दुई वर्षअघि अफ्रिकाको केपटाउनमा पानी हाहाकार भयो। नगरपालिकाले धारा बन्द गरिदियो। रित्ता भाँडा र सुख्खा अनुहार अन्तर्राष्ट्रिय अखबारका मुख्य तस्बिर बने। शीर्षक थियो- केपटाउन पानी नै नभएको सहर।
यसपालि पनि अन्तर्राष्ट्रिय अखबारमा यस्तै तस्बिर छाएका छन्। केपटाउनको होइन, भारतीय सहर चेन्नइको।
पानी अभावले चेन्नइका स्कुल, रेस्टुरेन्ट र कार्यालयहरू बन्द गरिएको 'द गार्डियन' अखबारले लेखेको छ।
काठमाडौं निम्ति पानी समस्या नयाँ होइन। राजधानीका खङ्ग्रङ्ग धारामा लामबद्ध भाँडा अहिलेसम्म विदेशी अखबारमा छाएका छैनन्, तर यहाँको बढ्दो पानी अभाव हेर्दा त्यो दिन टाढा छैन।
दैनिक ४२ करोड लिटर माग हुने काठमाडौं उपत्यकामा मुश्किलले दस करोड लिटर आपूर्ति गर्न सकेको खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राई बताउँछन्।
'सुख्खा याममा खोलानालामा पानी कम हुन्छ,' उनले भने, 'यही बेला रोपाइँ पर्ने हुँदा आधाभन्दा बढी सिँचाइमा जान्छ। रोपाइँ याममा स्थानीयसँग पानी बाँड्ने सहमति नै छ।'
सरकारले भरपर्दो विकल्प दिन नसक्दा काठमाडौंबासीले वर्षौंदेखि खेपेको समस्या हो यो। हामीले मेलम्चीको आसमै दुई दशक बिताइसक्यौं। जति वर्ष घर्किँदै छ, अभाव उति चुँलिदै छ।
पोहोर-परार मनसुनले साथ दिएको थियो। यसपालि राम्रो संकेत छैन। मनसुनमा पनि दिनैभर घाम चर्किन छाडेको छैन। बचेखुचेका ढुंगेधारा र प्राकृतिक स्रोत सुकेका छन्।
केपटाउनले अतिअभाव खेपेपछि पानी कम चलाउने, स्थानीय मुहान ब्युँताउने र आकाशेपानी संकलन गरेको थियो। यसले समस्या नसल्टे पनि धारा बन्द गर्नुपरेको छैन।
उसो भए हामी के गर्न सक्छौं?
यसबारे हामीले उपत्यकाको परम्परागत पानी व्यवस्थापन प्रणालीका अनुसन्धानकर्ता तथा इञ्जिनियर पद्मसुन्दर जोशीलाई सोध्यौं।
के गर्न सक्छौं भन्नुअघि स्रोत किन सुक्दैछन् भन्ने बुझ्नुपर्ने जोशीले बताए।
काठमाडौंभित्र १८ नगरपालिका छन्। नयाँ पालिकाहरूमा जनसंख्या वृद्धिदर ५ देखि १२ प्रतिशत छ। यसले नयाँ बस्ती थपिएका छन्।
'हामीकहाँ उहिल्यैदेखि पानी अभाव हो, नयाँ आएकालाई अझै चाहियो,' उनले भने, 'जहाँ नयाँ बस्ती बसेका छन्, हिजो ती खुला भूमि थिए जसले पानी रिचार्ज गर्न सघाउँथे।'
