के काठमाडौंका नानीबाबुहरूको औसत उचाइ घट्दै छ?
हामीले यसबारे कुनै अध्ययन गरेका छैनौं, तर पोषणसम्बन्धी अन्तर्राष्ट्रिय जर्नल 'न्यूट्रिसन' मा प्रकाशित रिपोर्ट पत्याउने हो भने हाम्रा केटाकेटी पोषण नपुगेर होचा हुँदै गएका छन्।
काठमाडौं उपत्यकाभित्र १२ देखि २३ महिनाका ७ सय ४५ केटाकेटीमा गरिएको अध्ययनले यस्तो तथ्यांक देखाएको हो। दुई वर्षभन्दा कम उमेरका ती केटाकेटीले आफूलाई चाहिने कुल क्यालोरीमध्ये एकचौथाइ हिस्सा 'जंक फुड' बाट पाइरहेको अध्ययनको निष्कर्ष छ।
केटाकेटीलाई बिस्कुट, कुरकुरे, तयारी चाउचाउ र गुलियो मिसाइएका पेय बढी खुवाउँदा हुर्काइमै असर परेको अध्ययनकर्ताहरूले बताएका छन्।
नेपालजस्ता कम आय भएका मुलुकमा यस्ता खानेकुराले पारेको प्रभाव जाँच्न काठमाडौंमा यो अध्ययन गरिएको हो। यसका अनुसन्धाता विश्वभर फैलिएको स्वास्थ्य संगठन 'हेलन केलर इन्टरनेसनल' सँग आबद्ध छन्।
'जंक फुड' ले विश्वव्यापी रूपमा पारेको प्रभावबारे विगतमा पनि यस्ता थुप्रै अध्ययन भएका छन्। यसले केटाकेटी मात्र होइन, किशोर र वयस्कहरूको स्वास्थ्यमा समेत समस्या ल्याइरहेको अध्ययनहरूले देखाएका छन्।
यही क्रममा काठमाडौंमै गरिएको अध्ययनले यस्तो चेतावनीपूर्ण नतिजा निकालेपछि हामीले सोच्नैपर्ने भएको छ, बच्चाहरूलाई पोषिलो खुराक खुवाइरहेका छौं कि 'जंक फुड' मा भुलाइरहेका छौं?
जंक फुडविरूद्ध लामो समयदेखि वकालत गर्दै आएकी डा. अरूणा उप्रेती स्थानीय खानेकुरा छाडेर छिटोमिठो विदेशी खान्कीमा लाग्दा नयाँ पुस्ता दुर्बल हुँदै गएको बताउँछिन्।
'जंक फुडले हाम्रो खाने बानी फेरियो,' उनले भनिन्, 'केटाकेटीलाई घरमा खाजा खुवाउन होस् वा स्कुलमा टिफिन पठाउन, हामी जंक फुडमै निर्भर हुँदै गएका छौं। यो हाम्रो स्वास्थ्यका लागि राम्रो होइन।'
अब प्रश्न उठ्छ, के बजारमा किनेर खाइने सबै 'जंक फुड' हुन्? हामीले घरमा पकाउने सबै खाना स्वस्थ्यकर हुन्? कुन जंक हो, कुन होइन, कसरी छुट्टयाउने?
डा. उप्रेतीका अनुसार अंग्रेजी भाषाबाट आएको 'जंक' शब्दको अर्थ हुन्छ, काम नलाग्ने। अर्थात् पत्रु।
जंक फुडको अर्थ पनि यही हो, काम नलाग्ने खानेकुरा जसमा कुनै पोषण हुँदैन। केहीमा उच्च क्यालोरी भए पनि त्यसले शरीरलाई चाहिने प्रोटिन, खनिज, कार्बोहाइड्रेट, क्याल्सियम दिँदैन।
हाम्रो शरीर र दिमाग स्वस्थ राख्न भिटामिन र रेसादार पदार्थ (फाइबर) चाहिन्छ, जुन जंक फुडमा एकदमै कम हुन्छ वा नहुन पनि सक्छ।
'कुनै पनि खाद्यान्नको प्राकृतिक स्वरूपमै सबभन्दा बढी पौष्टिक तत्व हुन्छ,' उनी भन्छिन्, 'खाद्यान्नलाई जति तोडमरोड गर्यो, त्यसको फाइदा उति नासिँदै जान्छ।'
यसको मतलब, प्राकृतिक रूपमा उत्पन्न हुने खानेकुरालाई जति प्रशोधन गर्दै जान्छौं, त्यसमा रहेका पोषक तत्व उति हराउँदै जान्छन्। र, ती खानेकुरा पोषिलोबाट पत्रुमा परिणत हुन्छन्।
आलुको उदाहरण लिउँ।
हामी घरमा आलु खान्छौं। बाहिर पनि 'फ्रेन्च फ्राइज' वा 'चिप्स' का रूपमा आलुकै परिकार पाइन्छ। घरको आलु चाहिँ स्वस्थकर, बाहिरको हानिकारक कसरी हुन्छ?
