मुम्बईको झोपडपट्टीमा बस्ने मुराद अहमदको एउटै सपना छ— उनी र्यापर बन्न चाहन्छन्। घरको गर्जो टार्न गाडी हाँक्ने उनी फुर्सत पायो कि गाडीभित्रै कविता लेख्छन् र चर्को–चर्को स्वरमा र्याप गाउँछन्।
यो बलिउडको चर्चित फिल्म ‘गल्ली ब्वाई’ को कथा हो, जसमा मुरादको भूमिका रणवीर सिंहले गरेका छन्।
जोया अख्तर निर्देशित ‘गल्ली ब्वाई’ ले सडकबाट उठेर स्टार भएका र्यापरको कथा भन्छ, जुन नेपालकै कतिपय र्यापरको जीवनसँग मिल्दोजुल्दो छ।
त्यस्तै एक किशोरीलाई मैले वसन्तपुरमा भेटेँ, जो सामाजिक विषयवस्तुमा कविता लेख्छिन् र र्याप गाउँछिन्।
तपाईंहरू साँझ वसन्तपुर कत्तिको घुम्नुभएको छ?
ममः खान वा चिया पिउँदै गफिन? वा, झोछेँदेखि दरबार स्क्वायर, इन्द्रचोक हुँदै न्यूरोड फन्को मार्न?
फुक्काफाल भएर घुम्नुभयो भने साँझको वसन्तपुर यसै स्वादिलो!
वसन्तपुरले बेला-मौका ‘सरप्राइज’ पनि दिन्छ। त्यो ‘सरप्राइज’ कहिले जात्राका रूपमा आउँछ, कहिले विभिन्न थरीका नेवार परिकारका रूपमा।
गएको सोमबार यस्तै एउटा ‘सरप्राइज’ सँग मेरो जम्काभेट भयो।
म राति साढे ७ बजेतिर वसन्तपुर डबली पुगेको थिएँ।
एक युवा स्पिकरमा अंग्रेजी धून घन्काउँदै त्यसकै तालमा र्याप गाउँदै थिए। स्पिकरमाथि नेपाली झन्डा थियो। भुइँमा केही मैनबत्ती बालिएका थिए। भुइँमै राखिएका अंग्रेजी र्यापरका रंगीन तस्बिर मैनको उज्यालोमा चम्किला देखिन्थे।
यी सबैबीच सानो कालो ब्रिफकेस थियो। ब्रिफकेसमा एउटा मास्क। त्यो मास्क, सायद उनी गाउँदा–गाउँदै कुनै अवसरमा लगाउँदा हुन्। त्यस दिन भने लगाएनन्।
ब्रिफकेसमा सय, पचास, बीस र दसका नोट पनि थिए, जुन गीत मन पराउनेहरूले प्रोत्साहनस्वरुप दिएका थिए।
वसन्तपुर डबली र दरबार क्षेत्रमा केही समययता गितार बजाउँदै, गीत गाउँदै बस्ने ‘ट्रेन्ड’ सुरू भएको छ। कहिले राम्रै भीड लाग्छ, कहिले सुन्नेहरू कोही नहुँदा पनि एक्लै गाइरहेका, बजाइरहेका भेटिन्छन्।
यस्तै गतिविधिले त हो, वसन्तपुरको साँझ अचेल गुल्जार छ।
त्यस दिन सुरूमा खासै भीडभाड थिएन। एकाध मान्छे माइला दाइको चिया पसलमा चिया पिउँदै थिए। एकाध मान्छे कुमारी घरनिर उभिएर उनले गाएको हेर्दै थिए। आउने–जानेहरू एकछिन अडिन्थे, बाटो लागिहाल्थे।
उनकै वरिपरि झुम्मिनेको भीड भने पातलो थियो।
मैले ती र्यापरलाई चिनिनँ। एक जना युवा मोबाइलमा उनको भिडिओ खिच्दै थिए। मैले उनैसँग नाउँ सोधेँ।
‘जेनिश श्रेष्ठ – तपाईं नेपाली र्याप ब्याटलहरू कत्तिको हेर्नुहुन्छ?’
‘हेर्छु, तर उहाँलाई याद गरिनँ।’
उनले अगाडि भने, ‘युट्युबमा नेप–हप खोज्नुस्, त्यहीँ भेट्नुहुन्छ।’
मैले टाउको हल्लाएँ।
झन्डै आधा घन्टा उभिएर गीत सुन्दा खासै चहलपहल भएन। काष्ठमण्डप फन्को मारेर आएँ। यति बेलासम्म भीड बढेको देखियो। स्वर भने जेनिशको होइन, अर्कैको सुनियो।
म हतार–हतार नजिक गएँ।
एक जना बालक जेनिशले समातेको माइकमा र्याप गाउँदै रहेछन्। उनले ‘भी–टेन’ को ‘हामी यस्तै त हो नि ब्रो’ गाउँदै थिए। वरिपरि बाक्लिएका दर्शक ‘सही हो ... सही हो’ भन्दै हौस्याउँदै थिए।
राति झन्डै साढे ८ बज्न लाग्दा भीडको उत्साह बढेको थियो।
यत्तिकैमा रातो टोपी र रातै गलबन्दी लगाएकी एक किशोरीले अगाडि बढेर जेनिशसँग भनिन्, ‘म पनि गाउन पाउँछु?’
