कपिलवस्तुकी ४१ वर्षीया भगवती रूम्बा गिरी १४ दिनदेखि माइतीघर मण्डलमा बस्दै आएकी छन्। उनी साउन १ गतेदेखि त्यहाँ बस्न थालेकी हुन्। उनी चौबीसै घन्टा त्यहीँ बस्छिन्।
शिवराज नगरपालिकाकी भगवतीले ०७४ सालमा आत्मनिर्भर बन्ने सपना बुनेर परिवारकै सहमतिमा लघुवित्तबाट ऋण लिएकी थिइन्।
फरक-फरक लघुवित्तबाट उनले झन्डै १० लाख रुपैयाँ ऋण लिएकी छन्। बिनाधितो थोरै बचतमा लघुवित्तले ऋण दिने भएपछि परिवारको सहमतिमा ऋण लिएकी थिइन। आत्मनिर्भर बन्नभन्दा परिवारले जग्गा-जमिन जोड्न भनेपछि उनले त्यही गरिन्। थोरै लगानीमा बाख्रा पालन गरेर ७ लाख रुपैयाँमा उनले एक रोपनी जग्गा किनिन्।
उनले मासिक १५ हजार रुपैयाँ किस्ता तिर्नुपर्थ्यो। त्यसका लागि उनका श्रीमान नारायण गिरीले सहयोग गर्थे। उनका श्रीमान् सवारी चालक हुन्।
सरसापटी, मेलापात र श्रीमानले कमाएको पैसाले किस्ता तिरिरहेकी थिइन्। तर ०७८ मा सवारी दुर्घटनामा उनका श्रीमान घाइते भए र लामो समय काम गर्न सकेनन्। श्रीमानको कमाइ बन्द भएपछि भगवतीलाई किस्ता तिर्न हम्मेहम्मे पर्न थाल्यो।
किस्ता तिर्न गाह्रो हुँदै गएपछि उनले आफूले किनेको जग्गा धितो राखेर अर्को समूहबाट ऋण लिएर किस्ता तिर्दै गइन्। सधैँ जरिवानामा पर्दा उनको साँवा घटेन। लघुवित्तले तोकेको दिनभन्दा एक दिनमात्र पछि हुँदा जरिवाना तिर्नुपर्थ्यो।
किस्ता तिरिरहँदा साँवा नघटेपछि एक वर्षअघि उनले लघुवित्तको कार्यालयमै पुगेर आफ्नो खाताको विवरण जाँच गरिन्। त्यहाँ उनले २५ प्रतिशतभन्दा बढी ब्याज लिएको थाहा पाइन्। त्यसपछि उनले किस्ता तिरेकी छैनन्।
उनले १५ प्रतिशत ब्याजदरमा ऋण लिएकी हुन्।
मनलाग्दी ब्याज लिएको थाहा पाएपछि सच्चाएर हिसाबकिताब मिलाउन भनिन्। तर त्यहाँका कर्मचारीले मानेनन्। हिसाब नसच्याएसम्म किस्ता नतिर्ने उनको अडान छ।
‘तिर्दिनँ भनेकी छैन, मनलाग्दी ब्याज लिनु भएन,ʼ भगवतीले भनिन्।
गाउँ-गाउँ पुगेर समूहमा कारोबार गर्दा सहज हुने र आत्मनिर्भर बनिन्छ भन्ने आशले ऋण लिइयो। अहिले हरिबिजोग भएको गुनासो पोख्छिन्।
लघुवित्तका कर्मचारी ग्रामीण भेगका विपन्न महिलाहरूको सशक्तिकरणमा योगदान पुर्याउने भन्दै दैलोदैलो पुगेका थिए। लघुवित्तका फाइदाबारे महिलाहरूलाई जानकारी दिए। आत्मनिर्भर बन्न सहयोग पुग्ने भएपछि धेरै गृहणी महिला त्यसमा जोडिए।
थोरै बचत र बिनाधितो ऋण दिने भएपछि महिलाहरू त्यसमा तानिए। घरपरिवारले भनेबमोजिम श्रीमानलाई विदेश पठाउन, व्यवसाय सञ्चालन गर्न ऋण निकालिदिए। अहिले ऋण मिनाह गर भन्दै प्रदशर्नमा उत्रिएका छन्।
रोल्पाको रोल्पा नगरपालिका-२ की दुर्गादेवी पुन पनि सरकारले आफ्नो पीडा नसुनेसम्म गाउँ नफर्किने अडानमा छिन्। उनी पनि माइतीघरमा बस्न थालेको आइतबार १४ दिन भयो।
साउन१ गते नै काठमाडौं आएकी उनी दिनभर माइतीघरमा बस्छिन्। साँझ बास बस्न बालाजु जान्छिन्।
उनीसँगै ८ जनाले होटलमा एक कोठा भाडामा लिएका छन्। त्यहाँ उनीहरूले एक दिनको पाँच सय रुपैयाँ शुल्क तिर्छन्। खाना पनि त्यहीँ खान्छन्।
होटलले उनीहरूलाई १ सय २० रुपैयाँमा सादा खाना खुवाउँछ।
माइतीघर मण्डल र रत्नपार्कको शान्तिबाटिका पार्कमा सुत्ने ठाउँ नपुगेपछि उनीहरू बास बस्न त्यहाँ पुगेका हुन्।
