सत्यमोहन जोशीको आत्मकथा
म आजदेखि सय वर्ष लागेँ। यो सय वर्षमा धेरै उथलपुथल देखेँ। त्यसमध्ये सबैभन्दा प्रभावित पार्ने मुख्य घटना नेपालकै थिए।
मेरो जीवनको सबैभन्दा ठूलो घटना सात सालको क्रान्ति र त्यसको प्रतिफल हो।
त्यो अकल्पनीय छलाङ थियो। राणाकाल देखे–भोगेका मानिसले मात्रै त्यो उपलब्धिको गहनता बुझ्न सक्छन्। एक हिसाबले भन्ने हो भने, हामी मानिसै त्यसपछि मात्र भएका हौं।
सात सालको क्रान्तिपछि जब नयाँ शासन व्यवस्था आयो, त्यसपछि बल्ल नेपालीले ‘ए हामी त मानिस पो रहेछौं’ भन्ने महशुस गरे। हक अधिकार बुझे। मुलुक कुनै परिवारको नभई सबै नेपालीको भयो। हरेक कुरामा आफ्नो पनि समान अधिकार छ भन्ने सबैले अनुभूत गर्दै गए।
त्यो समयका लागि यो ठूलो उपलब्धि थियो। नत्र त स्वतन्त्रता भन्ने कल्पनाभन्दा बाहिरको कुरा। अधिकारै नभएपछि सर्वसाधारणलाई जो आओस् मतलबै थिएन। अलिकता पढेलेखेको छ भने ऊ कुण्ठामा बाँच्थ्यो। एकथरीले सारा सुखसुविधा उपभोग गर्न पाएको छ, बाँकी जनतालाई केही थिएन।
एउटा रेडियोसमेत पैसा तिरेर राख्न पाइँदैन थियो। किन्न मन लागे माथिल्लो तहबाट हुकुम बक्साएर अनुमति लिनुपर्थ्यो। लेखपढ त परको कुरा, कतै जमघटमा गएर केही बोल्नसमेत नपाइने जमाना थियो। मुठ्ठीभरका शासक र तिनकै सन्तानको रजाइँ।
उनका सन्तान जन्मनेबित्तिकै जर्नेल वा अलिक तलको छ भने कर्नेल हुन्थे। यता रैतीका सन्तानले जीवनभर सेवा गरेर पनि त्यो ओहोदा भेट्दैन थिए।
अरू जागिरमा पनि त्यस्तै थियो। उपल्लो ओहोदा सबै राणाहरूले नै ओगटेका हुन्थे।
सात सालको बेला म जागिरे थिएँ। तथ्यांक संकलनको काम गर्थें। खासमा अलिक अगाडि नै खुलेको ‘औद्योगिक व्यापारिक समाचार संग्रह अड्डा’ मा हामीले नोकरी पाएका थियौं, जसलाई पछि २००६ सालतिर ‘संख्या विभाग’ भनेर नामाकरण गरियो।
त्यति बेलै जनगणना गर्दा नेपालमा ६२ लाख जनसंख्या निकालेका थियौं। त्यो संकलनको मापदण्ड हाम्रो आफ्नै स्थानीय किसिमको थियो।
लगत्तै संयुक्त राष्ट्रसंघले पहिलोपटक विश्वभरि एकरुपता कायम गर्दै संसारभरकै मानिसको तथ्यांक निकाल्ने पहल थाल्यो। त्यो बेला नेपाल राष्ट्रसंघको सदस्य नभए पनि कामको आवश्यकताले त्यो तथ्यांक संकलनमा हामी समेटिन पुग्यौं।
दक्षिणपूर्वी एसियाका लागि दिल्लीमा तालिम केन्द्र खोलिएको थियो। संख्या विभागका हामी पाँच जनाले त्यहाँ गएर तालिम लिएका थियौं। फर्केपछि दुई सय जना सुपरभाइजर तयार पारेका थियौं। सुपरभाइजरहरूले उनीहरू मातहतका गणक तयार पार्दै थिए।
यसरी देशभर टिम परिचालन भएपछि २० दिनमै काम सक्नुपर्ने थियो।
ठिक त्यही बेला राजा त्रिभुवनले दरबार छाडिदिए।
