राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले पुनर्निर्माणका काम द्रुत रूपमा अघि बढेको भन्दै नेपालको पुनर्निर्माण नमूनायोग्य भएको बताएका छन्।
‘नेपालको पुनर्निर्माण नमूनायोग्य पुनर्निर्माण भएको छ,’ मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिइओ ज्ञवालीले भने, ‘यही कारण हामीले अन्तर्राष्ट्रियस्तरबाट पनि प्रशंसा पाएका छौं। थप सहयोग पनि जुट्ने भएको छ।’
उनले राजनीतिक संक्रमण, संविधान निर्माण प्रक्रिया, नाकाबन्दी, भूकम्प गएको आठ महिनापछि मात्र प्राधिकरणको स्थापना हुनु, राजनीतिक अस्थिरतासँगै प्राधिकरणको नेतृत्व परिवर्तन लगायतका चुनौतीहरूका बाबजुद पनि उपलब्धिहरू प्राप्त भएको बताए।
सम्मेलनमा निजी आवास पुनर्निर्माणमा ८० प्रतिशत उपलब्धि हासिल भएको प्राधिकरणले जनाएको छ।
जसमध्ये ५० प्रतिशत लाभग्राहीले पुनर्निर्माण सम्पन्न गरीसकेका छन् भने ३० प्रतिशत परिवार घर पुनर्निर्माणका क्रममा रहेका छन्। प्राधिकरणले दस लाख घरपरिवारको सर्वेक्षण गरेको थियो।
प्राधिकरणले जोखिममा परेका वर्ग र असुरक्षित स्थानमा रहेका परिवारलाई सुरक्षित स्थानमा जग्गा उपलब्ध गराउने व्यवस्था मिलाएको समेत जनाएको छ।
यसैगरी, प्राधिकरणको समयावधिमै पुनर्निर्माण सक्ने पनि दाबी गरेको छ।