धनुषाको जनकपुरधाम उपमहानगरपालिका-११ की २१ वर्षीया निलु (नाम परिवर्तन) साढे दुई वर्षसम्म सुदीप शाहसँग सँगै बसिन्। एउटै गाउँका उनीहरू सामान्य चिनजानपछि एक अर्काका साथी बने।
मामा/माइजुको संरक्षणमा हुर्किएकी निलुलाई सुदीपको साथ सबैभन्दा प्यारो लाग्थ्यो। अभावमा हुर्किएकी उनलाई सुदीपको साथले जिन्दगी जिउने सहारा मिलेको थियो।
उनी सानै हुँदा आमाले छोडेर गएकी थिइन्। बुबाले दोस्रो विवाह गरेपछि बेसहारा भएकी उनलाई मावलीले आश्रय दिएका थिए।
सुदीपको घर र उनको मामाघर नजिकै थियो। एउटै टोलमा हुर्किएका उनीहरूको साथीका माध्यमबाट चिनजान भयो। विस्तारै एक अर्कालाई बुझ्ने साथी बने। त्यतिबेला उनीहरू दुबै जना १७/१८ वर्षका थिए। नजिकै भएकाले दिनहुँ भेटघाट र कुराकानी हुन थाल्यो।
मायाको अभावमा हुर्किएकी निलुलाई सुदीपको साथ र मायाले नजिक तान्यो। साथीबाट उनीहरूको सम्बन्ध प्रेममा बदलियो। सुदीपले एकदिन निलुलाई सँगै बसेर पढौं भन्ने प्रस्ताव राखे।
निलुलाई पढ्न इच्छा थियो। सुदीपले आफ्नो भविष्यको लागि सोचेर यति धेरै सहयोग गरेको ठानेर उनले प्रस्ताव स्वीकारिन्।
त्यतिबेला उनीहरू दुबै जना ११ कक्षामा पढ्थे। स्कुल भने फरक-फरक थियो।
आफूले माया गर्ने मान्छेले भनेपछि विश्वास गरेर निलु सुदीपको घरमा बस्न गइन्। उनका मावली परिवारले कुनै रोकटोक गरेनन्। सुदीपको घरमा बस्न थालेदेखि पढाइको खर्च उनैले दिन्थे।
सँगै बस्न थालेपछि सुदीपले शारीरिक सम्बन्ध राख्न खोजे। निलुले विवाहअघि कुनै पनि सम्बन्ध नराख्ने भनेपछि केही महिनापछि स्थानीय मन्दिरमा लगेर सिन्दुर हालिदिए।
उनीहरूको विवाहमा कुनै साथी-आफन्त उपस्थित थिएनन्। सुदीपले विश्वास दिलाउन उनलाई मन्दिरमा लगेर सिन्दुर हालिदिएका थिए। सिन्दुर हालिदिएपछि श्रीमानकै रूपमा ढुक्क भएर निलुले सम्बन्धलाई अगाडि बढाएकी थिइन्।
लगभग १ वर्षसम्म राम्रै चलेको थियो। त्यतिबेला उनी १९ वर्षकी मात्र थिइन्। विवाह दर्ता गर्न नमिल्ने भएकाले पछि गर्ने योजनामा थिइन्।
दुबैले प्लस टु पास गरेपछि थप अध्ययनका लागि काठमाडौं आउने योजना बनाए। निलु पनि त्यसमा राजी भइन्। एक वर्षअघि काठमाडौं आएर निलु र सुदीप मित्रपार्कस्थित सुदीपको घरमा बसे। घरमा सुदीपका बा-आमा पनि बस्थे।
