दैनिक दस लाख हाराहारी सवारी चल्ने काठमाडौं संसारकै यस्तो अद्भूत राजधानी हो, जहाँ सडकमा ट्राफिक बत्ती बल्दैनन्।
गृष्मगर्मी होस् वा बर्खेझरी, चैतेहुरी होस् वा माघेठन्डी- ट्राफिक प्रहरीहरू बीच चोकमा उभिएर हात हल्लाउँदै, सिठी फुक्दै सवारी व्यवस्थापन गर्छन्। त्यो पनि एकाध वर्षदेखि होइन, वर्षौं वर्षदेखि।
सुन्दा अचम्म लाग्छ, तर सत्य के हो भने, काठमाडौं एक यस्तो अद्भूत राजधानी हो, जहाँ एउटा सिंगो पुस्ता नै सडकमा ट्राफिक बत्ती बलेको देख्दै नदेखी हुर्कियो।
दस-पन्ध्र वर्षयता जन्मेका केटाकेटीले गाडीको उछिनपाछिन नियन्त्रण गर्न रातो, पहेँलो र हरियो बत्ती बल्ने ट्राफिक चिह्न हुन्छ भन्ने किताबमा मात्र पढे, आफ्नै आँखाले देख्न पाएनन्।
उनन्तीस वर्ष ट्राफिक सेवामा रहेर हालै निवृत्त भएका सीताराम हाछेथू पनि काठमाडौंको यो अवस्था देखेर अचम्म मान्छन्।
२०४७ सालमा उनले ट्राफिक प्रहरीको जागिर सुरू गर्दा बीच सडकमा ड्रममाथि बसेर हात हल्लाउँथेँ। केही ठाउँमा ट्राफिक बत्ती जडान गरिएका भए पनि सहरभरिलाई पुग्ने थिएन। आज स्थिति त्योभन्दा सुध्रिएको होइन, बरू बिग्रिएको उनी बताउँछन्।
नेपालमा २०२४ सालमा पहिलोपटक ट्राफिक बत्ती जडान गरिएको थियो। सुन्धारा, न्यूरोड गेट, सिंहदरबार र राजदरबारको दक्षिणी गेटमा बत्ती राखिएका थिए। केही समयपछि बिग्रिए।
त्यसपछि २०५८ सालतिर जापानी नियोग (जाइका) ले दुई चरणमा गरी उपत्यकाका २० ठाउँमा ट्राफिक बत्ती जडान गरिदियो। थापाथली, माइतीघर, केशरमहल मार्ग, पद्मोदय मार्ग, बागबजार, कालिमाटी, नयाँबानेश्वर लगायत व्यस्त ठाउँमा राखिएका ती बत्तीले अहिले काम गर्दैनन्।
तीनकुने-सूर्यविनायक सडक तयार भएपछि सूर्यविनायक, सल्लाघारी, ठिमी, गठ्ठाघर र कौशलटारमा जापान सरकारले नै ट्राफिक लाइट राख्यो। काठमाडौं उपत्यकामा नियमित बल्ने ट्राफिक बत्ती यही हो।
के हामीसँग सामान्य ट्राफिक बत्ती व्यवस्थापन गर्न सक्ने क्षमता पनि छैन?