केही समय पहिलेदेखि नै कांग्रेसले विशेषगरी सीमावर्ती क्षेत्रमा आन्दोलन थालेर चहलपहल सिर्जना गरिसकेको थियो। एकाएक राजा नै गद्दी छाडेर गएपछि अचानक परिस्थिति फेरियो।
यता राणाहरूले राजा त्रिभुवनलाई ‘देशद्रोही’ घोषणा गरिहाले। नाबालक ज्ञानेन्द्रलाई ल्याएर राजगद्दीमा बसाले।
देशै अन्यौलमा परेका बेला हामी जागिरदारहरू पनि के गर्ने, कसो गर्नेको अवस्थामा थियौं। विभागीय प्रमुखबाट कामलाई निरन्तरता दिने निर्देशन आयो।
मेरो भागमा पश्चिमाञ्चलको कमान्ड परेको थियो। अहिलेजस्तो राजमार्ग बनेको थिएन। जता जानुपरे पनि सुरूमा रक्सौल पुग्नुपर्थ्यो। त्यसपछि रेल चढेर पूर्वदेखि पश्चिमसम्मको यात्रा भारतीय भूमिबाटै हुन्थ्यो।
म नेपालगन्ज जान वीरगन्जतर्फ लागेँ।
वीरगन्जमा कलकारखानाहरूको चहलपहल थियो। कटन मिल, जुद्ध म्याच फ्याक्ट्री र रत्नमान काजीको सिगरेट फ्याक्ट्री थिए। सिगरेट फ्याक्ट्री सम्हालेर बसेका रत्नमानका ज्वाइँ भक्तिदास श्रेष्ठ त मसँगै पढेका साथी।
वीरगन्ज र रक्सौलबीच दसगजामै एक जना ठकुरी बाबुसाहेबले होटल चलाएर बसेका थिए। त्यो राजनीतिक कारणले प्रवासिएका र यताका नेपालीहरूबीच भेटघाटको प्रमुख थलो थियो।
तुलसीलाल अमात्य यहीँ पाटनका नेता। मंगलबजारनजिक स्वठः का बासिन्दा भइकन पनि उनीसँग मेरो पहिलो भेट दसगजास्थित बाबुसाहेबकै होटलमा भएको थियो। उनी पार्टीका मान्छे भएकाले नेपाल आएको सुइँको पाउनेबित्तिकै राणाहरूले समातिहाल्थे। त्यसैले रक्सौलतिरै बसेका थिए।
आफ्नै ठाउँका मानिस त्यसरी प्रवासमा बसेको थाहा पाएपछि म उनको बसोबास हेर्न गएको थिएँ।
रक्सौलको एउटा झुपडीमा असाध्यै बिजोगपूर्ण अवस्थामा तुलसीलालसहित उनको समूह बसेको थियो। क्षेत्रपाटीतिरका बिएन राणा पनि त्यहीँ थिए।
त्यहाँ ओछ्यान पनि थिएन। परालमाथि दरी राखेर सुत्थे। खानपिनको पनि गाह्रै देखिन्थ्यो। त्यही झुप्रोबीच एकठाउँ अगेनाजस्तो थियो, त्यतै कट्कटिएका कसौंडी र कराई देखेँ।
त्यो क्षेत्रमा कांग्रेसको बढी प्रभाव देखिन्थ्यो। तै तुलसीलालजीहरूले कम्युनिस्ट उपस्थिति जनाएका थिए।
म टेकबहादुर रायमाझीका साथमा वीरगन्ज पुगेको थिएँ। उनी मेरा साथी थिरबहादुर रायमाझीका भाइ थिए। टेकबहादुर त्यति बेला कांग्रेसमा प्रवेश गर्न आतुर थिए। उनकै अनुरोधमा मैले उनी पार्टी प्रवेश गर्दा बोल्ने भाषण पनि लेखिदिएको थिएँ।
टेकबहादुरले त्यतै एक जना कांग्रेस नेता भेटे र उनीसँगै राजा त्रिभुवनलाई भेट्न दिल्लीतर्फ लागे। पछि राजालाई भेटेको खबर पनि पाएको थिएँ। पछि त उनी अञ्चलाधीशै भए।
जे होस्, टेकबहादुर राजा त्रिभुवनलाई भेट्न दिल्लीतिर लागेपछि म चाहिँ अलिक दिन वीरगन्जमै बिताएर रक्सौल हुँदै भारतकै बाटो नेपालगन्ज हिडेँ।