बा-आमाले निलुलाई बुहारीका रूपमा स्वीकार गर्न चाहेनन्। उनी एक्लै जनकपुर फर्किन चाहन्न थिइन्। त्यसैले उनी सुदीपलाई नछोड्ने अडान लिएर त्यहीँ बस्न थालिन्।
‘स्नातक अध्ययन गर्नका लागि पटक-पटक आग्रह गरेपछि जनकपुरकै एक कलेजमा भर्ना गरिदिएँ,’ उनले भनिन्,‘काठमाडौं आएपछि सुदीपको व्यवहार फेरिएको थियो।’
त्यही कुरामा बिस्तारै झगडा हुँदै गयो। आफूलाई कोठामा थुनेर राख्ने, घर बाहिर निस्किन नदिनेजस्तो व्यवहार गर्न थालेको उनको आरोप छ।
त्यसपछि उनीहरूको सम्बन्ध झनै बिग्रियो।
दुई/चार महिनासम्म सुदीप घरबाहिर निस्कँदा उनलाई एक कोठामा ताल्चा लगाएर जान्थे। उनका परिवारले पनि बुहारीको रूपमा स्वीकार नगर्ने भन्दै मानसिक यातना दिए।
यही कुरालाई लिएर दैनिक झगडा हुन थालेपछि सुदीपले निलुलाई केही समय मामाघरमै गएर बस्न आग्रह गरे। यता बा-आमालाई सम्झाइ-बुझाइ गरेर धुमधामसँग विवाह गर्ने वाचा गर्दै मामाघरसम्म पुर्याइदिए।
‘तिमी अहिले मामाघरमै बस, यहाँ सबै कुरा मिलाएर लिन आउँछु भनेका थिए,’ निलुले भनिन्।
मामाघर पुगेपछि भने सुदीपले कुराकानी गर्न छोडिदिए। एक हप्तासम्म केही कुराकानी नभएपछि उनी सुदीपकै घरमा पुगिन्। कुराकानी नगरेको विषयलाई लिएर विवाद भयो। झगडाले ठूलो रूप लियो र सम्बन्ध तोडिएको भन्दै निलुलाई घरबाट निकालिदिए।
उनलाई सुदीपले मन र घरबाट निकालिदिएको चार महिना भइसक्यो तर अहिलेसम्म सम्पर्कमा आएका छैनन्। दुई-चार दिनमा रिस शान्त भएपछि सम्पर्कमा आउने आशमा थिइन्। तर त्यस्तो भएन।
उनको मावलीलाई भागी विवाह गरेकी भन्ने परिसकेको थियो। लामो समय मामाघरमा बस्न सक्थिनन्।
त्यसैले उनी न्याय माग्न जेठ १० गते जनकपुरको प्रहरी कार्यालय, महिला आयोग पुगिन्। त्यहाँ उनले सहानुभूतिबाहेक अरू केही पाइनन्। त्यसैले काठमाडौंमा केही सहयोग पाउने आस बोकेर तीन महिनाअघि काठमाडौं आइन्।
राष्ट्रिय महिला आयोग, गौशला प्रहरी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोगलाई आफ्नो पीडा सुनाउन पुगिन्। तर कसैले पनि उनलाई साथ दिएनन्।
‘१० बजे बोलाउनुहुन्थ्यो, साँझ पाँच बजेसम्म बसेर फर्काइदिनु हुन्थ्यो,’ उनले भनिन्।
सहयोग पाउने आस बोकेर धेरैलाई आफ्नो पीडा सुनाइन्। तीमध्ये एक अधिवक्ताले उनको उजुरी नि:शुल्क लेखिदिएर काठमाडौं जिल्ला अदालतमा दर्ता गराइदिएका छन्।
‘उजुरी दर्ता भएको छ तर कानुनी प्रक्रिया अगाडि बढेको छैन,’ उनले भनिन्, ‘के हुन्छ खै!’
