हुम्लाका १९ वर्षीय सुवास सुनारल अहिले बिएड पहिलो वर्षको परीक्षा दिइरहेका छन्।
प्रष्ट आँखा देख्न नसक्ने उनले सहयोगीमार्फत् बुधबारसम्म चार वटा विषयको परीक्षा दिएका हुन्। तर समय अभावले ४०/५० नम्बरका प्रश्नको उत्तर लेख्न पाउँदैनन्।
दृष्टिविहीन तथा शारीरिक अपांगता भएका विद्यार्थीले परीक्षामा लेख्न सहयोगी राख्न पाउँछन्।
त्यसका लागि आफूभन्दा तल्लो तहमा अध्ययन गरिरहेका विद्यार्थी छान्नुपर्छ। सोहीअनुसार सुवासले पनि कक्षा १२ मा अध्ययन गर्दै गरेका युवकलाई सहयोगी बनाएका छन्।
आफूले प्रश्न सुनी सहयोगीलाई उत्तर भन्दा एउटै प्रश्नलाई धेरै समय लाग्छ। परीक्षाका गार्डले तीन घन्टामै उत्तर पुस्तिका खोस्दा झन्डै आधा प्रश्नको उत्तर लेख्न छुट्ने गरेको उनी बताउँछन्।
‘बुधबार मेजर नेपाली विषयको परीक्षा थियो। त्यसमा पनि ४० अंकको प्रश्नको उत्तर लेख्न भ्याइनँ,’ सुवासले भने, ‘थप समय माग्दा गार्ड बसेको शिक्षकले कापी खोसेर लैजानुभयो। तीन घन्टापछि ५ मिनेट पनि थप समय दिनुभएन।’
नेपाली विषयमात्र होइन त्यसअघि दिएका ३ वटा विषयमा पनि सबै प्रश्नको उत्तर लेख्न नपाएको उनले बताए। समय थप नगरिदिँदा आफूले आधा प्रश्न छोड्नु परेको उनको गुनासो छ।
‘५/१० मिनेट समय थपिदिन आग्रह गर्दा कापी खोसेर लैजानुहुन्छ,’ उनले भने।
कक्षा १२ सम्मको परीक्षामा उनले यस्तो अवस्था भोग्नु परेको थिएन। एक घन्टा समय नथपे पनि २०/३० मिनेट थप समय दिने गरेका थिए।
तर स्नातकको परीक्षामा भने उनले त्यो सुविधा पाएनन्।
कीर्तिपुरको मंगल बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गरिरहेका उनको परीक्षा सेन्टर कीर्तिपुरकै सहिद स्मारक कलेजमा परेको छ। सोही कलेजले उनलाई परीक्षाको लागि थप समय नदिएको हो।
शिक्षा नियमावली २०५९ को दफा ४७ उपदफा (२) को (१) बमोजिम दृष्टिविहीन तथा शारीरिक अपांगता भएका विद्यार्थीलाई निर्धारित समयभित्र परीक्षा दिन नसक्ने देखिएमा केन्द्राध्यक्षले बढीमा एक घन्टा ३० मिनेट थप समय उपलब्ध गराउनु पर्ने व्यवस्था छ।
सोही नियमअनुसार सुवासले एक घन्टा तीस मिनेटसम्म थप समय पाउनुपर्ने हो। तर त्यहाँका केन्द्राध्यक्षले उनलाई समय दिएनन्।
यसबारे सहिद स्मारक कलेजका प्रमुख मनिलमान महर्जनलाई पनि सोध्यौं।
महर्जनले सहिद स्मारकमा दृष्टिविहीन तथा शारीरिक अपांगता भएका विद्यार्थी नपढ्ने भएकाले परीक्षाको पहिलो दिन तीन घन्टा बित्नासाथ सबैको उत्तर पुस्तिका लिइएको बताए।
पहिलो दिन तीन घन्टामै कापी खोसिएपछि केही दृष्टिविहिन विद्यार्थीले थप समय नदिएकोबारे गुनासो गरेका थिए।
यसबारे आफूलाई जानकारी नभएकाले त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्षराज जोशीलाई सोधेको महजर्नले बताए।
जोशीले त्यस्ता विद्यार्थीलाई थप समय दिनु नपर्ने भनेको महर्जनले बताए।
‘उहाँले दु:ख सुख गरेर आफैंले लेख्नेलाई समय दिदाँ हुन्छ, सहयोगी राख्नेलाई थप समय दिनु पर्दैन भन्नुभयो,’ महर्जनले भने, ‘त्यसैले हामीले थप समय नदिएका हौं। जे निर्देशन आयो हामीले त्यही गर्यौं।’
माथिको निर्देशनमा सहिद स्मारक कलेजले परीक्षामा थप समय नदिँदा सुवासले भने कठिनाइ भोग्नु परेको छ।
