फागुने झरीले बाटो ओभाएको छैन। चिसो उत्तिकै। बिहानको तापक्रम पाँच डिग्रीभन्दा कम।
हेलम्बु गाउँपालिका, मेलम्ची घ्याङ विद्यालयमा करिब तीन सय विद्यार्थी एकाबिहानै लामबद्ध छन्। अगाडि उभिएका दस जना विद्यार्थी आ–आफ्नो प्रतिभा देखाइरहेका छन्। फर्रर अंग्रेजीमा।
२०७२ को भुइँचालोले भवन भत्काएपछि अस्थायी टहरामा पढाइरहेको यो सामुदायिक स्कुलको गुणस्तर निजीभन्दा कम छैन।
यसले २०६३ बाट माध्यमिक तहको पढाइ सुरू गरेको हो। त्यसयता सबै विद्यार्थी प्रथम श्रेणीमा पास भएका छन्। गत वर्ष २४ जनाले एसइई दिएका थिए। सबैले 'ए' र 'ए प्लस' ल्याए। यसको श्रेय प्रधानाध्यापक पूर्ण गौतमलाई जान्छ, जो ३० वर्षदेखि यो स्कुल हाँकिरहेका छन्।
काभ्रे, चौंरीदेउराली गाउँपालिकाका गौतम कसरी सिन्धुपाल्चोकको स्कुल चलाउन पुगे भन्ने लामो कथा छ।
उनी खासमा इञ्जिनियर बन्न चाहन्थे। पुल्चोक इन्जिनियरिङ क्याम्पसमा नाम पनि निकाले। पढाइ सुरू हुनु दुई महिनाअघि २०४१ मंसिर महिनातिर उनी साथीहरूसँग हेलम्बु गए।
केही दिन घुमघामलाई हेलम्बु पुगेका गौतम त्यसपछिका उतैका भए।
आखिर के थियो हेलम्बुको मेलम्ची घ्याङमा, जसले उनलाई बाँधेर राख्यो?
स्कुल नभएर पढ्न नपाएका केटाकेटीको टिठलाग्दो अवस्था देखेर हेलम्बुमै रोकिएको गौतम बताउँछन्।
‘काठैकाठका घर, सफासुग्घर गाउँ र आत्मीय सत्कार। त्यस्तो ठाउँमा पनि स्कुल भने एउटै थिएन,' उनले भने, 'केटाकेटीहरू नेपाली भाषाधरि बुझ्थेनन्। आफूभन्दा फरक भाषा बोल्ने मान्छे देख्यो कि कुलेलम ठोक्थे।'
त्यो बेला दुई स्थानीय अगुवा गाउँमा स्कुल खोल्ने प्रयासमा लागे पनि पढाउने मान्छे नपाएर अलमलिएका थिए।
गौतमलाई आफ्नो पढाइभन्दा हेलम्बुका केटाकेटीलाई शिक्षाको उज्यालो दिन बढी जरूरी लाग्यो। कुरै कुरामा भने, ‘म आएर स्कुल खोल्छु, खानबस्न दिने हो?’
गाउँलेहरू तुरून्तै सहमत भए।
उनी परिवारसँग कुराकानी गरेर फेरि आउने बाचा गर्दै काठमाडौं फर्के। घरमा परिवारलाई भने सम्झाउन सकेनन्।
इञ्जिनियरिङमा नाम निकालेको छोरा आफ्नो पढाइ छाडेर गाउँमा पढाउन जान्छु भन्दा आमाबाबु कसरी मानून!
