‘खड्काकी छोरी भएर कामीसँग विवाह गर्न लाज लाग्दैन?’
कैलालीकी २३ वर्षीया सरस्वती खड्काले गत असार २६ गते प्रहरी वृत्त गौशालामा पटक-पटक यही वाक्य सुनिन्।
नेपालको कानुनले जातीय विभेदलाई अपराध मान्छ। र, कानुन उल्लंघन गर्नेलाई कारबाही गर्ने कर्तव्य नेपाल प्रहरीको हो। तर त्यो दिन बर्दीमा रहेका प्रहरीहरू नै सरस्वतीलाई जातीय विभेदको हिंसा हुने गरी गिज्याइरहेका थिए। कानुन र आफ्नो कर्तव्यको खिल्ली उडाइरहेका थिए।
प्रहरी कार्यालयमा त्यो दिन हाँसो र दयाकी पात्र बनाइएकी सरस्वतीले कुनै अपराध गरेकी थिइनन्। आफूलाई मन पर्ने मान्छेसँग विवाह गरेकै कारण अभिभावकले उनलाई प्रहरी कार्यालयमा पुर्याएका थिए। कानुनको पालना गर्नुपर्ने प्रहरी सरस्वती र उनका श्रीमानको मजाक बनाइरहेका थिए।
कैलालीको गौरीगंगा नगरपालिका-७ की सरस्वती र छिमेकी गोदावरी नगरपालिका-९ का सुरेश विश्वकर्मा लामो समयदेखि साथी थिए। सुरेशकी साथी मात्र हुँदा उनले घरमा अपमान र अपशब्द सहनुपरेको थियो।
‘परिवार र छरछिमेकीले दलितबाहेक अरू साथी पाइनस् भन्दै गाली गर्थे,ʼ सरस्वतीले भनिन्, ‘८ वर्षदेखि यस्ता शब्द सुन्दै हुर्किएँ। गाउँघरका मान्छेले त्यस्तो भने पनि जाने-बुझेका मान्छेलाई त्यस्तो लाग्दैन होला भन्ने सोच्थें। तर प्रहरीले नै गाउँघरमा सुनेको भन्दा तल्लो तहमा बोलेको देखेर मलाई उदेक लाग्यो।ʼ
डोटी पूर्वीचौकी गाउँपालिकामा २०५७ सालमा जन्मिएकी सरस्वतीले ११ वर्ष त्यतै बिताइन्। त्यसपश्चात उनको परिवार कैलालीको गौरीगंगा बसाइ सर्यो। उनका बुवा पूर्वप्रहरी हवलदार हुन्।
८ कक्षासम्म बोर्डिङ स्कुलमा पढेको सरस्वती ९ कक्षामा राष्ट्रिय माध्यमिक विद्यालयमा भर्ना भइन्। उनकै कक्षामा सुरेश पनि पढ्थे।
सुरेश राम्रो गीत गाउँथे। स्कुलभरि उनको चर्चा थियो। सरस्वती पनि सुरेशबारे बुझ्न खोज्थिन्। तर सुरेश दैनिक विद्यालय आउँदैन थिए।
उनी सुरेशलाई दिनहुँ स्कुल आउन भन्थिन्।
आवारा पारामा हिँडेका सुरेशलाई सम्झाउने व्यक्ति भेटेपछि हौसला मिल्यो। उनी दिनहुँ स्कुल आउन थाले। उनीहरू दुबै जना मिल्ने साथी बने।
सरस्वती सुरेशसँग नजिकिएपछि कक्षाका गैरदलित साथीले उनलाई विभिन्न लान्छना लगाउन थाले। कामीलाई साथी बनाएको भन्दै गिज्याउँथे। सरस्वती सानो-ठूलो जात नहुने भन्दै साथीहरूलाई सम्झाउँथिन्।
स्कुलका साथीहरू र घरमा आफन्तले उनको कुरा बुझ्नै चाहेन।
सुरेशसँग घुलमिल बढ्दै जाँदा सरस्वतीलाई परिवारले मानसिक तनाव दिन थाले। उनले त्यसलाई बेवास्ता गरिरहिन्। २०७३ मा सरस्वती र सुरेश दुबै एसइई पास भए।
दुर्गालक्ष्मी माध्यामिक विद्यालयबाट प्लस टु पनि सँगै पास गरे। विद्यालयदेखि नै सँगै भएकाले कलेजमा उनीहरू प्रेममा रहेको चर्चा भयो तर सरस्वती आफू प्रेममा परेको अस्वीकार गर्थिन्।
‘साथी बनाउँदा त परिवारले मानसिक तानाव दिन्थें। त्यसैले त्यतिबेला प्रेम र विवाहबारे सोचेकै थिइनँ,ʼ सरस्वतीले भनिन्।