काठमाडौंका फाँट उहिल्यै घरले भरिइसके। बाँकी जग्गा महँगो भएपछि मान्छे डाँडातिर उक्लेका छन्। चोभार, चन्द्रागिरि, नागार्जुन, शिवपुरी, स्वयम्भू हलचोक माथि घरैघर ठडिएका छन्। डाँडाबाट बगेर आउने पानीको मुहान फेदमा छ। अव्यवस्थित बसोबासले परम्परागत पानी व्यवस्थापन प्रणाली र मुहान तहसनहस भएको जोशी बताउँछन्।
यहाँ जसरी मान्छे बढिरहेका छन्, पानी समस्या कहिल्यै नसल्टिने उनको बुझाइ छ।
'तापक्रम उक्लेसँगै पानी प्रयोग बढ्दो छ। घर-घरमा वासिङ मेसिन र फ्लस ट्वाइलेट छन्। ठूल्ठूला रेस्टुरेन्ट, होटल, मलहरू उस्तै। वाटर पार्क, स्विमिङ पुलहरू बढेकाले पानीको माग धेरै छ,' उनले भने।
पछिल्लो समय दुई सय मिटरभन्दा बढी गहिराइबाट 'बोरिङ' गरी पानी तान्ने क्रम बढेको छ। खानेपानी व्यवस्था बोर्डले नै यसैगरी तानेर पानी बाँड्ने गरेको उनले बताए।
'दुई सय मिटर भनेको जमिनमुनिको कालोमाटो सतहभन्दा तल्लो भाग हो। यहाँका अधिकांश भागमा कालोमाटो छ जसले पानी सोसेर राख्छ,' उनले भने।
यो पानी विशेषगरी उत्तर र उत्तरपूर्वी क्षेत्रबाट बगेर आएको हो। कालोमाटो नभएका कपन, बुढानिलकण्ठ, सुन्दरीजल लगायत क्षेत्रबाट पानी विस्तारै माटोका छिद्र छिचोल्दै आउँछ। खोला वा भिरमा जस्तो सलल बग्दैन।
'सय वर्षअघि शिवपुरीमा परेको पानी अहिले काठमाडौंको मध्य भागमा आइपुग्छ भन्दा हुन्छ। त्यसैले बोरिङको पानी हिजोआज सतहबाट छिरेर जम्मा भएको होइन। यो धेरै भए ५० मिटरसम्म मात्र पुग्छ,' उनले भने, 'हामी सय वर्षअघि जमेको पानी तानिरहेका छौं। स्रोत सुकेको छ, रिचार्ज हुन दिएका छैनौं। वर्षौं लगाएर जमेको पानी ह्वारह्वार तानेपछि कति दिन धानिन्छ?'
बोरिङले समस्या नसुल्झाउने त छँदैछ, जमिन भासिने जोखिम पनि बढाउँछ। कालोमाटो मुनिको पानी निरन्तर तानेपछि त्यो भाग खाली हुँदै जान्छ। पानीले नै तत्काल भरिन सम्भव छैन। माथिकै माटोले खुला ठाउँ भर्न थाल्छ र जमिन भासिँदै जान्छ।
'मेक्सिको, चेन्नइ, ब्यांककजस्ता सहर भासिँदै गएका छन्,' उनले भने, 'यसका थुप्रै कारणमध्ये धेरै गहिराइबाट ह्वारह्वार पानी तान्नु पनि एक हो।'
अल्पकालीन योजना र 'जुगाड' ले पानी समस्या कहिल्यै नसुल्झिने जोशीको भनाइ छ।
'सबभन्दा पहिले काठमाडौंको बहन क्षमता कति भन्ने प्रस्ट हुनुपर्छ। सहरले धान्नसक्ने जनसंख्याबारे अध्ययन गरी थुप्रिन दिने कि नदिने भन्ने टुंगो हुनुपर्यो,' उनले भने, 'त्यहीअनुसार पानी जोहो गर्ने उपाय र योजना बनाउनुपर्छ।'
पानी बढाउन चाहिँ के गर्ने?
