पाँच दिनअघि सामाखुसीको नालामा खसेर बेपत्ता भएका बालक अझै भेटिएका छैनन्।
काठमाडौं महानगरपालिका-३ रानीबारीस्थित एनसिएमटी कलेज अगाडि नालामा खसेका १२ वर्षीय साजनको बिहीबारसम्म पत्तो नलागेको हो।
बाढीका कारण नाला र सडक छुट्याउन नसक्ने भएपछि उनी नालामा खसेको प्रत्यक्षदर्शी लीला गुरूङ बताउँछिन्।
यो ठाउँमा बर्खामा भेल आउँदा ठूला मानिस पनि हिँड्न सक्ने अवस्था हुँदैन। साँघुरिएका नालामा झनै डरलाग्दो बाढी आउँछ। त्यस्तो ठाउँमा कतै स्ल्याब राखिएको छ। स्ल्याब राखेको ठाउँमा खास समस्या नभए पनि खुला छोडिएको ठाउँमा बारम्बार दुर्घटना हुने गरेको छ।
साजन पनि स्ल्याब नराखिएकै कारण त्यहाँबाट खसेको प्रत्यक्षदर्शी लीलाले बताइन्।
‘साजन सजग भएर हिँडिरहेका थिए। बाढीले नालाको पानीबाहिर आएपछि टेक्ने ठाउँ खोज्दै गर्दा खसे,ʼ उनले भनिन्,‘अरू ठाउँमा स्ल्याब नभइदिएको भए तत्काल उद्धार गर्न सकिन्थ्यो। कि त सबैतिर स्ल्याब भइदिएको भए बच्चा खस्दैन थियो।ʼ
साजन खसेको ठाउँ १० वर्षदेखि ह्वांगै छ।
आइतबार साजन खसेको ठाउँ नजिकै लीला एक दशकदेखि कस्मेटिक पसल चलाइरहेकी छन्। उनले अहिलेसम्म त्यो ठाउँ पुरिएको देखेकी छैनन्।
उक्त ठाउँको वरपर भने स्ल्याब राखिएको छ।
स्मार्ट सिटी तथा व्यवस्थित सहरका नाममा खोलालाई ढल बनाइएको लिलाको बुझाइ छ। अरू बेलामा त्यहाँ पानी नबगे पनि बर्खामा बाढी आउने गरेको उनी बताउँछिन।
स्थानीय शान्तिदेवी कँडेल पनि सरोकारवालाहरूको लापरबाहीका कारण बालक बेपत्ता भएको बताउँछिन्
‘स्ल्याब नभएको भए कसैगरी उद्धार गर्न सकिन्थ्यो, ती बालक खसेपछि देख्नै पाइएन,ʼ शान्तिदेवीले भनिन्।
काठमाडौं-३ का वडाध्यक्ष प्रेम थापा त्यो ठाउँमा स्ल्याब स्थानीय आफैंले लगाएको बताउँछन्। खोलाको अस्तित्व नै मेटिने भएपछि स्थानीयले लगाएको स्ल्याब दुई महिना अघिदेखि हटाउने काम भइरहेको उनले बताए।
१२ वर्षीय साजन खसेभन्दा तीन-चार सय मिटर अगाडिसम्म स्ल्याब निकालिएको छ। बर्खा सुरू भएकाले असार १ गतेदेखि त्यो काम रोकिएको हो।
‘त्यो नाला नभएर सामाखुसी खोला हो। त्यसलाई स्थानीयले साघुँरो बनाउदै नालाजस्तो बनाएका हुन। स्थानीय आफैंले पर्खाल लगाएर साघुँरो बनाएका छन्। त्यसमाथि स्ल्याब पनि उनीहरू आफैंले राखेका हुन,ʼ वडाअध्यक्ष थापाले भने, ‘महानगरले खोला संरक्षण गर्न स्थानीयले राखेको स्ल्याब भत्काउने काम गरिरहेको हो।ʼ
यसका लागि वडाले चालु आर्थिक वर्षमा एक करोड बजेट छुट्याएको र त्यहाँ स्ल्याब निकालेर रोलिङ र पर्खाल लगाउने तयारी भइरहेको उनले बताए।
सरोकारवालाहरूको हेलचक्र्याइँले यस्तो घटना भएको पहिलो पटक भने होइन।
२०७८ असोज ५ गते बुढानिलकण्ठ नगरपालिका १२ बस्ने १० वर्षीय उज्वल विश्वकर्मा कपनस्थित ढलमा खसेर बेपत्ता भएको पाँच दिनपछि फेला परेका थिए।
कपनको ढलमा खसेका उज्वलको शव ललितपुरको बागमती गाउँपालिका वडा-१ घुसेलस्थित बागमती नदी किनारमा फेला परेको थियो।
त्यतिबेला तत्कालीन ढल निर्माणको काम भएकाले ह्वांगै छोडिएको थियो। बीच सडकमा भएको ढल निर्माण काम जोखिम हुँदाहुँदै त्यत्तिकै छोडिएको थियो।