गाउँमा सम्बन्धित निकायले लघुवित्तको अत्याचार नसुनेपछि काठमाडौं आउन बाध्य भएको उनले बताइन्।
‘दैनिक घरमा आएर लघुवित्तका कर्मचारीले सामान उठाउन थालेपछि यहाँ आउन बाध्य भएका हौं,’ उनले भनिन्।
उनले तीन वर्षअघि ४ लाख रुपैयाँ ऋण लिएकी थिइन्।
श्रीमानले ग्यारेज खोल्ने भनेपछि परिवारकै सहमतिमा लघुवित्तबाट ऋण झिकिन्। व्यवसाय सुरू गरेको एक वर्ष नबित्दै उनका श्रीमान घर छोडेर भागे।
दोस्रो विवाह गरेर भारतमा बस्दै आएको छ रे भन्ने गाउँमा हल्ला सुनेकी छन्। तर उनलाई श्रीमानले फोन गरेका छैनन्।
श्रीमानले व्यवसाय गरे घरखर्च चलाउन सहज हुने भन्दै ऋण निकालेकोमा अहिले उल्टै समस्या भोग्नु परेको उनी बताउँछिन्।
‘पसल बन्द भएपछि किस्ता तिर्नै कठिन भयो, अहिले लघुवित्तले घरमा बस्नै दिएको छैन,’ उनले भनिन्।
उनकै नाममा ऋण भएकाले लघुवित्तका कर्मचारीले दिनहुँ मानसिक तनाव दिन्छन्। सासु-ससुरा आफूले पैसा नचलाएको भन्दै पन्छिन खोज्ने गरेको उनले बताइन्।
‘घरमा आएर बाख्रा, कुखुरालगायत सामान र भएको नगद लगिसके। सासु-ससुरा उल्टै मलाई नै दोषी ठानेर ऋण तिरेर घर छोड् भन्नुहुन्छ,’ उनले भनिन्।
लघुवित्त र परिवारको मानसिक यातना आफूसँग भएका गहना बेचिन्। तर पनि किस्ता तिरिसकेकी छैनन्।
उनले मासिक १० हजार रुपैयाँ किस्ता तिर्नुपर्छ।
रोल्पा नगरपालिका-६ की २८ वर्षीय कृष्टी परियारको पीडा पनि उस्तै छ।
गाउँमा सबैले ऋण लिएर व्यवसाय सुरू गरेपछि उनकी आमाले पनि तीन वर्षअघि ३ लाख रुपैयाँ ऋण लिएकी थिइन्। २ लाखले कुखुरा फार्म खोलिन् भने बाँकी पैसाले घरखर्च चलाइन्।
मासिक सात हजार रूपैयाँ तिर्दा पनि अझै एक लाख रुपैयाँ ऋण बाँकी रहेको उनले बताइन।
‘लगभग ५० हजारभन्दा कम तिर्न बाँकी हुनुपर्ने हो तर लघुवित्तले १ लाख रुपैयाँ बाँकी छ भन्दै मानसिक रूपमा तनाव दिने गरेको छ,’ उनले भनिन्,‘१५ प्रतिशत ब्याज भने पनि ३०देखि ३५ प्रतिशतसम्म लिने गरेका छन्।’
भगवती, दुर्गादेवी र कृष्टीजस्ता सयौं महिला लघुवित्तले आफूहरूमाथि अत्याचार गरेको भन्दै माइतीघरमा बस्न थालेको १५ दिन भइसक्यो।
लघुवित्तले मनलाग्दी ब्याज लिने, एक लाख ऋण लिँदा ८० हजारमात्र दिने, नीतिअनुसार काम नगर्ने, समूहमा एक व्यक्तिले पैसा नतिरे अरूबाट असुल्ने, धितो राखेर ऋण लिनेको कागजात फिर्ता नगरिदिने, किस्ता तिर्दा पनि साँवा नघटाइदिने गरिरहेको उनीहरूको आरोप छ।
लघुवित्तले पछिल्लो समय सेवाग्राहीको घर-घरमा पुगेर खाद्यान्न, बाख्रा-कुखुरा जे छ त्यही उठाउन थालेपछि १८ महिनाअघि लघुवित्तिय संस्था विरूद्धको संघर्ष समिति निर्माण गरिएको केन्द्रीय अध्यक्ष मनिराम ज्ञवाली बताउँछन्।
ज्ञवालीका अनुसार देशभर ४९ जिल्लामा १ लाख भन्दा बढी लघुवित्तका ऋणी छन् भने ५८ लाख ६० हजार बचतकर्ता छन्।
‘घरमा गएर महिला बचतकर्तालाई दिनहुँ मानसिक यातना दिन थालेपछि सडकमा उत्रिन बाध्य भएका हौं,ʼ उनले भने, ‘महिला दिदीबहिनी सहन नसक्ने भएपछि काठमाडौं आइपुगेका हौं।ʼ
साउन १ गते काठमाडौं माइतीघर र रत्नपार्कको शान्तिबाटिका पार्कमा बसेर पीडितले आन्दोलन गरिरहेका छन्। अध्यक्ष ज्ञवाली यही विषयमा आमरण अनसन बसेका थिए।
अनसन बसेको १५ दिनमा आइतबार उनले अनसन तोडेका छन्। आइतबार प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ का राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले ज्ञवालीको अनसन तोडाएका हुन्।
