खासमा त्यसरी बिहे गर्ने उनको रूचि नै थिएन। घरपरिवारको दबाबमा २९ वर्षको उमेरमा उनको बिहे भयो। कान्छा छोराको बिहे गरेर बुहारी भित्र्याउने आमाबाबुको रहर पूरा भयो। छोराको रहरमा भने पहिरो गयो।
एक सन्तान पनि जन्मियो। तर बिहे र सन्तानप्राप्तिबाट उनी सन्तुष्ट हुन सकेनन्। श्रीमान–श्रीमतीको मेल हुन सकेन। उनीसँग बस्न श्रीमती इच्छुक भइनन् र बिहे गरेको छ वर्षमा सम्बन्ध विच्छेद भयो। सन्तानको हेरचाहका लागि केही सम्पत्ति लिएर बिदा भइन्।
सम्बन्ध विच्छेदपछि उनी गाउँमा बस्न सक्ने अवस्था भएन। कुरा काट्ने र अनेक घोचपेचका शब्दले पिरोल्थ्यो। गोर्खाको आफ्नो गाउँघर माया मारेर चितवन पुगेपछि उनको जीवन बदलियो।
२०४० सालमा छोराका रूपमा जन्मेका उनले ३५ वर्षपछि आफूलाई महिला स्वरूप दिए। महिला पहिचान दिने गरी नाम पनि फेरे, इच्छा गुरुङ।
'चितवन आएपछि मैले आफूभित्रको मलाई बाहिर निकाल्न पाएँ,' आफूलाई ट्रान्सजेन्डर भनेर चिनाउने इच्छाले भनिन्।
उसो त उनले आफ्नो पहिचानको जानकारी १८ वर्ष उमेर छँदै पाइसकेकी थिइन्। त्यो बेलै आफूलाई महिलाको पहिचान दिन खोजे पनि सम्भव नभएको उनी बताउँछिन्।
कान्छा छोरा भएकाले पनि होला, सानैदेखि उनको धेरै समय आमासँग मेलापातमा बित्थ्यो। परिवारको कमजोर आर्थिक अवस्थाका कारण पढाइ ६ कक्षाभन्दा माथि हुन सकेन। सानैदेखि छोरीमान्छे बन्न मन लाग्थ्यो। घरमा पनि महिलाले गर्ने भनिएकै काम गर्थे।
उमेर बढ्दै जाँदा केटी मान्छेकै कपडा लगाउन मन लाग्यो। अलिअलि गर्दै लगाउन पनि थालिन्। थोरैथोरै सिँगार पनि। उनको यस्तो स्वभावप्रति परिवारजनको ध्यान गयो। गाउँमा पनि गाइँगुइँ चल्न थाल्यो। उनको आनीबानीबारे प्रश्न उठ्न थाल्यो।
'म त छोरो मान्छे हुँ तर किन छोरी जस्तो बन्न मन लाग्छ भन्ने अन्योलमा थिएँ,' उनले त्यो बेलाको आफ्नो मनस्थिति सुनाइन्, 'आफैंसँग अनौठो लाग्थ्यो। किन केटी जस्तो भइरहेको छु भन्ने थाहा थिएन। आमाबाबुलाई झन् के जवाफ दिने भन्ने थाहै भएन।'
१८ वर्षे इच्छा आफ्नो शरीर र स्वभावको बेमेलले छटपटीमा थिइन्। यही समय रवि गुरुङ नामका समवयी व्यक्तिसँग भेट भयो। दुवै जना साथी भए। रविको संगतबाट इच्छाले आफ्नो शरीर र स्वभावको बेमेलको कारण थाहा पाइन्।
'रवि पनि ट्रान्सवुमन थिइन्। उनीविसँग भेट भएपछि मैले आफूलाई चिनेँ। म अर्कै समुदायकी रहेछु भन्ने थाहा पाएँ,' इच्छाले भनिन्, 'यसपछि म केटीका रूपमा खुल्न थालेँ।'
उनी आफ्नो पहिचानमा खुलिन्, मनमा सहज भयो तर गाउँघरमा सकस सुरू भयो। उनलाई जिस्क्याउने, गिज्याउने र कुराकाट्नेको संख्या बढ्यो। परिवारमा पनि उनको यस्तो परिवर्तन स्वीकार्य भएन।
इच्छाको मन बुझ्न चाहने कोही भएन। एक्ली भइन्। आमाबाबु र परिवारका अन्य सदस्यले महिलाको हुलियामा देख्न चाहेनन्। उनीहरूले त पुरुष नै देखेका हुन्, शरीर पुरुषकै थियो। त्यो बेला यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका बारेमा जानकारी पनि धेरैलाई थिएन।
इच्छाको स्वभाव परिवारका लागि समस्या भएर खडा भयो। दिनदिनै झगडा हुन थाल्यो। झन्डै दस वर्ष यस्तै चलिरह्यो। परिवारलाई उनको बिहे गरिदिए 'समस्या सल्टिन्छ' भन्ने लाग्थ्यो। समाजलाई पनि। अन्ततः दबाबै दबाबले घेरिएर उनी पुरुष बने। महिलासँग बिहे गरे।
