सप्तकोशीमा बेपत्तामध्ये एक गोताखोरको शव भेटिएको छ।
बेपत्ता भएका दुई जनामध्ये हरदेव राजवंशीलाई मृत अवस्थामा फेला पारिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
डिएसपी थापाका अनुसार हरदेवको शव घटनास्थलबाट करिब ३ किलोमिटर दक्षिणमा फेला परेको थियो। बेपत्ता रहेका अर्का एक जनाको खोजी भइरहेको उनले बताए।
बिहीबार दिउँसो सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोशी नदीमा मनसुनजन्य विपद्को पूर्वतयारी स्वरुप प्रदेशस्तरीय विपद् सेमुलेशन अभ्यास क्रममा सशस्त्र प्रहरीका दुई गोताखोर सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका थिए।
दुवै जनाले २०८० र ०८१ सालमा गोताखोर तालिम पूरा गरेका थिए। त्यसयता उद्धारका लागि विभिन्न ठाउँमा खटिएका पनि थिए।
खोजीका लागि दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीबाट डिएसपिको कमान्डमा ४ जना गोताखोर सहित ३५ जना र नं. ६ गण सप्तरीबाट विपद् व्यवस्थापन तालिम प्राप्तसहित डिएसपीको कमान्डमा २० जना सुरक्षा फौज परिचालन गरिएको डिएसपी थापाले जानकारी दिए।
थप खोजी तथा उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरका अनुभवी प्रशिक्षक डिएसपी पुरुषोत्तम भन्डारिको कमान्डमा ५ जना गोताखोरलाइ बिहीबार राति नै त्यसतर्फ पठाइएको थियो।