नेपालगन्जमा ध्रुवशमसेर बडाहाकिम थिए। म काम गर्न भनेर नेपालगन्ज त पुगेँ, तर राजा नै गद्दी छाडेर बाहिरिएको चर्चा व्यापक भइसकेका बेला कामै गर्न नसकिने स्थिति भयो। जताततै गोलमाल भइसकेको थियो। त्यस्तो स्थितिमा हामीले एक किसिमको अवज्ञा नै गरिदियौं।
ध्रुवशमसेरले हामीलाई पनि शंका गरेर ‘कांग्रेसी मोराहरू’ भनिदिए।
शक्तिशाली ओहोदामा बस्नेहरू त राणाकै पक्षमा थिए। अन्य पढेलेखेका जमातमा भने एक किसिमको बेग्लै भावनाले काम गर्न थालिसकेको थियो। त्यस्तोमा हाम्रो काम सम्पन्न हुने अवस्थै रहेन। सबैले फर्कने निधो गर्यौं।
म फेरि वीरगन्ज हुँदै काठमाडौं फर्किएँ।
यता काठमाडौंमा नेवार समुदायले पनि ज्ञानेन्द्रलाई राजा स्वीकार गरिदिएनन्। नेवारहरूको 'सम्यक' भन्ने असाध्यै महत्वपूर्ण पूजा हुन्थ्यो। खासगरी तिब्बत व्यापारमा लागेका साहु महाजनले पैसा कमाएर ल्याएपछि त्यो पूजा आयोजना गर्थे।
ठिक त्यही बेला स्वयम्भूमुनिको ठूलो चउरमा उपत्यकाभरिका सम्पूर्ण देवी-देवतालाई निमन्त्रणा गरेर पूजा आयोजना गरिएको थियो। त्यसमा राजालाई पनि बोधिसत्वका रूपमा ल्याएर पूजाआजा गर्ने परम्परा थियो। काठमाडौंका नेवारहरूले भने मान्दै मानेनन्। ‘यी बालकलाई हामी राजा मान्दैनौं, त्रिभुवन आएपछि नै पूजा गर्छौं’ भनेर स्थगितै गरिदिए।
लगभग त्यसै समयमा हाम्रा छिमेकी मुलुकहरूले पनि स्वतन्त्रता अनुभूत गरिरहेका थिए। त्यहाँबाट उनीहरूले गरेका प्रगतिका खबर आइरहेका थिए। यस्तो अवस्थामा दिल्ली पुगेका राजा फर्केपछि प्रजातन्त्र घोषणा गरिदिए।
यसरी सात सालपछि मुलुकले काँचुली फेरेको थियो।
दिल्लीबाट फर्कंदा राजाले गरेको घोषणा कार्यान्वयन मात्र गरिदिएका भए आज परिस्थिति बेग्लै हुन्थ्यो। राजा त्रिभुवनले नै संविधानसभा घोषणा गरेका थिए। तर, व्यवहारमा संविधानसभा त बनेन नै, उल्टो राजा महेन्द्रले प्रत्यक्ष शासनको चाहना राख्न थाले। सत्र सालमा त 'कू' नै गरिदिए।
महेन्द्रले जननिर्वाचित सरकारलाई चलाउने काम गरे। नेताहरूलाई झ्यालखानामै हालिदिए। बाले गरेको त्यत्रो त्याग पानीमा गयो।
त्यति गरेर पनि ज्यादै राम्रो काम गरेर देशलाई उठाइदिएको भए त हुन्थ्यो, तर उनले आसेपासेको हाहामै लागेर सबै स्वाहा पारे।
त्यसपछि मुलुकमा प्रजातन्त्र पुनर्स्थापना हुन तीस वर्ष लाग्यो।
मेरो जीवनमै दोस्रो सबैभन्दा प्रभाव पार्ने घटना दरबार हत्याकाण्ड हो। त्यो एउटा घटनाले सिंगो देशकै नियति फेरियो। इतिहासले अर्कै बाटो समात्यो।
नेपालको इतिहासमा यो एउटा यस्तो घटना हुन पुग्यो, जसको जतिपटक उल्लेख हुन्छ, त्यतिपटक मन दुख्छ। त्यसको उल्लेख मात्रले पनि नेपाली मन रुन्छ।
त्यसमा राजतन्त्र मात्र छैन, परिवारकै त्यत्रो कुरा छ। छोराले आमाबाबु मार्नु भनेको दुनियाँमै दुर्लभ कुरा हो। फेरि एक-दुई जनालाई मारेको होइन, सारा आफन्तलाई सिध्याएको।