‘घरमा सबैले गाली गरे। फर्केर जाँदै नजा भन्ने जवाफ आयो,' उनले परिवारसँगको रस्साकस्सी सम्झँदै भने, 'आमाले जे मन लाग्छ गर, तर गाउँमा पढाएर बस्छु भन्नेतिर नलाग् भन्नुभयो। दाइहरूले यो बिग्रियो भन्न थाले।'
कसैले घुर्क्याए, कसैले थर्काए। तै गौतमका पाइला थामिएनन्।
न उनी मेलम्ची घ्याङबासीलाई दिएको बचन तोड्न सक्थे, न आफ्नै मनको आवाजबाट मुख मोड्न।
पोकापन्तुरा कसे, लागे हेलम्बु।
गाउँलेले खानेबस्ने प्रबन्ध मिलाइदिए, उनी स्कुल खोल्ने प्रबन्ध मिलाउन थाले।
गौतमसँग मनभरि जोश थियो, गोजीमा दाम थिएन। उनले एक स्थानीय घरको बरन्डामा स्कुल सञ्चालन गरे। सुरूमा जम्मा १९ जना विद्यार्थी थिए।
स्कुललाई चाहिने सरसामग्री जुटाउन उनी समुदाय र वरपरका गाउँतिर जान्थे। त्यहाँका स्कुल प्रधानाध्यापकहरूसँग सरसल्लाह गर्थे।
छिमेकी गाउँ तार्केघ्याङको गोरखनाथ प्राथमिक विद्यालयले केही किताब दिएर मद्दतको हात बढायो।
एक वर्षसम्म यसरी नै चल्यो। उनी गाउँलेले दिएको खान्थे, गाउँभरिका केटाकेटी जम्मा गरेर पढाउँथे।
घरको बरन्डाबाट सुरू यही स्कुल स्थानीयको साथ पाएर २०४५ सालमा मेलम्ची घ्याङ प्राथमिक विद्यालयमा परिणत भयो। पाँच कक्षासम्म पढाइ हुन थाल्यो।
यतिबेलासम्म उनी मेलम्ची घ्याङका शिक्षक मात्र होइन, त्यहीँका बासिन्दाजस्तै भइसकेका थिए।
आफ्ना केटाकेटीको भविष्य निम्ति अर्को गाउँबाट आएका शिक्षकलाई गाउँलेहरू खुब चिज गर्थे। उनलाई दिनकै पालैपालो आ-आफ्नो घर डाकेर खाना खुवाउँथे।
प्राथमिक विद्यालय बनेपछि गौतमको काँधमा अर्को जिम्मेवारी थपियो, अगाडिको कक्षालाई निरन्तरता दिने।
स्कुललाई प्राथमिक तहमै सीमित राख्दा केटाकेटीहरूले पाँच कक्षाबाटै पढाइ छाड्लान् कि भन्ने उनलाई डर थियो। त्यसपछि के? या त उनीहरूले खेतीपातीमै भुल्नुपर्थ्यो, या सहर गएर कुल्ली काम गर्नुपर्थ्यो, या भारत पसेर भाँडा माझ्नुपर्थ्यो।
'उनीहरूलाई यस्तै अन्यौलमा छाड्ने हो भने मैले आफ्नो घरपरिवार छाडेर यहाँ पढाउन आएको के सार?' गौतमले भने, 'यही सोचाइले मैले जसरी भए पनि थप कक्षा सञ्चालन गर्छु भन्ने प्रण गरेँ। हरेक वर्ष दु:खसुख गर्दै एक-एक कक्षा थप्दै लगेँ।'
उनकै जोडबलले २०६३ सालमा यहाँका विद्यार्थी पहिलोपटक एसएलसीमा सामेल भए।
लगातार कक्षा थप्न एक्लैले कसरी पैसा जोहो गर्नुभयो त?
‘हेलम्बुमा खुब पर्यटक आउँछन्। उनीहरूलाई खानपान गराउन बाटोभरि होटल, लज खुलेका छन्,' उनले भने, 'हामीले तिनै पर्यटकलाई आफ्नो स्कुल घुमाउन ल्यायौं। होटलवालाहरूलाई पनि अनुरोध गर्न लगायौं।'
'गाउँमा दु:ख गरेर खुलेको स्कुल देखेपछि हामीले सहयोग माग्नै परेन, ठूलो मन भएका पर्यटकहरू त्यसपछि आफैं खोजी खोजी आउन थाले। अहिले पनि आउँछन्, सहयोग गर्छन्,' उनले भने।
यही क्रममा विभिन्न संघ-संस्थाको सहयोग जुट्दै गयो। केहीले विद्यालय भवन बनाइदिए, केहीले छात्रावास। कतिले त आफ्नै खर्चमा शिक्षक पठाइदिएको गौतम बताउँछन्।
भुइँचालोमा स्कुल भवन भत्किएपछि पुनर्निर्माणका लागि पनि विभिन्नले संस्थाले सहयोग गरेको उनले जानकारी दिए।