जेनिश तयार भए। भीडले चिच्याएर हौसला बढायो।
ती किशोरीले मोबाइल खोलिन्। आफूले लेखेका शब्दहरू मोबाइलमै ‘सेभ’ गरेकी रहिछन्।
स्पिकरमा ‘बिट’ सुरू भयो। किशोरीले माइक हातमा लिइन्। सुरूमा त लजाइन्। जेनिशले नै उनलाई प्रोत्साहित गरे।
त्यसपछि उनले मुखबाट मास्क हटाइन्। स्पिकरबाट ‘बिट’ बज्न जारी थियो।
किशोरीले भनिन्, ‘सबलाई नमस्ते ...’
वरिपरि झुम्मिएकाहरू ‘नमस्ते’ भन्दै कराए।
उनले ‘प्रोफेसनल’ झैं आफ्नो परिचयबाट सुरू गरिन्।
उनको नाउँ रहेछ, प्रतीक्षा खड्का। उमेर, १५ वर्ष। नेपाल आदर्श स्कुलमा पढ्ने उनी एसइई परीक्षाको तयारी गर्दै रहिछन्।
सानो परिचयपछि उनले भनिन्, ‘म मेरै र्याप गाउँछु है।’
भीडले चिच्याएर उत्साह देखायो।
प्रतीक्षाले आफ्नो मोबाइल हेर्दै लगातार दुईवटा र्याप सुनाइन्। दुवै सामाजिक विषयवस्तुमा आधारित थिए।
पहिलो र्याप निर्मला पन्त बलात्कार र हत्या घटनामा आधारित भएर लेखेकी थिइन्। दोस्रो र्याप ‘खाते’ भनेर हेपिने सडक बालबालिकाको दुःखमाथि थियो।
प्रतीक्षा ‘स्टार’ र्यापर होइनन्। स्पिकरबाट घन्किएको ‘बिट’ सँग उनको र्यापको तालमेल मिलेको थिएन। उनी ठाउँ–ठाउँ अड्किन्थिन्। लजाउँदै, हाँस्दै मुन्टो बटार्थिन्। बेला–बेला गीतका शब्द पढ्न मोबाइल स्क्रोल गर्दा उनको प्रवाह टुट्थ्यो। तै उनी डराइनन्। निराश भइनन्।
हरेक गल्तीपछि बेस्कन माइक अँठ्याउँथिन्, फेरि गाउन थाल्थिन्।
सुन्न झुम्मिएका झन्डै दुई दर्जन दर्शकले प्रतीक्षाको र्यापभन्दा उनको साहसको सम्मान गरे। उनले गल्ती गर्दा ‘सही हो... सही हो...’ भन्दै धाप मारे।
दुवै र्याप सकिएपछि प्रतीक्षाले लजाउँदै बिदा मागिन्। पर्रर तालीले उनको शानदार विदाइ गर्यो।
एक जना दर्शकले आफ्नो हातमा उनको अटोग्राफ मागे। प्रतीक्षाले लजाउँदै हस्ताक्षर गरिदिइन्।
यही मेसोमा मैले पनि आफ्नो परिचय दिँदै उनीसँग दुई मिनेट कुरा गरेँ।
प्रतीक्षाको घर दोलखा रहेछ। वसन्तपुरमै आमाबाबु र दाजुभाइसँग बस्दी रहिछन्। सानैदेखि कविता लेख्न सोखिन उनी पछिल्लो समय र्यापतिर आकर्षित भएको बताउँछिन्।
‘म पहिल्यैदेखि कविता लेख्थेँ। र्याप सुन्न थालेको त भर्खर भर्खरै हो,’ उनले भनिन्, ‘आफूले लेखेको कविता र्याप शैलीमा गाउन सकिन्छ र त्यसलाई सबैले मन पराउँछन् भनेर थाहा पाएपछि म सिक्दैछु।’
उनलाई यमबुद्ध, भी–टेन र लाहुरेका र्याप मन पर्छन्। यिनकै गीत सुनेर सिकिरहेको उनले बताइन्।
‘मलाई भविष्यमा र्यापर बन्ने मन छ,’ उनले भनिन्, ‘सामाजिक कविता लेख्छु र त्यसैको र्याप गाउँछु।’
चार–पाँच जना केटाहरू हाम्रो कुराकानी सुन्दै थिए। उनीहरूले प्रतीक्षालाई हौस्याउँदै भने, ‘सही हो ... सही हो।’
त्यो साँझ प्रतीक्षालाई भेटेर फर्कंदा मलाई बाटोभरि ‘गल्ली ब्वाई’ का मुराद अहमदको झझल्को आइरह्यो।
दुःखको कविता कोर्दै स्टारडमको सपना देखिरहेकी वसन्तपुरकी ‘गल्ली र्यापर’ प्रतीक्षा खड्काले गाएको ‘प्रोफेसनल’ र्यापको मलाई प्रतीक्षा रहनेछ।
सबै तस्बिर: सुदीप श्रेष्ठ/सेतोपाटी