यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथाः
उनी जन्मिँदा घरमा खुसीयाली छाएको थियो। पहिलो सन्तान नै 'छोरा' भएपछि तामाङ परिवार दंग परेका थिए।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-२ मा हुर्किँदै गर्दा उनलाई भने आफू अलग भएको महसुस हुन थाल्यो। सबैले छोराको रूपमा हेर्न चाहे पनि उनलाई छोरी बन्न मन हुन्थ्यो। केटीका जस्ता कपडामा सजिन, गाजल र ओठमा लाली लाउन मनपर्थ्यो। उनको आनीबानी पनि केटीकै जस्तो हुँदै गयो।
सुरूसुरूमा आमाबाबुलाई आफ्ना छोरामा आएको यस्तो परिवर्तन देखेर अनौठो लाग्यो। तर उनीहरू शिक्षित थिए। आफ्नो सन्तानको मनको चाह बुझ्न सके। जन्म र समाजले दिएको उनको पुरुष पहिचानलाई तामाङ परिवारले पन्छाइदिए।
अनि उनको नयाँ परिचय बन्यो– रुविना तामाङ।
'मेरो जन्म पुरुषका रूपमा भए पनि मलाई सानैदेखि म महिला हुँ भन्ने लाग्थ्यो,' रुविनाले सेतोपाटीसँग भनिन्, 'मेरो परिवारले पनि मैले रोजेको पहिचानमा सधैं समर्थन गर्नुभयो।'
रुविनाका इच्छाहरूलाई समर्थन गर्दै आमाबाबुले उनका सपना पूरा गर्न हौस्याउँदै गए। पहिलो सन्तान भएकाले घरको जिम्मेवारी सम्हाल्ने आश उनीमाथि थियो। योभन्दा ठूलो जिम्मेवारी भने आफ्नो पहिचानका लागि लड्नु थियो।
आफ्नै गाउँमा त परिवारको समर्थनका कारण धेरै समस्या भएन।
उनका अनुसार पुरुषबाट महिला बन्ने उनी गाउँकै पहिलो थिइन्। १५ वर्षसम्म घरै बसेकी उनलाई हजुरबुबाका कुराले पनि खुबै हिम्मत दिन्थे।
'केटीले गर्ने भनेका काम मैले गर्दा हजुरबुबाले काम सबै बराबर हो, केटाकेटी भन्ने हुँदैन भन्नुहुन्थ्यो,' रुविनाले सुनाइन्, 'उहाँका कुराले मलाई हिम्मत दिन्थ्यो। घरमा मेरो जुनसुकै पहिचान स्वीकार्य थियो। त्यसैले ठूलो सहर काठमाडौं गएर पहिचान बनाउने सपना देखेँ। तर घरबाहिर हरेक दिन पहिचानकै लागि लड्नुपर्यो।'
सिन्धुपाल्चोकको सरकारी स्कुलबाट एसएलसी सकेर कलेज पढ्न उनी राजधानी काठमाडौं आइन्। तर ठूलो सहर काठमाडौं उनको घरभन्दा कहाँ हो कहाँ साँघुरो लाग्यो उनलाई। उनको सपनाभन्दा धेरै फरक अनुभव रह्यो यहाँ।
'कलेज गएदेखि नै मेराबारे टीकाटिप्पणी सुरू भयो,' उनले भनिन्, 'म क्लासभित्र जानेबित्तिकै उ हेर त छक्का आयो जस्ता नराम्रा शब्द बोल्थे। मलाई एकदम नराम्रो लाग्थ्यो। तर म निराश भइनँ। बरू आफूलाई अझै बलियो बनाउन थालेँ।'
पछि उनले कलेजमा आफूजस्तै साथी भेटिन्। उनले रुविनालाई हतोत्साही नहुन बरू अझै खुलेर आफू भएर बाँच्न प्रेरणा दिइन्। ती साथीकै सहयोगले रुविना महिलाकै रूपमा आफूलाई खुलेर चिनाउन थालिन्। महिलाकै लुगा लगाएर हिँडिन्।
त्यो बेला रुविना जम्मा बीस वर्षकी थिइन्। तिनै साथीको माध्यमबाट उनी आफूजस्तै व्यक्तिहरूको अधिकारका लागि लड्ने निलहिरा समाज (ब्लुडाइमन्ड सोसाइटी) सँग जोडिइन्। यसपछि आफ्नो पहिचान र अधिकारबारे झन् धेरै बुझ्न र मनन गर्न पाइन्।
