ग्राउन्ड जिरो: बाराबाट स्थलगत
एकछिनको हावाहुरीले तहसनहस पारिदिएको गाउँमा भोलिपल्ट जताततै वीभत्स दृश्य देखिँदै थियो।
‘हइ जमदूतके ग्रह रहे (यो यमदूतको ग्रह थियो)’ तन्नेरीहरू आपसमा कुरा गर्दै अघि बढ्दा भनिरहेका थिए, ‘ना त आँधिबेहरीसे हेतना नुकसान कहियो पता ना रहे (नत्र आँधि आएका बेला यत्तिको नोक्सानी हुन्छ भनेर थाहै थिएन)।’
आइतबार बेलुकी ७ बजे आसपासमा करिब आधा घन्टा चलेको हुरी, असिना र त्यसपछि लगातार आँधिबेहरीसहितको वर्षाले बारा जिल्लाको पश्चिमी भेगलाई नराम्ररी बिथोलिदिएको छ।
वीरगन्जबाट कलैया जाने १२ किलोमिटर सडकको करिब आधा दुरी तय गरेपछि सडकदेखि नै आँधिको प्रभाव देखिन्छ। बिजुलीका लठ्ठा जताततै खसेका छन् भने सडकभरि तार छरिएका छन्। घरका भित्ता जताततै लडेका छन् भने छानो उडाएर कतातिर लगिदियो भन्दै खोजी गरिरहेका गाउँलेहरू पनि भेटिँदै थिए। कसैकसैका घरका उडेका हिस्सा निकै पर गहुँ बारीमा लडिरहेका देखिन्थे।
भलुही गाउँका सुरेन्द्र साह कलवार ठेलामा भाजा पसल चलाउँथे। अचानक चलेको हुरीले उनको ठेला नै उडाएर झन्डै दुई सय मिटर परको खेतमा लगेर लडाइदिएको थियो। सोमबार बिहान बल्लतल्ल ठेलाको अवशेष भेटेका सुरेन्द्र त्यसै ठेलाका भाँचिएका चक्का समात्दै आइरहेका थिए।
‘मेरो त सर्वस्व नै गयो,’ उनी सेतोपाटीसँग भनिरहेका थिए, ‘दुई साताअघि बनाएको ठेला नै नरहेपछि अब केमा व्यापार गर्ने भन्ने सोचेरै डर लागिरहेको छ।’
सुरेन्द्रका अनुसार उनको ठेलामा पचास हजार रुपैयाँका सामान रहेकामा ठेलाका साथै ती सबै सामान हुरीले उडाइदिएको छ। आइतबार दिउँसो खाना खाएका उनले बेलुकीको घटनापछि केही नखाएरै बसिरहेका छन्।
भलुहीभन्दा अलिक पर भरबलिया गाउँमा प्रवेश गर्नेबित्तिकै अवशेषहरूको थुप्रोमाथि बसिरहेकी सातवर्षे मुनिताकुमारी पटेल देखापरिन्।
आजसम्म स्कुल टेक्न नपाएकी मुनिताको झुपडी त आँधिले ध्वस्त पारिदियो नै, छिमेकमै जोडिएको पक्की घर जग मात्र अडिएको देखिने गरी लड्दा उनको परिवारका चार जना सदस्य सिकिस्त घाइते भई वीरगन्ज अस्पतालमा उपचार गराइरहेका रहेछन्।
उनकी आमाको कम्मरमुनिको भागै नचल्ने गरी च्यापिएको अवस्थामा उद्दार गरेर वीरगन्ज लगिएको छिमेकीले बताए। आइतबार बेलुकीदेखि नै भोकै रहेकी मुनिता भर्खर गाउँमा आइपुगेका स्वयंसेवकहरूले बाँडेको बिस्कुट खाइरहेकी थिइन्।
‘उसको परिवारका चार जनासहित आठ जनालाई त मैले नै उठाएर टेम्पुमा राख्दै कलैया वीरगन्ज सडकसम्म लगिदिएको थिएँ,’ छिमेकी नरेश पटेल बाहुलामा लागेको रगतका टाटा देखाउँदै भनिरहेका थिए, ‘सुरुमा त गाउँलेहरूलाई वीरगन्जको अस्पतालसम्म लैजान नै महाभारत भएको थियो।’