११ मा पढ्दासम्म सरस्वतीले सुरेशलाई प्रेम गर्छु भनेकी पनि थिइनन्। तर उनको माया, केयर प्रेमिकाको भन्दा कम थिएन। त्यही बुझेर सुरेशले एकदिन सरस्वतीलाई भनेका थिए- तिमी मलाई प्रेम गर्छौ।
सुरेशले भनेपछि आफू प्रेममा रहेको महशुस भएको उनी बताउँछिन्।
आफू प्रेममा छु भन्ने महसुस हुँदा उनलाई खुसीभन्दा धेरै डर लागेको थियो रे। साथी बनाउँदा नै मानसिक यातना सहनु परेकाले प्रेमबारे थाहा पाए परिवारले के गर्लान् भन्ने डर थियो।
उनले परिवारलाई आफू प्रेम सम्बन्धमा रहेको भनिनन् तर गाउँमा चलेको हल्लाले सरस्वतीलाई परिवारले शंका गर्न थाले।
सुरेशसँग नजिकिएको थाहा पाएर परिवारले उनलाई ब्याचलर पढ्न धनगढी पठाए।
धनगढी बहुमुखी क्याम्पसमा उनी भर्ना भइन्। त्यहाँ पढ्दा लुकिछिपी सुरेशसँग बोल्थिन्। दुई वर्ष त्यही बसिन्।
उनका भाइ काठमाडौंमा बसेर पढ्थे। उनलाई पनि उतै पठाइदिए आनन्दै हुन्छ भन्ने ठानेर २०७८ मा बुवा-आमाले काठमाडौं पठाइदिए।
धनगढीमा उनले ब्याचलर पहिलो वर्षमात्र सकेकी थिइन्। काठमाडौं आएपछि पद्मकन्या बहुमुखी क्याम्पसमा दोस्रो वर्षबाट पढाइ सुरू गरिन्। उनका बुवा र भाइ चाबहिल कालोपुलमा भाडामा बस्थे। उनी पनि त्यहीँ बस्न थालिन्।
सुरेश पनि काठमाडौं आएका थिए। सरस्वती काठमाडौं आएको महिना दिनमा उनका भाइले त्यो कुरा थाहा पाए। त्यसपछि उनलाई बुवा र भाइसँग बस्न उनलाई सहज भएन।
कलेजबाट ढिला कोठा पुग्दा बुवा र भाइले सुरेशलाई भेटेर आएको आरोप लगाउन थाले। साथीहरूसँग घुम्न जाँदा पनि सुरेशसँगै गएको भनेर मानसिक यातना दिने गरेको उनको भनाइ छ।
यही बीचमा उनले एउटा जागिर खोजिन्। काममा जाँदा पनि सुरेशको नाम लिन परिवारले छोडेनन्।
आफू प्रेममा परे पनि परिवारको सहमतिबिना विवाह नगर्ने भनेकी थिइन् तर कसैले उनलाई विश्वास गरेनन्।
‘परिवारले भनेकै केटासँग विवाह गर्छु भनेको थिएँ, विश्वास गर्नुभएन,ʼ उनले भनिन्, ‘सुरेशसँग विवाह गर्ने सोचेकी नै थिइनँ।ʼ
अन्तरजातीय विवाह गरेका दुई/चार जना दाइ-दिदी गाउँ फर्किएरै आउन पाएका छैनन्। त्यही देखेर हुर्किएकाले अन्तरजातीय विवाह गर्न सरस्वती डराएकी थिइन्।
भविष्यमा आत्मनिर्भर बनेर जातीय विभेदविरूद्ध लड्न सक्नेभए विवाहबारे सोच्ने उनले सुरेशलाई बताएकी थिइन्। यसमा सुरेश पनि सहमत थिए।
एकातिर मनभरि सुरेशको माया, अर्कातिर जातीय विभेदको पर्खाल। भर्खर ब्याचलर पढ्दै गरेकी सरस्वती यी दुबैलाई कसरी सन्तुलन गर्न सकिएला भनेर सोचिरहेकी हुन्थिन्।
घरमा मान्छे भने दैनिक दलितको जुठो, दलितसँग हिँड्छे, शारीरिक सम्बन्धका लागि त्योसँग लागेकी हो भनिरहन्थे।
‘भाइ र बा-आमाले बोलेको शब्द सम्झिन पनि चाहन्नँ,’ केहीदिन अघि सेतोपाटीसँग कुरा गर्दागर्दै सरस्वती भक्कानिइन्,‘बुवाले बोलेको शब्द सुन्न नसकेर धेरैपटक आत्महत्याको प्रयास गरें।ʼ
परिवारको मानसिक यातना सहन नसक्ने अवस्थामा पुगेपछि उनले यी सबै कुरा सुरेशलाई सुनाइन्।
‘उनी मर्छु भन्थिन्। म उनलाई मर्न दिन सक्दिनथें, मरे पनि सँगै मर्ने सोचेर विवाह गर्यौं,ʼ सुरेशले भने।
२०७९ फागुन २९ गते पशुपति मन्दिरमा बस्ने एक ज्योतिषलाई भनेर उनीहरूले विवाह गरे। विवाहपछि उनीहरू लुकेर भक्तपुरमा बस्न थाले।