मलाई त्यो घटनामा आमाको भूमिका सुनेर पनि दुःख लागेको थियो। छोराले मनपराएकी केटीसँग बिहे गरिदिएको भए कुरै सिद्धिन्थ्यो।
बेलायतमा यस्तै परिस्थिति आउँदा प्रेमिका त्याग्ने कि राजगद्दी भन्ने कुरा उठ्दा राजपाठै त्यागेको इतिहास छ। सन् १९३६ मा प्रेमिकाका निम्ति बेलायतको राजगद्दी त्यागेका एडवार्ड त झन् त्यत्रो ब्रिटिस साम्राज्यकै राजा थिए।
पारपाचुके गरेकी महिला बेलायतकी रानी बन्न सक्दिनन् भनिदिएपछि उनले ती अमेरिकी महिलाका निम्ति राजपाठ त्यागेका थिए। त्यही घटनाका कारण एडवार्डका सन्तानधरि राजा हुन नपाउने भए। बल्ल भाइकी छोरी अर्थात् हालकी रानी एलिजावेथले सत्ता पाइन्।
यत्रो इतिहास देखेको नेपालको राजपरिवारले प्रेमको शक्तिलाई स्वीकार्नुपर्थ्यो। अहिले बेलायतमा उस्तै घटना दोहोरिँदा त्यही बकिंघम दरबारले स्वीकार गरेको अवस्था छ। पारपाचुके भइसकेकी युवतीलाई बिहे गरेर पनि ह्यारी राजकुमारै छन्।
हामीकहाँ भने राजतन्त्रले समयअनुकूल चल्दै नचलेर सारा तबाही मच्चिएको हो। युवराज दिपेन्द्र संसार देखेका तन्नेरी थिए। आमाले यस्तो कुरामा जिद्दी गर्नै हुँदैन थियो।
त्यति एउटा घटनाले शाह वंशको परम्परा नै खत्तम पार्न महत्वपूर्ण भूमिका खेलिदियो।
दिपेन्द्रले चरेस खाएका थिए भन्ने कुरा पनि आयो। यो लागुऔषध भन्ने कुरा अचम्मको हुन्छ। त्यसको नसा लागेपछि मान्छेको होसै अर्को हुन्छ। उसको दुनियै अर्को हुन्छ।
मेरो आफ्नै पनि अनुभव छ। म पनि एकपटक जीवनमा गाँजाको सर्को तानेर नराम्ररी लठ्ठिएको थिएँ।
करिब ८० वर्षअघिको कुरा हो। मेरो पिताजीलाई पेटको समस्या बल्झियो। निकै औषधोपचार गर्दा पनि निको भएन। केही सीप नलागेपछि एक जना नाताका मामाले ‘ज्वाइँ, तपाईंले धेरै दुःख पाउनुभयो। अब एकपटक गाँजा खाएर हेर्नुपर्यो’ भने।
हरेक बेलुकी दिनको एकपटक गाँजा खाइदिने हो भने त्यसले औषधिको काम गर्ने सल्लाह मामाले दिएका थिए। त्यसरी गाँजा खान थालेपछि पिताजीलाई अलिक बिसेक पनि भएको थियो।
सुत्ने बेला एक मात्रा गाँजा मलेर माटोको सानो चिलिममा सर्को तानेपछि पिताजी निदाउनु हुन्थ्यो। त्यो चिलिम तयार पारेर दिने काम मेरो थियो। त्यही बेला म पनि पल्किएँ। पिताजीलाई तयार पारेको गाँजा एक-दुई सर्को मैले पनि तान्न थालेँ।
अरू बेला अलिअलि मात्र केही हो कि जस्तो हुन्थ्यो। एकदिन त बेस्मारी नसाले धुत्त पारिदियो। मैले त दुनियै अर्को देख्न थालेँ। संसारै अर्को भयो। हाँस्न थालेपछि बेस्मारी हास्याहास्यै भएँ। के भन्नुहुन्छ, के भन्नुहुन्न भन्ने मेसो नै भएन। जथाभाबी बोल्न थालेछु।
म भर्खर बिहे गरेको थिएँ। ठिटो उमेर। मलाई कसले सम्हाल्ने?