सिमकोट गाउँपालिका-६ मा जन्मिएका सुवासको ७ महिना हुँदादेखि प्रष्ट आँखा देख्न छोडे। उज्यालो वा अध्याँरो हो भन्ने अलिअलि छुट्याउन सक्छन्।
कक्षा १२ सम्म पढ्दा परीक्षामा उनलाई कुनै समस्या भोग्नु परेन।
उनले कक्षा ८ सम्म गाउँकै गणेश माध्यामिक विद्यालयमा पढेका हुन्। ९ र १० काठमाडौंको बुढानिलकण्डस्थित गणेश माध्यामिक विद्यालयमा पढेका हुन्।
आफू प्रष्ट आँखा देख्ने नसक्ने भए पनि अध्ययनलाई अगाडि बढाउनुपर्छ भन्ने सोच राख्छन्। त्यसैले कीर्तिपुरमा बसेर जनसेवा माविमा प्लस टु गरेका थिए।
उनको पढाइप्रतिको लगावले गर्दा परिवार तथा आफन्तहरूले पनि सहयोग गर्छन्।
प्लस टूको परीक्षामा पनि उनले कुनै समस्या भोग्नु परेन। किनकि उनलाई छुट्टै कोठामा राखेर परीक्षा दिन लगाइन्थ्यो र आवश्यक समय थप दिइन्थ्यो। तर अहिले त्यो सुविधा पाएनन्।
उनीसँगै परीक्षा दिने दृष्टिविहीन २१ वर्षीय दीपेन्द्र पाँडे मगरको पनि गुनासो उस्तै छ।
उनी पनि अहिले बिएड पहिलो वर्षको परीक्षा सहयोगीको सहारामा दिइरहेका छन्। उनले पनि थप समय नपाउँदा २५/३० अंकको प्रश्नको उत्तर लेख्न नभ्याइने बताए।
‘आफूले सोच्दै आफैं लेख्ने भए तीन घन्टाले पुग्थ्यो, अरूलाई भन्दै लेखाउन गाह्रो छ,’ उनले भने, ‘आफूलाई आएकै कुरा पनि समय अभावले लेख्न पाउँदैनौं।’
कक्षा १२ सम्म अध्ययन गर्दा गाउँको स्कुलमा एक घन्टासम्म समय थप गरिदिने गरेको उनको अनुभव छ। शिक्षित तथा विकसित ठाउँ भनिएकै सहरका शिक्षकले भने मानवीय व्यवहारसम्म नदेखाएको उनी दु:ख पोख्छन्।
पाल्पा रूम्बा गाउँपालिका-२ मा जन्मिएका दीपेन्द्र बाल्यकाल अलिअलि आँखा देख्थे। उमेर बढ्दै जाँदा अँध्यारो र उज्यालोबाहेक केही छुट्याउन नसक्ने भएका हुन्।
कक्षा ९ सम्म उनले मौखिक जवाफ दिन्थे। कक्षा १० देखि सहयोगीको भरमा परीक्षा दिन थालेका हुन्।
उनले गाउँकै दम्कडा नमूना विद्यालयबाट १२ पास गरेका थिए। थप अध्ययनका लागि काठमाडौं आएका उनले काठमाडौंमा झनै सहज हुने अपेक्षा राखेका थिए। तर शिक्षकहरूकै रूखो बोली र व्यवहारले पढ्न मन नलाग्ने उनी बताउँछन्।
‘अराजक शौलीमा कापी खोसियो। आँखा नदेख्ने भएकाले कुन शिक्षक हुनहुन्थ्यो थाहा पाइनँ,’ उनले भने, ‘चारै वटा विषयको परीक्षामा त्यो पीडा भोगे।’
रत्नराज्य क्याम्पस स्नातक चौथौं वर्ष अध्ययन गर्दै गरेका दृष्टिविहिन २३ वर्षीय चिरञ्जीवी थापा पनि आफूले दोस्रो तथा तेस्रो वर्षको परीक्षामा थप समय नपाएको बताउँछन्।
‘कोही-कोही शिक्षकले नियम मानेर होइन कि दयाले ५/१० मिनेट थप समय दिन्छन्। तर धेरै शिक्षकलाई कापी लिनै हतार हुन्छ,’ थापाले भने।
उनका अनुसार त्रिभुवन विश्वविद्यालय र त्यसका आंगिक क्याम्पसहरूले मात्र थप समय दिएका छैनन्। तीबाहेक अन्य क्याम्पसले दृष्टिविहीन तथा शारीरिक अपांगता भएका विद्यार्थीलाई थप समय दिइरहेका छन्।
उनको परीक्षा पनि दिपेन्द्र र सुवासको जस्तै हुन्छ। जहिले ३० देखि ४० अंकको प्रश्नको उत्तर लेख्न भ्याउँदैनन्।
गुल्मी धुर्कोट गाउँपालिका-२ मा जन्मिएका थापाको पहिला आँखा देख्थे। एक्कासी आँखा धमिलो हुँदै दृष्टिविहीन भएका हन्।
अर्घखाँचीका २८ वर्षीया दृष्टिविहीन लिलाराज ताम्राकार पनि स्नाकोतर गर्ने सोच बनाएर काठमाडौं आएका थिए। तर साथीहरूलाई शिक्षकले गर्ने व्यवहार देखेर अलमलमा छन्।