नरेशको गाउँ भरबलियादेखि कलैया वीरगन्ज सडकसम्मको दुरी कच्ची सडकबाट करिब तीन किलोमिटर पर्छ। उनका अनुसार उक्त सडकमा भने धमाधम आउन थालेका एम्बुलेन्सले घाइतेहरू ओसारेको थियो।
सोमबार बिहान भने त्यस्ता एम्बुलेन्स नरेशको गाउँसम्मै पुगेर घाइते ओसार्दै गरेको दृश्य देखिन्थ्यो।
‘वीरगन्जका सबैजसो अस्पतालमा घाइतेहरूको भीड लागेको छ,’ नरेशले गोजीबाट औषधी सिफारिश गरिएको कागजको मुठो निकाल्दै देखाए, ‘यति धेरै खर्च हामी आफैंले गरिरहँदा सरकारबाट ठ्याम्मै सुविधा पाइरहेका छैनौं।’
नरेशका अनुसार उनको गाउँमा मात्रै आँधिका कारण घर भत्केर मृत्यु हुनेको संख्या पाँच पुगिसकेको छ। यस गाउँकै अस्पतालमा उपचार गराइरहेका सयभन्दा बढी घाइतेमध्ये थुप्रैको अवस्था चिन्ताजनकै रहेको उनले जानकारी दिए।
आँधिको सबैभन्दा बढी प्रभाव परेको फेटा गाउपालिकाअन्तर्गतकै भरबलियामा पाँच र भलुहीमा तीन जनाको उत्तिखेरै मृत्यु भएको थियो भने अलिक परको पुरैनियामा सबैभन्दा ठूलो क्षति पुगेर १२ जनाको मृत्यु भइसकेको थियो।
आँधिको सबैभन्दा बढी प्रभाव परेका यी तीनवटा गाउँ झन्डै पाँच किलोमिटर परिधिभित्र पर्छ। यसले बारासँग जोडिएका पर्सा र रौतहटमा पनि नोक्सानी गरेको थियो।
टाउकामा जताततै टेप टाँसिएका तन्नेरी सन्तोष पटेल पनि भेटिए जो पानी पर्दापर्दै बाटैमा ओत लागिरहँदा ओत लागेको पक्की घरै ढल्न पुगेको थियो।
‘त्यहाँ थुप्रै मानिस ओत लागेका थियौं,’ सन्तोषले भने, ‘ओत लागेका धेरै घाइते भए पनि कसैको ज्यान चाहिँ गएन।’
भरबलियामा एकैठाउँ सबैभन्दा ठूलो नोक्सानी गाउँको दक्षिणी कुनातिर पर्ने अमर यादव, सत्यनारायण यादव र रामबाबु पटेलका पक्की घर भत्किँदा भएको थियो। यादव परिवारका तीन जना सदस्य अझै वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार गराइरहेका छन् भने पटेल परिवारकी ४० वर्षीया मनोरमा पटेलको घटनास्थलमै निधन भएको थियो। इँटामा सिमेन्टका जोडाइ हेर्दा ती घर भर्खरै बनेका देखिन्थे।
‘नयाँ घर भत्कियो भनेर के अचम्म मान्ने?’ पीडित यादव परिवारकै भाइ २७ वर्षीय अवधकिशोर भनिरहेका थिए, ‘मेरो घरमा गाडिएको चापाकलसमेत उडाएर खेतमा लडाइदिएको छ।’
अवधकिशोरले गाउँमा पाँचवटाभन्दा बढी त्यस्ता चापाकल आँधिले उडाइदिएको र बिजुलीका पोलहरू एउटै पनि सद्दे नरहेको देखाए।
