केही दिनअघि ललितपुरको ग्वार्को चोकमा २७ वर्षकी लक्ष्मी सुनुवार बस कुरिरहेकी थिइन्। उनलाई आफ्नो कोठादेखि ग्वार्को चोकसम्म आइपुग्न १०-१५ मिनेट हिँड्नु पर्छ।
हरेक दिन ग्वार्को आउन र कोठामा फर्कँदा उनलाई बाटोमा डर लाग्छ, कहीँ आफूले टेक्न खोजेको पाइला भ्वाङमा त पर्ने होइन भनेर। बर्खाका बेला पानी पर्दा त झन् सडक र फुटपाथ छुट्ट्याउनै नसकिने हुन्छ।
‘पैदल यात्री ढुक्क भएर हिँड्ने फुटपाथ छैन,’ उनले सेतोपाटीसँग भनिन्, ‘सरकारलाई कसरी फराकिलो सडक बनाउने भन्ने ध्यान छ, पैदलयात्रीको सुरक्षाबारे सोच्दैन।’
कतै-कतै भएका फुटपाथ पनि सडक फराकिलो बनाउन प्रयोग भएको उनले बताइन्।
ग्वार्को चोकमै भेटिएका भोजराज श्रेष्ठ ह्विलचियर चलाउँछन्।
फुटपाथमा एक जनामात्र मानिस हिँडिरहेको बेला ह्विलचियर चलाउनेले कुर्नेपर्ने अवस्था रहेको उनले बताए।
महालक्ष्मी-८ बस्ने भोजराज कामका लागि दैनिक इमाडोल पुग्छन्। कहिलेकाहीँ गुडाउँदा-गुडाउँदै उनको ह्विलचियर बिजुलीका पोल र रूखसँग ठोक्किन्छ।
‘कतै-कतै खाल्डाखुल्डीले गर्दा सडकमै ह्विलचियर गुडाउनुपर्छ। त्यसो गर्दा ज्यानै जाने डर हुन्छ,’ उनले भने, ‘फुटपाथ सुरक्षित बनाउनुपर्छ भन्ने चेतना अझै आइसकेको छैन।'
कोटेश्वर-कंलकीमात्र होइन पुरै चक्रपथभरि व्यवस्थित फुटपाथ नभएको उनी बताउँछन्।
‘फुटपाथ नै नभएको ठाउँमा झन् अपांगमैत्री हुने कुरै भएन,’ भोजराजले भने।
पाँच वर्षअघि कोटेश्वर-कलंकीमा ८ लेनको फराकिलो सडक बन्यो। चिनियाँ सरकारको लगानीमा बनेको सडक सङ्घाई कन्स्ट्रक्सन बनाएको हो।
रिङरोड फराकिलो बनेसँगै त्यही प्याकेजमा सडकको दायाँ-बायाँ कतै-कतै साँघुरा फुटपाथ पनि बनाइयो।
फराकिलो सडकमा सवारी-साधन गुडाउन सहज भयो। तर साँघुरो फुटपाथले पैदलयात्रीलाई असुरक्षित बढायो।
अहिले कतै हिँड्दा-हिँड्दै फुटपाथ हराउँछ भने कतै भएका फुटपाथ पनि जताततै भ्वाङ नै भ्वाङ परेका छन्।
ललितपुर महानगरपालिका-३ र १७ मा पर्ने ग्वार्को चोकैको फुटपाथ पनि भ्वाङैभ्वाङ छन्। ढललाई स्ल्याबले छोपेर बनाइएको फुटपाथ जोखिमपूर्ण छ।
ती फुटपाथमा हिँड्न उफ्रिएर भ्वाङ नाघ्न सक्ने मानिस हुनुपर्छ। बालबच्चा, बुढाबुढी र उफ्रन नसक्नेका लागि फुटपाथमा हिँड्नु सकसपूर्ण छ।
फुटपाथमा यस्तो समस्या ग्वोर्को चोकको मात्र छैन।
ग्वार्कोदेखि कोटेश्वरसम्मको फुटपाथमा भ्वाङ परेका, स्ल्याब टुटेका, चर्किएर ब्लक निस्किएका धेरै ठाउँ छन्। कोटेश्वर भाटभटेनी अगाडिको ढल पनि ह्वांगै छोडिएको छ। त्यहाँ झन् फुटपाथको रेखा पनि कोरिएको छैन।
बर्खाका बेला सडक र नाला छुट्ट्याउन मुस्किल हुन्छ। केही साताअघि काठमाडौंको सामाखुसीमा यसैगरी ह्वांगै छोडिएका सडक छेउको नालामा खसेर एक बालक बेपत्ता भए। पछि उनको शव भेटियो।