उप्रेती यसलाई सामान्य भाषामा सम्झाउँछिन्।
घरमा आलु भुटेर वा तारेरै खाए पनि हामीले त्यसको पोषण नासिने गरी पकाएका हुँदैनौं। आलु काट्छौं, पखालेर पकाउँछौं। जब त्यसले फ्राइज वा चिप्सको रूप लिन्छ, पकाउने तरिका फेरिन्छ। यस्ता परिकार बनाउन आलुलाई पानीमा धेरै समय भिजाएर राखिन्छ, जसले त्यसमा भएको स्टार्चजस्ता लाभकारी तत्व नासिन्छ।
यतिले नपुगेर पानीमा भिजाएको आलुलाई फेरि तेलमा तारिन्छ। तेल साजी भए त ठिकै छ, प्रयोग भइसकेको भए घातक हुन्छ।
भन्नुको मतलब, एक कराई तेल जति धेरैचोटि तताइन्छ, त्यो उति हानिकारक हुँदै जान्छ। घरमै पनि एकचोटि तताएको तेल उब्रियो भन्दैमा बारम्बार प्रयोग गरिरहनु हुँदैन।
जंक फुडको एउटा नकारात्मक पक्ष भनेकै त्यसमा प्रयोग हुने तेल हो। उब्रिएको तेल फेरिफेरि तताएर खानेकुरा पकाए त्यो घरकै खाना भए पनि 'जंक' हुने डा. उप्रेती बताउँछिन्।
उनका अनुसार हामीले बजारमा किनेर खाने मैदाको रोटी, चाउमिन, स्वारी, डोनट, जेरी लगायत जंक खाना नै हुन्। यी खाजा हामीले सधैं नखाने भएकाले धेरै असर भने गर्दैन।
चिप्स, चाउचाउ लगायत लामो समय टिकाएर राख्नुपर्ने खानेकुरामा अन्य रसायनहरूको पनि प्रयोग हुन्छ। ती रसायनले खाद्यान्नमा भएका पोषणतत्व मास्छन्।
'प्याकेटमा बिक्री गरिने बिस्कुट, चाउचाउ, चिप्स, कुरकुरे, चिजबल्स, पेय पदार्थ, केक लगायत सबैमा यही कुरा लागू हुन्छ,' डा. उप्रेतीले भनिन्, 'जुन खाना लामो समय टिक्ने गरी प्याकेजिङ गरिन्छ, त्यो जंक हो।'
उसो भए, प्याकेटका चिउरा, कर्नफ्लेक्स पनि जंक हुन्?
चिउरामा यो प्रक्रिया लागू नहुने उनको भनाइ छ। चिउरा प्राकृतिक रूपमै लामो समय रहने खाद्यान्न हो।
अब प्रश्न उठ्छ, धानबाट चिउरा बनाउँदै यसका तत्व मासिँदैनन्?
