टुँडिखेललाई खुला सार्वजनिक पार्कमा परिणत गर्ने अभियान सुरू भएका बेला हामीले सम्झनुपर्ने व्यक्ति हुन्, भरत शर्मा।
इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकका प्राध्यापक शर्माले आजभन्दा ३४ वर्षअघि नै रानीपोखरीदेखि रंगशालासम्मको भू–भाग समेटेर एकीकृत पार्क बनाउने गुरूयोजना तयार पारेका थिए।
त्यसयता टुँडिखेललाई खुला स्थलमा परिणत गर्न उनले लगातार आवाज उठाए। कुनै भाग अतिक्रमण भएको सुइँको पायो कि मुड्की बजार्न पुगिहाल्थे।
तीन दशकभन्दा बढी एक्लै संघर्ष गरेका शर्मालाई मैले दुई वर्षअघि सोधेको थिएँ, ‘अचेल टुँडिखेलको विषयमा खासै बोल्नुहुन्न नि?’
उनको जवाफ थियो, ‘कति बोल्नु? जति कराए पनि कसैले सुन्दैन। टुँडिखेल बचाउनुपर्यो भन्नु त जंगलमा रोएजस्तो भयो।’
खुला सार्वजनिक स्थलको महत्व राजनीतिक नेताहरूले बेवास्ता गरेको गुनासो गर्दै उनले भनेका थिए, ‘म थाकेको चाहिँ होइन है। अझै पनि टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन कोही अघि सर्छ भने त्यो अभियानमा अग्रपंक्तिमा उभिनेछु।’
उनको यही भनाइ सम्झेर टुँडिखेललाई अतिक्रमणमुक्त गर्ने नागरिक अभियान ‘मुक्त टुँडिखेल’ को पूर्वसन्ध्यामा बुधबार म हाँडीगाउँस्थित उनको घर पुगेँ।
पछिल्लो समय सार्वजनिक स्थलको पक्षमा सार्वजनिक रूपले लेख्न–बोल्न कम गरे पनि उनको मनभित्र हुटहुटी मरेको छैन। टुँडिखेल अतिक्रमणको कुरा उठ्नेबित्तिकै उनी घरि भावुक हुन्छन्, घरि आक्रोशित।
‘गलत काम जहिले पनि गलत हुन्छ। त्यसलाई पुरानो कुरा हो भनेर आँखा चिम्लनु अतिक्रमणकारीहरूलाई प्रश्रय दिनु हो,’ उनका दुई हात हावामा लहराए। स्वर उँचो हुँदै गयो।
‘यहाँ जनताले अलिकति बाटो मिचेर पर्खाल लगायो भने नगरपालिकाका कर्मचारी डोजर लिएर आइपुग्छन्। आफ्नै घरमा सानो बार्दली हाल्न पनि राज्यका अनेक नियम–कानुन मान्नुपर्छ। काठमाडौंले सास फेर्ने खुला सार्वजनिक स्थलमाथि राज्यकै अंगहरूबाट खुलेआम डकैती हुँदा चाहिँ गैरकानुनी भएन? के नियम–कानुन मान्नुपर्ने जनताले मात्र हो? राज्यका निकायहरूलाई नियमले बाँध्दैन? यस्तो अत्याचार भएको देखी–देखी पनि जनता किन चुपचाप बस्ने?’
सार्वजनिक स्थल संरक्षणका यी पुराना अभियन्तासँग प्रश्नै प्रश्न छन्, जसको उत्तर उनले अहिलेसम्म पाउन सकेका छैनन्।
के कात्तिक २३ गते शनिबारबाट सुरू हुने ‘मुक्त टुँडिखेल’ ले उनका प्रश्नको उत्तर खोज्ला?