'मैले विवाह गर्दिनँ भनिरहेँ। तर रीतिरिवाज जोगाउनुपर्छ भन्दै कर गरे। छिमेकीले त बिहे नगरे तिमीले दिएको पानी खान्नौं भन्न थाले। बाआमाले कर गर्नुभयो, उहाँहरूको खुसीका अगाडि मैले केही भन्न सकिनँ, बिहे गरेँ,' त्यो बेला बाध्यतामा आएर गर्नुपरेको निर्णयले अहिले उनलाई पछुतो लाग्छ, 'म श्रीमती ल्याउने मान्छे नै होइन भन्दाभन्दै पनि बिहे गर्न बाध्य भएँ।'
उनीसँग उपाय थिएन। के गरौं कसो गरौं हुन्थ्यो। पछि श्रीमतीका सामुन्ने बेलाबेला महिला हुलियामा देखा परेपछि उनकी श्रीमतीले बल्ल बुझिन्। उनले बिहे गरेका मान्छे पुरुष होइनन्। अनि उनीहरूको सम्बन्ध विच्छेद भयो।
त्सपछि एक दिन उनले घर छाडिन्।
'आमा घाँस काट्न गएका बेला उहाँको पैसा लिएर चितवन आएँ। चितवनमा आफू जस्ता साथीहरू भेटिए,' इच्छाले भनिन्, 'अनि बल्ल आफ्नो पहिचान खुलाएर हिँड्न सजिलो भयो।'
पहिचान खुलाउन सजिलो भए पनि अर्को सहरमा बाँच्न मुश्किल थियो। धेरै ठाउँमा काम खोजिन्, कसैले पत्याएन। उनका अनुसार होटलमा भाँडा माझ्छु भन्दा पनि काम पाइनन्। मान्छेहरूलाई उनको स्वरूप चित्त बुझ्दैन थियो।
आफूजस्तै साथीहरू भेटिएकाले जसोतसो भोकै लड्नु परेन। तर कमाइ नै नभइ कति दिन बस्ने!
एक दिन उनी नाच्ने कामका लागि केही साथीसँग वीरगन्ज पुगिन्। किशोरावस्थामा अलिअलि नाचेकी उनले वीरगन्जमा बिहे, ब्रतबन्ध र यस्तै अन्य अवसरहरूमा नाच देखाइन्। त्यहाँ यस्ता अवसरमा उनीहरूका समुदायका मान्छेले नाचगान गर्ने चलन अझै छ। धेरैको रोजीरोटी यसबाटै चल्छ।
इच्छा भन्छिन्, 'नाच्नु भन्नु मात्रै, सजिलो छैन। रातभरि नाच्दा थाकिन्छ। कहिलेकाहीँ पुरुषहरू जबर्जस्ती गर्न पनि आउँछन्।'
वीरगन्जमा नाच्न लागेपछि उनी थोरैथोरै कमाउन थालिन्। कोठा भाडा तिरेर एक्लै बस्न र खान पुग्ने भयो। ढुक्कले बाँच्न इच्छा शरीर र मनको बेमेल अन्त्य गर्न चाहन्थिन्। नाचेर कमाएको पैसाले हर्मोन प्रयोग गरेर छाती बढाइन्। स्वर, छाला, कपाल पनि महिलाको जस्तो हुँदै गयो।
अहिले उनी महिला स्वरूपमै देखिन्छिन्। अब उनलाई आफ्नो नागरिकतामा रहेको पुरुष नाम र फोटो बदल्नु छ।
'महिला हुलियामा पुरुषको नागरिकता देखाउँदा धेरै ठाउँमा सकस परेको छ,' उनले भनिन्।
नागरिकता प्रमाणपत्रमा महिलाको पहिचान मिलाउन जिल्ला प्रशासन कार्यालयले शल्यक्रिया गराएर महिला बनेको प्रमाण खोज्छ। कोरोना संक्रमणको समयमा निकै दुःख भए पनि आजकाल जीवन चलाउन पुग्ने कमाइ छ। शल्यक्रिया नै गराउन पुग्ने भएको छैन।
उनको पेसा नृत्य हो। बढ्दो उमेरले नाच्ने जोस कमजोर हुँदैछ। भन्छिन्, 'उमेर बढ्दै गएको छ। पहिलाजस्तो जाँगर लगाएर नाच्न सकिँदैन। अत्यास पो लाग्न थालेको छ के होला अब भनेर।'
इच्छा कहिलेकाहीँ आमालाई भेट्न गाउँ जान्छिन्। गाउँमा पहिलाजस्तो असहज छैन। आफ्नो प्राकृतिक स्वभावकै कारण गाउँ छाड्नु परेकामा मनमा चोट छ। तर उनले लैंगिक पहिचानसहित ससम्मान जिउने संघर्ष छाडेकी छैनन्।
यी पनि पढ्नुहोस्ः 'पुरुष लेखिएको मेरो नागरिकतामा महिला बनाउनु छ'
'कानुन आएपछि बिहे गरेर श्रीमती भित्र्याउने मन छ'
अनि उनको लाली-गाजल लाउने रहर पूरा भयो
'आमा बुहारी ल्याउनुपर्छ भन्नुहुन्थ्यो, म ज्वाइँ ल्याउँछु भन्थेँ'
उनले बरू घर छाडिदिइन्, आफ्नो पहिचान छाड्न सकिनन्
'दिनभरि काम गरेर राति सिँगार गर्दा अझै पनि आनन्द लाग्छ'