दुर्घटना भएर नागरिकले ज्यान नगुमाएसम्म सरकारका निकाय यस्ता विषयमा ध्यान दिँदैनन्।
महानगरपालिकाभित्र पर्ने सडकका फुटपाथमा भ्वाङ परेकोबारे ललितपुर महानगरपालिका बेखबर छ। महानगरपालिकाका प्रवक्ता राजु महर्जनले यो विषय आफूहरूको कार्यक्षेत्रमा नपर्ने बताए।
‘भित्री सडकको फुटपाथ भए निर्माण र मर्मतको काम गरिन्थ्यो,’ उनले भने, ‘मुख्य सडकको फुटपाथ हाम्रो कार्यक्षेत्रमा पर्दैन।’
रिङरोड सञ्चालन सडक डिभिजन कार्यालय ललितपुरले गर्छ।
८ लेनको सडक बनाउदा चीन सरकारले नै फुटपाथ बनाइदिएको हो। त्यतिबेला कस्तो फुटपाथ बनाउने भन्नेबारे चर्चा नै भएन। उनीहरूले अन्य देशमा राम्रै बनाएका थिए, यहाँपनि बनाउँछन् भन्ने आश थियो।
तर सोचेजस्तो नभएको सडक डिभिजन ललितपुरका सिडिई मुकुन्दराज अधिकारीले बताए।
‘कोटेश्वर-कंलकी सडक निर्माण भई हस्तान्तरण भएपछि मात्र फुटपाथबारे जानकारी भयो,’ उनले भने।
ढललाई स्ल्याबले छोपेर बनाइएका फुटपाथ उनीहरूले नै डिजाइन गरेका हुन्। त्यहाँ प्रयोग भएका प्वाल-प्वाल परेका स्ल्याब पनि चिनियाँकै टिमले बनाएको हो।
चिनियाँले बनाइदिएको फुटपाथ भत्काएर नयाँ बनाउन आफूहरूसँग अहिले बजेट नभएको अधिकारीले बताए।
उनका अनुसार मंसिरदेखि जेठसम्म फुटपाथको मर्मत काम गरिएको थियो। कोटेश्वर-कंलकीको फुटपाथमा २५ प्रतिशत स्ल्याब फेरिएको थियो।
‘ग्वोर्को चोकमा त्यतिबेला स्ल्याब फुटेका वा निकालिएको थिएन,’ उनले भने, ‘फुटपाथमा मोटरसाइकल चलाइदिँदा पनि स्ल्याब चर्किएका वा फुटेका हुन सक्छन्।’
ग्वार्को चोकमा फ्लाई ओभर निर्माण हुने भएकाले पनि त्यहाँको फुटपाथ मर्मत नगरिएको हुनसक्ने बताए।
ग्वार्को चोकमा भदौदेखि फ्लाई ओभर निर्माण गर्ने योजना छ। त्यसैले त्यहाँको आसपासमा फुटपाथ मर्मत नभएको उनले बताए।
अन्य ठाउँमा मर्मतको काम भइरहेको र नभएको ठाउँमा भदौबाट सुरू गरिने अधिकारीले बताए।
कतिपय ठाउँमा फुटपाथको संरचना नमिल्ने भएकाले ढल-नाला ह्वांगै छोडिएको पनि छ। यात्रु हिँड्न मिल्ने ठाउँमा मात्र ढल-नाला छोपेर फुटपाथ बनाइएको हो। अन्य ठाउँमा ह्वांगै छोडिएको छ।
‘टुटफुट भएका र भ्वाङ परेका फुटपाथ अब बनाउँछौँ, बर्खा भएकाले रोकिएका थियौं,’ अधिकारीले भने,‘ग्वार्को चोकको मात्र होइन ललितपुरका अरू ठाउँका फुटपाथ पनि बनाउँछौं।’
फुटपाथको समस्या उपत्यकाभरिका सडकमा उस्तै छ।
लैनचौर-टिचिङ,गौशला-चावहिल, चावहिल-जोरपाटी, सुन्धरा आसपास, नक्साल-धुम्बाराही, पाटन अस्पताल आसपासलगायत क्षेत्रका व्यस्त सडकमै फुटपाथ छैन। भित्री सडकमा त फुटपाथको गोरेटो नै भेटिँदैन।
