५४ वर्षीय भोजराज श्रेष्ठका दुई गोडा र एक हात चल्दैन।
उनले थाहा पाउने भएदेखि नै उनी अरू मानिसभन्दा फरक थिए।
त्यही फरक देखेर धेरैले उनलाई सोध्थे- अशक्त भएर के गर्न सक्छस्?
यो प्रश्न उनले १० वर्षअघिसम्म पनि सुन्थे। प्रश्न सुनेर उनलाई डर लाग्थ्यो। आफ्ना हातगोडा नचलेको भन्दा पनि मान्छेहरूले गर्ने अमानवीय व्यवहारले उनलाई त्रसित बनाउँथ्यो।
अहिले भोजराजको परिचय फेरिएको छ। उनी आत्मनिर्भर बनेका छन्। आफूमात्र आत्मनिर्भर बनेका छैनन् आफूजस्तै फरक शारीरिक अवस्था भएका देशभरिका मानिसलाई बाँच्न सजिलो पार्ने अभियन्ता बनेका छन्।
भोजराज अध्यक्ष रहेको ललितपुरको स्वावलम्बन जीवन पद्धति केन्द्रले देशभरका अपांगता भएका व्यक्तिलाई जीवन जिउन सिकाउँछ। आत्मनिर्भरका बन्न विभिन्न तालिम दिन्छ।
यहाँसम्म आइपुग्न भोजराज आफूले भने कहालीलाग्दो यात्रा पार गरेका छन्।
सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-३ मा २०२६ चैतमा जन्मिएका उनी ९ महिनासम्म अरूजस्तै सामान्य बच्चा थिए। ९ महिनाको हुँदा एकदिन उनलाई बेस्सरी ज्वरो आयो, तीन महिनासम्म थला परे।
‘बा-आमाले तीन महिनासम्म गाउँभरिका धामीझाँक्रीलाई देखाएछन्,’ भोजराज भन्छन्, ‘त्यतिबेला अस्पताल लैजाने चलन थिएन। गाउँकै जडीबुटी खुवाइन्थ्यो। मेरा बा-आमाले पनि त्यही गरे।’
बच्चाहरू एक वर्षको हुँदा अरूको सहारामा उभिन सक्न हुन्छन्। भोजराजले भने त्यो अनुभव गर्नै पाएनन्। ९ महिनामै ज्वरोले थलिएका उनले कहिले खुट्टा टेक्न सकेनन्।
चार-पाँच महिनासम्म विभिन्न ठाउँमा लैजाँदा निको नभएपछि उनलाई घरको पिँढीमा बाँधेर राखियो। उनीसँगैका भाइबहिनी आँगनमा खेल्थे। तर उनलाई डोरीले बाँधेर राखिन्थ्यो। पाँच वर्षसम्म त्यसरी नै हुर्किए।
उनी पाँच वर्षको हुँदा एकदिन दोलखाका व्यापारी इन्द्रमणि राजभण्डारी बास बस्न उनको घरमा पुगे। त्यतिबेला दोलखाका व्यापारीलाई भोजराजको घर रात बिताउने केन्द्र मानिन्थ्यो।
इन्द्रमणि कामको शिलशिलामा काठमाडौं आइरहन्थे। भोजराजको अवस्था देखेर उनले वीर अस्पताल लैजान सल्लाह दिए।
छोरो निको हुने आशमा उनका बा-आमाले भोजराजलाई काठमाडौं ल्याए। वीर र कान्ति अस्पतालमा परीक्षण भयो।
परीक्षणपछि चिकित्सकले भने- लठ्ठीको सहाराले खुट्टा टेकाउन प्रयास गर्नुहोला, हिँडे भने हिँडिहाले नत्र उपचार सम्भव छैन।
चिकित्सकको जवाफले निराश बनेर बा-आमा गाउँ फर्किए।
भोजराजको उमेरका अरू केटाकेटी स्कुल जाने भइसकेका थिए। उनलाई भने पिँढीमा बाँधेर राखिन्थ्यो।