‘कोठामा चिठी लेखेर आएकी थिएँ, सात दिनपछि भाइले भेटेछ,ʼ सरस्वतीले भनिन्।
विवाह गरेर घरमा ल्यायो होला भन्ने सोचेर सरस्वतीका आफन्त दिनहुँ सुरेशको कैलालीमा रहेको घरमा धाउन थाले। परिवारका सदस्यलाई धम्की दिन थाले।
सुरक्षाको माग गर्दै सरस्वती र सुरेशले वैशाख १० गते राष्ट्रिय दलित आयोगमा निवेदन दिए।
माइती पक्षले धम्की दिएको निवेदन प्राप्त हुनासाथ सुरक्षाको लागि वैशाख ११ गते प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय कैलाली र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पत्राचार गरिएको आयोगका अध्यक्ष देवराज विश्वकर्मा बताउँछन्।
आयोगमा उजुरी आएको तीन महिना भइसक्यो। पीडित फेरि सम्पर्कमा नआएकाले आफूहरूले समस्या समाधान भयो होला भन्ने ठानेको अध्यक्ष विश्वकर्माले बताए।
उनीहरूले आयोगमा निवेदन दिएपछि माइती पक्ष सुरेशको घरमा जान छोडेका थिए। सरस्वतीले बिस्तारै सबै कुरा सामान्य हने आशा गरेकी थिइन्।
तर त्यस्तो भएन।
स्नातक तेस्रो वर्षको परीक्षा दिन असार २६ गते उनी रत्नराज्यलक्ष्मी क्याम्पस गएकी थिइन्। पद्मकन्या क्याम्पसको सेन्टर त्यहाँ परेको थियो।
परीक्षा सकेर निस्किँदा कलेज अगाडि उनको बुवासँग जम्काभेट भयो।
आमनेसामने परेपछि उनी केही बोल्न सकिनन्। बुवाले उनलाई ‘कहाँ बस्छेस्? के गर्छेस्’ भन्दै सोधपुछ गरे।
बुवाले राम्रोसँग बोलेको देखेर सरस्वती निकै खुसी भइन्।
बुवाले सरस्वतीलाई कोठामा जाऔं भने। मायालु स्वरमा बुवाले कोठामा जाऔं भनेपछि उनी पछि लागिन्।
कोठा पुगेपछि बुवाले श्रीमानलाई बोलाउन भने। सरस्वतीले पनि सुरेशलाई फोन गरेर पशुपतिमा भेट्न बोलाइन्।
अपराह्र ४ बजेतिर सुरेश गौशला आइपुगेका थिए।
सरस्वतीले सुरेशलाई बुवा र भाइसँग चिनजान गराइन्। उनका बुवा सुरेशलाई अँगालो हाल्दै पशुपतिको जंगलतिर लगे।
सुरेश र उनका बुवा अघि-अघि थिए भने सरस्वती र उनका भाइ पछिपछि।
‘जंगल पुगेपछि बुवाले सुरेशको टाउको रूखमा ठोक्याउन थाल्नुभयो,ʼ सरस्वतीले भनिन्, ‘त्यसपछि भाइले पनि पिट्न थाल्यो।ʼ
छुट्याउन खोज्दा भाइले उनैलाई बेस्सरी थप्पड हाने। त्यसपछि सरस्वती बेहोसजस्तै भइन्।
उनी चिच्याउँदा वरपरका मानिसले के भयो भन्दै सोधेका थिए तर उनका बुवाले नजिक आउनै दिएनन्।
मान्छेको भीड बढेपछि उनका बुवा फेरि सुरेशलाई अंगालो हाल्दै फर्किएको सरस्वतीको भनाइ छ।
गौशाला चोकमा पुगेपछि बुवाले उनीहरूलाई सिधै प्रहरी वृत्त गौशाला लगे। माइती पक्षले कुटपिट गरेको कुरा सरस्वती प्रहरीलाई सुनाउन चाहन्थिन् तर त्यहाँ उल्टो भयो।
उनका बुवाले छोरीलाई फकाइफुलाई लगेको भन्दै सुरेशलाई थुनामा राख्न प्रहरीलाई भने।
त्यहाँका प्रहरीसँग परिचय गर्दै उनका बुवाले आफू पनि पूर्वप्रहरी भएको बताए। त्यसपछि प्रहरीले आफ्नो कुनै कुरा नसुनेको सरस्वतीको भनाइ छ।
त्यही बीचमा एक प्रहरीले उनीहरू दुबै जनालाई सँगै उभ्याए र सरस्वतीसँग भने- तेरो खुट्टामा राखे पनि सुहाउँदैन। के देखेर योसँग बिहे गरिस्?
