कोरोना महामारीको लकडाउनबीच यही चैत २० गते 'कालो बादलमा चाँदीको घेरा' बनेर एउटा खबर उड्दै आयो।
खबर थियो, अमेरिकी पत्रिका फोर्ब्सले सार्वजनिक गरेको एसियाका तीन सय प्रभावशाली युवाहरूको सूची। तीस वर्षभन्दा कम उमेरका युवाहरूको उक्त सूचीमा पाँच जना नेपाली पनि थिए।
जेसलिना र शुभांगी राणा तिनैमध्ये हुन्। उनीहरूलाई नेपालमा 'प्याड-वुमन' पनि भनिन्छ।
उनीहरूको यो यात्रा दुई वर्षअघिबाट सुरू भएको हो। त्यति बेला जेसलिना भारतबाट स्नातक सकेर फर्केकी थिइन्। सानैदेखि भारतमा पढेकीले उनलाई नेपाल फर्किने हुटहुटी थियो।
दिल्लीको ‘नेसनल ल युनिभर्सिटी’ बाट कानुनमा स्नातक जेसलिना मानवअधिकार र महिला सशक्तीकरणमा नयाँ पहल गर्न खोजिरहेकी थिइन्।
त्यसै वर्ष भारतको ‘नेसनल इन्स्टिच्यूट अफ इन्जिनियरिङ’ बाट स्नातक गरेर आएकी शुभांगी राणाको रूचि जलस्रोत र सरसफाइमा थियो।
सुरूका दुई वर्ष न उनीहरूको भेट भयो, न उनीहरूलाई आफ्नो दिशा प्रस्ट भयो।
यसै अलमलिएर बसेका बेला एक पारिवारिक कार्यक्रममा भेटिए, जेसलिना र शुभांगी।
परिचय भयो, निकटता बढ्यो, मनका कुरा साटिए।
दुवैले आ-आफ्नो रूचि एकाकार हुने गरी नयाँ काम गर्ने निधो गरे- महिनावारी स्वास्थ्य र सरसफाइ।
‘मेरो रूचि महिला सशक्तीकरण थियो, शुभांगीको सरसफाइ। हामीले दुवैको रूचिसँग मिल्ने गरी महिनावारीमा काम गर्ने निर्णय गर्यौं। तर ठ्याक्कै कस्तो काम गर्ने थाहा थिएन,’ फोर्ब्स सूची सार्वजनिक भएको केही दिनपछि जेसलिनाले सेतोपाटीसँग भनिन्।
अध्ययन गर्दै जाँदा उनीहरूलाई थाहा भयो, नेपालका अधिकांश ठाँउमा स्यानिटरी प्याडको भेन्डिङ मेसिन छैन। भारतमा कलेजदेखि रेल्वे स्टेसनसम्म प्रचलित यस्तो मेसिन काठमाडौंजस्ता ठूला सहरमा समेत दुर्लभ देखेपछि उनीहरूको बाटो प्रस्ट भयो।
जेसलिना र शुभांगीले सन् २०१८ मा ‘प्याड-टू-गो’ नामक सामाजिक उद्यम सञ्चालन गरे। व्यवसायबाट आएको नाफा फेरि सामाजिक काममै लगानी गर्नुलाई सामाजिक उद्यम भनिन्छ।
यसअन्तर्गत उनीहरू प्याड भेन्डिङ मेसिन आयात गरेर बिक्री गर्छन्। ह्विस्पर र सेफ्टी ब्रान्डका कम्पनीसँगको सहकार्यमा प्याड खरिद गर्छन्। यसरी गुणस्तरीय प्याड बजार भाउभन्दा सस्तोमा उपलब्ध गराइरहेको जेसलिनाको भनाइ छ।
छ लाख रूपैयाँ लगानीमा सुरू भएको व्यवसाय राम्रोसँग चल्यो। तर त्यतिले उनीहरूको चित्त बुझेन।
‘भेन्डिङ मेसिन ल्याएर सस्तोमा प्याड उपलब्ध गराएर मात्र सामाजिक समस्या कम हुनेवाला थिएन,’ शुभांगी भन्छिन्, ‘महिनावारीसँग जोडिएका कुरीति यथावत् थिए। समस्याको जडसम्म पुग्नुपर्छ भनेर हामीले दुर्गम क्षेत्रका स्कुलमा प्रजनन् स्वास्थ्यबारे जानकारीमूलक कार्यक्रम गर्न थाल्यौं।’
उनीहरूले नेपालभरि ११० वटा भेन्डिङ मेसिन जडान गरेका छन्। व्यापारबाट आउने नाफाको १० प्रतिशत सामाजिक काममा खर्च गर्छन्।