पिँढीमा बाँधिएका भोजराजको पढ्ने चाहना भने उत्कट थियो। उनी दाइ-दिदीका किताब लुकाएर राख्थे र पढ्थे।
विद्यालयबाट फर्किएपछि उनकी माइली दिदीले कहिलेकाहीँ उनलाई घरमा पढाउँथिन्।
‘दिनभर घरमा बसेर पुस्तककै जस्तो लेख्ने प्रयास गर्थें,’ भोजराजले भने, ‘घरमा एक्लै पनि लेखेर बसेको देखेर बास बस्न आउनेले एक पेज लेख्दा एक-दुई रुपैयाँ पनि दिन्थे।’
त्यसले उनलाई पढ्न-लेख्न प्रेरणा मिल्थ्यो।
उनी वरपर घिस्रिएर हिँड्दा आमाले हेरिरहेकी हुन्थिन्।
‘अरू मान्छे दुई खुट्टा टेकेर हिँडेको देख्दा मलाई अचम्म लाग्थ्यो,’ उनले बाल्यकाल सम्झिए।
उनी सात वर्षका थिए।
आँगनमा आमा सूर्तीको पात सुकाउँदै थिइन्। भोजराज घिस्रिएर आमा भएको ठाउँमा पुगेछन्। छोराको अवस्था देखेर उनकी आमाले रूँदै भनिन्- यसकै पीर छ, दाजु-भाउजू माथिल्लो तल्लामा बसेर खाना खालान्। त पिँढीमा बसेर कतिखेर दिन्छन् र खाउँला भनेर कुर्नुपर्ने भयो जिन्दगीभर।'
आमाले भनेका यी शब्दले भोजराज मन चसक्क घोच्यो। त्यो दिन उनी पनि आमासँगै रोए।
सधैँ रोएर जिन्दगी बित्दैनथ्यो! जिन्दगीले संघर्षको बाटो देखाइरहन्छ।
त्यसपछि उनले दुई हात र घुँडा टेकेर हिँड्ने कोसिस गर्न थाले।
त्यसरी हिँड्दा हात र घुँडाका छाला ताछिएर रक्तमुच्छेल हुन्थे। बेस्सरी चहर्याउँथ्यो। राति निदाउन सक्दैनथे।
तर, जिन्दगीभर हिँड्न नसकुँला भन्ठानेर उनी घिस्रिएको घिस्रियै गर्न थाले।
आफू माथिल्लो तला उक्लन सक्दैन भन्ने सोचेर आमा रोइन् होला भन्ने ठाने। त्यसैले उनले भर्याङ चढ्न कोसिस गरे। दिनमै १०/१५ पटक कोसिस गरेपछि उनी भर्याङ चढेर माथिल्लो तला उक्लन सक्ने भए।
त्यसदिन सारा पीडा बिर्साउने खुसी मिलेको उनले बताए।
उनी त्यतिमै रोकिएनन्। माथिल्लो तलामा पुगेर मात्र हुँदैन भन्ने ठानेपछि बाटातिर निस्कन थाले। छिमेकीको घर हुँदै गाउँ डुल्न सक्ने भए।
‘माथिल्लो तला चढ्न सक्ने भएपछि घिस्रिएरै गाउँ डुल्न थालें,’ उनले खुसी हुँदै सुनाए।
गाउँ डुल्न सक्ने हुँदा उनी आठ वर्षका थिए।
हातपाउ टेकेर हिँड्न थालेपछि परिवारले उनलाई सानो किराना पसल सुरू गरिदिएका थिए। पैसा चिन्न सक्ने भएकाले उनलाई पसलमा सामान बेच्न गाह्रो थिएन। दिनभर त्यही पसलमा बसेर सामन बेच्ने र पढ्ने काम गर्ने गरेको उनले बताए।
पढाइप्रति उनको तीव्र अभिरूचि देखेर गाउँका बुढापाकाले धार्मिक पुस्तक (महाभारत, रामायण, कृष्णचरित्र) ल्याएर पढ्न दिन्थे। कनिकुथी पढ्न थाले। बिस्तारै लय बस्दै गयो।
आफूले पढेका पुस्तक अरूलाई सस्वर वाचन गरेर सुनाउँथे।
यसरी उनलाई पढ्ने बानी लाग्यो।