दाङकी २४ वर्षीय सानी (नाम परिवर्तन) पनि पाँच वर्षसम्म प्रेमीसँगै बसिन्। उनका प्रेमीले सँगै बसेर करियरलाई अगाडि बढाउने र केही वर्षपछि विवाह गर्ने वाचा गरेका थिए।
सानीका अनुसार, चार महिनाअघि दुई दिनका लागि कार्यालयको कामले काठमाडौंबाहिर जानुपर्यो भन्दै निस्केका उनी सम्पर्कविहीन भए।
‘दोस्रो दिन साथीहरूले उसको विवाह भएको फोटो पठाए,’ उनले भनिन्, ‘त्यो दिन मलाई आकाशले थिचेजस्तो भएको थियो।’
धेरै दिनसम्म उनले प्रेमीलाई सम्पर्क गर्न प्रयास गरिन्। उनले नम्बर परिवर्तन गरी सामाजिक सञ्जालबाट समेत सानीलाई ब्लक गरिसकेका थिए।
आफूमाथि परेको समस्या लिएर उनी केही महिनाअघि राष्ट्रिय महिला आयोग पुगिन्।
राष्ट्रिय महिला आयोगकी उजुरी तथा मुद्दा व्यवस्थापन शाखाकी प्रमुख चमिला भट्टराईका अनुसार पछिल्लो समय केही वर्ष सँगै बसेको तर पछि विवाह नभएको समस्या लिएर सानीजस्ता धेरै युवतीहरू आउने गरेका छन्।
अन्य देशमा ‘लिभिङ टुगेदर’ भने पनि यहाँ सँगै बसेका जोडी भनिन्छ।
एक दशकदेखि यस्ता मुद्दा आउन थालेका हुन्। पछिल्लो समय यस्ता घटना बढ्दो क्रममा छन्।
महिलाहरू प्रेमी तथा पुरूष साथीसँग सँगै बस्ने र शारीरिक सम्बन्ध भइसकेपछि विवाह नगरेको भन्दै समस्या सुनाउँछन्। तर त्यस्ता घटनामा प्रमाण नहुँदा आयोगले केही गर्न सक्दैन।
लिभिङ टुगेदरमा बस्दा केही समस्या भए वा केही घटना भएको आधारमा उजुरी गरी मुद्दा अगाडि बढाउन सकिन्छ। तर धेरैको समस्या सँगै बसेर विवाह गरेन भन्ने हुन्छ।
‘लिभिङ टुगेदरमा बसेपछि विवाह गर्नैपर्छ भन्ने होइन। यहाँका युवायुवतीको बुझाइ गलत छ,’ प्रमुख भट्टराई भन्छिन्, ‘यहाँ केटाले पछि विवाह हुन्छ भन्ने ढुक्क बनाएर सँगै बसेका हुन्छन्।’
लिभिङ टुगेदरमा बस्ने भनेको सुरूमा सहमतिमा बस्ने र पछि मन मिलेन भने छुट्टिने हो। त्यसमा कुनै कानुनी बन्धन हुँदैन। सँगै बसेको आधारमा विवाह गर्नुपर्छ भन्ने अभ्यास छैन। तर सँगै बस्दा हिंसा, जबरजस्ती गरे त्यस आधारमा मुद्दा चलाउन मिल्छ।
अहिलेसम्म हिंसा र जबरजस्तीका कुनै घटना नआएको तर युवतीहरू सँगै बसेको पुरूषले विवाह नगरेको भन्दै उजुरी लिएर आउने गरेको भट्टराईले बताइन्।
लिभिङ टुगेदरमा बस्दा पुरूषको तुलनामा महिलाले धेरै समस्यासँग जुध्नुपर्छ। तीन वर्षअघि एक युवती ५ वर्षसम्म लिभिङ टुगेदरमा बसेकी रहेछिन्। उनले ८ पटक गर्भपतन गरेपछि बच्चा नबस्ने भएछ। त्यसपश्चात पुरूषले अर्की युवतीसँग विवाह गरे।
त्यही समस्या लिएर उनी आयोग आएकी थिइन्। उनलाई आयोगमा मनोपरामर्शहरूले काउन्सिलिङ गरेर फर्काइदिए।
‘लिभिङ टुगेदरमा बसेर छुटिएकाहरू मानसिक र शारीरिक रूपमा निक्कै कमजोर र टुक्रिएका हुन्छन्,’ भट्टराईले भनिन्, ‘फेरि समाजमा घुलमिल हुन संर्घष गर्नुपर्छ। उनीहरू विचलित भएका हुन्छन्। उनीहरूको भावना बुझेर फेरि अगाडि बढ्न लामो समय लाग्छ।’