फुटपाथ बनाउनका लागि स्थानीयले जग्गा नछोडिदिँदा मापदण्डअनुसार बनाउन नसकेको काठमाडौं चक्रपथका सुधार योजनाका प्रमुख बाबुराम सापकोटले बताए।
‘फुटपाथ निर्माणमा सरकार र आम नागरिक सचेत देखिँदैन,’ उनले भने, ‘आम नागरिकले पहल नगरेसम्म मापदण्ड अनुसारको फुटपाथ बन्दैन।’
सडक विभागले तयार पारेको सडक मापदण्ड-२०७० मा एक मिटरभन्दा कम चौडाइको फुटपाथ बनाउन मिल्दैन। कम्तीमा डेढ मिटरदेखि दुई मिटर चौडाको फुटपाथ बन्नुपर्छ।
त्यस्तै, अपांगमैत्री फुटपाथ बनाउन कम्तीमा ७१ इन्च (१८०० मिमी) को फुटपाथ बनाउनुपर्ने भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका,२०६९ मा लेखिएको छ।
मापदण्डअनुसार बनाउन नसकिएको सडक विभागका प्रवक्ता रामहरि पोखरेल बताउँछन्।
उनका अनुसार कोटेश्वर-कंलकी सडक खण्डमा पहिला साँघुरा र अव्यवस्थित फुटपाथ थिए। ८ लेनको सडक बनेसँगै फुटपाथ बनेका हुन्।
‘अहिले सडकसँगै फुटपाथ व्यवस्थित बनाउनेतर्फ लागिपरेका छौं,’ उनले भने, 'अब बन्ने फुटपाथ पैदलयात्रीको सुरक्षालाई ध्यानमा राखेर बनाउँछौं।’
व्यवस्थित फुटपाथको योजना नै चार-पाँच वर्षअघिदेखि चर्चा भएको र सुरूवाती दिनमा फराकिलो सडक बनाउने मात्र मुख्य योजना हुने गरेकाले आगामी दिनमा पैदलयात्रीलाई ध्यानमा राखेर सडकसँगै फुटपाथ निर्माण गरिने उनले बताए।
विभागले फुटपाथको विषयलाई ध्यानमा राखेर डिभिजन कार्यालयलाई निर्देशन र सल्लाह-सुझाव दिने उनले बताए।
फुटपाथ निर्माणको काम वडा- स्थानीय तह, डिभिजन र विभागले नै गरे पनि हुन्छ।
फुटपाथ जसले निर्माण गर्यो मर्मतको जिम्मा उनीहरूले नै गर्नुपर्छ। भ्वाङ परेको वा ह्वांगै छोडिएको फुटपाथमा दुर्घटना परे बनाउने निकाय नै जिम्मेवार हुन्छ।
‘नैतिक जिम्मेवारी सडक विभाग मातहतका कार्यालयको हुन्छ। तर कानुनी कारबाही भने हुँदैन,’ पोखरेलले भने, ‘त्यसैले सम्बन्धित निकायले लापरबाही गरेको हुनसक्छ।’
भौतिक पूर्वाधार विज्ञ किशोर थापा अहिले फुटपाथ बनाउने जिम्मेवारी कसको हो भन्ने नै स्पष्ट नभएको बताउँछन्।
आफ्नो फाइदाअनुसार सडक विभाग, डिभिजन कार्यालय, उपत्यका विकास प्राधिकरण, स्थानीय तह र वडाले पनि फुटपाथ निर्माण गरिरहेका हुन्छन्। तर त्यसको मर्मत र संरक्षणमा चासो देखाउँदैनन्।
जसले निर्माण गर्यो उसैले मर्मत र संरक्षणको जिम्मा लिनुपर्ने भए पनि त्यस्तो हुने नगरेको उनले बताए।
‘फुटपाथ जुनसुकै तह र निकायले बनाए पनि हुन्छ तर बनाउँदैनन्। बनाइहाले पनि निरीक्षण गर्दैनन्। त्यसैले उपत्यकाका धेरै फुटपाथ लथालिंग छन्,’ उनले भने,‘फुटपाथमा हिँड्दा कयौं पटक मेरै खुट्टा मर्किनुका साथै चोटपटक लागेको छ। तर पैदलयात्री समस्या र दु:ख कसले सुन्छ र!’
सबै तस्बिरहरू: नवीनबाबु गुरूङ/सेतोपाटी।