एक घन्टासम्म अनेक तमासा देखाएपछि बल्ल निन्द्रा लागेर सुतेको थिएँ। त्यस दिनपछि मैले जीवनमा फेरि कहिल्यै गाँजा खाइनँ।
त्यसैले, चरेस र रक्सीको मातमा दिपेन्द्रलाई के भएको होला भनेर म अनुमान लगाउन सक्छु।
त्यो वीभत्स घटनामा एउटा सिंगो परिवार निर्मूल भएको छ। सबैले उसैलाई दोष दिएका भए पनि एउटा छोरोले त्यस्तो गर्लाजस्तो अहिले पनि कसैलाई विश्वास हुँदैन। त्यसैले त, दरबार हत्याकाण्डबारे जतिपटक चर्चा चले पनि मानिस चाख लिएर कान थाप्छन्।
मानिस त्यसलाई रहस्यकै रूपमा लिन्छन्। त्यो रहस्यको सानो सत्य पनि कुनै दिन कतैबाट खुल्छ कि भनेर जिज्ञासा लिएरै बसेका छन्। भनिएका कुरालाई विश्वास गर्न तयारै छैनन्।
दरबार हत्याकाण्डमा जसरी मानिसले भनिएका कुरा पत्याउन सकिरहेका छैनन्, त्यसैगरी मदन भण्डारीको जीप दुर्घटना पनि पत्याएका छैनन्। त्यो पनि त्यस्तै अर्को रहस्य थियो। पछि त्यो ड्राइभरलाई पनि हत्या गरेरै मारियो।
बितेका सय वर्षमा मलाई प्रभाव पार्ने तेस्रो ठूलो घटना गणतन्त्र आउनु हो।
त्यत्रो इतिहास बोकेको राजतन्त्रै अन्त्य भयो। राजतन्त्र भनेपछि शाह वंश मात्र होइन, धेरै अगाडिदेखिका प्रसंग आउँछन्। हाम्रो त तमाम संस्कृति नै राजतन्त्रसँग जोडिएर तयार भएको हो। मलाई त यसरी राजतन्त्र गएकोमा माया नै लागेको थियो।
नेपालको परम्परै बेग्लै हो। भर्खर जन्मेको बालकलाई पनि राजा बनाएर शासन चलाएकै हुन्। तीन वर्षको बालकलाई राजा बनाउँदा पनि मानिरहेकै थिए। रणबहादुर, गिर्वाणयुद्धदेखि सुरेन्द्रसम्म। पछि त्रिभुवनलाई पनि छ वर्षकै उमेरमा गद्दीमा राखेको हो। त्यत्रो राज परम्परा थियो, नत्र केटाकेटीलाई किन मान्ने?
अब त्यो परम्परा गुम्यो।
गणतन्त्र आएको त एउटा पाटो भयो। तर, राज्याभिषेक गर्ने बेला जुन वैदिक कालदेखिको शास्त्रीय पद्धति थियो, त्यो दुनियाँमा अन्त कतै थिएन। नेपाली राजतन्त्रको अन्त्यसँगै त्यो परम्परा संसारबाट समाप्त भयो। त्यसको रेकर्ड त रहला, तर त्यो संस्कृति अब रहेन।
यसले नेपाली संस्कृतिका कतिपय पक्ष पूरै असान्दर्भिक भएर समाप्त भयो। राजा नभई नहुने सम्यकजस्ता कतिपय महत्वपूर्ण पूजाको परम्परा समाप्त भयो। पहिले काठमाडौंमा राजाका प्रतिनिधि नभई जात्राहरू सुरू हुन्न थिए। त्यो सबका निम्ति ‘छेवडेल अड्डा’ नै थियो। अहिले गुठीमा गाभियो।
परम्पराअनुसार मच्छिन्द्रनाथको रथ तान्ने बेला राजाको ढाल र तरबारलाई शाही छाता ओढाएर लैजानुपर्थ्यो। त्यो नलगेसम्म मच्छिन्द्रनाथको रथ चल्दैन। कुमारीको पनि त्यस्तै हो। अचेल राजाका प्रतिनिधि भनेर अड्डाका कुनै सहयोगीबाट सांकेतिक हिसाबले मात्र भइरहेको छ।
यसरी धेरै थोक फेरिए वा निमिट्यान्नै भए। केहीलाई भने जसोतसो राष्ट्रपतिसँग जोडेर भए पनि अघि बढाइएको छ।