कामीको छोरासँग विवाह किन गरेको, परिवारको बेइज्जत गराइछस्, कामीको छोराबाहेक अरू केटा पाइनस् भन्दै थर्काएको सुरेश र सरस्वती बताउँछन्।
२४ वर्षका सुरेश र २३ वर्षकी सरस्वती नेपालको कानुनअनुसार विवाह गर्न स्वतन्त्र छन्। उमेर पुगेका नागरिकले आफूले चाहेको व्यक्तिसँग विवाह गर्न पाउनु उनीहरूको अधिकार हो। प्रहरीले उनका बुवालाई उमेर पुगेका केटाकेटीले आफूले इच्छाएको व्यक्तिसँग विवाह गर्न पाउँछन् भनेर सम्झाएनन्।
‘उल्टै विवाह गरेको प्रमाण नभए घर फर्किन भनिरहेका थिए,’ सरस्वतीले भनिन्।
प्रहरीले सरस्वती र सुरेशमाथि त्यो दिन गरेको अपमान र अन्यायलाई सामान्य रूपमा लिएको छ।
गौशला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) सञ्जीवबाबु खड्का सरस्वती र सुरेशलाई उनकै परिवारले ल्याएको र प्रहरीले त्यस्तो शब्द प्रयोग नगरिएको बताउँछन्।
‘पीडितले भनेझैं प्रहरीले त्यस्तो शब्द प्रयोग गरेको छैन,ʼ डिएसपी खड्काले भने, 'यहाँ काम गर्ने सबैलाई मैले सोधें तर कसैले पनि त्यस्तो नभनेको बताएका छन्।’
माइती पक्षले सरस्वती हराएको निवेदन प्रहरी वृत्त मालीगाउँमा दिइएको जानकारी पाएपछि त्यहीँ पुर्याइदिएको डिएसपी खड्का बताउँछन्।
सरस्वतीले कोठा छोडेपछि उनका बुवाले छोरी हराएको भन्दै मालीगाउँ प्रहरी कार्यालयमा निवेदन दिएका थिए।
प्रहरी वृत्त मालीगाउँका अनुसार डम्बरबहादुर खड्काले चैत २२ गते छोरी (सरस्वती) फागुन २९ गतेदेखि हराएको उजुरी दिएका थिए। प्रहरीले सरस्वतीलाई खोजिरहेको थियो।
प्रहरी वृत्त मालीगाउँका अनुसार असार २६ गते नै केटीलाई बुवाको जिम्मा लगाउने तयारी थियो। केटा पक्षको कोही आफन्त नआएकाले त्यो दिन उनीहरूलाई कार्यालय राख्नु परेको एक प्रहरीले बताए।
मालीगाउँका प्रहरीले पनि अन्तरजातीय विवाह गरेको भन्दै आफूलाई अपशब्द प्रयोग गरेको सरस्वती बताउँछिन्।
‘खड्काको छोरी भएर कामीसँग किन बिहे गरिस्?’ भन्दै प्रहरीले गाली गरेको सरस्वतीको गुनासो छ।
‘गल्ती गरेको भए सजाय दिनू, तर पटक/पटक कामीको छोरासँग किन विवाह गरिस् भनेर नसोध्न आग्रह गरें। कसैले मान्नुभएन,ʼ उनले भनिन्।
२६ गते उनीहरूलाई थुनामा राखियो।
हत्या गरेर आएका, बलात्कारको आरोप लागेका, चोरीमा पक्राउ परेका व्यक्तिसँगै सरस्वती र सुरेशलाई पनि राखिएको थियो। त्यतिबेला जातलाई नेपाली समाजले दिने मान्यताबारे बुझेको सरस्वती बताउँछिन्।
प्रहरीले उनीहरूलाई कसैको हत्या गरेर आएकोजस्तो व्यवहार गरिरहेका थिए।