'यो भनेको त धानबाट चामल, कोदोको पिठोजस्तो भयो,' उनले प्रस्ट्याइन्, 'चिउरा प्राकृतिक प्रक्रियाबाट बनाइन्छ। यसमा आफ्नै पोषण हुन्छन्।'
त्यसो भन्दैमा कर्नफ्लेक्स (घरमा नबनाइएको मकैको चिउरा) लाई भने उनी पोषिलो श्रेणीमा राख्दिनन्। कारखानामा मेसिनभित्र बनेर आउने कर्नफ्लेक्सले पोषण गुमाइसकेको हुने उनको तर्क छ। त्यसैले विदेशतिर जंक फुडलाई 'अल्पहार' पनि भनिन्छ।
प्याकेटका खानेकुरामा नुन र चिनी पनि चाहिनेभन्दा धेरै हालिएको हुन्छ। यसले स्वाद बढाउने हुँदा धेरै जंक फुडमा लोभिन्छन्। पकाउन वा खान सजिलो हुनाले पनि यसप्रति निर्भर हुने क्रम बढ्दो छ।
'छिटो, सजिलो र जिब्रोलाई स्वादिलो लाग्ने भएकाले जंक फुडले हाम्रो घरमा कब्जा जमाएको छ,' उनले भनिन्, 'व्यस्तताको बहानामा होस् वा अल्छी मानेर, वा भनौं झिलिक्क खानेकुरामा आकर्षित भएर, पत्रु खानामा हामी झुम्मिएका छौं।'
जंक फुडले लोभ्याउनुका अरू कारण पनि छन्।
मुखै रसाउने आकर्षक विज्ञापन, सजधज प्याकेजिङ र नौलो स्वादले हामीलाई तान्छ। धेरै हदसम्म जंक फुड आतंक विदेशीको सिको गर्दै आधुनिक बन्ने होड र आर्थिक स्तर उक्सिँदै गएको अवस्थाको पनि कारण भएको उनको बुझाइ छ।
अन्तर्राष्ट्रिय अध्ययनहरूले जंक फुड नशा हो भनेर पनि औंल्याएका छन्। अर्थात्, यस्ता खानामा लत लाग्ने रसायन मिसाइएका हुन्छन्। एकपटक खाएपछि खाइरहन मन लाग्नुको कारण यही हो।
उनका अनुसार जंक फुडले विकसितभन्दा विकासोन्मुख देशमा बढी प्रभाव पार्छ। विकसित देशका मान्छे जंकफुड खाजाका रूपमा भन्दा जिब्रोको तलतल मेट्न खान्छन्। यसबाहेक उनीहरूको दैनिक भोजनमा थुप्रै खानेकुरा हुन्छन् जसले पोषण मात्रा पुर्याउँछ। त्यही भएर त्यस्ता देशमा जंक फुडले मोटोपना बढाएको छ।
हाम्रोजस्तो देशमा भने जंक फुडलाई नियमित खाजा वा खानाकै रूपमै खाइन्छ। यसले हामीलाई कुपोषित बनाउँछ। दुब्लो, ख्वाउटे, पुड्को, आँखा कमजोर हुने लगायत समस्या देखिन्छन्।
'जंक फुड खुवाएर बच्चा हुर्काउँछु भन्नु मूर्खताबाहेक केही होइन,' उनले भनिन्, 'स्थानीय खाजालाई हेला गरेर 'गरिबको खान्की' भन्ने प्रवृत्तिले पनि जंक फुड खानेको जमात बढेको हो।'
'चिउराको साटो चोकोज वा कर्नफ्लेक्स, कोदोको रोटी पन्छाएर मैदाको 'प्यानकेक' र कुकिज, उसिनेको आलु छाडेर चिप्स र फ्राइज, भुटेको मकैको बदलामा पपकर्न, सातुको साटो हर्लिक्स, भिभाजस्ता बट्टा खोज्नु नै हाम्रो सबभन्दा ठूलो भुल हो,' उनले भनिन्।
हामीकहाँ खाजाका रुपमा खाइने खाद्यान्नको कुनै कमी छैन। कोदो, फापर, जौ, मकै, चामलका विभिन्न परिकार बनाएर खान सकिन्छ। यीबाहेक स्थानीय फलफूल र तरकारी, अन्डा भइहाल्छ। बजारका खाजा किन्ने पैसाले घरमै स्वस्थ र पोषिलो पकाउन सकिने उनी बताउँछिन्।
'पचास रुपैयाँ किलो पर्ने च्याँख्ला हेला गरेर तीन सय पर्ने एक पाउ कर्नफ्लेक्स किन्न छाड्नुपर्छ,' उनले भनिन्, 'नभए हाम्रा नयाँ पुस्ताको न शरीर बलियो हुन्छ, न दिमाग।'