हाम्रो परम्परा हिन्दु राजतन्त्रात्मक हिसाबबाटै अघि बढेको थियो। आफ्नै किसिमको वैदिक संस्कृति हाम्रो पहिचान पनि हो। त्यो सनातन संस्कृति राजतन्त्रसँग मिलेरै अघि बढेको थियो।
राजाप्रति कतिसम्म आस्था थियो भने, उनलाई देउता सरह मानिएको थियो। यसरी देउता सरह मानिएकाहरूले पनि जनतालाई बन्देजमा राखेर राणाहरूकै शैलीमा एकलौटी शासन चलाउने प्रयास गरे। समयको गति बुझेनन्। त्यसैबाट कुरा बिग्रियो। प्रजातन्त्र व्यवहारमा लागू नै भएन। नागरिक अधिकार र राजनीतिक अधिकार जनतालाई छाडिदिएको भए त भइहाल्थ्यो।
पछिल्लो समय नेपालको राजालाई गतिलो सल्लाह दिने मानिस कोही भइदिएन। त्यसैले राजतन्त्र समाप्त भयो। उ बेला चन्द्रगुप्तलाई सल्लाह दिन चाणक्यजस्ता मानिस हुने गर्थे। चारैतिरबाट कमजोरै कमजोर हुँदै आइरहेका बेला नेपालमा राजतन्त्र समाप्त भएको हो।
मानिसहरु बाह्य कारणले राजतन्त्र गयो भन्छन्। म त्यसो भन्दिनँ। राजतन्त्र रहिरहनुपर्ने आन्तरिक कारणै यहाँ भएन। अरू कसैलाई किन दोष दिने?
यस्तो अवस्थामा गणतन्त्र स्थापना हुनु मेरो जीवनकालको तेस्रो महत्वपूर्ण घटना हुन पुग्यो।
हुन त यो सय वर्षभित्र नेपाल र अन्यत्र पनि अरू थुप्रै घटना भएका छन्। तर, मलाई यी तीनवटा घटनाको अघिल्तिर अरू खासै उल्लेखनीय लाग्दैनन्।
बरू यो सय वर्षमा मलाई सबैभन्दा दुःख लागेको कुरा काठमाडौं हेर्दाहेर्दै कुरुप बनाएर छाडे। हुँदाहुँदा टुँडिखेललाई नै टुक्रा-टुक्रा पारिदिए। यत्रो एसियाकै सबैभन्दा ठूलो परेड मैदान भनेर गर्व गर्ने टुँडिखेलको हालत के छ आज? यस्तो गाईजात्रा गर्ने हो? बसपार्क बनाउने ठाउँ हो टुँडिखेल?
यिनीहरूलाई त यस्तो महत्वपूर्ण स्थान टहरा र सटर बनाउने ठाउँ पो भएको छ! भविष्यका सन्ततिले के भन्लान् भन्ने डर छैन। सैनिक मञ्च पनि त्यहीँ टुँडिखेलमा बनाउनुपर्ने? मिलिटरीको अफिसर क्लब त्यहाँ बनाउन के जरुरी थियो? त्यत्रो कमलको पोखरी भएको ठाउँमा दशरथ रंगशाला बनाइदिए।
त्यो टुँडिखेलमा उभिएर हेर्दा हिमालमुन्तिर उपत्यकाको जुन सौन्दर्य देखिन्थ्यो, त्यो अब सबै विनाश भयो। घरहरू मात्रै देखिने भए।
यी सबै चिज चाहिँदैन भनेको होइन। सहर बाहिर खाली ठाउँमा बनाइदिए हुँदैन थियो?
हुँदाहुँदा चौबीसै घन्टा प्रवाहका साथ पानी बगिरहने सुन्धारा सुकाएरै छाडिदिए। मुखैमा सञ्चय कोषले पहाडजस्तो घर बनाएर थुनिदिएपछि पानी आउन बन्दै भयो।
सहर बिरुप भयो। हाम्रा सहरी योजनाहरू कामै लागेनन्। टुँडिखेलसँगै जोडिएको उता भृकुटीमण्डप भएको क्षेत्र त्यसैगरी मासिदिए। अनेक भवन त्यहीँ उभ्याउनुपरेको छ। पुलिस क्लब पनि त्यहीँ चाहिएको छ।
यी सब त अलिक पर लगेर राखे पनि हुन्थ्यो। हामीकहाँ सबैलाई सहरभित्रै भाग चाहिएको छ।
हाम्रो कालसम्म बचेर आएको काठमाडौंको सौन्दर्य अब आउने पुस्ताले देख्न नपाउने भए। सबभन्दा दुःखको कुरा यही हो।