त्यही कारण बाढी आउँदा उज्वल बगेका थिए।
उनी बगेपछि भने तत्कालीन वडाध्यक्ष शम्भुप्रसाद भट्टराईले छेकबार लगाएका थिए।
घटना भएपछि मात्र सरोकारवालाहरू आँखा खुल्ने गरेको छ। त्योभन्दा पहिला सम्बन्धित निकायले चासो देखाउने गरेको पाइँदैन।
यसको ज्वलन्त उदाहरण सामाखुसी चोक नै छ।
२०७४ असार २९ गते सामाखुसी चोकमै १३ वर्षीया सत्या सापकोटा ढलमा बगेकी थिइन्। उनको तत्काल उद्धार गरियो र बाँचिन्।
सामाखुसी चोकमा रहेको ढल पनि त्यतिबेला ह्वांगै थियो।
सत्या बगेपछि मात्र त्यहाँ महानगरको नजर पर्यो। त्यसपछि साउन १६ गते काठमाडौं महानगरपालिकाले रेलिङ लगायो। महानगरले उनी बगेको ठाउँ वरिपरि छोटो दूरीमा मात्र रेलिङ लगाएको छ। त्यसको वरपर अहिले पनि कतै ह्वांगै छ भने कतै स्ल्याबले ढाकिएको छ।
ढल/नाला छेउछाउमा बस्दा बालबालिका जोगाउन गाह्रो हुने काठमाडौं महानगरपालिका-३ की स्थानीय ३८ वर्षीया निर्मला कँडेल बताउँछिन्।
‘एकदिन आउँछन्, जथाभावी खाल्डो खनेर जान्छन्, त्यहाँ ताराबार लगाउने तथा जोखिम क्षेत्र भनेर सचेत गराउँदैनन्,ʼ उनले भनिन्।
ढल, नाला र खाल्डो खन्दा सुरक्षा संकेत, बारहरू कतै राखिँदैन। सम्बन्धित निकायले लापरबाही गर्दा बालबालिकाले ज्यान गुमाउनु परिरहेको छ।
अहिले पनि उपत्यकाका विभिन्न ठाउँमा ढल, नाला ह्वांगै छन्। बर्खा लागेसँगै उपत्यकाका साँघुरा नाला, ढल र सडक जलमग्न हुन्छन्।
त्यसका कारण बर्सेनि कयौं मानिसको ज्यान लिइरहेको छ। तर सम्बन्धित निकायको चासो देखिँदैन। त्यस्ता घटना भइहाले उनीहरू विभिन्न बहाना बनाएर पन्छिन्छन्।
सडक विभाग ढल र नाला व्यवस्थित गर्ने निकाय स्थानीय तहकै भएको बताउँछन्।
जनप्रतिनिधि तथा नेता घटना हुँदा सुधार गर्न तयार रहेको जस्तो देखिए पनि बिस्तारै सेलाउँदै जान्छन् र केही समयपछि बिर्सिन्छन्। त्यही कारण यस्ता घटना हुने क्रम भने रोकिएको छैन।
उपत्यकामा मात्र २०७७ देखि २०८० जेठ १० गतेसम्म उपत्यकामा ६२ जनाको मृत्यु भएको छ। काठमाडौंमा २५, भक्तपुरमा २१ र ललितपुर ११ जनाको मृत्यु र ५ जना घाइते भएका हुन्।
यसरी ज्यान गुमाउनेमा ६ महिनाका बच्चादेखि ८० वर्षका वृद्धसम्म छन्।
केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतका अनुसार देशभर चार वर्षमा २ हजार ३४५ जनाले ढल, नाला, खोला, नदीमा डुबेर ज्यान गुमाएका छन्।
प्रदेश अनुसार हेर्दा बागमतीमा मात्रै चार वर्षमा ४ सय १३ जनाले ज्यान गुमाएका छन्।
आर्थिक वर्ष २०७६/७७मा ९६ जना, ०७७/७८ मा ११६ जना, २०७८/७९ मा ११९ जना र २०७९/८० को जेठ महिनासम्म ८२ जनाको अकालमै ज्यान गुमाएका छन्।
यात्रा गर्दा, नाला तथा खोला तर्दा, पौडी खेल्दा, अचानक लडी,अचानक डुबेर, माछा मार्न जाँदा, बगाएर ज्यान गुमाएका धेरै रहेको डिआइजी कडायतले बताए।
‘यस्ता घटना व्यक्ति आफैं सजग नहुँदा घटना भएको देखिन्छ,’ उनले भने, ‘ सावधानी अपनाउने हो भने यस्ता दुर्घटनाबाट बच्न सकिन्छ।
त्यस्तै, मधेशमा ४५० जना, लुम्बिनीमा २३४, सदुरपश्चिममा २०१, कर्णालीमा १५० जना, कोसीमा ६१९ जना र गण्डकी प्रदेशमा २७८ जनाले ज्यान गुमाएका छन्।