आइतबार नेपाल लकडाउनको १३ औं दिन। सबैका आ-आफ्नै समस्या छन्। स्वयम्भूका निशान्त प्रधानलाई भने सबभन्दा चिन्ता ज्यानको छ।
बडी बिल्डर (शारीरिक सुगठन) खेलाडी निशान्त यी दिनमा जिम जान पाएका छैनन्। शरीरका अंगहरू असन्तुलित हुँदै जाने हुन् कि, स्फूर्तिमा कमी आउने हो कि भन्ने चिन्ता थपिएको छ।
आगामी सेप्टेम्बरमा हुने प्रतियोगितामा आफूलाई तयार गर्न सकिन्छ कि सकिँदैन, दुविधा बढेको छ।
पहिलो, आफूले पर्याप्त अभ्यास गर्न नपाउनु। दोश्रो लकडाउनले पार्ने सम्भावित प्रभाव।
जिम जान नपाए पनि यसबीच उनले आफूलाई चुस्त राख्न घरै बसेर सक्दो प्रयास भने गरिरहेका छन्।
पानीको जार, ग्यास सिलिन्डर, चामलका बोरा लगायतका भारी घरेलु सामग्री नै निशान्तका सहयोगी बनेका छ, जिमका उपकरणहरू भनौं न।
'अघिल्लो साता घरमा ग्यास फेर्नु परेको थियो, त्यही बेला ग्यासबाट पनि वर्कआउट गर्न सकिन्छ भन्ने उपाय फुर्यो,' उनले सेतोपाटीसँग भने, 'अनि ग्यासलाई नै डन्डीको दुईतिर बाँधेर डमबेल बनाएँ।'
शारीरिक सुगठन खेलाडी निशान्त प्रधान ग्यास सिलिन्डर बोकेर व्यायाम गर्दै। तस्बिर सौजन्यः नरेन्द्र श्रेष्ठ/इपिएदुई साता लामो समय खाली बस्दा शरीरको बनावट बिग्रिने भएपछि निशान्तले घरमै सामान्य अभ्यास गर्न थालेका थिए। केही दिन पुस-अप, पुल-अपले काम गर्यो। तर शरीरलाई पुरानै अवस्थामा राखिरहन त्यतिले मात्र कहाँ पुग्थ्यो र!
त्यसपछि उनले उपाय खोजी गर्न थाले। खाने मुखलाई जुँगाले छेक्दैन भन्ने उखान यहाँ काम लाग्यो। उनले घरमै भएका सरसामग्री नै जिमका औजार बनाए। घर नै जिमखाना।
'घरमा जिमका उपकरण नभए पनि उपलब्ध हुने सामान्य चिजलाई व्यायाममा प्रयोग गर्न सकिन्छ,' उनी अरूलाई पनि सल्लाह दिन्छन्।
'एक-दुई दिनमा ज्यान बनाउन सकिँदैन। तर बिगार्न यही दुई-चार दिन नै पर्याप्त हुन्छ,' शारीरिक सुगठनबारे उनी भन्छन्, 'सामान छैन भनेर बस्नु भन्दा जे छ त्यसैलाई प्रयोगमा ल्याउन सकिन्छ।'
निशान्त चार वर्षदेखि निरन्तर यस क्षेत्रमा छन्। देशव्यापी प्रतियोगिताका विजेता समेत हुन्। केही दिनको विश्रामले शरीरलाई अल्छी बनाउने उनको अनुभव छ।
'पहिले ५० किलो उचाल्न सकिन्थ्यो भने एक साता आराम गर्दा फेरि ३० किलोबाट सुरू गर्नुपर्ने हुन्छ। केही महिना पछाडि पुग्नुपर्छ, सन्तुलन बिग्रन्छ,' उनले भने, 'घरमा उपलब्ध सामान प्रयोग गर्दा शरीरलाई सन्तुलनमा राख्न सहयोग पुग्छ।'
बानेश्वरका ओजश जोशीलाई पनि लकडाउनले घरैमा लक गरिदिएको छ। यसबीच एथ्लेट ओजशका जिम सामग्री पनि चामलका बोरा र ग्यास सिलिन्डर बनेका छन्।
एथ्लेट ओजश जोशी चामलको बोरा बोकेर व्यायाम गर्दै। तस्बिर सौजन्यः नरेन्द्र श्रेष्ठ/इपिए'मजस्ता साथीहरूले पनि जिम जान पाइएन भनेर चिन्ता लिनुपर्दैन,' ओजश भन्छन्, 'जसरी पनि शक्ति खपत गर्ने हो। घरैमा पाइने सामानलाई जिम टुल्सका रूपमा लिन सकिन्छ।'
ओजस यस क्षेत्रमा लागेको तीन वर्ष भयो। यसअघि परिवारमा उनी मात्रै यस किसिमको व्यायाममा संलग्न थिए। लकडाउनको यो समय घर परिवारलाई पनि व्यायाम सिकाउने अवसर बनेको उनी बताउँछन्।
भन्छन्, 'सामान्य व्यायाम सबैलाई आवश्यक छ। यति बेला परिवारलाई पनि सिकाउने मौका मिलेको छ। हामी सबैजना फुर्सदमै छौं।'
आफू र परिवार मात्र नभई सबैलाई व्यायाम गर्ने र सिक्ने मौका मिलेको उनी बताउँछन्। पानीको जार, चामलको बोरा, गमला आदिलाई व्यायाम गर्ने साधन बनाउन सकिने उनको बुझाइ छ।
'बडी बिल्डिङ सिक्न चाहनेका लागि पनि यो निकै राम्रो अवसर हो। केही नभए बोरा वा कार्टुनमा किताब राखेर पनि काम चलाउन सकिन्छ। बोरामा कपडा राखेर पन्चिङ ब्याग बनाउन सकिन्छ,' ओजश भन्छन्, 'समस्या छ भने समाधान पनि हुने रहेछ। तर खोज्ने प्रयास चाहिँ गर्नुपर्छ।'
एथ्लेट ओजश जोशी ग्यास सिलिन्डर बोकेर व्यायाम गर्दै। तस्बिर सौजन्यः नरेन्द्र श्रेष्ठ/इपिए