२०७२ सालको विनाशकारी भूकम्पपश्चात् पुनर्निर्माण कार्यमा सहयोग सघाउन बालबालिकाको अधिकार र किशोरी समानताका लागि क्रियाशील प्लान इन्टरनेशनल नेपालले खासगरी शिक्षा, स्वास्थ्य, अस्थायी आवास, जीविकोपार्जनसहितका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ।
प्लान इन्टरनेशनल नेपालले भूकम्प प्रभावित जिल्लाहरु दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, काठमाडौं र ललितपुरमा सुरक्षित र भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण, अस्थायी आवासको प्रवन्ध, क्षतिग्रस्त खानेपानी आयोजनाको पुनर्निर्माणमा सहयोग प्रदान गरेको हो ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा प्रभावित जिल्लाहरुमा २३ वटा सुरक्षित र अपांगतामैत्री विद्यालय भवन निर्माण भएका छन् । यसबाट विद्यार्थीहरुले भूकम्प प्रतिरोधी र सुरक्षित वातावरणसहितको कक्षाकोठामा पढ्न पाएका छन् ।
यो अवधिमा भूकम्प प्रभावित क्षेत्रमा १९१ वटा खानेपानीका आयोजना निर्माण भई समुदायलाई हस्तान्तरण भइसकेको छ । खानेपानीको ट्याकी, पाइप र धाराहरु निर्माण भएपश्चात् समुदायले स्वच्छ खानेपानी प्रयोग गर्न पाएका छन्।
साथै, २१ हजार परिवारले शौचालय निर्माणका लागि सहयोग पाएका छन् । स्थानीय तहसँगको साझेदारीमा दोलखामा एक स्वास्थ्य चौकी निर्माण भएको छ ।
बालबालिकामाथि हुन सक्ने दुव्र्यवहार, हिंसा, बेचविखन जस्ता समस्या समाधानका लागि भूकम्प प्रभावित जिल्लामा बालबालिका र किशोरीमैत्री ९७ वटा स्थानहरु निर्माण गरिएका थिए । त्यस्तै, बेचविखन रोकथामका लागि ५ वटा सूचना केन्द्र निर्माणमा संस्थाले सहयोग गरेको थियो । ती केन्द्रको स्थापनापछि बेचविखनको जोखिम रहेका झण्डै ५ सय जना बालबालिकाको उद्धार गरिएको थियो ।
भूकम्पलगत्तै प्रभावित क्षेत्रमा क्रियाशील हुँदै संस्थाले ५६ हजारभन्दा बढी परिवारलाई अस्थायी र संक्रमणकालिन आवास निर्माणका लागि सामाग्रीहरु वितरण गरेको थियो। पुनर्निर्माणका सघाउ पुर्याउन १ हजार ४ सय कामदारहरुलाई सुरक्षित भवन निर्माणसम्वन्धि तालिम समेत प्रदान गरिएको थियो ।
भूकम्पपछिको प्रतिकार्य र पुर्नलाभ कार्यका लागि संस्थाले नेपाल सरकार, स्थानीय तहसँग साझेदारी गरेको थियो । ६ वटा जिल्लामा सञ्चालित विभिन्न कार्यक्रम २ लाख ९५ हजार भन्दा बढी व्यक्तिमाझ पुगेको थियो, जसमा १ लाख २० हजार भन्दा बढी बालबालिका छन् ।