‘प्याड-टू-गो’ को यही यात्राले जेसलिना र शुभांगीलाई फोर्ब्सको प्रभावशाली युवा सूचीमा पारेको हो।
यस्तो सूचीबारे यी दुई जना पहिले जानकार थिएनन्। भारतमा रहेकी एक शुभचिन्तकले उनीहरूको काम देखेर आवेदन दिन सुझाए। त्यो बेला उनीहरू बाजुरामा शौचालय बनाउने तयारीमा थिए। ती शुभचिन्तकले उनीहरूको नाम सिफारिस गरिदिइन्।
‘तीन महिनाअघि फाइनल राउन्डमा छानिएको जानकारी पाएका थियौं, तर अन्तिम सूचीमा परेको कुरा फोर्ब्सले अनलाइनमा सार्वजनिक गरेपछि नै थाहा पाएका हौं,’ जेसलिना भन्छिन्।
‘लकडाउन भएर घरमा थुनिएको बेला पो खबर आयो- हामी त फोर्ब्स सूचीमा परेछौं। त्यसपछि सबैले फोनमै बधाइ दिए। हामीले एकअर्कालाई भेटेर खुसी साट्न पनि पाएका छैनौं।’
उनीहरूको बाजुरामा शौचालय बनाउने काम कोरोना महामारीले रोकिएको छ। महिनावारी स्वास्थ्य र सरसफाइ निम्ति शौचालय अपरिहार्य भएको बुझेपछि अचेल आफ्नो १० प्रतिशत नाफा शौचालय बनाउन छुट्टयाउन थालेका छन्।
‘व्यवस्थित शौचालय नभएसम्म बालिकाहरू महिनावारी बेला स्कुल जान अप्ठ्यारो मान्छन्,’ जेसलिना भन्छिन्, ‘थोत्रो कपडा र भित्तामा टाँसेको पुरानो पोस्टरलाई प्याड बनाउँछन्। यिनै समस्याले कयौं बालिकाले स्कुल जान छाडिसके।’
उनीहरू आफ्नो जनचेतनामूलक कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रका स्कुलमा गएर महिनावारीका कुरा गर्छन्। यस्तो बेला विद्यार्थीहरू भन्दा त्यहाँका कतिपय शिक्षक समस्या बनेको अनुभव उनीहरूले सुनाए।
‘धादिङको एउटा स्कुलमा महिनावारी शिक्षा दिइरहँदा एक जना शिक्षक हाँसिरहनु भएको थियो। यसले विद्यार्थीहरू कुरा सुन्न अप्ठ्यारो मानिरहेका थिए। कतै त शिक्षकहरू यस्तो कार्यक्रममा आउन लजाएर शिक्षिकालाई पठाउनुहुन्छ,’ उनीहरू भन्छन्, ‘महिनावारी भनेको महिलाले मात्र बुझ्नुपर्ने कुरा होइन। पुरुष पनि उत्तिकै जागरुक हुन जरुरी छ।’
‘प्याड-टू-गो’ मा काम गरिरहे पनि जेसलिना र शुभांगीले आफ्नो पेसा छाडेका छैनन्। जेसलिना ‘एम्नेस्टी इन्टरनेसनल’ मा मानवअधिकार अधिकृत छिन् भने शुभांगी सानिमा हाइड्रोपावरमा काम गर्छिन्।
व्यवसायको प्राविधिक ज्ञान नभए पनि यी दुई सह–सञ्चालक उद्यमी र सामाजिक कार्यकर्ता बन्न सफल छन्। समाजले आफ्नो कामलाई सकारात्मक रूपमा लिन नसकेको उनीहरूको भनाइ छ।
'दुई जना युवतीले महिनावारीबारे कुरा गर्दा मानिस अप्ठ्यारो मान्छन्। कति त नकारात्मक रूपमा पनि लिन्छन्,’ जेसलिना भन्छिन्, ‘कतिले भेन्डिङ मेसिन र प्याड उपलब्ध गराउने कामलाई सामाजिक कार्य मान्दैनन्।’
उनले थपिन्, ‘युवाहरू नयाँ काम गर्ने सोचमा छन्, तर पुरानो सोच र नैतिकताको सीमाले सीमित दायरमा खुम्चिन र विदेशिन बाध्य छन्।’
यो पनि पढ्नुस्: