२०७२ सालको भूकम्पले ध्वस्त भएको ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनर्निर्माणको मुख्य काम आइतबारदेखि सुरू भएको छ।
विस २०७२ वैशाख १२ को महाभूकम्पले पूर्णरूपमा ढलेको हनुमान ढोका दरबार क्षेत्रको काष्ठमण्डपका चार वटा मूल थाम ठड्याइएपछि मुख्य काम थालिएको हो।
जेठ ३१ गतेबाट औपचारिक रूपमा पुनर्निर्माणको काम थालिएको करिब आठ महिनापछि मात्र पुनर्निर्माण समितिले काष्ठमण्डपको चार वटा थाम राखेपछि पुनर्निर्माणले मूर्त रूप लिएको हो।
काष्ठमण्डप पुनर्निर्माणको क्रममा जगको काम सकिएसँगै आइतबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य तथा बसन्तपुरवासीले थामको विशेष पूजा–आजा गरी ठड्याइएको छ।
काठमाडौं महानगरपालिकाको साढे पाँच करोड आर्थिक सहयोगमा पुनर्निर्माणको काम भइरहेको छ।
विश्व सम्पदा सूचीमा सूचीकृत तथा मौलिक र ऐतिहासिक सम्पदा समेत भएकोले यसको पुनर्निर्माण पुरानै ढाँचामा तीन तला हुने पुनर्निर्माण समितिले जनाएको छ।
भूकम्प गएको लामो समयसम्म काष्ठमण्डप कस्तो बनाउने कसले बनाउने विवाद थियो तर अहिले काठमाडौं महानगरपालिका तथा जनस्तरबाटै गर्न लागिएको छ। पुनर्निर्माणको लागि समितिको महानगरपालिकासँग सम्झौता भएसँगै गत कात्तिक २२ गते काष्ठमण्डपको शिलान्यास गरिएको थियो।