विद्यालयमा १८ जना शिक्षक छन्। तीमध्ये पाँच जना स्थानीय हुन्। दस जना सरकारी तलब खान्छन् भने बाँकी निजी स्रोतबाट। विभिन्न देशबाट आएका स्वयंसेवी शिक्षकले पनि यहाँ काम गर्छन्।
यो स्कुलमा नर्सरीदेखि नै अंग्रेजी माध्यममा पढाइ हुन्छ। ह्योल्मो जातिको बाहुल्य रहेको गाउँमा सबै तिब्बती भाषा बोल्छन्। त्यसैले कक्षा पाँचसम्म तिब्बती भाषा पनि पढाइन्छ। अंग्रेजी भाषा अनिवार्य गरिए पनि स्थानीय वा नेपाली भाषा बोल्नै नपाइने भन्ने छैन।
पराई गाउँमा पढाउन आएका गौतम सुरूका दिनमा निकै गाह्रो भएको बताउँछन्।
‘सुरु सुरुमा त विदेश गएजस्तै भयो। विद्यार्थीहरू पनि सोचेजस्तो आएनन्। घरघरै गएर सम्झाउनुपर्थ्यो,' उनले भने, 'पछि गाउँलेहरूले नै सहयोग गर्नुभयो। मैले पनि मिहिनेत गरेँ। बिहानदेखि बेलुकीसम्म पढाएँ। त्यसपछि त स्कुल खोल्न हुन्न भन्नेहरु विस्तारै सहयोगी बन्दै गए।’
उनको आफ्नै घरपरिवार राजी हुन भने समय लाग्यो।
दसैंमा घर आउँदा हरेकचोटि हेलम्बु फर्कन सकस हुन्थ्यो। गाउँ नफर्किनू भनेर परिवारकाले करकर गर्थे। उनी हरेकचोटि एउटै जवाफ दिन्थे, 'एक-दुई वर्ष काम गर्छु, अनि आउँछु।'
त्यो एक-दुई वर्ष कहिल्यै पूरा भएन।
चौंतीस वर्षदेखि यहाँ बसोबास गर्दा उनी आफूलाई पनि हेलम्बुको ह्योल्मो नै ठान्न थालेका छन्। २०५८ सालमा एक स्थानीय एकल महिलासँग बिहे पनि गरे, जो ह्योल्मो नै हुन्। बिहेपछि उनी बुद्ध धर्म मान्न थालेका छन्।
एकल महिलासँग अन्तरजातीय बिहे गर्दा अप्ठ्यारो भएन?
‘उहाँको बिहे सानै उमेरमा करकापमा भएको रहेछ। डिभोर्स गरेर बस्नुभएको थियो। उहाँको श्रीमान् पनि बितिसक्नुभएको। यहाँ बस्दाबस्दै भेटघाट भयो। माया बस्यो तर बिहे चाहिँ मागी नै गरेको,’ गौतमले आफ्नो प्रेमकथा सुनाए, ‘उहाँको घरमै गएर मागेको। मेरो घरबाट एक-दुई जना मात्र आउनुभयो। अरू सबै ह्योल्मोहरुलाई साक्षी राखेर बिहे गरेँ।’
गौतमले यतै बसेर आफ्नो अध्ययन पनि बढाएका छन्। उनले गणित विषयमा आइएड पास गरे। त्यसपछि कानुनमा स्नातक गरे र समाजशास्त्रमा स्नातकोत्तर।
स्थानीय ह्योल्मो भाषामै कुराकानी गर्न पोख्त उनी भन्दै थिए, 'अचेल त मलाई नेपाली भाषा बोल्न अप्ठ्यारो लाग्न थालेको छ।'
'मलाई गौतम होइन, ह्योल्मो भन्नुस्,’ उनले हाँस्दै भने।
गौतम आफ्नो ३४ वर्षे यात्राबाट सन्तुष्ट छन्। यहाँ नआएका भए इञ्जिनियरिङ पढेर कतै जागिर खाइरहेका हुन्थे!
उनी असल इञ्जिनियर हुन्थे कि हुन्थेनन् थाहा छैन। इञ्जिनियर भएका भए देशको विकास निर्माणमा के योगदान पुर्याउँथे, त्यो पनि थाहा छैन। तर, हेलम्बुमा स्कुल खोलेर उनले यहाँका केटाकेटीको भविष्य सपार्न जुन योगदान गरेका छन्, त्यो अतुलनीय छ।
‘मैले यहाँ आएपछि धेरै कुरा पाएँ। गरिब भाइबहिनीको भविष्य बनाउन सफल भएँ। धेरै विद्यार्थी डाक्टर, इञ्जिनियर भएका छन्। राम्रो ठाउँमा पुगेका छन्। सही-गलत छुट्याउन सक्छन्। क्षमतावान् छन्,' उनले भने, 'सन्तुष्ट हुनलाई त्योभन्दा बढी के चाहियो?’