शर्माले भनेजस्तै मध्यसहरको खुला स्थलमा हराभरा पार्क बनाउन सरकारलाई दबाब दिने र सर्वसाधारणलाई सहरी क्षेत्रमा पार्कको महत्व बुझाउने उद्देश्यले संरक्षणकर्मी अभियन्ताहरूले यो अभियान थालेका हुन्। पहिलो दिन बिहान ८ देखि १० बजेसम्म टुँडिखेल वरिपरि मानव साङ्लो बनाउने कार्यक्रम छ। त्यसपछि प्रत्येक शनिबार नागरिक सचेतना कार्यक्रम गरिनेछ।
कुनै शनिबार टुँडिखेलसँग सम्बन्धित पुराना तस्बिरहरू प्रदर्शन गरिनेछ भने कुनै साता चित्रकारहरूलाई निम्ता गरेर आफूले परिकल्पना गरेको खुला टुँडिखेलको पेन्टिङ गर्न आह्वान गरिनेछ।
कुनै शनिबार कविहरूलाई टुँडिखेलमाथि केन्द्रित रहेर कविता भन्न लगाइनेछ, कहिले रंगकर्मीहरू डाकेर सार्वजनिक जग्गा अतिक्रमणविरुद्ध सडक नाटक प्रदर्शन गर्न आग्रह गरिनेछ।
हामीले टुँडिखेललाई एकीकृत पार्क बनाउने कुरा गर्दा शर्माले ३४ वर्षअघि बनाएको गुरुयोजना आज पनि उत्तिकै सान्दर्भिक छ।
यो गुरुयोजना २०४२ सालको हो।
त्यति बेला राजा वीरेन्द्रको निर्देशनअनुसार टुँडिखेल लगायत काठमाडौं उपत्यकाका सार्वजनिक जग्गामा खुला पार्क बनाउन खोजिएको थियो।
तत्कालीन अञ्चलाधीश धर्मबहादुर थापाका अनुसार ‘सार्वजनिक जग्गाहरू खोजेर पार्क बनाउनू’ भन्ने राजाको निर्देशन थियो। अञ्चलाधीश कार्यालयले मालपोत विभागसँग समन्वय गरेर सार्वजनिक जग्गा खोजी गर्यो। काठमाडौंमा मात्र सात सय रोपनीभन्दा बढी फेला परेको थापा सम्झन्छन्।
यता अतिक्रमित जग्गा खोजी हुँदै थियो, उता टुँडिखेल डिजाइनको जिम्मा शर्मालाई दिइयो।
शर्मा त्यति बेला सहरी विकास विभागमा इञ्जिनियर थिए। विभागमै ३५ वर्ष काम गरेर २०५८ सालमा अवकाश पाए। अवकाश पाउँदा उप–महानिर्देशक थिए। हाल इञ्जिनियरिङ अध्ययन संस्थानमा ‘भिजिटिङ’ प्राध्यापक छन्।
सहरी योजनाकार शर्मासँग राजा वीरेन्द्रको चिनजान नागार्जुन दरबार बनाउने बेला भएको थियो। नारायणहिटी दरबारको केही अंश डिजाइनमा पनि उनी संलग्न भए। त्यसपछि पशुपति क्षेत्र विकासको योजनामा काम गरे।
राजा वीरेन्द्रले उनका यी तीनैवटा काम नजिकबाट देखेका थिए। खासगरी नागार्जुन र नारायणहिटी दरबार डिजाइन गर्दा वीरेन्द्र प्रभावित भएको शर्मा बताउँछन्।
राजाको निर्देशनअनुसार उनले टुँडिखेल पार्कको डिजाइन त गरे, तर त्यो योजना सार्वजनिक नहुँदै विवादित भयो।
उनले मुख्य गरी तीनवटा प्रस्ताव गरेका थिएः
एक, उत्तरमा रानीपोखरीदेखि दक्षिणमा रंगशालासम्म समेटेर एकीकृत पार्क बनाउने, जसका लागि सैनिक हेडक्वार्टर र सैनिक मञ्चदेखि रत्नपार्क र रंगशालाले ओगटेका क्षेत्र पार्कमा परिणत गर्ने।
दुई, त्यति बेला रानीपोखरी किनारमा रहेको अञ्चलाधीश कार्यालय लगायत त्यहाँका सबै संरचना भत्काउने। त्रिचन्द्र कलेजको नयाँ भवनसमेत भत्काएर त्यो भू–भाग पनि एकीकृत टुँडिखेलमा समेट्ने।
