३ दशकअघि ललितपुरको गोदावरीमा कट् फ्लावरको व्यवसाय सुरू गरेका थिए। फूल प्रतिको मोहले उनलाई उक्त व्यवसाय गर्न प्रोत्साहन गर्यो।
कट् फ्लावर (नर्सरी) को व्यवसाय राम्रो हुँदै गर्दा दुई दशक अघि गोदावरीबाटै सयपत्री तथा टेनिस फूल उत्पादन सुरू गरेका हुन्। उत्पादित फूल बिक्री वितरण गर्न समस्या नभएपछि त्यही पेशाप्रति लोभिए।
‘दुई/तीन महिना दु:ख गरेर घर खर्च चलाउन गाह्रो हुन्नथियो,’ उनले भने,‘एकपल्ट फूलेपछि दुईमहिनासम्म टिप्न सकिन्छ।’
उत्पादित फूलले बजार पाउन थालेपछि काम प्रति रूचि बढ्दै गएको उनको भनाइ छ।
त्यतिबेला गोदावरीमा ७ रोपनी क्षेत्रफलमा सयपत्री, टेनिसबल र कलकत्ते फूल लगाउन थालेका थिए। बजारको माग बढ्दै जाँदा १७ वर्षअघि ठूलो क्षेत्रफलमा फूल उत्पादन गर्न धादिङ पुगे।
धादिङको नौबिसेमा १२ रोपनी क्षेत्रफलमा फूल उत्पादन गरे। बजारमा फूलको माग बढ्दै जाँदा हुर्किरहेका चार सन्तानलाई दार्जलिङ पढ्न पठाए। ‘यहाँ त्यतिबेला राम्रो पढाइ हुने विद्यालय कमै थिए। त्यसैले दार्जलिङ पठाएँ,’ उनले भने।
धादिङको नौबिसेमा १२ वर्षसम्म फूलखेती गरे। त्यहाँ जग्गाजमिनको भाडा बढ्दै जाँदा ५ वर्षअघि चितवन पुगेका हुन्।
उनी अहिले चितवन भरतपुर महानगरपालिका-२७ मा बस्छन्। त्यही सानो घरसमेत बनाएका छन्।
सस्तो मुल्यमा जग्गा भाडामा पाउने भएपछि फूलखेती गर्नकै लागि त्यहाँ पुगेका उनी बताउँछन्।
‘यहाँ आधुनिक तरिकाले खेती गर्न सकिने भएकाले आएको हुँ अब यतै बस्छु,’ उनले भने, ‘फूलखेती गरेरै चार सन्तानलाई पढाएँ, अब बाँचुन्जेल यही गर्छु।’
उनका अनुसार फूलखेती सुरू गरेदेखि उनलाई आर्थिक समस्या भोग्नुपरेको छैन।
पाख्रिनले चार सन्तानसहित ६ जनाको परिवार धानेका छन्। चितवन पुगेर उनले पहिलोपल्ट २ बिघामा फूल उत्पादन गरेका थिए। त्यहाँ पनि माग धान्न धौ/धौ भएपछि क्षेत्रफल बढाउँदै लगेका हुन्।
गतवर्ष पहिलोपल्ट तिहारका लागि चार विघामा फूल उत्पादन गरेका थिए। उक्त उत्पादनले माग धान्न नसक्ने भएपछि यसपटक दुई ठाउँमा गरेर तिहारका लागि ६ बिघामा फूल उत्पादन गरेका हुन्।
उनले गत वर्ष तिहारका लागि ४ बिघामा फूल उत्पादन गरेका थिए। त्यतिबेला व्यापारीको माग पुर्याउन नसकेलाले यस वर्ष क्षेत्रफल बढाएका थिए। तर यसवर्ष पनि माग धान्न नसक्ने उनको भनाइ छ।
यसरी उनले तिहारमा मात्र १५/२० लाख रूपैयाँको फूल बेच्छन् भने बार्षिक २५/३० लाखको कारोबार हुने उनी बताउँछन्। ‘बार्षिक ८/९ लाख रूपैंयाँ नाफा हुन्छ,’ उनले भने।
उनले फूल उत्पादन गर्न ७ जना कर्मचारी राखेका छन्। आवश्यकताअनुसार दैनिक ज्यालामा काम गर्ने मजदुर थपघट भइरहेको उनले सेतोपाटीलाई जानकारी गराए।
पाख्रिन १० महिना फूल उत्पादन गर्छन्। तिहारमा धेरै क्षेत्रफलमा उत्पादन गर्छन् भने अन्य मौसममा थोरै गर्छन्। फूलखेतीबाहेक उनले अन्य केही पनि काम गर्दैनन्।
पाख्रिन फूल खेती राम्रो आम्दानीको स्रोत भएको दावी गर्छन्। त्यसैले वरपर खाली जग्गामा फूल उत्पादन गर्न सल्लाह दिन्छन्।
सँगै विरूवा उत्पादन गरेर बेच्छन्।
उनले सयपत्री तथा टेनिसबल फूलका विरूवा दुई रूपैयाँमा बेच्छन्। यसवर्ष विरूवामात्र ५/७ लाख रूपैयाँको बिक्री गरेका छन्।
उक्त विरूवाका लागि बिउ लिन पाख्रिन भारत पुग्छन्। स्वदेशमा राम्रो बिउ नपाउने भएकाले भारत पुग्नुपरेको उनको भनाइ छ।
‘स्वदेशमै केही गर्न चाहने युवालाई सरकारले विउ समेत उपलब्ध गराइदिन सक्दैन,’ उनले भने, ‘यदी बिउ पाइयो भने पनि राम्रो फूल फूल्दैनन्।’
त्यसैले उनी बिउ लिन प्रत्येक वर्ष भारत पुग्छन्।
स्वदेशमै थोरै लगानीमा घरखर्च चलाउन सक्ने भन्दै पाख्रिन यही व्यवसाय गर्छन् अरूलाई प्रोत्साहन गर्छन्।