अहिले आयोगमा लिभिङ टुगेदरसम्बन्धी समस्या लिएर महिनामै १०/१५ जना युवती आइरहेका हुन्छन्। तीमध्ये धेरैलाई काउन्सिलिङ गरेर मात्र फर्काइन्छ। उनीहरूमाथि हिंसा भएको छ भने घरेलु हिंसा र महिला हिंसाअन्तर्गत कानुनी कारबाही अगाडि बढाइन्छ।
नेपालमा लिभिङ टुगेदरलाई क्षेत्राधिकार बनाएको कानुन छैन।
कतिपय युवायुवती त विवाहसम्बन्धी अरू कानुन छल्नकै लिभिङ टुगेदरमा बस्ने गरेका छन्।
अधिवक्ता कृष्णकुमार झा लिभिङ टुगेदरमा बसेर समस्या लिएर आउनेहरूलाई २० वर्षभन्दा माथि उमेर समूहका भए विवाह गर्न सल्लाह दिने गरेको बताउँछन्।
त्यो भन्दा कम उमेरका भए लिभिङ टुगेदरमा नबस्न आग्रह गर्ने गरिएको उनले बताए।
लिभिङ टुगेदरमा बस्दा जबरजस्ती गरे वा पटक-पटक गर्भपतन गराइएको पाइएमा त्यही अनुसारको कानुनी प्रक्रिया अगाडि बढाउने गरिएको छ।
झा धनुषा जिल्ला अदालतमा वकालत गर्छन्। त्यहाँ उनले मासिक ९/१० वटा लिभिङ टुगेदरका समस्या लिएर आउने गरेका भेटेका छन्। ती समस्या समेट्न कानुनी अड्चनहरू हुने गरेको उनी बताउँछन्।
अधिवक्ता मीरा ढुंगाना पछिल्लो समय लिभिङ टुगेदरबाट सिर्जना भएका समस्या बढिरहेका बताउँछिन्। लिभिङ टुगेदरको विषयमा वृहत रूपमा छलफल गरेर केही नीति, नियम बनाउनु आवश्यक रहेको उनको बुझाइ छ।
बहुविवाहलाई कानुनले निषेध गरेको छ। कुनै पुरूषले पत्नी जीवित छँदै कानूनबमोजिम सम्बन्धविच्छेद नहुँदै अर्की श्रीमती राखे एक वर्षदेखि तीन वर्षसम्म कैद सजाय र ५ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरेको छ।
विवाहित पुरूषले कानुन छल्नको लागि लिभिङ टुगेदरमा बस्ने गरेको देखिन्छ।
महिलाहरू पनि भोलि आउने समस्याबारे संवेदनशील नभएको देखिन्छ।
‘धेरै पुरूषले केही समय यौनसम्बन्ध भएपछि महिलालाई छोडिदिन्छन्,त्यसैले असुरक्षित यौन सम्बन्धबारे सोच्नुपर्छ,’ अधिवक्ता ढुंगानाले भनिन्।
लिभिङ टुगेदरको धेरै फाइदा पुरूषहरूले लिइरहेका छन्। श्रीमतीसँग सम्बन्धमा फाटो आउनेबित्तिकै कुनै बाहिरी सम्बन्ध बनाएका हुन्छन्। यसमा विवाह गर्नु पर्छ भन्ने बाध्यात्मक अवस्था पनि हुँदैन। त्यसैले महिलाहरू पछिल्ला दिनमा आउने समस्याबारे नसोची बस्दा पीडा भोग्छन्।
‘यसबारे प्रभावित हुने महिला भएकाले उनीहरू आफैं सहज हुनुपर्छ। लिभिङलाई कानुनले नसमेटे पनि हिंसा भएमा,जबरजस्ती गरेमा कानुनी कारबाहीमा जान सकिन्छ,’ अधिवक्ता ढुंगानाले भनिन्,‘विवाहपूर्व नै बच्चा भएमा त्यसलाई स्वत: विवाह भएको मानिने कानुनी व्यवस्था छ।’
सँगै बसेर विवाह नभएको उजुरीमा उनीहरूलाई अगाडि बढ्ने हिम्मत सम्बन्धित निकायले दिनुपर्ने उनको भनाइ छ।