तीन, रत्नपार्क र रानीपोखरीबीचको बाटो पैदलयात्रुलाई मात्र खुला गर्ने र गाडीहरूलाई त्रिचन्द्र कलेज हुँदै घन्टाघर घुमाउने।
‘अरूमा खासै आपत्ति भएन, सैनिक हेडक्वार्टर नै हटाउने कुरा उठेपछि तत्कालीन अञ्चलाधीशले दरबारमा जाहेर गर्नुभयो,’ टुँडिखेल विस्तारबारे प्राध्यापक शर्माले भने।
जाहेरीपछि राजा वीरेन्द्रबाट छलफल निम्ति बोलावट आयो। शर्मा र अञ्चलाधीश थापा दुवै ‘दर्शनभेट’ मा गए।
‘टुँडिखेललाई छियाछिया पारेर राखेसम्म संरक्षण हुन सक्दैन सरकार,’ शर्माले दर्शनभेटमा भनेको सम्झे।
‘त्यसो भए तिमी रानीपोखरीदेखि रंगशालासम्म सबै ‘बुलडोज’ गर्न चाहन्छौ?’ राजा वीरेन्द्रले सोधे।
‘त्यस्तो चाहने म को हुँ र सरकार,’ शर्माले राजा वीरेन्द्रसँगको वार्ता सम्झे, ‘यो त मौसूफ सरकारले चाहिबक्स्यो भने हुने कुरा हो।’
गुरुयोजनाले पूरै टुँडिखेल खाली गर्ने भने पनि सैनिक हेडक्वार्टर यथास्थानमा राखेर बाँकी भागलाई पार्क बनाउने विकल्पबारे पनि कुरा भएको थियो। त्यति बेला सैनिक हेडक्वार्टरले अहिलेजस्तो बृहत क्षेत्र ढाकेको थिएन। भद्रकाली मन्दिरछेउ एउटा भवन थियो। त्यसलाई यथास्थितिमा राख्दा टुँडिखेल विस्तारमा फरक पर्थेन।
तर यो प्रस्ताव पनि स्वीकृत भएन।
राजनीतिक रूपले संवेदनशील त्यो समय सेनालाई सहरभित्र राख्नुमा दरबारकै स्वार्थ थियो। खुला पार्क बनाउने नाममा सेना सारेर दरबारले जोखिम मोल्न नचाहेको हुनसक्छ।
यति मात्र होइन, तत्कालीन मुमा बडामहारानी रत्न राज्यलक्ष्मी खुसी पार्न बनाइएको रत्नपार्कले टुँडिखेलकै जग्गा मिचेको थियो। गुरुयोजना कार्यान्वयन गर्दा रत्नपार्क पनि बृहत टुँडिखेलमा गाभिन्थ्यो। रानीका नामको ‘टाँचा’ हट्थ्यो। दरबार यसमा पनि सकारात्मक नभएको हुनसक्छ।
राजा वीरेन्द्र आफैंले परिकल्पना गरेको टुँडिखेल विस्तार योजनाबाट पछि हटे पनि उनले पत्याएर डिजाइनको जिम्मा दिएका शर्मा हटेनन्।
गुरुयोजना थन्कियो, शर्माको परिकल्पना थन्किएन।
उनले टुँडिखेललाई खुला स्थलमा परिणत गर्नुपर्ने आवाज उठाइरहे। चौतर्फी अतिक्रमणबाट जोगाउन लेखेर, बोलेर, कराएर पटक–पटक आक्रोश पोखे।
२०५१ सालको अर्को घटना उनी सम्झन्छन्।
एमाले सरकारमा थियो। केपी ओली गृहमन्त्री थिए। जनआन्दोलन क्रममा रत्नपार्कको अञ्चलाधीश कार्यालय आगलागी भएपछि ठाउँ खाली थियो। शर्मा लगायत सार्वजनिक स्थलका अभियन्ता त्यो क्षेत्र पार्क बनाउन वकालत गर्दै थिए।
त्यही ठाउँमा उपत्यका प्रहरी कार्यालय बन्ने भयो। अभियन्ताहरूले विरोध गरे। कसैको सुनिएन। ओलीले नै भवन शिलान्यास गरे।
शिलान्यासपछि वातावरण पत्रकार समूहका सदस्यसहितको टोली ओली भेट्न गयो। शर्मा सँगै थिए।
‘त्यहाँ अञ्चलाधीश कार्यालय राख्नु नै गलत थियो। आगो लाग्यो, अब खुला सार्वजनिक स्थल बनाउनुपर्छ। रानीपोखरीकै क्षेत्रफल बढाउन सकिन्छ,’ ओलीसँग भेटमा आफ्नो भनाइ सम्झँदै शर्माले सुनाए, ‘कहीँ नपाएर रानीपोखरीकै किनारमा प्रहरी कार्यालय किन खोल्नुपर्यो?’