जताततै बिजुलीका पोल लडेको देख्दा यस भेगमा तत्काल विद्युत प्रवाह हुनसक्ने देखिँदैन।
तुलनात्मक रूपले निकै कम क्षति भएको वीरगन्जमा समेत झन्डै चौबीस घन्टासम्म बिजुली उपलब्ध थिएन भने त्यसपछि बल्न थालेको बत्ती पनि लगातार आउने र जाने गरिरहेको छ।
अवधकिशोरका अनुसार आइतबार बेलुकी सबैभन्दा पहिले चलेको हुरीले कुनै क्षति गरेको थिएन। हुरीसँगै ठूल्ठूला असिना परुन्जेल पनि खासै नोक्सानी गरेको थिएन। जसै मुसलधारे पानी र ठूलो आँधि एकसाथ चल्न थाल्यो, त्यसले भने भयावह अवस्था सिर्जना हुने गरी धमाधम घरहरू ढालिदिएको थियो।
पाक्नै लागेका गहुँका बारी सोत्तर भएर लडेका थिए भने छेउछाउका ठूल्ठूला रुखसमेत जरैदेखि उखेलिएर गहुँबारीमा उत्तानो परेका देखिन्थे।
अवधकिशोरकै घरको अर्को दिशामा वीरजीत पटेलको घर पनि लडेको थियो जसमा उनको साढे दुईवर्षे एकमात्र छोरा नन्दलाल पटेललाई वीरगन्जस्थित हेल्थ केयर अस्पतालले मृत घोषित गरेको थियो।
सोमबार बिहान गाउँभर प्रहरी र सेनाका टोलीले थुप्रै स्थानमा उद्दार कार्य गरिरहेको देखिन्थ्यो भने एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए। यसरी नै उद्दारमा खटिएका सुरक्षाटोलीले भलुही गाउँमा एक सत्तरी वर्षीया महिलालाई घटनाको १२ घन्टापछि जीवितै उद्दार गरेर उपचारार्थ वीरगन्जतिर पठाएका थिए। ती वृद्धा आफ्नी छोरी भेट्न आएका बेला आँधिको चपेटामा परेकी थिइन्।
भलुहीकै शान्तिदेवी कोइरी साठी वर्ष उमेर नाघे पनि अहिलेसम्म यस्तो आँधिहुरी नदेखेको सुनाइरहेकी थिइन्। गाउँमा उनको समेत दुईमध्ये एउटा घर ढले पनि परिवारका कसैलाई असर परेको थिएन।
‘भुइँचालो आउँदा चाहिँ बेस्सरी हल्लाएको थियो,’ शान्तिले भनिन्, ‘त्यसपछि अहिले नै यस्तरी भगवान रिसाएको देखियो।’
खाना खान बसेकै बेला हुण्डरी चलेपछि खानेकुरा छोप्नसमेत गाह्रो पर्ने गरी आँधि चलेको उनले सुनाइन्।
घटनास्थलमै केही स्वयंसेवी सबेरैदेखि खटिरहेका देखिन्थे।
‘घटनाबारे जानकारी पाउनेबित्तिकै राति साढे २ बजेदेखि यतै छु,’ गाउँलेहरूलाई बिस्कुट बाँडिरहेका वीरगन्जका परिचित स्वयंसेवी प्रकाश थारु भनिरहेका थिए, ‘मुलुकभरिबाट धेरैले सहयोगको इच्छा देखाएका कारण कुनै पनि कुराको अभाव होलाजस्तो लागिरहेको छैन।’
सबै तस्बिर: गिरीश गिरी/सेतोपाटी
यो पनि हेर्नुहोस्:
ग्राउण्ड जिरो : बाराबाट गिरीश गिरीको स्थलगत रिपोर्ट
बंगालबाट आएको तातो र भू-मध्यसागरको चिसो हावा बारामा भेट हुँदा चल्यो भूमरी
वीरगञ्जका अस्पतालमा पनि छैन बिजुली, हावाहुरीले २ हजार पोल ढल्दा १५ करोड क्षति