अक्षर पनि खुट्याउन सक्ने र घिस्रिएरै हिँडडुल गर्न सक्ने भएपछि उनलाई विद्यालय भर्ना गरियो। १३ वर्षको उमेरमा उनले पहिलोपल्ट विद्यालयमा पाइला टेके।
अन्य विषय पढ्न सक्ने भए पनि जोड-घटाउ, गुणन-भाग आउँदैनथ्यो। हिसाब सिक्नकै लागि विद्यालय जाने निधो गरे।
विद्यालय नजिक थिएन। दुई-तीन किलोमिटर टाढा थियो। झन्डै एक घन्टा लगाएर उनी धुस्कुन प्राथामिक विद्यालय पुग्थे। दुई हात र घुँडा टेकेर विद्यालय आउजाउ गरेको देखेर उनलाई तत्कालीन शिक्षक नारायण भण्डारीले हिसाब सिकाउन राजी भएका थिए।
स्कुल आउजाउ गर्न गाह्रो भएको देखेर वरिपरिका मानिसले आत्मनिर्भर बन्न सीप सिक्न सल्लाह दिए। त्यसपछि उनले स्वीटर बुन्न, लेखनदास, चित्र, थुन्चे, ढोको नाङ्लो बनाउन सिके।
धेरैले सीप सिक्नुपर्छ भन्थे तर शिक्षक इन्द्रबहादुर भण्डारीले भने उनलाई पढ्नुपर्ने सल्लाह दिन्थे। त्यसैले परिवारसँग जिद्दी गरेर पढाइलाई अगाडि बढाए।
धुस्कुनमा कक्षा-३ सम्ममात्र पढाइ हुन्थ्यो। चार कक्षा पढ्न उनले चार/पाँच किलोमिटर हिँड्नु पर्ने भयो। आमा-बुवा टाढाको स्कुल नपठाउने सोचमा थिए। भोजराजको जिद्दी गरे। उनको पढ्ने जिद्दीका अगाडि आमा-बुवाको केही लागेन।
शैक्षिक सत्रको अन्तिमतिर उनी महेन्द्र प्रताप प्राथमिक विद्यालयमा कक्षा-५ मा भर्ना भए।
शिक्षकले सामान्य सोधपुछ गर्दा जवाफ दिएपछि उनलाई सिधै कक्षा-५ मा भर्ना लिइएको थियो।
‘अन्तिममा भर्ना भए पनि वार्षिक परीक्षामा दोस्रो भएँ,’ उनले भने।
महेन्द्र प्रताप विद्यालयबाट ५ कक्षा पास गरेपछि ६ कक्षा पढ्न अझै टाढा जानुपर्ने भयो।
उनको घरदेखि ९ किलोमिटर टाढाको शारदा माध्यामिक विद्यालयमा भर्ना भए।
यो २०४२ सालको कुरा हो।
विद्यालयको त्यो दिन उनलाई अझै याद छ- पहिलो दिन विद्यालयमा उनलाई तीन-चार सय विद्यार्थीले घेरेका थिए। हात र घुँडाले घिस्रिदै आएको देखेर त्यहाँका विद्यार्थी आश्चार्यचकित भए।
‘धेरै विद्यार्थीले के गर्न आयो अपांग भनेर गिज्याएका थिए,’ उनले भने,‘त्यसैले त्यो स्कुलको पहिलो दिन यादगार भयो।’
विद्यार्थीले नराम्रो शब्दहरू बोले पनि शिक्षक-शिक्षिकाले भने उनलाई राम्रो व्यवहार गरे। त्यसैले उनले त्यहाँ पढ्ने रहर मारेनन्।
५ कक्षा पास गरेर आएका उनी सिधै ७ मा भर्ना भए। विद्यालय भर्ना भए तर त्यहाँसम्म पुग्न उनलाई सहज थिएन्। उनी ९ किलोमिटर टाढाको विद्यालय पुग्न बिहान झिसमिसेमा नै घरबाट निस्किन्थे। र साँझमात्र घर फर्किन्थे।
दुई-चार दिन घुँडा टेकेर हिँड्दा नै ढुंगा माटोले कोतारिएर रगत बग्न थालिसकेको थियो।