‘टुँडिखेल अतिक्रमण गरी प्रहरी कार्यालय बनाउनु सम्पदाको हितमा छैन। देशको हितमा पनि छैन,’ शर्माले आफ्नो भनाइ सम्झे।
ओलीले ज्ञापनपत्र बुझे, कुरा सुनेनन्। रत्नपार्कमा प्रहरी कार्यालय भवन बनेरै छाड्यो।
प्रहरी कार्यालय बनाउँदा ओलीसँग बहस गरेका उनले पछि रत्नपार्कछेउ गणेशमान सिंह संग्रहालय र गणतन्त्र स्तम्भ बनाउने योजनाको पनि विरोध गरे।
‘गणेशमानको नाउँ बेचेर व्यापारिक कम्प्लेक्स बनाउने दाउ थियो,’ उनले भने, ‘मैले धेरै नेताहरूलाई भेटेर संग्रहालय बनाउने हो भने काठमाडौंमा जुनसुकै ठाउँमा बनाए हुन्छ, टुँडिखेलकै जग्गा किन मास्नुपर्यो भनेर झगडा गरेँ।’
उनी टुँडिखेल संरक्षण निम्ति जति बोल्दै थिए, अतिक्रमण उति बढ्दै गयो।
सन् १८५० दशकमा प्रकाशित ‘स्केचेज अफ नेपाल’ किताबअनुसार टुँडिखेल उत्तरमा रानीपोखरी र दक्षिणमा दशरथ रंगशाला भएको ठाउँसम्म फैलिएको थियो। लेखक हेनरी एम्ब्रोस ओल्डफिल्डले यसलाई ‘एसियाकै ठूलो परेड मैदान’ भनेका छन्, जुन आज विभिन्न निकायको अतिक्रमणमा परेको छ। उत्तरपट्टि रत्नपार्क, बसपार्क र सैनिक मञ्च तथा दक्षिणमा सैनिक हेडक्वार्टरले लगभग तीनचौथाइ हिस्सा ओगटेका छन्।
गुरुयोजनाले जुन सैनिक हेडक्वार्टर हटाउने सिफारिस गरेको थियो, टुँडिखेलको लगभग आधा हिस्सा त उसैले कर्लप्पै खायो।
सेनाले यहाँ खेल मैदान बनाएको छ। मनोरञ्जन निम्ति ‘आर्मी अफिसर्स क्लब’ खोलेको छ। त्यसैलाई भाडामा लगाएर कमाइ गर्छ। सयौंलाई भोज खुवाउन मिल्ने दुइटा पार्टी प्यालेस छन्। बिहे सिजनमा खाली हुँदैन। उच्च अधिकारीको ‘सोर्सफोर्स’ लगाएर पहिल्यै बुकिङ गर्नुपर्छ। आफ्नो पूर्वाधार क्षमताभन्दा बढी विद्यार्थी भर्ना गरेका स्कुलले अभिभावक दिवसको तामझाम यहीँ देखाउँछन्।
पछिल्लो समय चाइना टाउनअगाडि पुस्तकालय बनाइएको छ। सार्वजनिक जग्गाको यो पुस्तकालय सार्वजनिक प्रयोग निम्ति होइन।
टुँडिखेल मिच्नेमा सेना मात्र छैन।
रत्नपार्क र सैनिक मञ्चबीचको खुलामञ्च अब नामअनुसार खुला रहेन। केही वर्षअघिसम्म यहाँ राजनीतिक दलका आमसभा हुन्थे। कार्यक्रम नहुँदा सर्वसाधारण सुस्ताउन आइपुग्थे। पञ्चायतदेखि राजतन्त्रसम्मको विरोध देखेको यो चउर आफैं अतिक्रमणको शिकार छ।