‘शिक्षण पेसाले निकै सन्तुष्टि दिँदो रहेछ। काठमाडौं वा अन्य ठाउँमा जाँदा हाम्रो स्कुलको नाम सुन्नेबित्तिकै सबै जना तारिफ गर्छन्।'
उनी २०७७ सालदेखि विज्ञान विषयमा उच्च माध्यमिक कक्षा सञ्चालन गर्ने तयारी गर्दैछन्। नि:शुल्क पढाउन सकिन्छ कि भन्ने पनि उनको सोच छ।
'भुइँचालो नआएको भए यो कुरा पहिल्यै पूरा भइसक्थ्यो। भुइँचालोले भौतिक संरचना नष्ट भएपछि हाम्रो योजना सर्यो,' उनले भने।
मेलम्ची घ्याङको यो सामुदायिक स्कुल र अन्यमा के फरक छ त?
यहाँ शिक्षकले गफ गरेर खान पाउँदैनन्। राजनीति गर्न पाउँदैनन। हाम्रो शिक्षक कुन पार्टीको? केमा भोट हाल्छन्? कसैलाई थाहा छैन,' उनले भने, ‘केही गर्छु भन्ने इच्छाशक्ति भएपछि परिणाम हासिल हुँदो रहेछ।'
यो स्कुलमा १२ जिल्लाका ३ सय १९ विद्यार्थी पढ्छन्। सिन्धुपाल्चोकसहित धनुषा, मोरङ, सोलुखुम्बु, दोलखा, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, नुवाकोट लगायत जिल्लाका विद्यार्थी पढिरहेको गौतमले जानकारी दिए।
अहिलेसम्म यहाँबाट करिब तीन सय जनाले एसइई (एसएसली) पास गरेका छन्। स्कुलमा पढाइ शुल्क तिर्नुपर्दैन। छात्रावास बस्नेले खाना र खाजाबापत् दिनको ८५ रुपैयाँ तिर्नुपर्छ। करिब २ सय ५० जना छात्रावासमा बस्छन्।
अर्को वर्षबाट शारीरिक अपाङ्गता भएका विद्यार्थीलाई पनि राख्ने व्यवस्था मिलाइँदैछ। यसको निम्ति अपाङ्गमैत्री छात्रावास र शौचालय बन्दै छन्।
यो स्कुलमा पढ्न प्रवेश परीक्षा अिनवार्य छ। परीक्षा पास भए आवेदन गरेकै कक्षामा पढ्न पाइन्छ। नभए कक्षा झारेर भर्ना लिइन्छ।
‘प्रवेश परीक्षाबाट विद्यार्थी छानेर राखेकाले राम्रो नतिजा ल्याएको भन्ने हल्ला छ। त्यस्तो होइन,' गौतमले भने, 'हामी प्रवेश परीक्षा त लिन्छौं, तर आएका सबै विद्यार्थीले पढ्न पाउँछन्।’
यहाँको पढाउने तरिका अन्य सामुदायिक स्कुलको दाँजोमा भिन्न छ। हरेक शिक्षकले 'लेसन प्लान' बनाएका हुन्छन्। वर्षभरि कुन अध्याय कहिलेसम्म पढाइसक्ने, कसरी पढाउने लगायत त्यसमा समेटिन्छ।
विद्यार्थीलाई पढाइमा चुस्त राख्न प्रत्येक साता परीक्षा लिइन्छ। अतिरिक्ति क्रियाकलाप पनि नियमित भइरहन्छन्।
हामी पुग्दा एकाबिहानै स्कुलको आँगनमा पंक्तिबद्ध विद्यार्थीहरू निर्धक्क आफ्नो प्रतिभा देखाउँदै थिए। कोही चुट्किला भन्दै थिए, कोही निबन्ध, जीवनी र कविता सुनाउँदै।
उनीहरू सबैमा आत्मविश्वासको कमी देखिन्थेन।
पूर्ण गौतमको सबभन्दा ठूलो योगदान यही हो। उनले सिन्धुपाल्चोकका केटाकेटीमा प्राण भरे।