‘कतिपटक उकालो चढ्दा लड्थें र पुन घिस्रिएर हिँड्थें,’ उनले भने,‘दुई महिनासम्म त्यसरी नै हिँडें।’
उनी रगताम्मे भएर विद्यालय पुगेको देख्दा विद्यालय नजिकै कोठा भाडामा बस्दै आएकी उनकै गाउँकी सरस्वती भुजेलले त्यहीँ बस्न भनिन्।
उनले पनि स्वीकारे। त्यसमा परिवारको पनि कुनै अवरोध भएन।
कक्षामा एक सयभन्दा धेरै विद्यार्थी थिए। उनी अन्तिम बेञ्चमा बस्नुपर्थ्यो। अरू विद्यार्थी उनको नजिक पर्दैनथे। घिन मान्थे।
अन्तिम बेञ्चमा बसे पनि उनी सरले भनेका कुरा ध्यान दिएर सुन्थे। केही सोधिहाले छिट्टै जवाफ दिन्थे। उनले जवाफ दिँदा साथीहरू मजाक उडाउँथे।
‘ऊ अपांग बोल्यो भन्दै गिज्याउँथे,’ उनले भने।
साथीका यस्ता कुराले मन दुखे पनि चुपचाप सहिरहन्थे। र कक्षामा एक्लै पढेर बस्थे।
दिनदिनै सोधेका प्रश्नको जवाफ फटाफट दिन थालेपछि उनलाई शिक्षकहरूले अगाडि बेञ्चमा ल्याएर राखिदिए।
शिक्षकको यस्तो व्यवहारले उनलाई पढ्न उर्जा मिल्यो।
कक्षा ७ को अन्तिम परीक्षामा उनी दोस्रो भए। त्यसपछि भने अरू विद्यार्थीले गर्ने व्यवहार फरक भयो। ८ कक्षमा उनका धेरै साथीहरू बने।
उनी विद्यालय आवतजावत गर्दा साथीहरूले झोला बोकिदिन्थे। शैक्षिक क्रियाकलाप हुँदा उनकै नाम गुन्जिन्थ्यो। विद्यालयले गर्ने हाजिरीजवाफ र वक्तृत्वकलामा पनि उनी भाग लिन्थे र प्रथम हुन्थे।
१० कक्षा पढ्ने उनी रेडक्रसको सदस्य बनेका थिए। जिल्लास्तरीय विभिन्न प्रतियोगितामा पनि सहभागी हुने र पुरस्कार जित्ने भएकाले उनको चर्चा बढ्दै गयो। बाहिर चर्चा बढेसँगै उनीभित्र आत्मविश्वास पनि दह्रो हुँदै गयो।
एसएलसी पास भएपछि उनलाई चिने-जानेकाहरूले उनलाई क्याम्पस पढ्न काठमाडौं जान सल्लाह दिए।
उनी काठमाडौं आएर शंकरदेव क्याम्पसमा भर्ना भए। डेरा नयाँ बानेश्वरमा थियो।
उनी बानेश्वरदेखि शंकरदेव क्याम्पससम्म घिस्रिएर आउजाउ गर्थे। साघुँरा फुटपाथ र व्यस्त सडक दिनदिनै छिचोल्न उनलाई सकस भयो।
उनी गाउँ फर्किए। गाउँमै बसेर परिक्षाको तयारी गरे।
उनी आइकम पढ्दै गर्दा देशमा पञ्चायतविरूद्धको आन्दोलन चलिरहेको थियो। त्यसमा उनी सक्रिय रूपमा लागे। राजनीतिक क्रियाकलापमा सक्रिय हुन थालेपछि उनी बाह्रबिसे बस्न थाले।
उनका परिवार कांग्रेसमा आस्थावान् भएकाले उनी पनि त्यसैमा लागे।
‘पञ्चायत प्रमुखको घरमा नेपाली कांग्रेस र वाम मोर्चाको झन्डा लगेर राखिदिएँ ,’ उनले भने, ‘अशक्त व्यक्ति भएकाले त्यो काम मैले गरेको भनेर कसैले पत्याएन।’
०४६ सालको आन्दोलनले गति लिँदै गयो। उनी राजनीतिमा सक्रिय रूपमा लागि परेको प्रहरीलाई थाहा पायो।