महानगरले पुरानो बसपार्कको जग्गा ‘व्यापारिक टावर’ बनाउन ठेक्का दिएपछि खुलामञ्च पार्किङ स्थलमा परिणत भएको छ। यहाँ अचेल राजनीतिक नाराबाजी होइन, सार्वजनिक बसको कोलाहल सुनिन्छ। अस्थायी पार्किङ भनिए पनि ढलान गरेर स्थायी रूप दिन खोजिएको छ।
‘सेनाले वर्षौंदेखि मिचेर बस्दा कसैले केही नभनेपछि महानगर किन चुप लाग्थ्यो,’ शर्माले भने, ‘त्यो बेला रणनीतिक रूपले उपयुक्त ठाउँ छानेर सैनिक हेडक्वार्टर राखेको हुनसक्छ। अब हामीलाई मध्यसहरमा हेडक्वार्टर किन चाहियो? बीच सहरमा सैनिक परेड खेलाउनुभन्दा हाम्रा केटाकेटी खेल्ने पार्क बनाउनु राम्रो होइन र?’
‘भुइँचालो बेला दसौं हजार काठमाडौंबासीलाई आश्रय दिएको टुँडिखेलमाथि अतिक्रमण जारी रहे अर्को भवितव्यमा आश्रय खोज्न कहाँ जाने?’ शर्माको अर्को प्रश्न।
उनले न्यूयोर्क सेन्ट्रल पार्क र लन्डन हायड पार्कको उदाहरण दिँदै भने, ‘विकसित देशहरूमा सहरबीच ठूल्ठूला पार्क हुन्छन्, जसले घना आबादीलाई सास फेर्ने ठाउँ दिन्छ। संसार घुमे पनि हाम्रा नेताहरूले खुला पार्कको महत्त्व बुझेनन्।’
काठमाडौं निम्ति टुँडिखेल भनेको एउटा खुला स्थल मात्र होइन। यो यहाँको समाज, संस्कृति, जनजीवन र पर्यावरणसँग अभिन्न जोडिएको छ।
विगतमा उपत्यकाका पुराना बस्तीको बाहिरी घेरामा सबैतिर फराकिला चउर थिए। जस्तो– पाटनको लगनखेल र जावलाखेल, भक्तपुरको सैनिक स्कुल मैदान, कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय मैदान र काठमाडौंको टुँडिखेल।
यी सबै किराँतकालदेखिका चरनक्षेत्र हुन्, जुन समयक्रममा मिचिए। मिचिएका सबै चउर पुरानै स्वरुपमा फर्काउन सम्भव छैन। टुँडिखेललाई भने सरकारी स्तरबाट भएका अतिक्रमण हटाउने हो भने सार्वजनिक पार्कमा परिणत गर्न सकिन्छ।
‘यो जनतालाई सुविस्ता होस् भनेर राज्यले बनाइदिएको मैदान होइन। काठमाडौंका नेवार पुर्खाहरूमा सार्वजनिक उपयोग निम्ति जग्गा दान गर्ने चलन थियो। जनताले स्वैच्छाले सम्पत्ति दान गरेर यति ठूलो खुला स्थल बनाएका थिए। जनताको यो सम्पत्तिलाई पछिका शासकले आफ्नै ठाने र बिर्ताजस्तो बाँडे,’ शर्माले भने।
टुँडिखेल कथा र किम्बदन्तीले धनी छ। अरू ठाउँको किम्बदन्ती प्रायः देउतासँग जोडिएको हुन्छ, टुँडिखेलको राक्षससँग जोडिएको छ।
भद्रकाली मन्दिरनिर खरीको बोट छ। त्यो ‘गुरुमापा’ राक्षसको घर हो भन्ने स्थानीय कथन छ।
