राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति पुगेको सिंहदरबारको मुख्य भवनको पश्चिम भागलाई पनि रेट्रोफिटिङ (प्रबलीकरण) गर्ने भएको छ।
विकास तथा प्रविधि समितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पछिल्लो अध्ययनले रेट्रोफिटिङ गरेर अझै बलियो बनाउन सकिने देखाएकाले पश्चिम भाग रेट्रोफिटिङ गर्ने प्रकृया अघि बढाएको जानकारी दिए।
‘पुरातात्विक सम्पदा संरक्षणको अवधारणाअनुसार सिंहदरबार रेट्रोफिटिङ गर्छौं। रेट्रोफिटिङ डिजाइन समेत प्राप्त भइसकेकाले प्रकृया छिट्टै अघि बढेको छ,’ सिइओ ज्ञवालीले भने।
प्रतिनिधिसभा रहेको संसद्को पुरानो भवन भत्काएर नयाँ बनाउन सुझाव आएको जानकारी दिँदै ज्ञवालीले पुरानो भवन रेट्रोफिटिङ गरेर संरक्षण गर्ने कि नयाँ संरचना बनाउने भन्नेबारे सुझाव दिन सांसदहरूलाई आग्रह गरे।
सिंहदरबारको उत्तर, पूर्व र दक्षिण भागमा रेट्रोफिटिङ गर्ने काम भइरहेको छ।
अध्ययनले पनि सिंहदरबारको मुख्य पर्खालहरूमा ठूलो क्षति नभएको, प्रयोग भएका इँटाहरू बलियो रहेको, केही काठ भने फेर्नु पर्ने देखाएको छ।
बैठकमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणमा हालसम्म भएका उपलब्धी र कार्ययोजना प्रस्तुत गरेका थिए।
समिति सभापति कल्याणी खड्काले पछिल्लो समय पुनर्निर्माणका काम देखिने गरी भइहरेको बताउँदै गुनासो सम्बोधन, गुम्बा पुनर्निर्माण लगायतलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिइन्।
बैठकमा सांसदहरूले गुनासो सम्बोधन, गुम्बा पुनर्निर्माण, बस्ती स्थानान्तरण, पुनर्निर्माणको बजेट, सडक पुनर्निर्माण, खानेपानी, जीविकोपार्जन, विद्यालय, सम्पदा पुनर्निर्माण लगायतबारे जिज्ञासा राखेका थिए।