०४६ चैत २७ गते उनलाई प्रहरीले नियन्त्रणमा लिने खबर आएको थियो तर अघिल्लो दिन नै चैत २६ गते बहुदल घोषणा भयो।
उनलाई स्थानीय प्रहरीले भोलिपल्ट आएर पक्राउ पर्नबाट जोगिनु भयो भन्दै बधाई दिएका थिए रे।
बहुदल आएपछि उनी कांग्रेसको राजनीतिमा पनि सक्रिय भएर लागे। त्यहीबीचमा उनले आइकम सके।
०४८ मा सिन्धुपाल्चोक बहिरा संघ खुल्यो। त्यसमा उनी सल्लाहकार बने। ०५६ मा महासचिव बने। उनको यात्रा निरन्तर उकालो लाग्यो। त्यसपश्चात उनले दुई-चार पैसा कमाउन सक्ने भए।
उनी बहिरा संघमा महासचिव हुँदा अपांगता भएका व्यक्तिहरू पढ्ने विद्यालय खोल्न पहल गरे। ०५६ मा सिन्धु बहिरा विद्यालय खुल्यो।
१४ जनाबाट सुरू भएको त्यो विद्यालयमा अहिले ८२ जना विद्यार्थी पढ्छन्।
विद्यार्थी बढ्दै गएपछि उनले अपांगमैत्री भवन बनाउन पहल गरे। विभिन्न संस्था तथा गैरसरकारी संस्थाको सहयोगमा ०५७ मा १४ कोठाको दुई तले अपांगमैत्री भवन बनाउन सफल भएको उनले बताए।
‘नेपालको पहिलो बहिरा स्कुल सिन्धु हो,’ उनले भने,‘अहिले त्यहाँका सबै संरचना अपांगमैत्री छन्।’
विस्तारै उनको कार्यक्षेत्र फैलिँदै गयो।
३५ वर्षसम्म घिस्रिएर हिँडेका उनले ०६१ सालमा पहिलो पटक चारपाङ्ग्रे स्कुटर किने। विभिन्न संघसंस्थाको सहयोगबाट उनले भारतबाट स्कुटर किनेका हुन्। अहिलेसम्म पनि उनी त्यही स्कुटर चलाउँछन्।
राष्ट्रिय अपांग महासंघ नेपालका सदस्य, सिन्धु बाहिर विद्यालय कार्यवाहक अध्यक्ष, सिन्धु बहिरा विद्यालयको अध्यक्ष हुँदै भोजराज अहिले स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष बनेका छन्।
केन्द्रले अपांगता भएका व्यक्तिलाई आत्मनिर्भर बन्न सीप सिकाउने, ह्विलचियर र सेतो छडी वितरण गर्नेलगायत विभिन्न काम गर्छ।
भोजराज २०६३ सालदेखि ललितपुरमा बस्न थालेका छन्। महालक्ष्मी नगरपालिका-८ मा उनले अपांगमैत्री घर बनाएका छन्।
दुई वर्षअघि उनले विवाह गरेका छन्।
काठमाडौं पढ्न आएका दाजुभाइका छोरा-छोरीलाई उनले साथै राखेका छन्। कहिलेकाहीँ गाह्रोसाह्रो पर्दा उनी गाउँमा बस्ने दाजुभाइलाई आर्थिक सहयोग पनि गर्छन्।
फर्केर हेर्दा भोजराजलाई आमाको याद आउँछ। आमालाई उनी घरको माथिल्लो तलामा पनि जान सक्दैनन् होला भन्ने पीर थियो तर अहिले भोजराजले जिन्दगीका धेरै सिँढी उक्लिसके।
दुई खुट्टा र एउटा हात नचले पनि आफू आत्मविश्वासले नै आत्मनिर्भर हुनसकेको उनी बताउँछन्।
‘मेरोजस्तो अवस्थाबाट गुज्रिएका अरू मान्छे आत्मविश्वासी बनेर आत्मनिर्भर हुन सकून् भनेर म काम गरिरहेको छु,’ उनले भने।