किम्बदन्तीअनुसार गुरुमापाले काठमाडौंका जनतालाई दुःख दिएछन्। भुराभुरी टपक्क टिपेर आहारा बनाउँदा रहेछन्। त्रसित जनताले उपाय झिके। गुरुमापालाई टुँडिखेलको खरीबोटमुनि बसोबासको चाँजो मिलाए। वर्षको एकचोटि सिंगो राँगोको मासु र दस पाथी चामलको भात खुवाउन थाले।
रैथाने बूढापाका अझै पनि टुँडिखेललाई ‘राक्षसको चउर’ मान्छन् र, ‘तिँख्यः’ भन्छन्। अहिले पनि काठमाडौंमा गुरुमापाको नाम लिएर केटाकेटी तर्साइन्छ। भात खान आनाकानी गरे ‘गुरुमापा वल’, अर्थात् ‘गुरुमापा आयो’ भन्दै डर देखाइन्छ। गुरुमापा खुसी पार्न फागू पूर्णिमाको दिन राँगो र भात खुवाउने चलन छँदैछ।
टुँडिखेलसँग टुँडिल देवीको किम्बदन्ती पनि जोडिएको छ।
कुनै समय यहाँ टुँडिल देवीको बासस्थान थियो रे। स्थानीयले ‘टुँडी ख्यः’ भन्न थाले। नाउँ अपभ्रंश हुँदै टुँडिखेल रहन गएको जनविश्वास छ। नेवारी भाषामा ‘ख्यः’ भनेको ‘चउर’ हो।
शासकका आँखा परेपछि देउता र राक्षसको बल पनि फिक्का हुँदो रहेछ। गुरुमापाको डर र टुँडिल देवीको प्रतापले पनि दुई हजार वर्ष पुरानो टुँडिखेल जोगाउन सकेन।
वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठका अनुसार टुँडिखेल भनेको काठमाडौंको पर्यावरण जोगाउने आधार हो, जहाँ खुला चउरले जमिनमा पानीको सतह कायम राख्छ।
‘खुला ठाउँमा बर्खाको पानी सिञ्चित हुन्छ। जति सिञ्चित भयो, जमिन उति ‘रिचार्ज’ हुन्छ। इनार र ढुंगेधारा रसाउँछन्,’ काठमाडौं संस्कृतिमा दख्खल राख्ने श्रेष्ठले भने, ‘चउरले सहरमा ‘एयरकन्डिसन’ को काम गर्छ। हावाले खेल्ने ठाउँ पाउँछ। पोखरी र हरियोपरियो चउरले नै त्यति बेला यहाँको मौसम अहिलेभन्दा चिसो भएको हुनसक्छ।’
पर्यावरण र जलवायुसँग जोडिएको यो चउर मासिएपछि नै काठमाडौंका ढुंगेधाराहरू सुक्न थालेको शर्मा बताउँछन्।
‘हाम्रा ढुंगेधाराहरू किन सुके? इन्द्र महाराजले पाइप काटेको त होइन नि!’ शर्माले भने, ‘ढुंगेधारामा पानी आउन जमिन रिचार्ज हुनुपर्छ। टुँडिखेलले त्यही रिचार्जको काम गर्थ्यो।’
‘टुँडिखेल मासियो, हाम्रा ढुंगेधारा र पोखरी पनि मासिए,’ उनले भने।
उनी टुँडिखेललाई ‘काठमाडौंको फोक्सो’ मान्छन्। धूलोधुवाँले ढाकेको काठमाडौंलाई शुद्ध हावामा सास फेर्न ठाउँ दिने हो भने टुँडिखेल दोहन बन्द गरेर पुरानै अवस्थामा फर्काउनुपर्ने उनको जोड छ।
