बारा, सिमरौनगढस्थित रानीबास मठ जिर्णोद्धार क्रममा ठेकेदारले जथाभाबी डोजर चलाएर पुरातात्विक सम्पदा मासेको भन्दै स्थानीयले विरोध गरेपछि पुरातत्व विभागले काम रोकेको छ।
रानीबास क्षेत्रमा पुरातात्विक सर्वेक्षणबिना जमिनमुनि ६ फिटसम्म खनिएको र माटो खन्दा निस्किएका कर्णाटकालीन इँटा संरक्षण गरिनुपर्नेमा नष्ट गरिएको स्थानीयको आरोप छ।
विभागले रानीबास मठ जिर्णोद्धारको काम ठेकेदारलाई जिम्मा लगाएको थियो। स्थानीयको विरोधपछि इन्जिनियर सन्तोष यादवसहितको टोलीलाई सोमबार अध्ययन गर्न पठायो। टोलीले स्थलगत अवलोकनपछि बिहीबार आफ्नो प्रतिवेदन विभागलाई बुझाएको छ। प्रतिवेदनसँगै त्यहाँ फेला परेका चारवटा फरक किसिमका इँटाका नमूना पनि बुझाइएको छ।
विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले यो प्रतिवेदन अध्ययनपछि थप कारबाही अघि बढाउने जानकारी दिए।
‘त्यो रानीबासको ठूलो मठ हो। भत्केकोले जगैदेखि बनाउन थालेका थियौं। ठेकेदारले डोजर चलाउन नपर्नेमा चलाइदिएछ,’ कुँवरले सेतोपाटीसँग भने, ‘हाम्रो टोलीले त्यहाँको स्थलगत रिपोर्ट दिएको छ। त्यो हेरेपछि बल्ल कसरी काम अघि बढाउने निर्णय हुनेछ।'
पुरातात्विक क्षेत्रमा काम गर्दा किन विभागका प्रतिनिधि सुपरीवेक्षणमा नगएको भन्ने प्रश्नमा कुँवरले भने, ‘ठेकेदारले गर्ने सबै काममा प्रतिनिधि जाँदैनन्। अनुगमनका लागि मात्र जाने हो। सबै काममा पुरातत्व विभागका मान्छे दैनिक रूपले खटिएर हेर्न सकिँदैन।’
रानीबास मठ क्षेत्र दुई बिगाहामा फैलिएको छ। मठले मात्र आधा बिगाहाभन्दा धेरै हिस्सा ओगट्छ। जंगबहादुर राणाका छोरा जीतजंगले बनाएको यो मठ नेपालकै ठूलोमध्ये पर्छ। सिमरौनगढको मुख्य क्षेत्रमा पर्ने मठका चार कोठा मर्मतका लागि ४ करोड ८५ लाख पर्ने अनुमान छ।
सिमरौनगढ नगरपालिकाका पुरातात्विक सल्लाहकार तारानन्द मिश्रले जमिनमुनि भेटिएका राणाकालीन इँटाहरू डोजर चलाएर चकनाचुर पारिएको बताए।
‘जति खन्नु थियो खनिसक्यो, फालिसक्यो। यस्तो संवेदनशील ठाउँमा डोजर चलाउनु नै गलत थियो। यसलाई त चक्कुले मिहिन रूपमा खुर्कनुपर्छ,’ मिश्रले भने, ‘पुरातात्विक क्षेत्रमा दुनियाँमा कहीँ पनि यस्तरी डोजर चलाइन्न। ठेकेदारले सस्तोमै काम सकेर पैसा बचाउन यस्तो गरेका हुन्।’
एेतिहासिक स्थलको जिर्णोद्धारमा पुरातत्व विभागका एक जना पनि विज्ञ सुपरीवेक्षणमा नबसेकोमा उनले आपत्ति जनाए।
'एक जना इन्जिनियरलाई सबै जिम्मा दिएर पठाइएको रहेछ। उनलाई यहाँको बारेमा थाहा हुन्न। अरू काम ठेकेदारको भरमा छाडियो। ठेकेदारले खनखान पारेर सबै बर्बाद गर्यो,' उनले भने।
सिमरौनगढबारे अध्ययन गर्दै आएका समाजशास्त्री भरत शाह पनि पुरातात्विक क्षेत्रमा लापरबाहीपूर्वक काम भएको बताउँछन्। स्थानीयको सहभागितामा मात्र यस्तो जिर्णोद्धार गराउनुपर्ने उनको सुझाव छ।
‘पुरातात्विक क्षेत्रमा हातले काम गरेको भए स्थानीयले रोजगारी पाउने थिए,' उनले भने, 'सम्पदा पनि सुरक्षित हुन्थ्यो।'
पुरातत्वविद् मिश्रले यस क्षेत्रको पुरातात्विक अध्ययन र सर्वेक्षण क्रममा सन् १०९७ देखि १३२६ सम्म स्थापित प्राचीन सिमरौनगढ नगरका विभिन्न तह भेटिएको बताए। प्राचीन सभ्यताका चिह्न रहेकाले मिथिला क्षेत्रको राजधानी सिमरौनगढमा हुनसक्ने सम्भावना मोहनप्रसाद खनालले आफ्नो किताब 'सिमरौनगढको इतिहास' मा उल्लेख गरेका छन्।