'राज्यले हामीलाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको नाम दिएको छ। तर यसका लागि सरकार र समाज एकदमै कम संवेदनशील छन्। अन्य समुदायभन्दा कम चासो दिइएको छ,' उनी भन्छिन्, 'हामीले शौचालयदेखि अस्पतालसम्म पहिचानको लडाइँ अझै लडिरहनु परेको छ।'
उनले यसमै थपिन्, 'मलाई पहिल्यैदेखि पुरुष शौचालय जान मन लाग्थेन। तर कुनै बेला धेरै गाह्रो हुन्थ्यो, नगई धर पाइन्थेन। अनि शौचालयको सहजताकै लागि म पुरुषकै हुलियामा हिँड्थेँ। त्यो पनि कोही नभएका बेला मात्र छिर्ने।'
शौचालयको समस्यालाई त उनी यस्तै हो भनेर चित्त बुझाउँथिन्। तर अरू कैंयन गतिविधि थिए जसमा आइपरेका अप्ठ्याराले उनलाई मुश्किल पार्थ्यो।
उनको एउटा घटना सुनाइन्।
रुविनालाई एकदिन असाध्यै पेट दुखेको थियो। घरकै औषधि–उपचारले सन्चै भएन। त्यसपछि उनी काठमाडौंकै नाम चलेको एउटा अस्पताल गइन्। अस्पतालजस्तो ठाउँमा, उपचारका क्रममा, अझ डाक्टरबाट उनको पहिचानमा विभेद होला भन्ने उनले सोचेकै थिइनन्।
उनी महिलाकै रूपमा अस्पताल पुगिन्। उनको जाँच गर्ने डाक्टर पुरुष थिए। भिडिओ एक्सरे गर्दैगर्दा एक्कासि सोधे– तपाईंको ओभरी (पाठेघर) खै?
रुविनाले भनिन्, 'म ट्रान्सवुमन हुँ।'
ती डाक्टर केही नबोली जुरुक्क उठेर हिँडे। त्यसपछि उनीसँग रुविनाको दोहोरो संवाद भएन। पछि अस्पतालले सिधै रिपोर्ट लिन मात्र बोलायो।
रुविनाले भनिन्, 'उपचारमा पनि यस्तो अनुभव हुँदा निकै पीडा भयो। डाक्टरलाई समेत हाम्रो पहिचानको ज्ञान नभएकाले यस्तो समस्या आइपरेजस्तो लाग्छ मलाई। अझ हामी ट्रान्सम्यान/ट्रान्सवुमनहरू शरीरको बनावट मिलाउन विभिन्न हर्मोनहरू लिइरहेका हुन्छौं। तर यहाँ धेरै डाक्टरलाई हार्मोनबारे ज्ञान नै छैन।'
हार्मोन थेरापी कसरी गर्ने, कस्तो उपचार आवश्यक हुन्छ भन्नेबारे यहाँको डाक्टरलाई जानकारी नभएको उनको भनाइ छ।
रुविनाले हाल हार्मोन थेरापी गर्दै छिन्। यो क्रममा स्तन वृद्धि हुने, शरीरका रौं कम हुने, छाला नरम हुने, नयाँ कपाल पलाउने जस्ता शारीरिक परिवर्तन देखा पर्छन्।
यस्तोमा आफूहरूले उपचार गराउनु पर्दा अप्ठ्याराहरू सामना गर्नुपर्ने उनी बताउँछिन्। लैंगिकता परिवर्तन गरी महिला हुनेहरूलाई आफ्ना सरकारी कागजातका कारण पनि उपचारमा समस्या हुन्छ। उनीहरू कतिपय महिला डाक्टरसँगै उपचार गराउन खोज्छन्। पुरुषसँग सहज हुँदैनन्। तर कागजातमा जन्मको पहिचान (पुरुष) भएकाले भनेजस्तो मिल्दैन।
रुविनाले थाइल्यान्डको उदाहरण दिँदै भनिन्, 'म थाइल्यान्डको एउटा क्लिनिक गएकी थिएँ। त्यहाँ मजस्तै एक जना स्टाफ हुनुहुँदो रहेछ। म अलमलिरहेका बेला उहाँले हातले इसारा गर्दै हामी सेम–सेम (उस्तै–उस्तै) भन्नुभयो। मलाई कति खुसी लाग्यो, अब मैले आफ्नो पहिचान बताउँदै हिँड्न पर्दैन भनेर।'