काठमाडौंका मुख्य ठाउँमा ट्राफिक बत्ती राख्ने काम सडक विभागको हो, व्यवस्थापन मात्र ट्राफिकको। यसबाहेक नदी किनारका सडकमा काठमाडौं विकास प्राधिकरणले हेर्छ भने महानगरपालिकाहरूले पनि आफ्ना मातहतका सडकमा बत्ती राख्न पाउँछन्।
सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखाका सिनियर डिभिजनल इञ्जिनियर दीप बाराहीका अनुसार २०६७ सालसम्म काठमाडौंका केही ठाउँमा झल्याकझुलुक ट्राफिक बत्ती बल्थे। पछि ठप्पै भए।
विदेशी सहयोगमा जडान गरिएका ती बत्ती यहाँको प्राविधिक कमजोरीले निरन्तर बल्न नसकेको बाराही बताउँछन्।
'त्यो बेला सबै जापानी प्रविधिका बत्ती जडान गरिएका थिए, उतैका प्राविधिकले काम गरेका थिए,' बाराहीले भने, 'हामीलाई उनीहरूको प्रविधि व्यवस्थापन गर्न गाह्रो भयो।'
जाइकाले बनाइदिएका बत्ती बिग्रँदा हरेकपटक उनीहरूलाई नै गुहार्नुपर्ने भएपछि क्रमश: मासिँदै गएको उनको भनाइ छ।
विभागको अध्ययनअनुसार उपत्यकाका ६० ठाउँमा बत्ती आवश्यक छ, तीमध्ये ३५ ठाउँमा अत्यावश्यक।
चाबहिल, पुरानो बानेश्वर, मैतिदेवी, बबरमहल, त्रिपुरेश्वर, कृष्ण पाउरोटी, मित्रपार्क, एयरपोर्ट, ग्वार्को, सातदोबाटो, जावलाखेल, एकान्तकुना, लैनचौर, हल्चोक, सोह्रखुट्टे, बल्खु, सामाखुसी चोक, महालक्ष्मी स्थान, टेकु, गैरीधारा लगायत स्थानलाई अत्यावश्यक सूचीमा राखिएको छ। अत्यावश्यक ठाने पनि यी ठाउँमा बत्ती जडान गरिएको भने छैन।
विभागअन्तर्गतकै दीगो सहरी यातायात आयोजनाले केही समयअघि काठमाडौंका ३५ मध्ये २२ ठाउँमा अत्याधुनिक प्रविधिको ट्राफिक बत्ती बनाउने भनेको थियो। अस्ट्रेलियन कन्सल्टेन्सीको सहयोगमा गर्ने भनिएको त्यो योजना त्यसै तुहिएको बाराहीले बताए।
'टेन्डरमा सबै कम्पनीले सीमाभन्दा बढी रकम पेस गरेपछि योजना अघि बढेन,' उनले भने।
पछिल्लो समय यार्सा टेक्नोलोजी नामको स्वदेशी कम्पनीको सहयोगमा आठ ठाउँमा ट्राफिक बत्ती जडान गरिएको जानकारी दिँदै उनले भने, 'हामी आफ्नै बलबुतामा काम गर्ने प्रयास गर्दैछौं। आफ्नै जनशक्तिले काम गर्ने क्षमताका बत्ती परीक्षण गर्दैछौं, ताकि भोलि बिग्रँदा फेरि विदेशी प्राविधिक खोजी हिँड्नु नपरोस्।'
स्वदेशी प्रविधि प्रयोगको सुरूआत केही महिनाअघि महाराजगन्ज र नयाँबानेश्वरमा गरिएको हो। ती बत्ती बेलाबेला काम गर्दैनन्। मर्मत गर्दै चलाइँदै आएको छ। त्यही अनुभवका आधारमा मित्रपार्क, गौशाला, पुरानो बानेश्वर, तीनकुने, सिंहदरबार, कालिमाटी, बागबजार, पद्मोदय मार्ग गरी आठ ठाउँमा बत्ती राखिएको उनले बताए।
'यी पनि परीक्षणमै छन्। दिनमा दुई/तीन घन्टा चलाइरहेका छौं,' उनले भने, 'विस्तारै अरू ठाउँमा पनि राख्ने योजना छ।'
विभागले 'स्मार्ट ट्राफिक बत्ती' को योजना पनि त्यागेको भने छैन। सोलारबाट चल्ने यस्ता बत्तीमा समस्या कम आउने विभागको भनाइ छ। यसका लागि सरकारले आगामी वर्ष ३२ करोड रूपैयाँ बजेट दिएको बाराहीले जानकारी दिए।
ललितपुर महानगरपालिकाले पनि यार्सा कम्पनीकै सहकार्यमा कुपन्डोलको कानदेवता, पुल्चोकको हरिहरभवन र अल्का अस्पतालको अगाडि ट्राफिक बत्ती जडान गरेको छ। पूर्ण रूपमा प्रयोग भने भइसकेको छैन। त्यस्तै मोबाइल एप्सबाट चल्ने ट्राफिक बत्ती चलाउने अभ्यास पनि महानगरले सुरूआत गरिसकेको छ।
स्मार्ट होस् वा सामान्य, काठमाडौंमानिरन्तर चलिरहने ट्राफिक बत्ती भए सडक व्यवस्थापनमा खटिने प्रहरी कम चाहिन्छन्। अहिलेजस्तो सवारी जाम हुन्न, पैदलयात्रुलाई पनि सुविस्ता हुन्छ।
नभए डेढ हजार ट्राफिक प्रहरीले घामपानी-धूलोधुँवा झेल्दै अझै कति समय चोकमा उभिएर हात हल्लाउँदै, सिठी फुक्दै बस्नु?
हाम्रा केटाकेटीले ट्राफिक बत्तीअनुसार चल्न कहिले सिक्नु?