अनसन तोडाउने क्रममा गजुरेलले राज्यले लघुवित्त पीडितको कुरा सुन्ने प्रतिवद्धता व्यक्त गरेका छन्। अध्यक्षको अनसन तोडिए पनि आन्दोलन चलिरहने केन्द्रीय सदस्य बद्री देवानले जानकारी दिए।
अहिले काठमाडौं एक हजारभन्दा धेरै लघुवित्त पीडित आएका छन्। जसमा ९५ प्रतिशत महिला छन् भने पाँच प्रतिशत पुरूष छन्।
सोमबार देशभरबाट थप महिला माइतीघरमा उपस्थित हुने कार्यक्रम छ।
‘सबै पीडित महिला आएका छैनन्, सबै आए माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक भरिन्छʼ केन्द्रीय सदस्य बद्री देवानले भने।
उनीहरू आफैंले बस्ने, खाने व्यवस्था गरेर आएका हुन्। यसरी नै आउने-जाने क्रम चलिरहेको छ।
पीडित महिलाहरू काठमाडौं आएदेखि नै शान्तिपूर्ण आन्दोलन गरिरहेका छन्। तर बुधबार (साउन१०) पहिलोपल्ट संसद भवन अगाडि प्रदशर्न गर्ने क्रममा प्रहरी र पीडितबीच धकेलाधेकल भएको थियो।
प्रदशर्नकारीहरू निषेधित क्षेत्रतर्फ अगाडि बढ्न खोजिएकाले रोक्ने क्रममा धकेलाधकेल भएको हो।
त्यही क्रममा १६ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका निमित्त प्रवक्ता डिएसपी अनिल अधिकारीका अनुसार संसद भवनको निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
उनीहरूलाई नियन्त्रणमा लिएको चार-पाँच घन्टापछि प्रहरीले छोडिदिएको थियो।
त्योभन्दा अघि कुनै पनि अवरोध नभएको पीडितहरू बताउँछन्।
देशका विभिन्न ठाउँबाट काठमाडौं आएका महिलाहरूले पाँच बुँदे माग रखेका छन्।
नव सामान्तीका रूपमा स्थापित लघुवित्तिय संस्थाहरू खारेज गर्नुपर्ने, लघुवित्तिय संस्थाद्वारा लगाइएकासामूहिक ऋण मिनाहा गर्ने, राज्यले आम गरिब-किसानहरूलाई नि:शुल्क ऋण दिनुपर्ने, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्नुपर्ने र समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने उनीहरूका माग छन्।
साउन ११ गते अर्थ मन्त्रालयले लघुवित्त पीडित समितिसँग वार्ता गर्न समिति गठन गरेको छ। अर्थ मन्त्रालयको वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव भुपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन भएको हो।
अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माका अनुसार दुई पटक पीडितसँग वार्ता भइसकेको छ। तर निकर्षमा पुग्न सकिएको छैन। कहिले-कहिले वार्ता भएको मिति भने उनलाई याद छैन।
अहिले पीडितको कुरा सुन्ने काम भइरहेको उनले बताए।
‘वार्ता गरेर आन्दोलन रोक्न भनिरहेका छौं। तर निकर्षमा नपुगी नरोकिने भन्नुभएको छ। उहाँहरूको माग कसरी सम्बोधन गर्न सकिन्छ भन्नेबारे छलफल भइरहेको छ,’ प्रवक्ता शर्माले भने।
पीडितहरू वार्ता हुने भन्दै सरकारले आस देखाएको भरमा घर नफर्किने पक्षमा छन्। निष्कर्षमा नपुगुन्जेल सडकमा रात बिताउने उनीहरू बताउँछन्।
रोल्पा नगरपालिका-३ की ३६ वर्षीय मीना पुन माग सम्बोधन नभए गाउँ नफर्किने बताउँछिन्।
वार्ता हुन्छ भन्दै फर्कियो भने आवाज ओझेलमा पर्ने उनी बताउँछिन्। उनी पनि आन्दोलनमा सुरूदेखि नै सक्रिय छिन्।
‘गाउँमा बस्न नसक्ने भएपछि माइतीघर आएका हौं, यसै कसरी घर फर्किनु?,ʼ उनले भनिन्।