नेपालमा विभिन्न प्रकारका लैंगिकता पहिचानबारे जानकारी नभएकैले आफ्नो समुदायलाई समस्या परिरहेको उनी बताउँछिन्।
डाक्टरले उनलाई गरेको व्यवहारपछि रुविनाले आफू काम गर्ने संस्था क्रुज एड्स नेपालमा छलफल गरिन्। रुविना संस्थाकी अध्यक्ष हुन्। संस्थाले विज्ञप्ति जारी गरेर आपत्ति जनाएपछि अस्पतालले 'अबदेखि यस्तो नगर्ने' भनेको रुविना बताउँछिन्।
'यसपछि भने उपचार क्रममा समस्या भएन,' उनले भनिन्।
तर यो समस्या रुविनाको मात्र होइन। पहिचानकै कारण समस्या भोगिरहेका अर्का व्यक्ति हुन् हेटौंडाका सुदीप गौतम।
रुविनाभन्दा सुदीपले आफ्नो पहिचानबारे छिट्टै बुझ्ने मौका पाएका थिए। महिलाका रूपमा जन्मिएका उनले जब आफू पुरुषजस्तो छु भन्ने थाहा पाए, आफ्नो पहिचान पनि पुरुषकै रूपमा गरे। आफ्नो हुलिया पुरुषकै जस्तो बनाउन थाले। परिवारमा नयाँ पहिचान समस्या बनेन। सामाजिक रूपमा प्रस्तुत हुँदा भने सकस भयो।
'मलाई आफ्नो अधिकारका बारेमा पनि जानकारी थियो,' उनले भने, 'तर समाजको संरचना, बुझाइको कारण समस्या त झेल्नुपर्यो।'
सुदीप विगत दस वर्षदेखि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक-अधिकारका लागि काम गर्दै आएका छन्। उनी आफूलाई 'ट्रान्सम्यान' भनेर चिनाउँछन्।
पाँच वर्षअघि उनले कालीमाटीको एक अस्पतालमा शल्यक्रिया गरेर पाठेघर र स्तन हटाएका थिए। यो शल्यक्रिया गर्न दुई लाख ७० हजार खर्च गरेको उनी बताउँछन्। शल्यक्रियाअघि हार्मोन थेरापी गर्नुपर्छ। त्यसबेला शरीरमा धेरै परिवर्तन आउँछ। कतिपय अवस्थामा सहनै गाह्रो हुने गरी पेट दुख्ने, शरीर कमजोर हुने समस्या देखा पर्छन्।
'यस्तो बेला चिकित्सकको धेरै सरसल्लाह र सुझाव चाहिन्छ। तर नेपालमा हार्मोनबारे पढेका डाक्टर एकदमै कम छन्,' उनले भने, 'यसले गर्दा हामीलाई स्वास्थ्य सेवा पाउन निकै समस्या भइरहेको छ।'
उनका अनुसार हार्मोन थेरापी गर्दा देखिने समस्यामध्ये एउटा छिनछिनमा पिसाब लाग्ने हो। समयमै शौचालय जान नपाए अर्को समस्या आउँछ।
उनले आफूजस्तै महिलाका रूपमा जन्मेर पुरुष भएका साथीको घटना सुनाए, 'मेरा साथी पनि हार्मोन लिइरहेका थिए। एकपटक इटहरीदेखि काठमाडौं आउनेक्रममा यसले घन्टौं पिसाब रोक्नुपर्यो। सार्वजनिक शौचालय महिला वा पुरुषका लागि मात्रै हुन्छ। त्यसैले हामीजस्ता व्यक्ति कुनै शौचालय जान सक्दैनौं।'
महिलाका रूपमा जन्मेर पुरुष पहिचान बनाएका तर पाठेघर नहटाएकालाई महिनावारी बेला पनि निकै सास्ती हुने सुदीप बताउँछन्।
'पाठेघर नफाल्दासम्म महिनावारी बेला बाहिरफेर हुँदा प्याड फेर्नुपर्थ्यो। कहाँ गएर कसरी फेर्ने भनेर सधैं तनाव हुने,' उनले भने, 'केटाको हुलियामा हुँदा कसरी महिला वा पुरुषको शौचालय जाने?'
