वकिलसँग कानुनका कुरा
धेरै महिलाले आज पनि बाटोमा हिँड्दै गर्दा अरूले जिस्क्याउने गरेको समस्या झेलिरहेका छन्। तर कानुनले बाटोमा हिँड्दै गर्दा कसैले कसैलाई जिस्क्याउन पाउँदैन भनेर प्रस्ट व्यवस्था गरेको छ।
मुलुकी अपराध संहिताको दफा ११८ अनुसार यसरी अर्कालाई जिस्क्याउने, अपशब्द बोल्ने, दोहोरो अर्थ लाग्ने शब्द बोल्ने वा अभद्र व्यवहार गर्ने व्यक्ति कारबाहीको भागीदार हुन्छ। यस्तो अवस्थामा जिस्क्याउने व्यक्तिलाई कानुनले के-कस्तो सजाय दिन्छ र कसैले त्यस्तो व्यवहार गरे के गर्नुपर्छ भनेर बुझ्न हामीले अधिवक्ता कृपा पोखरेलसित कुराकानी गरेका छौं।
बाटोमा हिँड्दै गर्दा कोही चिनेजानेको वा अनजान मान्छेले जिस्क्यायो वा अपशब्द बोल्यो भने के गर्ने?
बाटोमा हिँड्दा वा सार्वजनिक ठाउँमा तपाईंलाई असहज हुने गरी कसैले पनि जिस्क्याउन पाउँदैन। यो दण्डनीय अपराध हो। त्यसैले सबभन्दा पहिला त हामीले जिस्क्याउने मान्छे जो भए पनि यसरी नजिस्क्याउनू भनेर सम्झाउनुपर्छ। यदि त्यस्तो व्यक्ति तपाईंको कुरा सुन्ने वा बुझ्ने पक्षमा छैन भने नजिकैको प्रहरी कार्यालयमा उजुरी गर्न सक्नुहुन्छ।
मुलुकी अपराध संहिताको दफा ११८ मा अभद्र व्यवहार गर्न नपाइने भनेर उल्लेख छ। कुनै व्यक्तिले सार्वजनिक स्थलमा महिला, बालबालिका, असक्त व्यक्तिहरूलाई दुःख दिने नियतले कुनै क्रियाकलाप गरे कानुनअनुसार दण्ड हुन्छ। त्यस्तो कार्य गरेमा नजिकैको प्रहरी चौकीमा फोन गरेर, इमेल गरेर वा आफैं गएर पनि उजुरी दिन सकिन्छ।
यदि कसैले यस्तो अभद्र व्यवहार गर्छ भने कानुनबमोजिम के सजाय हुन्छ? जरिवाना के-कति लाग्छ?
अभद्र व्यवहार गरेको उजुरी परे त्यस्तो व्यक्तिलाई एक वर्षसम्म कैद वा दस हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ। यौन दुर्व्यवहारको उजुरी परे तीन वर्षसम्म कैद र तीस हजार रूपैयाँ जरिवानाको सजाय तोकिएको छ।
हामीले आत्मरक्षा गर्ने क्रममा हातापाइ भए कारबाही हुन्छ कि हुँदैन?
मुलुकी अपराध संहिताको दफा २४ ले आत्मरक्षाको अधिकार सुनिश्चित गरेको छ। सामान्य प्रतिकार गरे हामीलाई कानुनले दण्डित गर्दैन। कतिपय अवस्थामा तपाईंले प्रतिकार गर्नुपर्ने हुन्छ। जस्तो- कसैले तपाईंलाई हान्न खोजेको छ वा हानेको छ भने हात छेकेर वा रोकेर प्रतिकार गर्न मिल्छ। तर आफूसित चक्कु छ भन्दैमा घोप्न मिल्दैन। आफूलाई त्यस्तो अवस्थाबाट बचाउन सामान्य प्रतिकार भने गर्न मिल्छ।
यस्तो घटनामा प्रमाण आवश्यक हुन्छ कि हुँदैन? बिनाप्रमाण उजुरी दिन मिल्छ कि मिल्दैन?
कसैले यस्तो व्यवहार गरे नजिकैको व्यक्तिलाई थाहा दिनुपर्छ। ताकि उनीहरूको बयान प्रमाणका रूपमा पेस गर्न सकियोस्। तर वरिपरि कोही व्यक्ति नभए पीडितको भनाइलाई नै प्रमाणका रूपमा पनि ग्रहण गरिन्छ। पीडितको बकपत्रलाई नै प्रमाणका रूपमा पेस गरेर अदातलले सुनुवाइ गरेका नजिरहरू छन्।
यस्तो घटना भएको कति समयभित्र उजुरी गर्नुपर्छ?
तत्कालै उजुरी गर्दा राम्रो हुन्छ। मुलुकी अपराध संहिताको दफा ११८ ले अभद्र व्यवहार गरेको घटनालाई तीन महिनाभित्र उजुरी गर्नुपर्छ भनेको छ। यौन दुर्व्यवहारको घटना हो भने एक वर्षभित्र उजुरी गर्नुपर्ने हुन्छ।
कसैमाथि यस्तो घटना भए सबभन्दा पहिला के गर्नुपर्छ?
अपराध सहनु पनि अपराध गरे सरह हो। किनभने, तपाईं त त्यस्ता व्यक्तिबाट बच्नु होला तर भोलि समाजमा ती व्यक्ति खतराका रूपमा रहिरहन्छन्। त्यसैले कसैमाथि यस्तो घटना भए पहिला ती व्यक्तिको क्रियाकलापबारे वरिपरिका व्यक्तिलाई जानकारी गराउनुपर्छ र सामूहिक रूपमा गल्ती महसुस गराउनुपर्छ।
त्यस्तो गर्दा पनि ती व्यक्तिलाई गल्ती महसुस भएको छैन भने नजिकैको प्रहरी चौकीमा उजुरी गर्नुपर्छ। त्यसपछि बल्ल मानिसहरू अभद्र व्यवहार गर्नबाट डराउँछन् र सभ्य समाज निर्माण हुन्छ।