'भएका स्रोत रिचार्ज हुन दिने,' उनले भने, 'यो ठूलो काम होइन। नेपाल अरबजस्तो सुख्खा छैन। पानी रिचार्ज गर्ने अभियान चलाए दीगो रूपमै दुःख कम गर्न सक्छौं।'
उनका अनुसार सामान्य अवस्थामा तीन महिनाको आकाशेपानी उपयोग गर्न सक्यौं भने पछिलाई सहज हुन्छ।
यसका दुई तरिका छन्।
एउटा, ट्यांकी बनाएर जम्मा गर्ने।
ट्यांकीको खर्च र ठाउँ छैन भने दोस्रो विकल्प छ- 'रिचार्ज वेल'।
हरेक घरमा एउटा 'रिचार्ज वेल' बनाए जमिनमा पानी अडिएर बस्ने जोशीले बताए।
यो भनेको इनारजस्तै खाल्डो हो। बारीमा तीन-तीन फिट लम्बाइ-चौडाइ र आठ/दस फिट गहिरो खाल्डो खन्ने। केही ठाउँबाहेक यहाँको जमिनमुनि बालुवा-माटोको मात्रा मिलेकै हुन्छ। त्यसमा गिटी-बालुवा थप्ने र धूलो-माटो जान नदिन 'जियोटेक्सटाइल' राख्न सकिन्छ। हामीले बर्खाको पानी सोझै ढलमा पठाएका हुन्छौं। त्यही पानी अलग्गै पाइप बनाएर त्यो खाल्डोमा हालिदिने।
'जमिनले सक्नेजति सोस्छ, बाँकी जम्मा हुन्छ। बढी भएकोलाई सानो पाइप राखेर ढलमै हालिदिँदा हुन्छ। घर-घरमा यस्ता खाल्डा भए पानी रिचार्ज हुन्छ। इनारहरूमा पानी आउन थाल्छ,' उनले भने।
घर थोरै जग्गामा भए कहाँ बनाउने?
'खाल्डो बनाउन जग्गा छैन भन्नु बहाना हो। दुई आना मात्र भए पनि पानी ट्यांकी र सेप्टिक ट्यांकी त हुन्छ। यो फुच्चे खाल्डो बनाउन के गाह्रो? प्राथमिकता केमा भन्ने मात्र हो। आफू र भावी सन्तानलाई सहज हुने काममा आनाकानी गरेर समस्या सल्टिँदैन,' उनले भने।
अरबौं खर्चेर मेलम्ची ल्याउने प्रयास भएका बेला दीगो समाधानमध्येको सस्तो उपाय अपनाउन स्थानीय सरकार सक्रिय हुनुपर्ने उनको भनाइ छ।
'सरकारले घरको नक्सा पासदेखि नै रिचार्ज वेल अनिवार्य गर्न सक्छ। नबनाए सुविधा कटौती गर्ने तरिका अपनाउन सक्छ,' उनले भने, 'सक्दैनौं भने अभाव जग्गाको होइन, मानसिकताको हो।'
संसारमा पानी जोहो गर्न मान्छेले के-के गर्दैनन्! सिंगापुरले दिसा-पिसाबकै पानी प्रशोधन गरेर खान्छ। हामीलाई त्यो अवस्था छैन। साना 'रिचार्ज वेल' का साथै राजकुलो र पोखरीहरू ब्युँताउने हो भने ढुंगेधारा र इनारमा पानी आउने जोशी बताउँछन्।
उपत्यकामा धेरै राजकुलो छन्, तीमध्ये तीनवटा प्रमुख हुन्। काठमाडौंमा बुढानिलकण्ठबाट आउँछ, भक्तपुरमा बागेश्वरीबाट र पाटनमा टीकाभैरवबाट। पाटनका पोखरी भर्ने राजकुलोले नै हो। पोखरी भरिएपछि ढुंगेधारा रसाउँछन्। सरकारी लापरवाहीका कारण सडक विस्तार क्रममा राजकुलोहरू मासिएका छन्।
'पानी जस्तो कुरामा सरकार अलिकति जिम्मेवार र गम्भीर भइदिएको भए राजकुलो मासिँदैन थियो,' उनले भने, 'सडक बढाउँदा अलग्गै पाइप राखेर जोगाउन सकिन्थ्यो। स्रोत मास्ने र 'सुख्खा छ, पानी छैन' भन्दै बहाना बनाउने प्रवृत्तिले हामीलाई सुकाइरहेको छ।'
देशको झन्डै ३० प्रतिशत सहरी जनसंख्या बसेको काठमाडौंमा पानी पुर्याउन सहज छैन। मेलम्ची एउटा 'आस' हो। आइहाले पनि माग नधान्ने उनी बताउँछन्।
'सरकारले दीगो समाधान खोज्न अत्यावश्यक छ,' जोशीले भने।
नभए हामी पनि केपटाउन वा चेन्नइजस्तै 'सुख्खा' हुन धेरै समय लाग्ने छैन।
सबै तस्बिरः निशा भण्डारी/सेतोपाटी