शल्यक्रियाअघि पुरुष हुलियामै अस्पताल जाँदा उनलाई निकै समस्या हुन्थ्यो। डाक्टरले सहजै उपचारका लागि लुगा खोल्न भन्थे। तर शरीर महिलाको भएकाले उनलाई हिचकिचाहट हुन्थ्यो।
'म लुगा खोल्नै सक्दिनँ थिएँ तर डाक्टरले कुरा नबुझिदिने। उल्टै किन लुगा नखोलेको भनेर अन्तिम लाइनमा लगेर राखिदिन्थे,' सुदीपले भने।
यसले गर्दा आफ्ना समुदायका धेरै साथीहरूले रोगहरू पालेर बस्नुपरेको सुदीप बताउँछन्।
उनले अर्को अनुभव सुनाए।
उनी पेट दुखेर अस्पताल गएका थिए। महिनावारी सम्बन्धी समस्या भएकाले गाइनोकोलोजी विभागमा जँचाउने भने। तर काउन्टरमै उनीमाथि पहिचानको प्रश्न तेर्सियो। पुरुष हुलियाका सुदीपलाई 'केटा पनि कसरी महिनावारी हुन्छ?' भनेर सोधियो।
'जहिल्यै यस्ता प्रश्नको सामना गरेर आफ्नो पहिचान व्याख्या गर्नुपर्छ,' उनले भने, 'चिकित्सकहरूलाई समेत बुझाउन खोज्दा पनि ध्यान दिँदैनन्। बुझ्दैनन्।'
बिरामी भएको अवस्थामा राम्रो उपचार र डाक्टरको सल्लाह खोजिरहेका बेला पहिचानमै अड्केर अनावश्यक प्रश्न सोधिदिँदा मानसिक तनाव झन् बढ्ने उनको भनाइ छ।
'यस्तो अनुभवका कारण हस्पिटल जान पनि मन लाग्दैन,' सुदीपले भने, 'त्यसैले म अहिले कलेज, हस्पिटलहरूमा सचेतनामूलक कार्यक्रम गर्न थालेको छु।'
उनले निलहिरा समाजको संयोजकत्वमा उपचार क्रममा दुर्व्यवहार गरेका अस्पतालहरूमा सचेतनामूलक कार्यक्रमहरू गरिरहेका छन्। पछिल्लो समय केही अस्पतालमा व्यवहार राम्रो हुन थालेको उनको अनुभव छ।
उपचारकै समस्या भोग्नेमध्ये अर्की हुन् दाङकी सुजता चौधरी।
जन्मले पुरुष उनले आफ्नो पहिचान महिलाका रूपमा रोजेकी छन्। सुजताले आफूलाई निकै ढिलो पहिचान गरेकी थिइन्। उनी मानसिक रूपमा महिला थिइन् तर शारीरिक बनावट र हुलिया पुरुषकै लिएर धेरै वर्ष बिताइन्।
पछि भने विस्तारै उनले आफूलाई परिवर्तन गर्दै लगिन्।
'भर्खर भर्खर परिवर्तन हुने बेलामा म आधा पुरुष, आधा महिलाजस्तो देखिन्थेँ,' उनले भनिन्, 'यही क्रममा अस्पताल जाँदा नराम्रो अनुभव भयो।'
उनका अनुसार उनी दाङकै एक अस्पतालमा उपचारका लागि पुगेकी थिइन्। हातमा खटिराजस्ता घाउ आएको थियो। तर अस्पताल पुग्नासाथ त्यहाँ उनलाई हेरेर मान्छेहरू खासखुस गर्न थाले। उनको मन अमिलो भयो। रोगभन्दा बढी कुराले पिरोल्यो। अनि उनी उपचारै नगराई फर्किन्। त्यसपछि उनी कहिल्यै त्यो अस्पताल फर्केर गएकी छैनन्।