काठमाडौंको बढ्दो जनघनत्व हेरेर खुला स्थलहरू थप्दै लग्नुपर्नेमा भएका पनि अतिक्रमण गर्दै यो खाल्डोलाई ‘धूलोधुवाँको चेम्बर’ बनाउन आँटेकोमा उनले आपत्ति जनाए। ‘सहरको फोक्सो शुद्ध नभएसम्म शरीरको फोक्सोले राम्ररी काम गर्न सक्दैन,’ भने, ‘वायुमण्डल नै फोहोर भएपछि हामीले मास्क लगाएर केही हुनेवाला छैन।’
पछिल्लो समय अमेरिका, युरोपदेखि दक्षिण एसियासम्म पार्क निर्माणको लहर छ। पार्क र हरियालीबिनाको सहर ‘पछौटे’ मानिन्छ। त्यहाँका मानिस ‘पछौटे’ मानिन्छन्। आजकाल पार्क भएको सहर धनी हो, पार्कबिनाको सहर गरिब।
अमेरिकाका कैयन सानाठूला सहरले दस मिनेट हिँडाइमै सहरबासीले पार्क भेट्टाउनुपर्छ भन्ने मान्यता अघि बढाएका छन्। सन् २०१७ अक्टोबरमा हजार जना अमेरिकी मेयरको सम्मेलनले ‘दस मिनेट हिँडाइमा पार्क’ भन्ने प्रस्ताव एकमतले पारित गर्यो। कैयन मेयरले यसका लागि काम सुरू गरिसकेका छन्।
सहरी बासिन्दाको मानसिक तथा शारीरिक स्वास्थ्यमा पार्क र हरियालीले पार्ने सकारात्मक प्रभावबारे पछिल्ला वर्ष धेरै अध्ययन, अनुसन्धान भएका छन्। अध्ययनहरूको निष्कर्ष छ— बसोबास स्थल वरिपरि १० प्रतिशत मात्र हरियाली बढायो भने मानिसको आयु पाँच वर्ष थपिने गरी स्वास्थ्य समस्या घट्छन्।
टुँडिखेल पनि काठमाडौंमा बढ्दो स्वास्थ्य समस्याको हल हुनसक्छ।
यसलाई पुरानै स्वरुपमा ब्युँताउने हो भने ३४ वर्षअघिको गुरुयोजना जस्ताको तस्तै कार्यान्वयन गर्न सकिने शर्माको भनाइ छ। ‘यसको निम्ति सरकारमा बस्नेहरूको इच्छाशक्ति भए पुग्छ,’ उनले भने।
टुँडिखेललाई कसरी विशाल पार्कमा परिणत गर्न सकिन्छ भन्नेबारे हामीले पटक–पटक लेख्दै आएका छौं। केही बुँदा ३४ वर्षअघिको गुरुयोजनासँग मिल्दाजुल्दा छन्।
पहिलो, रंगशालादेखि सहिदगेट हुँदै रत्नपार्क र रानीपोखरीसम्म हरितपार्क बनाउने। काठमाडौंको उज्ज्वल भविष्यलाई हेरेर यहाँबाट सैनिक हेडक्वार्टर हटाउन सरकार र स्वयं सेना तयार हुनुपर्छ।
दोस्रो, रानीपोखरीसँगै रहेको प्रहरी भवन हटाउने। त्रिचन्द्र कलेजको पर्खाल फोडेर यो ऐतिहासिक शैक्षिक संस्थालाई पार्ककै हिस्सा बनाउने। त्यसपछि दरबारमार्गमा सवारी निषेध गरेर पार्कलाई नारायणहिटी संग्रहालय भएको पहिलेको दरबारक्षेत्रसँग जोड्ने।