उनीहरू प्रतिनिधि पात्र हुन्।
उनीहरू जस्तै दृष्टिविहीन तथा शारीरिक अपांगता भएका हजारौं विद्यार्थी अहिले यो समस्या भोगिरहेका छन्।
राष्ट्रिय जनगणना २०७८ अनुसार ६ लाख ४७ हजार ७४४ जना अपांगता भएका व्यक्ति रहेकोमा ३ लाख ५१ हजार ३०१ पुरूष र २ लाख ९६ हजार ४४३ जना महिलाहरूमा कुनै न कुनै प्रकारको अपांगता रहेको तथ्यांक छ।
तीमध्ये न्यूनदृष्टियुक्त १ लाख १० हजार ५२५ छन् भने पूर्ण दृष्टिविहीन ३५ हजार रहेको तथ्यांक छ।
त्यसमध्ये बालगृहदेखि कक्षा १२ सम्म अध्यन गर्ने सबैखाले अपांगता भएका विद्यार्थी ३० हजार १६६ जना रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सूचना अधिकारी सुरेशकुमार जोशी बताउँछन्।
उनका अनुसार बालगृह अर्थात पूर्वप्राथमिक तहमा २ हजार ५ सय पढ्छन्। आधारभूत तहमा २३ हजार ३३५ र ९ देखि १२ सम्म ४ हजार ३३० जना पढ्छन्।
उच्च तहमा कति विद्यार्थी पढ्छन् भन्नेबारे त्रिभुवन विश्वविद्यालयसँग पनि प्रष्ट तथ्यांक छैन।
उनीहरूका अनुसार स्नातक अध्ययन गर्दै गरेका १-२ सय जना विद्यार्थी उनीहरूको सम्पर्कमा छन्। उनीहरू कतिले थोरै थप समय पाएका छन् भने धेरै पाएका छैनन्।
त्यसैले उनीहरू आफूले भोगेको समस्या सुनाउन सुवास, दीपेन्द्र, चिरञ्जीवीसहितका दृष्टिविहीन विद्यार्थी गत आइतबार परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेका थिए।
त्यहाँ प्रश्न सुन्ने आधिकारिक व्यक्ति नभएको भन्दै कर्मचारीले एक घन्टा पर्खाएर फर्काइदिएको उनीहरू बताउँछन्।
‘हाम्रो समस्या सुनिदिनु भन्दै आग्रह गर्यौं। कसैले सुन्न चाहनुभएन,’ चिरञ्जीवीले भने, ‘उल्टै तपाईंहरूका समस्या सुन्ने व्यक्ति छैन भन्दै फर्काइदिनुभयो।’
यसबारे हामीले परीक्षा नियन्त्रण कार्यालय बल्खुका नियन्त्रक पुष्पराज जोशीलाई पनि सोध्यौं।
उनले परीक्षामा सहयोगी राख्नेहरूले थप समय नपाउने बताए। शारीरिक अपांगता भएका र मानसिक अपांगता भएका भएकालाई मात्र समय थप गरिएको उनको भनाइ छ।
‘एक सय पूर्णांकको परीक्षामा एक घन्टा र ५० अंककोमा ३० मिनेट समय थपिन्छ,’ उनले भने, ‘सहयोगी राख्नेहरूले तीन घन्टामा लेखिहाल्छन्।’
‘जे छ, यथावत् छ। परीक्षा चलिरहेको छ। यसबारे थप बोल्न मिल्दैन’ भन्दै उनले फोन काटिदिए।
शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार दृष्टिविहीन तथा शारीरिक अपांगता भएका व्यक्तिहरूलाई थप समय उपलब्ध गराउने नियम छ। त्यो हटेको छैन।
‘कसैले उक्त वर्गका व्यक्तिलाई थप समय दिँदैनन् भने त्यो केन्द्राध्यक्ष तथा विद्यालयको लापरवाही हो किनकि त्यो नियम हटाइएको छैन,’ कोइरालाले भने।
परीक्षामा गार्ड बसेका शिक्षकहरू दृष्टिविहिन तथा शारीरिक, मानसिक अपांगता भएका विद्यार्थीका लागि थप समय दिन झर्को र अल्छी गर्ने भएकाले थप समय नदिएको हुनसक्ने उनले बताए।
‘गार्ड बसेको शिक्षकलाई जतिसक्दो छिटो कापी बुझाएर निस्किन हतार हुन्छ। उनीहरू आफ्नो दायित्व र त्यस्ता विद्यार्थीलाई दिइएको सेवा-सुविधाबारे ध्यान दिँदैनन्,’ कोइरालाले भने,‘ गार्डलाई ढिलासम्म बस्नुपर्ने भएकाले बहाना बनाएका हुनसक्छन्।’
यसबारे शिक्षक तथा परीक्षा नियन्त्रण कार्यालय गम्भीर हुनुपर्ने उनले बताए।