सुजताले आफूजस्तै साथीको पनि तीतो भोगाइ सुनाइन्, 'मेरो साथीलाई क्षयरोग लागेको थियो। औषधि सकिएकाले हस्पिटलमा लिन जाँदा शारीरिक बनावट देखेर नर्सले उनलाई दुर्व्यवहार गरिन् र औषधि नदिई फर्काइन्।'
यस्ता दुर्व्यवहार सार्वजनिक यातायात, क्याम्पसमा समेत भोग्नुपरेको उनी बताउँछिन्, 'सार्वजनिक यातायातमा सिट छैन भनेर चढ्न दिन्थेनन्।'
पहिचानकै कारण सुजताले आफ्नो पढाइ पनि बिट मार्नुपर्यो। प्लस–टुसम्म पुरुष भएर पढेकी उनी स्नातक आफ्नो वास्तविक पहिचान, महिला भएर पढ्न चाहन्थिन्।
अहिले क्रुज एड्स नेपाल संस्थामा आवद्ध सुजताले भनिन्, 'पढ्ने रहर हुँदाहुँदै पाइएन। काठमाडौंमा समेत कुनै कलेजले हाम्रो पहिचान स्वीकार्न सकेनन्।'
लैंगिकता र बदलिएको पहिचान सर्वस्वीकार्य र सामान्य हुन नसक्नुमा समाजको संरचना नै गलत रहेको क्रुज एड्स नेपालकी कर्मचारी समता बम बताउँछिन्। हाम्रो शिक्षा प्रणाली पनि लैंगिकताबारे खुल्न र बदलिँदो परिवेशअनुसार अद्यावधिक हुन सकेको छैन। सानो कक्षादेखि नै विभिन्न समुदायका बारेमा सकारात्मक र विस्तृत जानकारी दिने प्रणाली नभएकाले समस्या बढिरहेको उनी बताउँछिन्।
'कक्षा एकदेखि नै हाम्रो समुदायका बारेमा जानकारी दिए पो उनीहरूले बुझ्दै जान्छन्,' आफूलाई ट्रान्सवुमन भनेर चिनाउने समता भन्छिन्, 'तर हामीकहाँ न पाठ्यक्रमले हाम्रो लैंगिकतालाई समेटेको छ न पढाउन शिक्षकलाई नै हाम्रो समुदायको बारेमा थाहा छ। यस्तोमा समाजले त झन् कसरी चिन्ला। त्यसैले अन्य समुदायजस्तै हाम्रो पहिचान पनि गराइनुपर्छ। सामाजिक, आर्थिक, राजनैतिक, स्वास्थ्य, सहभागिता आदिका बारेमा पनि हाम्रो अधिकार बराबर हुनुपर्ने भनेर राज्यले स्पस्ट गरिदिनुपर्छ।'
कसैले कसैलाई लैंगिकताका आधारमा विभेद गर्न हुँदैन। यो कुरा संविधानमा पनि उल्लेख छ। अधिवक्ता इन्दु तुलाधरका अनुसार यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि स्वास्थ्य ऐनमा कुनै विशेष व्यवस्था छैन। तर कुनै पनि स्वास्थ्यकर्मीले पहिचानका आधारमा उपचार नगरे फौजदारी मुद्दा चलाउन सकिने तुलाधरले जानकारी दिइन्।
'उपचारमा यदि विभेद हुन्छ भनेर मुद्दा दायर गर्न सकिन्छ,' उनले भनिन्। तर हालसम्म यस्ता किसिमका कुनै उजुरी नआएको पनि तुलाधर बताउँछिन्।