तेस्रो, टुँडिखेल वरिपरिको सवारी व्यवस्थापन निम्ति त्रिपुरेश्वर चोकदेखि रानीपोखरीको उत्तरपश्चिमी कुना कमलाक्षीसम्मको सडकमा सवारी निषेध गरेर पार्ककै अंग बनाउने। यहाँ सडकमुनि गाडी कुदाउने गरी ‘अन्डरपास’ राम्रो विकल्प हुन सक्छ। गाडीहरूलाई ‘अन्डरपास’ बाट लगेपछि माथिको सडकक्षेत्र पार्ककै हिस्सा हुन्छ, जहाँ मान्छे निर्वाध हिँडडुल गर्नेछन्।
चौथो, भद्रकाली मन्दिरदेखि नारायणहिटी संग्रहालय गेटसम्मको सडकलाई पनि ‘अन्डरपास’ मा लैजान सकिन्छ।
पाँचौं, भोटाहिटीबाट रत्नपार्क हुँदै बागबजार निस्कने र सुन्धाराबाट सहिदगेट हुँदै सिंहदरबार जोड्ने सडकमा त्यस्तै ‘अन्डरपास’ बनाउन सकिन्छ।
छैठौं, टुँडिखेल वरिपरि बाक्ला रूखबिरुवा रोप्ने। कहीँ केटाकेटी खेल्ने, कहीँ व्यायाम गर्ने, कहीँ जमघट त कहीँ लेखपढको ठाउँ बनाउने। साइकल लेन र पैदलमार्ग बनाएर गुड्ने र हिँड्ने दुवैथरीलाई सुविधा दिने।
वनस्पतिविद् श्रेष्ठले काठमाडौंको मौसमअनुसार केही वनस्पति सुझाएका छन् — काइँयोको बोट, मसला बोट, ज्याकरन्डा, खरीबोट, काब्रो, लहरेपिपल, वरपिपल आदि। खरीबोट र ज्याकरन्डा काठमाडौंमा निकै फस्टाउँछ। दरबारमार्गमा ज्याकरन्डा फुल्दा सडकै हराभरा भएको हामीले देखेका छौं।
यति ठूलो चउरलाई बाक्लो रूखबिरुवाले भरिएको पार्कमा परिणत गरेपछि काठमाडौंको पर्यावरण नै फेरिन्छ। मौसममा ढकमक्क फूलहरू फुल्छन्। थरीथरीका चराचुरुंगीले बास पाउँछ। गाडीको चाँचाँचुँचुँ सुनिने ठाउँमा चराको चिरबिर सुनिन थाल्छ। जमिनमा पानी ‘रिचार्ज’ हुन पाउँछ। हाम्रा इनार र ढुंगेधारा फेरि रसाउँछन्। प्रदूषणले गर्मी बढेको काठमाडौं शितल हुन्छ।
केही दशकयता काठमाडौं राष्ट्रिय विविधताको संगमस्थल बनेको छ। देशभरिका विभिन्न जातजातिका मान्छे यहाँ समाहित भएका छन्। टुँडिखेल पार्क र दुईतिरका पैदलमार्ग हिमालदेखि तराई, पूर्वदेखि पश्चिमसम्मको सांस्कृतिक विविधता देखाउने ठाउँ बन्नसक्छ।
यहाँ हरेक साँझ नेवार, राई, लिम्बू, गुरुङ, मगर, तामाङ, शेर्पा, थारू, धिमाल, सतार, राजवंशी र अनेक जातजातिका पोसाकको परेड, उनीहरूका पर्व र नाचहरूका झाँकी देखाउन सक्छौं।
यति गर्न सक्यौं भने, २०४२ सालमै शर्माले डिजाइन गरेको एकीकृत टुँडिखेलको गुरुयोजना साकार हुनेछ।