२७ गते बिहान मेडिकल जाँच भन्दै प्रहरीले हत्कडी लगाएर उनीहरूलाई वीर अस्पताल लगे।
‘हत्कडी लगाए अस्पताल लैजाँदा अन्तरजातीय विवाहलाई जघन्य अपराध मानिँदो रहेछ भन्ने महसुस गरें,ʼ सरस्वतीले भनिन्।
२७ गते बिहान सरस्वती र सुरेशलाई स्वास्थ्य परीक्षणका लागि ल्याइएको रेकर्ड अस्पतालमा छ।
वीर अस्पतालका सूचना अधिकारी सागर मिश्रले भने, ‘सरस्वती र सुरेशको नाममा बिहान साढे चार बजे टिकट काटेको रेकर्ड छ।ʼ
सुरेश र सस्वतीलाई अस्पतालमा स्वास्थ्य परीक्षणका लागि लगिएको थियो तर त्यहाँ औंठा छापमात्र लगाएर फर्काइयो।
दिउँसो उनका बुवा प्रहरी कार्यालयमा आए। हराएको निवेदन परेको भन्दै प्रहरीले सरस्वतीलाई बुवाको साथमा जान भने। उनले मानिनन्। उनी साथमा जान नमानेपछि सरस्वतीलाई परिवारले आफू बसेको कोठा देखाउन दबाब दिए।
उनी कोठा नदेखाउने सोचमा थिइन्।
तर कोठा नदेखाई प्रहरी कार्यालयबाट फुत्किन सम्भव थिएन। उनले हुन्छ भनिन्। मालीगाउँ प्रहरीले भक्तपुर आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै भक्तपुरकै प्रहरीलाई खबर गर्न भने।
भक्तपुर प्रहरी कार्यालयमा पुगेर उनले मालीगाउँबाट पठाएको र प्रहरी साथमा जान भनेको बताइन्।
‘त्यहाँका प्रहरीले पनि त्यही प्रश्न गरे। दलितसँग विवाह गरेर बा-आमाको इज्जत फालिस् भन्दै गाली गरे,ʼ उनले भनिन्।
प्रहरीलाई साथमा लिएर उनी कोठातिर गइन्।
त्यहाँ उनका बुवाले कोठाका हरेक सामग्री देखाउन लगाए। उनले बुवाले जे भने त्यही-त्यही गरिन्।
कोठा देखाएपछि उनका भाइ र बुवा फर्किए। फर्केर आउने हुन् कि भन्ने डरले त्यो रात सरस्वती र सुरेश त्यहाँ बसेनन्।
चावहिलस्थित साथीको कोठामा पुगे। २७ गतेदेखि ३१ गतेसम्म उनीहरू साथीकै कोठामा बसे।
साउन १ गते दिउँसो भक्तपुरको कोठा नजिक पुग्दा उनीहरूले बा-आमा र भाइ कोठामा जाँदै गरेको देखे। उनीहरू साथीकै कोठामा फर्किए।
‘एडमिट कार्ड लिन डराउँदै कोठामा गएँ,ʼ सरस्वतीले भनिन्, ‘बा-आमाको आक्रोश देख्दा कोठामा बस्न डर लाग्छ।’
बुवा-आमाको आक्रोश त एकातिर छ राज्यको निकाय प्रहरीले पनि अन्तरजातीय विवाहलाई अपराधजस्तो ठानेर व्यवहार गरेको सम्झिएर उनको मन कुँडिन्छ।
अँगालो हालेर पशुपतिको जंगलमा लगेपछि सुरेशलाई कुट्ने बुवा र भाइले फेरि पनि केही गर्ने हुन् कि भनेर उनलाई डर लाग्छ।
‘डरडरैले अचेल म राति राम्ररी निदाउन सक्दिनँ,’ सरस्वतीले भनिन्।